कोपिला

चुनाव आयो

- गणेश राई, काठमाडौं

चुनावबारे जानौं तर उमेर नपुगी चुनावी गतिविधिमा नलागौं

मंसिर ३, २०७४-यो वर्ष देशैभरि चरणबद्ध रूपमा निर्वाचन हुँदै छ । गएको वैशाख ३१, असार १४ र असोज २ गते तीन चरणमा चुनाव भयो । त्यो ७ सय ५३ स्थानीय तहको चुनाव थियो । स्थानीय तह भनेको गाउँपालिका र नगरपालिका (महानगरपालिका, उपमहानगरपालिकासमेत) हो । देशभरिमा २ सय ९३ नगरपालिका र ४ सय ६० गाउँपालिका छन् । निर्वाचनबाट गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, सदस्यहरू निर्वाचित भएका छन् । त्यसैगरी नगरपालिकामा मेयर, उपमेयर, वडाध्यक्ष र वडा सदस्यहरू निर्वाचित भएका छन् । हामीले बीस वर्षपछि जनप्रतिनिधि पाएका छौं । 

हाम्रो देश नेपालमा संविधान, २०७२ जारी भएपछि यसरी चुनाव भएको हो । यो संविधानले देशलाई ७ वटा प्रदेशमा बाँडेको छ । अहिले देशभरिमा ७७ जिल्ला छन् । सातै प्रदेशमा दुई चरणमा चुनाव हुँदै छ । प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव हुन लागेको हो । यही मंसिर महिनाको १० गते ३२ जिल्लामा पहिलो चरणको चुनाव हुनेछ । अनि मंसिर २१ गते दोस्रो चरणको चुनाव ४५ जिल्लामा हुँदै छ । यो चुनावले प्रतिनिधि सभाका २ सय ७५ सदस्य चुन्ने छ । त्यसमा १ सय ६५ प्रत्यक्ष चुनिने छन् भने १ सय १० जना समानुपातिकबाट छानिने छन् । त्यसैगरी सबै प्रदेशका गरी प्रदेशसभामा ५ सय ५० सदस्य हुन्छन् । तर प्रत्यक्षबाट चाहिँ ३ सय ३० जना सदस्य प्रदेशसभाका लागि निर्वाचत हुने छन् । समानुपातिक सूचीबाट २ सय २० जना छानिने छन् । हाम्रो मुलुकमा यस्तो चुनाव पहिलोपटक हुन लागेको हो । 

चुनावलाई निर्वाचन पनि भनिन्छ । हाम्रो मुलुकको चुनाव गराउने निकाय निर्वाचन आयोग हो । चुनाव निर्वाचन कानुनअनुसार हुने गर्छ । चुनावको मिति तोक्ने र सुरक्षा दिने काम सरकारले गर्दछ । निर्वाचनमा धेरै राजनीतिक पार्टीले भाग लिन्छन् । धेरैवटा दलले चुनावमा भाग लिने भएकैले यस्तो पद्धतिलाई बहुदलीय व्यवस्था भनिएको हो । नेपाल बहुदलीय व्यवस्था र लोकतन्त्रसहितको गणतन्त्र भएको मुलुक हो । यसपालिको चुनावमा ४९ राजनीतिक दलले भाग लिएका छन् । 

चुनावमा उम्मेदवारी दिने व्यक्तिलाई उम्मेदवार भनिन्छ । मत दिने व्यक्ति मतदाता हुन् । कानुनअनुसार १६ वर्ष उमेर पूरा भएपछि नेपाली नागरिकताको प्रमाणपत्र पाइन्छ ।

नागरिकता पाएको व्यक्तिले मतदाता नामावलीमा नाम दर्ता गर्न पाउँछ । तर मतदानमा भाग लिन चाहिँ १८ वर्ष पुग्नुपर्छ । नामावली दर्ताको काम निर्वाचन आयोगले गर्छ । मतदान दिने उमेर पुगेका व्यक्तिलाई बालिग भनिन्छ । मतदान गर्न फोटोसहितको मतदाता परिचयपत्र लिएर तोकिएको मतदान केन्द्रमा जानुपर्छ । मतदाता नामावलीमा नाम भएको र २५ वर्ष उमेर पुगेको व्यक्ति मात्र उम्मेदवार बन्न पाउँछ ।

 

‘बालबालिका प्रयोग नहोऊन्’

अयोधीप्रसाद यादव

प्रमुख निर्वाचन आयुक्त

चुनाव भनेको उमेर पुगेपछि भाग लिन पाउने र उम्मेदवारी दिन पाउने लोकतान्त्रिक पद्धति हो । अन्तर्राष्ट्रिय कानुनअनुसार राजनीतिक दलहरूले बालिग मतको अधिकार नपाएको व्यक्तिलाई यस्ता चुनावी गतिविधिमा प्रयोग गर्नहुन्न । बालिग हुन १८ वर्ष उमेर पुगेको हुनुपर्छ । १६ वर्षभन्दा कम उमेरका बालबालिकाले कुनै पनि राजनीतिक दलको चुनाव चिह्न भएको झन्डा, चुनावी सामग्री लिएर आमसभा, भाषण र प्रचार– प्रसारका कार्यक्रममा भाग लिनुहुन्न । 

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव बालबालिकाले पनि चुनावबारे बुझिराख्नुपर्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘विश्वको भविष्य भनेकै बालबालिका हुन् । त्यसैले उनीहरूलाई लोकतान्त्रिक निर्वाचन शिक्षाबारे जानकारी दिनुपर्छ । तर, बालबालिकालाई कुनै पनि राजनीतिक दलको क्रियाकलापमा सहभागी गराइनुहुन्न । चुनावी क्रियाकलापमा पनि बालबालिकालाई प्रयोग गर्नुहुन्न । अभिभावक र शिक्षकले आफ्ना बालबालिकालाई राजनीतिक जुलुसमा सहभागी हुनुहुन्न भनेर सम्झाउन जरुरी छ । चुनावमा बालबालिका प्रयोग गरिँदा दुर्घटनासमेत हुन सक्छ । त्यसकारण पनि उनीहरूलाई चुनावी गतिविधिबाट टाढै राख्नुपर्छ ।

प्रकाशित: मंसिर ३, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार