समाचार

हिमाली मतदाताका हैरानी

  • पहिलो चरण
  • सिङ्गो गाउँमा १६ भोट !
  • पतिलाई जिम्मा लगाउँछन् मतपत्र
  • तिब्बती नाका जोडिने आस
  • रित्ता गाउँ चहार्दै उम्मेदवार
- आनन्द गौतम, ताप्लेजुङ

मंसिर ६, २०७४-सदरमुकाम फुङलिङबाट लगातार हिँड्दा तीन दिनमा पुगिने ओलाङचुङगोलाको याङमा केन्द्रमा मतदाताभन्दा मतदान गराउनेको संख्या बढी हुन्छ । मतदाता सूचीमा ५७ जनाको नाम छ तर यस केन्द्रमा बढीमा १६ मत खस्ने स्थानीय बताउँछन् । 

ओलाङचुङगोला घर भएका फक्तालुङ गाउँपालिकाका सूचना अधिकारी (वडा सदस्य) छेतेन वालुङका अनुसार त्यति मत खस्न पनि गोठमा बसेकाहरू सबै बस्तीमा आएर मतदान गर्नुपर्छ । अरू सबै सहरतिर छन् जो चुनावमा गाउँ फर्कंदैनन् । गोठ छाडे जंगली जनावर (हिउँचितुवा, ब्वाँसो) ले गाईबस्तु खाइदिने डर छ उनीहरूलाई । ‘चिसो बढ्न थालेपछि गोठ तलतल झार्न थालेकाले मतदानमा सबै सहभागी होलान् कि भन्ने अपेक्षासम्म गरिएको छ,’ उनले भने । 

यो केन्द्रमा मतदान गराउन ७ कर्मचारी खटिएका छन् । सुरक्षाकर्मीको संख्या मतदाताको भन्दा बढी छ । भौगोलिक विकटता र सुरक्षा चुनौती भएकाले संख्या भने सार्वजनिक गरिएको छैन । ओलाङचुङगोलाबाट एक दिनभरि हिँडेर पुगिने र पूरै जंगल क्षेत्र भएकाले यसलाई संवेदनशील सूचीमा राखिएको हो । यहाँको मतपेटिका भने हेलिकप्टरबाट ओसारिन्छ । गएको स्थानीय तहको निर्वाचनमा मौसम खराबीका कारण हेलिकप्टर बस्न नसक्दा मतपेटिका पैदलै बोकेर तीन दिनमा गाउँपालिकाको केन्द्रसम्म ल्याइएको थियो । 

स्थानीय निर्वाचनमा यो गाउँमा २६ भोट खसेको थियो । ‘गाउँमा त १७ जना मात्रै थिए । म र मेरा प्रतिस्पर्धीले बोलाएर ९ भोट बढाएका हौं,’ वडाध्यक्ष निर्वाचित वालुङले भने, ‘आगामी निर्वाचनमा उनीहरू आउँदैनन् ।’ स्थानीय निर्वाचनमा एकै परिवारका उम्मेदवार भएकाले मात्र उनीहरू आएको सुनाए । 

छोतेनका अनुसार सदरमुकाम फुङलिङ र काठमाडौंमा रहेकालाई सम्पर्क गर्दा उनीहरूले आफू बिरामी रहेको, हिँड्न नसक्नेजस्ता समस्या सुनाइरहेका छन् । फुङलिङमा रहेकाले पनि फर्कने योजना बनाएका छैनन् । उनी आगामी निर्वाचनमा मतदान गर्नेको नामै सुनाउँछन् । उनका अनुसार लोप्साङ नाम गरेका दुई जना, पेमा, सोनाम टाँसी, फुछिरिङ, सोनाम, ठिङजो, पासाङफुटी, टँसी, कादेग्यावु, ताम्लिङ ग्यावु, ल्हमु, फुटिक, याङगी, सुङजुक र छेतेनले मतदान गर्नेछन् ।

नेताहरू पनि भोट माग्न यो गाउँ पुग्दैनन् । यहाँ ११ घरको बसोबास छ । गाउँमा रहेकामा पनि गोठ भएका ९ परिवारका एक/एक जना घरमा बसेर बाँकी गोठमै हुन्छन् । 

उमेर पुगेका तर नामावलीमा नाम नभएकाहरूको संख्या पनि यत्ति नै रहेको छेतेन बताउँछन् । स्थानीय तहको निर्वाचनपछि मतदाता नामावली संकलन भएको थियो । तर लामो बाटो हिँड्नुपर्ने भन्दै धेरैले नामै लेखाएनन् । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सुरक्षाकर्मीबाहेक यहाँ जाने कर्मचारीका लागि डेढ लाख रुपैयाँ हाराहारी खर्च हुन्छ । यहाँ मतदान अधिकृत, सहायक मतदान अधिकृत, नायब सुब्बा वा खरिदार तहका दुई कर्मचारी र एक सहयोगी पठाइनेछ । दुई जना स्थानीय सहयोगी हुन्छन् ।

पतिलाई जिम्मा लगाउँछन् मतपत्र

-राजेन्द्र मानन्धर

लामाबगर, दोलखा– तिब्बती सीमावर्ती गाउँ बिगु–१, जगतका कमानध्वज मगरले पञ्चायतकालदेखि बहुदलसम्म स्थानीय निर्वाचन लडे । उनकी श्रीमती यम्बु मगरले भने अहिलेसम्म कुनै पनि चुनावमा भोट हालेकी छैनन् ।

आफ्ना श्रीमान्लाई भोट दिन मन नलागेर भने होइन । भन्छिन्, ‘भोट हाल्नै जान्दिनँ, फेरि श्रीमान् उम्मेदवार भएपछि घरको काम पनि भ्याउनुपर्‍यो ।’ हाल निर्वाचन लड्न छाडेको बताउने ८० वर्षीय कमानध्वज भन्छन्, ‘बूढीलाई जाउँ भन्दा मान्दिनँ, म त अहिले पनि लौरो टेकेर भए पनि भोट हाल्न जान्छु ।’ 

स्थानीय अगुवा ७८ वर्षीय अच्युतराज आचार्यका अनुसार यस गाउँका धेरै महिला भोट हाल्न रहरै गर्दैनन् । राजनीतिप्रति निकै चासो र चिन्ता व्यक्त गर्ने उनी भन्छन्, ‘गएको स्थानीय निर्वाचनमा एक मतले नतिजा तलमाथि पार्छ भन्दा पनि मगरलगायत कतिपय महिला मतदानस्थलसम्म जानै मानेनन् ।’ तिब्बती सीमासँग जोडिएको लामाबगरकी ४१ वर्षीया सारी तामाङले पनि जीवनमा एक पटक मात्र मतदान गरिन्, त्यो पनि २०५४ सालको स्थानीय निर्वाचनमा आफन्त उम्मेदवार भएकाले । श्रीमान् गिन्ड तामाङ भोट खसाल्न जाँदा उनी घर कुर्ने, बस्तुलाई घाँसपानी गर्ने काम गर्छिन् । ‘कोक्रोमा छोरो बोकेर २० वर्षअघि भोट हाल्न गएकी थिएँ,’ आँगनको डिलमा बसिरहेकी सारीले त्यो दिन सम्झिइन् । 

अहिले छोरो २१ वर्ष पुगेको र विदेश गएको उनले सुनाइन् । 

मतदानस्थल गोंगर गाउँ पुग्नुपर्ने भएकाले लामाबगर चौकीपारिका प्राय: महिला भोट हाल्न जानै पाउँदैनन् । गएकाहरूले पनि भोट हाल्न आउँदैन भनेर मतपत्र पुरुषलाई जिम्मा लगाउने गरेको गिन्डले सुनाए । बारीमै भेटिएकी सोमती तामाङ भन्छिन्, ‘मचाहिँ जान्छु तर हाम्रो भोट बूढाले हालिदिन्छन् ।’

बिगु गाउँपालिका–१ स्थित उनकै घरछेउको बारीमा कोदो टिपिरहेका चारमध्ये दुई महिलाको अहिलेसम्म मतदाता नामावलीमा नामै छैन । ‘यसपालाचाहिँ सदरमुकाम चरिकोटमा फोटो खिचेर आएकी छु,’ २५ वर्षीया सुकमाया तामाङले सुनाइन् । ३० वर्षीया चिन्तामाया तामाङले भने यसपालि पनि नाम नलेखाएको बताइन् । ‘भोट हाल्न पाउने भए हाल्थेँ,’ नाम नभएकोमा उनले दु:खेसो गरिन् । 

पूर्वाधार विकास, शिक्षा र स्वास्थ्यसँगै मानव विकास सूचकांकमा पछाडि परेको तिब्बती सीमावर्ती गाउँमा मतदाता नामावली दर्ताका लागि फोटो खिच्ने टोली पुगेको प्राय: महिलालाई थाहै हुँदैन । मतदानस्थलसम्म जाने गाडी व्यवस्था गर्दा पनि स्थानीय तहको निर्वाचनमा यहाँका महिलाले वास्तै नगरेको एमालेका वडाअध्यक्ष उम्मेदवार बनेका छ्योतर शेर्पाले सुनाए । सोही वडामा माओवादी केन्द्रका तर्फबाट निर्वाचित वडाध्यक्ष हिरन्डेबहादुर गुरुङले पनि केही ठाउँका महिलालाई मतदान गराउन ल्याउन नसकेको बताए । ‘सानो गाउँ भए पनि आफू निर्वाचन लडदा एक सय ३२ जनाको नाम नै छुटेको पाइयो,’ उनले भने, ‘अहिले धेरैको नाम लेखाइयो तर मतदानस्थल ल्याउन सकिँदैन कि भन्ने चिन्ता छ ।’ 

त्यसो त हिरन्डे र छ्योतर दुवै प्रत्याशीले स्थानीय निर्वाचनका बेला घरघरै गएर आफू उठेको भन्दै भोट दिन अनुरोध गरेका थिए । तर उनीहरूले ‘गाईबस्तु हेर्न‘ छ’ भन्दै आएनन् । मतदानका दिन गाडी चलाउन नपाउने भए पनि त्यो दिन दुवैको सहमतिले मतदातालाई गाडीमा ल्याउने बन्दोवस्त गरेका थिए । त्यतिखेर असफल भए पनि यस पटक भने मतदाता नामावलीमा नाम भएकालाई जसरी पनि मतदानको अधिकार उपलब्ध गराउने दुवैले बताए । उक्त वडामा ९ सय ६३ मतदाता छन् । जसमध्ये आधाभन्दा बढी महिला छन् ।

तिब्बती नाका जोडिने आस

गमगढी, मुगु (कास)– चुनावी परिणाम आफ्नो पक्षमा पार्न उम्मेदवारहरू प्रदेश ६ का तीनवटा उत्तर–दक्षिण नाका जोडेर समृद्धिको ढोका खोल्ने नारासहित मतदाताकहाँ पुगिरहेका छन् । मुख्य तीन दलसहित सबै उम्मेदवारले हुम्लाको सिमकोट–हिल्सा, मुगुको गमगढी–नाक्चेनाङ्ला र डोल्पाको दुनै–मरिम्ला सडकलाई मुख्य चुनावी मुद्दा बनाएका छन् । अहिले तीनै सडक बनाउन थालिए पनि काम सुस्त रहेकाले यी नाका कहिले जोडिन्छन् भन्ने टुंगो भने छैन । मुगुको पुवा गाउँका ३९ वर्षीय झिक्मेद लामा हरेक वर्ष तिब्बत पुगेर तेल, चामल, नुन, भेडा–च्याङ्ग्रा ल्याउँछन् । यताबाट बहुमूल्य जडीबुटी यार्चागुम्बु, उवा, चुलीको बोक्रा लगी तिब्बतमा बिक्री गर्छन् । ‘गमगढीसम्म मोटरबाटो आएपछि छिट्टै तिब्बती नाकासम्म पुग्ने आशा थियो । काम देखेर निराश छौं,’ उनले भने, ‘गाडी चढेर तिब्बत जाने धोको अधुरै हुने हो कि ?’  

सुर्खेत–नेपालगन्ज जानभन्दा तिब्बत नजिक रहेकाले यो बाटो छिटो खोल्नुपर्ने उनको भनाइ छ । ६ वर्षअघि सुर्खेत–जुम्ला सडक हुँदै कालिकोट नाग्मबाट मुगु गमगढीसम्म गाडी पुगेपछि तिब्बती नाकातर्फको ट्रयाक पनि छिट्टै खुल्ने लामाको आस थियो । ‘नाक्चेनाङ्ला सडक बन्दै छ भन्ने सुनेकै वर्षौं भइसक्यो,’ उनले भने, ‘काम जहाँको त्यहीँ छ । चुनावमा सबैले बनाउने भन्छन्, जितेपछि बिर्सन्छन् ।’ 

उम्मेदवारहरूले भेला, आमसभा र घरदैलोमा तिब्बती नाका खोल्ने प्रतिबद्धता जनाइरहेका छन् । मुख्य दलहरू कांग्रेस, एमाले र माओवादी केन्द्र मात्र होइन, राप्रपा, मजदुर किसान पार्टी र जनमोर्चाको नारा पनि यही छ । जिल्ला समन्वय समिति मुगुका प्रमुख पूर्णबहादुर रोकाय नाक्चेनाङ्ला प्रदेश ६ को सबैभन्दा छोटो अन्तर्राष्ट्रिय नाका हुन सक्ने बताउँछन् । अहिले मुगु गमगढीदेखि गाठेसम्म १६ किमि सडक बनिसकेको छ । ‘उत्तरी छिमेकीसँग जोडिन यो सडक सबैभन्दा छोटो छ । कम खर्चिलो र भूगोल पनि अरूभन्दा सहज छ,’ उनले भने, ‘हुम्ला र डोल्पाका जस्ता कडा चट्टान छैनन् ।’ 

उत्तरी नाका खुलेपछि कर्णाली र प्रदेश ६ मात्र होइन, सिंगो मुलुकले लाभ लिन सक्ने भएकाले अब निर्वाचित सरकारले मुख्य प्राथमिकतामा राख्नुपर्ने रोकाय ठान्छन् । सडक खुलेपछि उत्तरसँग व्यापार वृद्धि, रोजगारी अवसर सिर्जना हुने र गरिबी घटाउन सहयोग पुग्ने उल्लेख गर्दै उनले भने, ‘सडक विभागले अहिले गरेजस्तो कामले त पूरा हुन्न । राष्ट्रिय गौरवको आयोजना बनाउनुपर्छ ।’ 

उक्त सडकका लागि बर्सेनि ७/८ करोडको बजेट छुट्टिए पनि प्रगति सन्तोषजनक नरहेको उनको गुनासो छ । ‘मिलेमतोमा बजेट सक्ने काम मात्र भइरहेको छ । अप्ठ्यारो ठाउँमा नेपाली सेनालाई जिम्मा दिएर भए पनि छिटो सक्नुपर्छ,’ रोकायले भने ।

उत्तरी नाका जोड्ने सडकमध्ये सुर्खेतबाट मुगु–नाक्चेनाङला अरूभन्दा कम ३ सय ८० किमि मात्र छ । सुर्खेतबाट सिमकोट–हिल्सा सडक ४ सय ९६ किमि छ । त्यस्तै, डोल्पा–मरिम्ला नाका पनि लामो पर्छ । २०६७ देखि निर्माण सुरु नाक्चेनाङ्ला सडकमा अहिलेसम्म १० करोड लगानी भएर १६ किलोमिटर ट्रयाक खोलिएको छ । ७० किमि खोल्न बाँकी छ । करिब ५ वर्षभित्र गमगढीबाट नाक्चेनाङ्लासम्म गाडी पुर्‍याउने लक्ष्य रहेको सडक निर्माण आयोजनाका प्रमुख अंगलाल रोकायले बताए । निर्माण लागत ८० करोड अनुमान गरिएको उल्लेख गर्दै उनले भने, ‘मागअनुसार बजेट छुट्टिएर काम भए उत्तरी नाका जोड्ने सडकले गति लिनेछ ।’ सडक निर्माण परियोजना स्वीकृत भई कार्यालय राखिसकिए पनि बजेट अभावले कर्मचारी नियुक्ति र कार्यालय व्यवस्थापन हुन नसकेको उनले बताए । 

अहिले गमगढीदेखि तिब्बती नाका पुग्न कर्णाली नदीको तिरैतिर पाँच दिन हिँड्नुपर्छ । बीच बाटोमा भट्टडाँडा, लुम्स, छाइल, माग्री, ढुङधारा, पुलु, तिहारगुम्बा, चितैबगर, सिरानीचौर, सीमा मुगु गाउँ, छुजाङ, रिमार लेक, हयाङलालाटा, खाँचीफुक पर्छन् । तिब्बती सीमास्तम्भबाट एक घण्टा हिँडेर मुगु र तिब्बतको अस्थायी हाटबजार हयाजिमार पुगिन्छ । त्यहाँ हरेक असार १५ देखि ३० सम्म बजार लाग्छ । त्यहींबाट मुगु करान भेगका डोल्फु, किमरी, ताखा, खारी, चितै, रिउस पुवा, माग्रीलगायत गाउँका बासिन्दाले खाद्यान्न, लत्ताकपडा र च्याङ्ग्रा जोहो गर्दै आएका छन् । 

‘हयाजिमारबाट गाडीमा तिब्बतको ल्हासा जान सकिन्छ,’ मुगु गाउँका कार्मानोर्बुल लामाले भने, ‘नाकासम्म मोटरबाटो खुले दुई देशबीच व्यापार वृद्धि हुनसक्छ । कर्णालीका बासिन्दालाई पनि सुविधा पुग्छ ।’ सन् १९१५ देखि सीमा मुगु गाउँका आदिवासी–जनजाति र तिब्बतीबीच व्यापारिक सम्बन्ध जोडिँदै आए पनि नाकामा भन्सार छैन । 

कछुवा गतिमा दुनै–मरिम्ला सडक 

डोल्पाको मरिम्ला नाकाबाट धो हुँदै सदरमुकाम दुनै जोड्ने मोटरबाटो निर्माण सुरु भएको झन्डै १० वर्ष बितेको छ । ०६५ सालमा पुष्पकमल दाहाल प्रधानमन्त्री भएका बेला पहिलोपल्ट ५० लाख बजेट छुट्याएर उपभोक्ता समितिमार्फत काम थालिएको थियो । ‘त्यसपछि बर्सेनि १५–२० लाख बजेट आउँथ्यो । धेरै वर्ष कामको गति शून्यझैं भयो,’ जिविस स्रोतले भन्यो । आर्थिक वर्ष ०७२/०७३ मा सबैभन्दा धेरै १५ करोड छुट्याइएपछि ठेक्कामा मोटरबाटो निर्माण भइरहेको छ । अहिले तिब्बती सीमा मरिम्लाबाट धोतर्फ करिब ६५ किमि ट्रयाक खोल्ने काम जारी छ । 

दुनैबाट पनि धोतर्फ मोटरबाटो निर्माण भइरहेको छ । दुनैदेखि लसिक्यापभन्दा अलि माथि झन्डै ३० किमि ट्रयाक खुल्ने क्रममा छ । दुनै–तिब्बत जोडिन धो तराप–खर्क र धो–दुनैतर्फको नावारपानी तलसम्म ४० किमि ट्रयाक खोल्न बाँकी छ । त्यसका लागि झन्डै ४० करोड बजेट आवश्यक छ । 

२० वर्षमा ७० किमि मात्र 

चीन सीमा हिल्सादेखि सिमकोटसम्मको ९५ किमि सडक बन्न थालेको पनि दुई दशक पुगिसकेको छ । तर बल्ल ७० किमि ट्रयाक खुलेको छ । सिमकोटदेखि उत्तरतर्फ सिमकोट गाउँपालिकाको हेप्काखोलासम्म १८ किमि दूरीमा समेत ट्रयाक खुलिसकेको छ । अब दुई सडकखण्ड जोड्न ७ किमि मात्र बाँकी छ । 

नाम्खा गाउँपालिकाको तुम्कोटस्थित कर्णाली नदीमा पुल निर्माणपछि हुम्लाको केर्मी गाउँसम्म साना सवारीसाधन चल्न सक्ने हिल्सा–सिमकोट सडक आयोजनाले जनाएको छ । आयोजनाका इन्जिनियर विजयबहादुर थापाले नदीमा बेलिब्रिज जडान भएकाले नाम्खा गाउँपालिकाको केर्मी गाउँसम्म ७० किमि दूरीमा साना सवारी साधन सञ्चालन भएको बताए ।

०५४ मा जिल्लामा भोकमरीसँगै भाइरल इन्फ्लुएन्जाबाट करिब ४ सय सर्वसाधारणको ज्यान गएपछि स्थायी समाधानका लागि तत्कालीन जिविसले चीनसँग सडक जोड्ने योजना बनाएको हो । ०५५/०५६ मा आन्तरिक स्रोत प्रयोग गरी थालिएको सडकमा ०५७/०५८ देखि विश्व खाद्य कार्यक्रमले सहयोग गरेको थियो । तर पनि सरकारी प्राथमिकतामा परेन । कालिकोटको खुलालु–सिमकोट–हिल्सा सडकलाई राष्ट्रिय गौरवमा राखिएपछि मात्र कामले केही गति लिएको हो । 

कर्णाली कोरिडोरमार्फत चीनको हिल्सादेखि सिमकोट हुँदै भारतीय सीमा रूपैडिहा जोड्ने सरकारी लक्ष्य छ । जसअनुसार सिमकोटबाट कालिकोट ल्याएर सुर्खेतसम्म र सुर्खेतबाट नेपालगन्ज हँ‘दै रूपैडिहा पुर्‍याउने योजना छ । सिमकोट गाउँपालिका अध्यक्ष पदम लामा चीन र भारत जोड्ने नेपालगन्ज–सिमकोट–हिल्सा सडक जति छिटो खुल्छ कर्णाली त्यति छिटो समृद्ध हुने बताउँछन् । कर्णाली करिडोर खुलालु–हिल्सा सडक निर्माणको जिम्मा सेनालाई दिएपछि कामले गति लिएको हो । अहिले कालिकोट–बाजुरा खण्डमा नेपाली सेनाले निर्माण गरिरहेको छ भने हुम्लामा सडक विभागले ठेक्कामार्फत काम लगाएको छ । कालिकोटको खुलालुदेखि हुम्ला सदरमुकाम सिमकोटसम्म २ सय ८१ किमि छ । 

प्रदेश ६ का उत्तर–दक्षिण मार्ग

हुम्ला नाका : कर्णाली करिडोर 

नेपालगन्ज–सुर्खेत–हुम्ला–हिल्सा तिब्बत

डोल्पा नाका : भेरी करिडोर

नेपालगन्ज–छिन्चु–जाजरकोट, डोल्पा–धो मोरिम्ला तिब्बत

मुगु नाका : सुर्खेत–जुम्ला–सिंजा–मुगु–नाग्चेनाङ्ला तिब्बत

रित्ता गाउँ चहार्दै उम्मेदवार

मुस्ताङ (कास)– चिसोले उपल्लो मुस्ताङका गाउँ रित्तिएका छन् । जाडो छल्न अधिकांश अन्यत्र गएपछि गाउँ रित्तिएका हुन् । तैपनि उम्मेदवार प्रत्येक गाउँ पुग्न छाडेका छैनन् । २/४ जना कार्यकर्ता साथमा लिएर उनीहरू रित्ता घरमा पुगिरहेका छन् । चुनावका कारण उम्मेदवारका केही आफन्त र कार्यकर्ता मात्रै गाउँमा छन् । तिनैले उम्मेदवारलाई गाउँ घुम्न सघाइरहेका छन् । गाउँमा वृद्धवृद्धा र पशुपालनका लागि राखिएका गोठालाबाहेक खासै कोही देखिन्नन् ।

चुनाव नसकी तल नझर्ने भनेका स्थानीय पनि चिसो सहन नसकेपछि गाउँ छाडेर गएका छन् । 

कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार रोमी गौचन थकाली १० दिनसम्म लोमान्थाङ, दालोमे गाउँपालिका घुमेर सोमबार जोमसोम आइपुगेका छन् । उनले कोरला सिमानासम्मका सबै गाउँमा पुगेर भोट मागे । ‘धेरैजसो घरमा मान्छे नै छैनन्, तर पनि भेटेकासित मागेको छु,’ सदरमुकाम फर्किएका गौचनले भने, जतिलाई भेटें, सबैबाट राम्रो प्रतिक्रिया पाएको छु ।’ 

चुनाव भएका कारण कम मान्छे तल झरे होलान् भन्ने लागे पनि सोचेभन्दा धेरैले घर छाडेकाले अधिकांश मतदाता भेट्न नसकिएको उनले बताए । ‘चिसोका कारण मतदाता पोखरालगायत ठाउँमा पुगिसकेका छन्, अब सबैलाई फर्काउन पहल गर्छु,’ उनले भने, मतदाता नै नभएपछि चुनावको के अर्थ ?’ मतदाताहरू चुनावका दिन मात्र आएर भोट हालेर फेरि फर्किदिए पनि आफूलाई ठूलो गुन हुने उनले बताए । ‘मतदाताले मेरो काम सम्झेर जिताउलान् भन्ने आस छ,’ उनले भने । 

एमाले उम्मेदवार प्रेमप्रसाद तुलाचन पनि कोरला नजिकैको छोन्हुप गाउँसम्मै प्रचार गरेर फर्किएका छन् । ‘चिसोले उपल्लो मुस्ताङमा बस्नै गाह्रो रहेछ, तैपनि प्रचार कार्यक्रम सकेको छु,’ उनले भने, ‘धेरै मतदाता घर छाडेर गएका छन् । भेटेका जति सबैसित भोट मागेको छु ।’ जाडोबाट बच्न अन्त गएकालाई पनि भोट हाल्न आफूहरूले अनुरोध गरेको र चुनावका दिनसम्म सबै आउने आशा रहेको उनले बताए । 

उपल्लो मुस्ताङका घमी, चराङ, लोमान्थाङ, छोसेर, छोन्हुप, मुक्तिनाथ क्षेत्र वरपर निकै चिसो भएकाले यहाँका गाउँमा स्थानीय बस्न सकेका छैनन् । भोट दिनकै लागि मात्र भए पनि मंसिर १० सम्म केही चिसो सहेर बसेका छन् । नेता तथा निर्वाचन कर्मचारीका अनुसार उपल्लो मुस्ताङका करिब ७० प्रतिशत मतदाता घर छाडेर अन्यत्र गएका छन् । ‘जे जति मतदाता छन्, उनीहरू निकै उत्साहपूर्वक भोट हाल्न पर्खेका छन् । उनीहरूले उम्मेदवारलाई भेटेर आफ्ना समस्यासमेत बताएका छन् । 

कोरला नाका वर्षको दुई पटक मेला लाग्दा मात्र खुल्छ । व्यापारका लागि मात्र दुई पटक खुल्ने समयमा पनि घुमफिरका लागि चीनतर्फ ३० किमिभन्दा पर जान पाइँदैन । यसैले सीमा जोडिएर पनि चीनतर्फको पहुँच नेपालीका लागि निकै बिरानो छ । कोरला नाका जोड्ने सडक बन्न लागेको दुई वर्ष भइसक्यो । जोमसोमबाट कोरलासम्म आउने एकतर्फी कच्ची सडकले स्थानीयलाई निकै सास्ती दिएको छ । अधकल्चो सडकमा न हिँड्न मिल्छ न सुबिस्ताले मोटर आउन सक्छ । यही सडक सम्झेर यहाँका मतदाता स्थानीय निकायको चुनावदेखि प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा सडककै माग उठाइरहेका छन् । 

‘चिसो भए पनि हामी उम्मेदवारलाई भोट दिन कुरिरहेका छौं,’ लोमान्थाङ गाउँपालिका–३ छोन्हुपका टासी नोर्बु गुरुङ भन्छन्, ‘जितेपछि सडक बनाउन लाग्नुपर्‍यो ।’ सडक राम्रो भयो भने राम्रो व्यापार हुने र अन्य जिल्ला जाने बाध्यता घट्ने उनले बताए । सरकारले कोरला नाका खुलाउन र सडक बनाउन विजयी उम्मेदवारलाई नै खटाउनुपर्ने उनको धारणा छ । ‘सडक राम्रो भयो भने व्यापार हुन्छ, खेती गरेर तल (जोमसोम, पोखरा) लगेर बेच्न पाइन्छ,’ आङ्गेल गुरुङले भने ।

खासगरी सबै उम्मेदवारको जोडदार प्रचार र घरदैलो तल्लो मुस्ताङमा बढी छ । राप्रपा प्रजातान्त्रिकले पनि प्रदेशसभाका आफ्ना उम्मेदवारलाई जिताउन मतदातासँग भेटघाट र घरदैलो कार्यक्रम गरिरहेका छन् । प्रदेशसभामा कांग्रेसका मिक्यु गुरुङ र छिरिङधारा गुरुङ, एमालेका महेन्द्र थकाली, इन्द्रधारा विष्ट, राप्रपा प्रजातान्त्रिकका प्रवीणकुमार शेरचन छन् । उम्मेदवारी फिर्ता नलिए पनि राप्रपाका नरबहादुर हिराचनले राप्रपाका शेरचनलाई सघाउने र भोट आफूलाई नहाल्न अनुरोध गरेका छन् । पाँच गाउँपालिका रहेको मुस्ताङमा ९ हजार ४ सय २७ मतदाता छन् ।

 

असुविधाले अति संवेदनशील

बाजुरा (कास)– गृह मन्त्रालयले बाजुरालाई निर्वाचन सुरक्षाका दृष्टिले अति संवेदनशील जिल्लाको सूचीमा राखेको छ । जिल्लाका कुल ७० मतदानस्थलमध्ये ३१ अति संवेदनशील, त्यति नै संख्यामा संवेदनशील र ८ सामान्य सूचीमा छन् । जिल्ला सुरक्षा समितिको सिफारिसअनुसार मन्त्रालयले बाजुरालाई अति संवेदनशील सूचीमा राखेको हो । 

निर्वाचन बिथोल्न सक्ने शक्तिहरूको सम्भावित गतिविधि, विगतका निर्वाचनको पृष्ठभूमि, सञ्चार उपलब्धता, भौगोलिक विकटता, यातायात असुविधालगायत मापदण्डका आधारमा मतदानस्थललाई प्राथमिकीकरण गरिएको प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षत्रीले बताए । 

वाम गठबन्धन र कांग्रेस उम्मेदवारबीच मात्र मुख्य प्रतिस्पर्धा रहेको यस जिल्लामा विगतमा एमाले र कांग्रेस कार्यकर्ताबीच विभिन्न मतदानस्थलमा झडपका घटना हुने गरेका थिए । 

यसपल्ट पनि त्यस्ता घटना दोहोरिन सक्ने सुरक्षा समितिको आकलन छ । निर्वाचन व्यवस्थित गर्न पर्याप्त सुरक्षा व्यवस्था मिलाइएको प्रजिअ क्षत्रीले बताए । ‘अति संवेदनशील र संवेदनशील मतदानस्थलमा सुरक्षाकर्मीलाई केन्द्रित गर्ने रणनीति बनाएका छौं,’ प्रजिअ क्षत्रीले भने, ‘तीनवटै निकायका सुरक्षाकर्मीको घेरामा ती मतदानस्थल रहनेछन् ।’ प्रदेशसभाका दुवै क्षेत्रका विभिन्न स्थानमा सेना र सशस्त्र प्रहरी खटिइसकेका छन् । प्रदेश ‘क’ अन्तर्गत बिच्छ्याँ, महती, फैती, धुलाचौर कोल्टीलगायत स्थानलाई आधार बनाएर सेना परिचालित छ । 

प्रदेश ‘ख’ अन्तर्गत तोली, टाँटेलगायत क्षेत्रमा सेना परिचालित छ । सशस्त्र र सेनाले सबै मतदानस्थललाई भ्याउने गरी घुम्ती गस्ती गर्ने जनाइएको छ । 

सेनाको बम डिस्पोजल टोलीलाई तम्तयार राख्ने, मतदानको दिन सार्वजनिक यातायात बन्द हुने भएकाले एम्बुलेन्स र चिकित्सक टोली तयारी हालतमा राख्ने जिल्ला सुरक्षा समितिका अध्यक्षसमेत रहेका प्रजिअ क्षत्रीले बताए । 

प्रदेश ७ अन्तर्गतका ४ जिल्लामा मात्रै पहिलो चरणमा निर्वाचन हुने भएकाले विभिन्न दलका उम्मेदवारले बाह्य जिल्लाबाट युवा ल्याउन सक्ने अनुमानलाई समेत सुरक्षा अधिकृतहरूले जोखिमका रूपमा लिएका छन् । ‘छिमेकी जिल्लासँग सडक जोडिएका स्थानमा निगरानी बढाउँदैछौं,’ प्रजिअ क्षत्रीले भने । बाजुरामा एउटा मात्र निर्वाचन क्षेत्र छ । ६९ हजार ८ सय ३४ मतदाता छन् । ७० मतदानस्थलअन्तर्गत १ सय मतदान केन्द्र छन् । मंसिर २ देखि नै सदरमुकाम मार्तडीबाट तोकिएका मतदान केन्द्रतर्फ कर्मचारी तथा सुरक्षाकर्मीको टोली हिँडिसकेको छ ।

प्रकाशित: मंसिर ६, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार