समाचार

दोस्रो चरण आज

  • मतदाता परिचयपत्र नभए पनि विकल्प िमतदान सकिएलगत्तै गणना
- राजेश मिश्र, काठमाडौं

मंसिर २१, २०७४-प्रतिनिधिसभा र प्रदेशसभा दोस्रो चरणको निर्वाचन बिहीबार ४५ जिल्लामा हुँदैछ । प्रतिनिधिसभाका १ सय २८ र प्रदेशसभाका २ सय ५६ सिटका लागि दोस्रो चरणमा मतदान हुन लागेको हो । प्रतिनिधिसभा प्रत्यक्ष निर्वाचन प्रणालीतर्फका १ सय ६५ सिटमध्ये ३७ र प्रदेशसभा प्रत्यक्षतर्फका ३ सय ३० मध्ये ७४ सिटमा मंसिर १० गते पहिलो चरणमा निर्वाचन भइसकेको छ । 

दोस्रो चरणको मतदान सकिएपछि बिहीबारबाटै पहिलो र दोस्रो चरणको मतगणना थाल्ने तयारी छ । पहिलो चरणमा हिमाली तथा पहाडी ३२ जिल्लामा निर्वाचन भएको थियो । दोस्रो चरणमा तराईका सबै र पहाडका जिल्लामा मतदान हुन लागेको हो । प्रमुख दलका अधिकांश शीर्ष नेता दोस्रो चरणकै चुनावमा प्रतिस्पर्धी छन् । 

संविधानअनुसार केन्द्रीय संसद् र सातवटै प्रदेश संसदको गठन मिश्रित निर्वाचन प्रणालीबाट हुनेछ । प्रतिनिधिसभाको कुल २ सय ७५ सदस्यमा १ सय ६५ जना पहिलो हुने निर्वाचित प्रणालीबाट र १ सय १० जना समानुपातिक निर्वाचन प्रणालीबाट चुनिने छन् । प्रदेशसभातर्फ सबै प्रदेशमा गरी प्रत्यक्षबाट ३ सय ३० र समानुपातिकबाट २ सय २० जना सदस्य निर्वाचित हुनेछन् । जनसंख्याको अनुपातमा प्रदेशपिच्छे प्रदेशसभामा सदस्य संख्या फरक हुनेछन् । दुवै चरणमा दुइटै सभाका प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीको मतदान एकसाथ गरिँदैछ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले दोस्रो चरण निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको र सुरक्षा व्यवस्था पनि सुदृढ रहेको बताएका छन् । देशका विभिन्न भागमा निर्वाचनलाई बाधा पुर्‍याउने प्रयत्नस्वरूप केही विस्फोटका घटना भएपछि सुरक्षा सतर्कता बढाइएको छ । ‘एकाध घटनाबाट नडराई निर्भीकतापूर्वक मतदान गर्न मतदातालाई आयोग हार्दिक अनुरोध गर्छ,’ बुधबार आयोजित पत्रकार सम्मेलनमा यादवले भने, ‘सरकारले सुरक्षाको पूर्ण व्यवस्था गरेको प्रति आयोग विश्वस्त छ ।’

प्रतिनिधिसभाको निर्वाचन धेरै पटक भइसके पनि संविधानसभाले जारी गरेको संविधानअनुसार संघीय संरचनाका प्रदेशसभाहरूको निर्वाचन भने पहिलो पटक भइरहेको छ । 

निर्वाचनपछि ७ वटा प्रदेशसभामा प्रदेश सरकार गठन हुनेछन् । २०७२ असोज ३ मा संविधानसभाले जारी गरेको संविधानमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना संघ (केन्द्र), प्रदेश र स्थानीय गरी ३ तहको रहने उल्लेख छ । त्यसअनुसार पुन:संरचनापछिको ७ सय ५३ वटा स्थानीय तहमा यसै वर्ष चुनाव सम्पन्न भएर जनप्रतिनिधि बहाल भइसकेका छन् । बाँकी दुई तहको चुनाव एकैसाथ तर दुई चरणमा भइरहेको छ । 

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन क्षेत्र संख्या पनि संविधानअनुसार नयाँ ढंगले पुन:संरचना गरिएको छ । संविधानसभा निर्वाचनमा २ सय ४० निर्वाचन क्षेत्र रहेकामा प्रतिनिधिसभाको हकमा घटाएर १ सय ६५ बनाइएको छ । संविधानअनुसार प्रतिनिधिसभाको क्षेत्र संख्याको दोब्बर प्रदेशसभा क्षेत्र छन् । निर्वाचन क्षेत्र निर्धारण आयोगले गत भदौमा संविधानले तोकेको संख्याअनुसार प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन क्षेत्रको सीमा निर्धारण गरेको थियो । 

प्रमुख आयुक्त यादवले संविधान कार्यान्वयनको पहिलो खुड्किलोका रूपमा स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको र त्यही क्रममा बाँकी दुई तहको निर्वाचन भइरहेकाले आम मतदातालाई आफ्नो अधिकार प्रयोग गर्न आग्रह गरे । ‘नेपाली जनतामा निहित नेपालको सार्वभौमसत्ता र राजकीय सत्ताको अधिकार प्रयोग मतपत्रको माध्यमबाट गर्नुहोस्, अब यस्तो मतदानको अवसर पाँच वर्षपछि मात्रै आउनेछ,’ उनले भने, ‘तपार्इंले रोजेको उम्मेदवार र मन पराएका राजनीतिक दललाई मतदान गर्न समय छुट्याएर सहभागी हुनुहोस् ।’ उनले यस निर्वाचनबाट संविधान कार्यान्वयन भई संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ हुने र राज्यको पुन:संरचना व्यवहारमै लागू भएर संक्रमणकालको अन्त्य हुने विश्वाससमेत व्यक्त गरे ।

०६४ र ०७० मा भएका दुईवटा संविधानसभा निर्वाचनबाट निर्वाचित संविधानसभा सदस्यहरूले नै व्यवस्थापिका संसद् सदस्यका रूपमा भूमिका खेलेका थिए । त्यसअघि ०४६ सालमा प्रजातन्त्र पुन:स्थापनायता ०४८, ०५१ र ०५६ मा २ सय ५ निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । ०५६ मा प्रतिनिधिसभा निर्वाचन भएयता संसदीय निर्वाचन भएको थिएन । ०५९ साल जेठ ८ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले संसद् विघटन गरी कात्तिक २७ गते निर्वाचनको मिति घोषणा गरेका थिए । तर, संसद् विघटनको मौका छोपेर तत्कालीन राजा ज्ञानेन्द्र शाहले त्यही वर्ष असोज १८ गते शासनसत्ता आफ्नो हातमा लिएपछि चुनाव हुन सकेको थिएन । राजाको कदमविरुद्ध आन्दोलनरत ७ राजनीतिक दल र सशस्त्र युद्ध गरिरहेका माओवादीबीच ०६२ साल मंसिरमा भएको १२ बुँदे सहमतिको जगमा भएको जनआन्दोलनले ०६३ साल वैशाख ११ गते विघटित प्रतिनिधिसभाको पुन:स्थापना गरेको थियो भने तत्कालीन राजा ज्ञानेन्द्र पदच्युत भएका थिए । 

१० वर्षे सशस्त्र द्वन्द्व त्यागेर माओवादी शान्ति प्रक्रियामा आयो । ०६४ सालमा भएको संविधानसभा निर्वाचनबाट गठित संविधानसभाले संविधान बनाउन नसकेपछि र ०७० सालमा पुन: संविधानसभा निर्वाचन भएको थियो । त्यसैले बनाएको संविधानअनुसार मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयन भएको हो ।

कसरी गर्ने मतदान ? 

तीनवटा मतपत्र, चार स्थानमा मतदान 

दुईवटा निर्वाचन प्रणालीबाट एकैसाथ प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुन लागेकाले मतदाताको हातमा तीनवटा मतपत्र पर्नेछन् । मतदान ४ ठाउँमा गर्नुपर्ने छ । यसअघि दुवै संविधानसभा निर्वाचनमा दुईवटा मतपत्रको अभ्यास गरिएको थियो । प्रतिनिधिसभा र प्रदेशसभाका लागि प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ अलग–अलग मतपत्र छन् भने समानुपातिक निर्वाचन प्रणालीतर्फ एउटै पानामा दुईवटै सभाको मतपत्र छ ।

प्रतिनिधिसभा प्रत्यक्षतर्फका लागि हल्का हरियो रंगको मसीले उम्मेदवारका चिह्न छापिएको मतपत्र छ । प्रदेशसभाका लागि कालो मसीले चिह्न छापिएको बेग्लै मतपत्र हुनेछ । समानुपातिकतर्फको मतपत्रमा हल्का रातो मसीले चिह्न छापिएका छन् जसमा एउटै पानामा दुवै सभाका मतचिह्न छन् । माथिल्लो भाग (मतपत्र १) मा प्रतिनिधिसभा र तल्लो भाग (मतपत्र २) मा प्रदेशसभामा भाग लिएका दलहरूको निर्वाचन चिह्न छन् । प्रत्यक्षतर्फ दुवै सभामा १/१ र समानुपातिकतर्फ एउटै पानाको मतपत्रमा तलमाथि आफूले चाहेको दललाई मतदान गर्ने व्यवस्था मतपत्रमा छ । मतदान केन्द्रमा पुगेका मतदाताले सुरुमा प्रत्यक्षतर्फ प्रतिनिधिसभाको, त्यसपछि प्रदेशसभाको र अन्त्यमा समानुपातिकतर्फको मतपत्र पाउने छन् । क्रमश: स्वस्तिक चिह्न लगाउँदै बेग्लाबेग्लै मतपेटिकामा मत खसाल्ने व्यवस्था मतदान केन्द्रमा मिलाइएको छ ।

मतदाता परिचयपत्र नभए विकल्प

आयोगले विगतमा झैं मतदाता नामावलीमा नाम भएको तर कुनै कारणले मतदाता परिचयपत्र नभएका मतदाताका लागि वैकल्पिक व्यवस्था मिलाएको छ । त्यस्ता व्यक्तिले फोटोसहितको सरकारी निकायबाट जारी अन्य परिचयपत्रबाट मतदान गर्न पाउनेछन् । प्रमुख निर्वाचन आयुक्त यादवले नाम ढाँटेर अर्काको नाममा मतदान गरे कानुनबमोजिम सजाय हुने बताए ।

मतदान सकिएपछि गणना 

आयोगले बिहीबार साँझ मतदान सकिएलगत्तै पहिलो र दोस्रो चरणका दुवै निर्वाचनको मतगणना थालिने जनाएको छ । आयोग प्रवक्ता सहसचिव नवराज ढकालले मतदानस्थल र गणकहरूको छनोट भइसकेको बताए । ‘पहिलो चरणको गणना तत्कालै प्रारम्भ हुनेछ । दोस्रो चरणको भने गणनास्थलमा मतपेटिका संकलन भएलगत्तै,’ उनले भने, ‘मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूले सर्वदलीय बैठक गरी गणनाका लागि आवश्यक सहमति जुटाई प्रारम्भ गर्न सक्नेछन् ।’ 

सबैतिरको गणना सदरमुकाममा निर्धारण गरिएका स्थलमा मात्रै हुनेछन् । मतपेटिका संकलनमा समय लाग्ने भएकाले दोस्रो चरणका धेरै स्थानको गणना शुक्रबारबाट मात्रै प्रारम्भ हुन सक्छ । तर, सदरमुकाम आसपास र सुगम स्थानका निर्वाचन क्षेत्रहरूको गणना बिहीबार रातिबाटै सुरु हुने प्रवक्ता ढकालले बताए । 

आयोगले आवश्यक स्थानको व्यवस्था गरी प्रतिनिधिसभा प्रत्यक्ष, प्रदेशसभाको प्रत्यक्ष र दुवै सभाको समानुपातिकको मतगणना एकैसाथ सुरु गर्न सकिने निर्देश गरेको छ । तर, स्थान र गणकको अभाव भए पहिले प्रत्यक्ष र त्यसपछि मात्रै समानुपातिकको गणना थाल्न आयोगले भनेको छ । प्रत्यक्षतर्फ पनि एकैसाथ दुवै सभाको गणना थाल्न नसकिए पहिले प्रतिनिधिसभाको गनिसक्न आयोगले निर्देश गरेको छ । आयोगले प्रत्यक्षतर्फ दुवै सभाको ४ दिन र समानुपातिकको गणना ८ दिनभित्र सक्ने लक्ष्य लिएको छ ।

प्रकाशित: मंसिर २१, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार