समाचार

सुरक्षा प्रमुखहरूलाई कडा निर्देशन - ‘चुनौती चिर्नुस्’

  • कुनै पनि मतदाता र उम्मेदवार असुरक्षित भएको खबर सुन्नु नपरोस् : प्रधानमन्त्री
- जनकराज सापकोटा, काठमाडौं

मंसिर ५, २०७४-प्रधानमन्त्री शेरबहादुर देउवाले शान्ति सुरक्षा अहिलेको मुख्य चुनौती भएको भन्दै त्यसलाई चिर्न सुरक्षा निकायहरूलाई कडा निर्देशन दिएका छन् । गृह मन्त्रालयमा सोमबार आयोजित प्रदेश ३ स्तरीय सुरक्षा गोष्ठीमा गृहको समेत कार्यभार सम्हालेका देउवाले सुरक्षा निकायका प्रमुखहरू र उच्च अधिकारीलाई यस्तो निर्देशन दिएका हुन् ।

उनले शान्तिपूर्ण रूपमा निर्वाचन गराउन कुनै कसुर बाँकी नराख्न तथा निर्वाचनविरोधी तत्त्वलाई कारबाही गर्न निर्देशन दिएका छन् । मतदान बिथोल्न खोज्ने समूहलाई असफल बनाई जनतालाई सुरक्षाको प्रत्याभूति दिएर निर्धक्क रूपमा मतदान गर्ने वातावरण बनाउनसमेत उनले निर्देशन दिए । गोष्ठीमा नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू, रक्षा तथा गृह मन्त्रालयका उच्च अधिकारी, निर्वाचन आयोगका आयुक्त, प्रदेश ३ अन्तर्गतका १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरू उपस्थित थिए । देउवाले जनताले भयरहित वातावरणमा मतदान गर्न सक्ने गरी सुरक्षा प्रबन्ध मिलाउन निर्देशन दिए । ‘सरकार निर्वाचनका लागि आवश्यक सबै सुरक्षा प्रबन्ध मिलाउन प्रतिबद्ध छ, यसमा कसैसित कुनै सम्झौता हुँदैन,’ उनले भने । 

 

प्रहरी हेडक्वार्टरको सर्कुलर–

-मातहतका सुरक्षा निकाय ‘हाई अलर्ट’ मा रहन

-‘एन्टी’ छापामार शैलीको सुरक्षा गतिविधि सञ्चालन गर्न

-विस्फोटपछि तुरुन्तै एक्सनमा जान

-विस्फोटका गतिविधिमा संलग्नलाई तत्काल पक्राउ गर्न

 

बैठकमा प्रहरी महानिरीक्षक प्रकाश अर्यालले विस्फोटका घटना बढेको भन्दै प्रहरीलाई प्रतिरक्षात्मक बन्न आदेश दिएका थिए । उनले निर्वाचन सुरक्षा चुस्त बनाउन नसक्ने जिल्लाका सुरक्षा प्रमुखलाई हेडक्वार्टरमा तान्ने चेतावनीसमेत दिए । बैठकमा सहभागी एक सुरक्षा अधिकारीका अनुसार महानिरीक्षक अर्याल शृंखलाबद्ध विस्फोटका घटना भइरहँदा प्रहरी अधिकारीको भूमिका कमजोर भएको भन्दै रुष्ट बनेका थिए ।

गृह सचिव मोहनकृष्ण सापकोटाले निर्वाचन सुरक्षा चुनौती पहिचान भइसकेको र त्यसलाई समाधान गर्ने गरी सुरक्षा प्रबन्ध मिलाइसकिएको बताएका थिए । अधिकांश सहभागीले अवैध हतियार, विस्फोटक पदार्थ र केही स्थानमा सम्भावित बुथ कब्जालाई निर्वाचन सुरक्षाको मुख्य चुनौतीका रूपमा प्रस्तुत गरेका थिए । प्रधानमन्त्री देउवाले पनि मतदाता भडकाउने र मतदानस्थल कब्जा गर्ने मनसाय पनि सुरक्षा चुनौती बन्न सक्ने बताएका थिए । उनले भने, ‘सबै सुरक्षा निकायले सुरक्षा प्रणालीमा तहगत निर्देशनलाई उचित रूपमा पालना गर्ने गरी काम गर्नुस् ।’

स्रोतका अनुसार सुदूरपश्चिमदेखि सुदूरपूर्वका जिल्लासम्म शृंखलाबद्ध विस्फोट र विस्फोटक पदार्थ बरामदका घटना एकपछि अर्को गर्दै देखिएपछि सुरक्षा रणनीतिमा फेरबदल गर्नुपर्ने कुरा प्रहरीभित्रै उठेको छ । प्रहरी प्रधान कार्यालयले आइतबारदेखि नै मातहतका सुरक्षा निकायलाई ‘हाई अलर्ट’ मा रहन निर्देशन दिएको छ । प्रधान कार्यालय नक्सालस्थित केन्द्रीय निर्वाचन सेलमा सबै प्रदेश सेलका प्रमुखसहितको बैठकले शृंखलाबद्ध विस्फोटका घटनामाथि समीक्षा गरेको थियो । उक्त बैठकले विप्लव माओवादीले छापामार शैलीमा आक्रमण गरेको भन्दै त्यसलाई रोक्न एन्टी छापामार शैलीको सुरक्षा गतिविधि सञ्चालन गर्न मातहतका सुरक्षा निकायलाई सर्कुलर गरेको थियो । बैठकमा विस्फोटका घटनापछि तुरुन्तै एक्सनमा जान र त्यस्ता गतिविधिमा संलग्नलाई तुरुन्तै पक्राउ गर्न पनि परिपत्र गरिएको छ । सामान्य अवस्थामा प्रत्येक दिन केन्द्रीय निर्वाचन सेलको बैठक बस्ने भए पनि आइतबार त्यस्तो बैठक बिहान र दिउँसो गरी दुई पटक बसेको थियो ।

प्रहरीले खानतलासी व्यापक बनाउन सर्कुलर जारी गरेकै भोलिपल्ट चितवनको भरतपुरबाट नेपाल कम्युनिस्ट पार्टीका दुई कार्यकर्ता बम बनाउन प्रयोग हुने कच्चा पदार्थ जिलेटिन ५ केजीसहित पक्राउ परेका छन् । प्रहरीले उनीहरूका साथबाट विस्फोटक पदार्थ बनाउन प्रयोग हुने तारलगायत सामग्री पनि बरामद भएको छ । निर्वाचन सुरक्षामा चुनौती थपिएको भन्दै सोमबार साँझ प्रधानमन्त्री देउवाले बालुवाटारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसहितको बैठक डाकेका थिए । स्रोतका अनुसार उक्त बैठकमा चारैवटा निकायका प्रमुखले सुरक्षाको पछिल्लो अवस्थाबारे ‘ब्रिफिङ’ गरेका थिए । प्रधानमन्त्रीले निर्वाचन सुरक्षामा कुनै कसुर नराख्न सबै सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका थिए । 

विस्फोटलगायत घटनाका दोषीलाई पक्राउ गरी कारबाही गर्न निर्देशन दिँदै देउवाले मतदाता र उम्मेदवारको सुरक्षाको पूर्ण प्रत्याभूति हुने गरी व्यवस्था मिलाउन निर्देशन दिएका थिए । प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै उनका प्रेस संयोजक गोविन्द परियारले भने, ‘कुनै पनि मतदाता र उम्मेदवार असुरक्षित भएको खबर सुन्नु नपरोस् । सुरक्षा व्यवस्था सुदृढ पार्न सरकार जुनसुकै सहयोग गर्न तयार छ ।’

 

 

 

किन तोकिएन गृहमन्त्री ?

मतदानको दिन नजिकिएसँगै शृंखलाबद्ध बम विस्फोटका घटना बढेका बेला गृह मन्त्रालयमा राजनीतिक नेतृत्वको अभाव खड्किएको छ । 

एक महिनाअघि माओवादी केन्द्रबाट गृहमन्त्री बनेका जनार्दन शर्मालाई बिनाविभागीय बनाइएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले नै गृहमन्त्रीको समेत जिम्मेवारी सम्हालेका छन् । तर सोमबार आयोजित प्रदेश ३ को सुरक्षा बैठकमा उपस्थित हुने गरी पहिलोपटक प्रधानमन्त्री एवं गृहमन्त्री देउवाले गृह मन्त्रालय टेकेका हुन् । कार्यक्रममा करिब आधा घण्टा बसेका देउवा त्यसलगत्तै बालुवाटार लागे । 

गृहका उच्च अधिकारीका अनुसार निर्वाचनका बेला पलपलमा गृहमन्त्रीको ठाडो निर्देशन आवश्यक पर्छ, तर यस्तो बेलामा प्रधानमन्त्री व्यस्त हुँदा कतिपय तत्काल लिनुपर्ने ‘एक्सन’ र काम कारबाही प्रभावित भइरहेको छ । माओवादी मन्त्री शर्मालाई बिनाविभागीय बनाइएपछि प्रधानमन्त्रीले पार्टीभित्रका कोही ‘विश्वासपात्र’ लाई गृहको जिम्मेवारी सुम्पने ठानिएको थियो । तर पार्टीभित्र गृहमन्त्रीका आकांक्षी धेरै भएको र चुनावको मुखमा महत्त्वपूर्ण मानिने मन्त्रालय कसैलाई सुम्पिँदा त्यसले पार्टीभित्र कलह बढाउने आकलन गरी देउवाले गृहको जिम्मेवारी आफैंले लिए । फोरम लोकतान्त्रिक छाडेर कांग्रेस प्रवेश गरेका विजयकुमार गच्छदारदेखि सञ्चार मन्त्रालयको जिम्मेवारी सम्हालेका मोहन बस्नेतसम्म गृहमन्त्रीका आकांक्षी थिए । 

पूर्वगृह सचिव श्रीकान्त रेग्मी प्रधानमन्त्रीले नै गृह मन्त्रालय सम्हाल्दा सुरक्षा संवेदनशीलताका स–साना कुरामा समयमै निर्णय गर्न नसक्ने परिस्थिति रहेको ठान्छन् । उनका अनुसार अहिले पनि गृहमन्त्रीको प्रत्यक्ष भूमिकाको अभाव मन्त्रालयमा खड्किएको छ । ‘दिनदिनै हुने विस्फोटका घटनाले चुनावी सुरक्षा गतिलो हुन नसकेको वा आवश्यकताअनुसार हुन नसकेको प्रमाणित गरिसकेको छ,’ उनले भने ।

प्रकाशित: मंसिर ५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार