कोसेली

‘कीर्तिमानी’ कीर्तिनिधि

  • सम्झना
  • राजा महेन्द्रले दरबार भित्र्याएका विष्टको दरबार–सम्बन्ध राजा वीरेन्द्र र ज्ञानेन्द्रसम्म पनि तन्किइरह्यो । दिवंगत हुनुअघिसम्म उनी दरबारकै एक निकटस्थ र भक्तका रूपमा परिचित रहे ।
- ईश्वरी ज्ञवाली, काठमाडौं

भारतीय प्रधानमन्त्री इन्दिरा गान्धी ०२६ मा नेपाल भ्रमणमा आउँदा कीर्तिनिधि विष्टलाई भेटेरै भारतीय चेकपोस्ट र मिलटरी मिसन हटाउने निर्णयबारे आपत्ति जनाइन् । गान्धीको भनाइ थियो, ‘कूटनीतिक तहमा गरिनुपर्ने कुरा प्रधानमन्त्रीले सोझै घोषणा गरेर कहाँ हुन्छ ?’

मंसिर २, २०७४-म मरे पनि मलाई मेरो देशको माया छ

यो छातीभरि मुरीका मुरी नेपालको माया छ । 

लक्ष्मण लोहनीको रचना, चन्द्रराज शर्माको संगीत र नारायणगोपालको स्वरमा गुञ्जिने यो गीत नयाँ–पुराना दुवै पुस्ताका निम्ति उत्तिकै कर्णप्रिय छ । २५ कात्तिक ०७४ मा निधन भएका कीर्तिनिधि विष्टका लागि चाहिँ यो गीत खासमा महत्त्वपूर्ण थियो । किनभने, विष्टकै पाखुरामा शिर अड्याएर राजा महेन्द्रले भनेका थिए, ‘म मरे पनि मेरो देश बाँचिरहोस् ।’ त्यही उद्गारमा आधारित भएर लोहनीले गीत रचना गरेका थिए । 

विसं ०२२ को कुरा हो । राजा महेन्द्र महाकालीको शुक्लाफाँटा आरक्षमा सिकार खेल्न जाँदा हृदयाघातको सिकार भए । आरक्षको बीचमा रूखहरूका हाँगामा विशेष किसिमको मचान बनाएर मञ्चको आकार दिइएको थियो, जहाँ राजा महेन्द्र बसेर बाघको प्रतीक्षा गरिरहेका थिए । राजाका वरिपरि एडीसी शेरबहादुर मल्ल, परराष्ट्रमन्त्री कीर्तिनिधि विष्टलगायत थिए । राजा महेन्द्र अचानक ढले । विष्टले आफ्नो पाखुरीको सिरानी लगाइदिए । चिटचिट पसिना निस्कँदै गर्दा राजाको मुखबाट खसेको थियो, ‘हेर कीर्तिनिधि † मलाई जे भए पनि मेरो देश बाँच्नुपर्छ ।’ यति भनिसक्दा नसक्दै राजा अचेत भए, मूच्र्छा परे । 

राजासँगै गएका बंगाली डाक्टर हल्डरले तत्कालै ‘हेपारिन’ नामक इन्जेक्सन दिए । मुटुरोग विशेषज्ञ डा मृगेन्द्रराज पाण्डे तत्काल त्यहाँ पुगिहाले । अन्य डाक्टरहरू पनि झिकाइए । डाक्टरहरूकै सल्लाहअनुसार अमेरिकी राष्ट्रपति आइजनहावरका विशेष चिकित्सक डा मेटिङलाई बोलाउने सल्लाह भयो । किनभने, पटक–पटक हृदयाघातको सिकार भएका हावरलाई मेटिङले नै बचाउने काम गरेका थिए । केही दिनको अन्तरालमा हावर नेपाल आइपुगे र टीकापुरको कर्णाली नदी किनारमा काठको एउटा कुटी निर्माण गरेर झन्डै एक महिना त्यहाँ बसेर राजा महेन्द्रको उपचार गरे ।

कीर्तिनिधि विष्टले आफ्नो पाखुरामा शिर अड्याएर राजा महेन्द्रले बोलेको ‘म मरे पनि मेरो देश बाँचिरहोस्’ भन्ने उद्गार टुँडिखेलमा एउटा कार्यक्रमको आयोजना गरी सार्वजनिक गरे । राजा महेन्द्रको यही उद्गारलाई आत्मसात् गर्दै लोहनीले यो गीत रचना गरेको विष्ट स्वयंले बताएका थिए ।

***

पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टलाई भेट्न पहिलोपटक १५ मंसिर २०७० का दिन उनको निवास ज्ञानेश्वर पुगेको थिएँ । त्यसपछिका झन्डै तीन महिना उनको घरमै बिते । 

अन्तरंग कुराकानीका क्रममा दरबारको नाम बेचेर दरबारिया बनेका व्यक्ति–समूह, उदार–अनुदार पञ्च, दरबारका खास भित्रिया र बाहिरिया आदिका बारेमा थुप्रै कुरा उनले सुनाएका थिए । तर, सबै कुरा प्रकाशित गर्न भने उनी राजी भएनन् । खास गरी मुलुकलाई नोक्सान पुग्ने, दरबारलाई नोक्सान हुने र राजाहरूका विरुद्धमा उनको मुखबाट एकै शब्द पनि निस्किएन । कटुवचनको त के कुरा †

१८ पुस ०७० मा विष्टले श्रीमती गुमाउँदाको पीडा बयान गर्दा म आफैँ पनि ज्यादै भावुक भएको थिएँ । ७३ वर्षसम्म सुख–दु:खमा साथ दिएकी श्रीमतीको वियोगमा उनका आँखा टिलपिल–टिलपिल रसाएका थिए । श्रीमतीबारे उनले यत्ति भने, ‘मलाई कीर्तिनिधि बनाउनमा दुलहीको ठूलो हात छ । आज त्यसलाई गुमाउँदाको पीडामा छु ।’ 

अहिले पनि मलाई सम्झना छ, पहिलोपटक उनलाई भेट्न उनको निवासमा पुग्दा उनी आफ्नो शरीरजस्तै अग्लो र उँचो राष्ट्रवादी भावनाका साथ प्रस्तुत भएका थिए । उनको बैठककक्ष राजा–महाराजका तस्बिर र उनी आफैँले शुल्काफाँटामा मारेको बाघको छालाले सजिएको थियो । राजा महेन्द्र र रानी रत्नको तस्बिरमुनि गम्लङ्ग बर्को ओढेर बस्दै उनले भनेका थिए, ‘मानिसहरू मलाई राष्ट्रवादी भन्छन् । म के राष्ट्रवादी † मभन्दा ठूला र उच्चकोटीका राष्ट्रवादी नेता त राजा महेन्द्र हुन् ।’

***

विसं १९८३ मा काठमाडौँको वटुटोलमा जन्मेका कीर्तिनिधि विष्टको परिवार गोरखाको खोप्लाङबाट बसाइ सरी आएको थियो । चन्द्रनिधि–धनकुमारी विष्ट परिवारका कान्छा सन्तान थिए, कीर्तिनिधि । दरबारका बडागुरुज्यू तर्कराज पाण्डेकी माहिली छोरी धनकुमारी कीर्तिनिधि विष्टकी आमा थिइन् । राणा सरकारका प्रधानमन्त्रीद्वय जुद्धशमशेर र भीमशमशेरलाई विष्टकी आमाले भाइटीका लगाउँथिन् । राजा त्रिभुवनलाई पनि आफ्नी आमाले एकपटक भाइटीका लगाइदिएको विष्ट स्वयंले बताएका थिए । 

खासमा विष्ट परिवारलाई नपुग्दो केही थिएन । काठमाडौँ, भक्तपुर र नुवाकोटमा गरी झन्डै दुई सय रोपनीभन्दा बढी त खेतीयोग्य जमिन नै थियो । तर, राजनीतिमा लाग्न यी कुनै कुराले छेक्दो रहेनछ । विष्टलाई पनि छेकेन । राजनीतिशास्त्रमा एमए पढ्दै गर्दा उनी डिल्लीरमण रेग्मीको नेपाली राष्ट्रिय कांग्रेसमा आबद्ध भए । पछि त्यस पार्टीको महासचिव नै बने । 

१ पुस ०१७ मा जब राजा महेन्द्रले बीपी कोइरालाको प्रजातान्त्रिक सरकार विघटन गरी सत्ता आफ्नो हातमा लिए, कीर्तिनिधि विष्टको पनि बाटो फेरियो । नेपाली राष्ट्रिय कांग्रेसको महासचिव पद नै त्यागेर उनी पञ्चायत प्रवेश गरे । विष्टलाई राजा महेन्द्रले भेरी अञ्चलअन्तर्गतका दाङ, सल्यान र प्यूठान हेर्ने गरी विशेष अधिकारसम्पन्न दौडाहा टोलीको अध्यक्ष नै बनाइदिए । राजा महेन्द्रसँगको पहिलो भेटमै विष्ट कायल भए । संयोग भनौँ वा समर्पण, त्यसपछि भने विष्ट कहिल्यै राजा र राजदरबारबाट टाढा भएनन् । टाढा हुनुपरेन ।

राजा महेन्द्रले दरबार भित्र्याएका विष्टको दरबार–सम्बन्ध राजा वीरेन्द्र र ज्ञानेन्द्रसम्म पनि तन्किइरह्यो । दिवंगत हुनुअघिसम्म उनी दरबारकै एक निकटस्थ र दरबारभक्त व्यक्तिका रूपमा परिचित रहे । पञ्चायतकालमा तीनपटक प्रधानमन्त्री भएका उनी पटक–पटक मन्त्री, मन्त्रिपरिषद् उपाध्यक्ष र उपप्रधानमन्त्री भएका थिए । पछिल्लो समय ०६१ मा ज्ञानेन्द्र शासनकालमा उपाध्यक्ष हुने मौका पाएका उनी सधैँ दरबारको भलो चिताउने व्यक्तिकै रूपमा रहे ।

राजा महेन्द्रसँग विष्टको विशेष सम्बन्ध थियो । त्यो कुरा उनी लुकाउँदैनथे । दरबार भित्रिएको एक वर्षमै ०१८ सालमा उनी राष्ट्रिय निर्देशनमन्त्री बने । त्यसपछि लगातारजसो शिक्षा, परराष्ट्र र यातायातमन्त्रीको जिम्मेवारी पाए । ०२२ सालमा उपाध्यक्षका अतिरिक्त परराष्ट्र, भूमिसुधार, कृषि र खाद्यमन्त्री रहँदा विष्ट क्षेत्रपाटीमा डेरा गरी बस्थे । राजा महेन्द्र रानी रत्नलाई लिएर विष्टको त्यही डेरामा पुगे । बेलुकाको खानाका अतिरिक्त राजा महेन्द्रले ‘ह्वाइट हर्स ह्वीस्की’ लिए । विष्टले त्यो पुरानो सम्झना यसरी सुनाएका थिए, ‘राजारानी मेरो डेरामा आएको, मेरा नानी–बाबु र दुलहीलाई राजा महेन्द्रले गिफ्ट दिएको त्यो क्षण सम्झिँदा अहिले पनि भावुक हुन्छु । आफूलाई ज्यादै भाग्यमानी ठान्छु ।’ 

***

२५ चैत ०२५ मा पहिलोपटक मुलुकको प्रधानमन्त्री हुँदा विष्ट ४३ वर्षमा पाइला टेक्दै थिए ।

००७ सालको परिवर्तनसँगै नेपाली सेनालाई ‘रिफर्म’ गर्ने भनेर भित्र्याइएको भारतीय मिलिटरी मिसन आफ्नो कार्य पूरा गरेपछि भारत फर्किन मानेको थिएन । उल्टै ००९ सालमा आएर उसले नेपालका उत्तरी सीमामा चेकपोस्ट नै खडा गर्‍यो । तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यदेखि बीपी कोइरालासम्मले त्यसको विरोध गरे । तर, कसैले पनि भारतीय चेकपोस्ट र मिलिटरी मिसनलाई हटाउन सकेनन् । त्यसलाई हटाउनेबारेमा पहलकदमी लिएनन् । 

विष्टले हिम्मत गरे । उनले भारतीय चेकपोस्ट र मिलिटरी मिसनको विरोध मात्र गरेनन्, तत्कालीन परराष्ट्र सचिव यदुनाथ खनाललाई यससम्बन्धी एउटा मस्यौदा तयार गर्न लगाएर सीधै राजाबाट अनुमोदन गराए र ०२६ सालमा भारतीय चेकपोस्ट र मिलिटरी मिसन हटाउने साहसिक कदम उठाए । यससम्बन्धी प्रस्ताव राष्ट्रिय पञ्चायत र मन्त्रिपरिषद् बैठकमा पेस नगरी सीधै राजाबाट अनुमोदन गराएको भनेर विष्टको पञ्चायतभित्रैबाट पनि आलोचना भयो । तर, उनले वास्ता गरेनन् । आफ्नो मिसनमा लागिरहे । यस सम्बन्धमा जिज्ञासा राख्दा विष्टको जवाफ थियो, ‘ज्यादै संवेदनशील र बाह्य दबाबका कारण किनारा लाग्न नसकेको भारतीय मिलिटरी मिसन र चेकपोस्ट हटाउने कुरा मन्त्रिपरिषद्बाट निर्णय गराएर टुंग्याउन सकिने विषय थिएन । हल्लाखल्ला र प्रचारबाजी गरेर यो समाधान हुने विषय नै होइन । त्यसो गर्‍यो भने त उल्टै दबाब पथ्र्यो र हुने काम पनि नहुन सक्थ्यो ।’

भारतीय प्रधानमन्त्री इन्दिरा गान्धी ०२६ मा नेपाल भ्रमणमा आउँदा कीर्तिनिधि विष्टलाई भेटेरै भारतीय चेकपोस्ट र मिलिटरी मिसन हटाउने निर्णयबारे आपत्ति जनाइन् । गान्धीको भनाइ थियो, ‘कूटनीतिक तहमा गरिनुपर्ने कुरा प्रधानमन्त्रीले सोझै घोषणा गरेर कहाँ हुन्छ ?’ भारतीय चेकपोस्ट र मिलिटरी मिसन हटाउन चिनियाँ दबाब परेको आरोपसमेत विष्टले खेपे । तर, विष्ट त्यो कुरा मान्न कहिल्यै तयार भएनन् । यस सम्बन्धमा जिज्ञासा राख्दा उनले भनेका थिए, ‘म आफैँ प्रधानमन्त्री थिएँ, दबाब आएको भए त कमसे कम मैले थाहा पाउनुपथ्र्यो ।’ राष्ट्रिय अडान लिँदा ‘प्रो चाइनिज’ को आरोप खेप्न परे पनि उनी तयार भए । 

चैत ०२६ मा विष्टले प्रधानमन्त्री पदबाटै राजीनामा दिए । उनको राजीनामालाई लिएर पञ्चायतभित्रै अनेक अड्कल काटियो । कसैले भारतीय चेकपोस्ट र मिलिटरी मिसन हटाउने निर्णय गरेकाले भारतीय विरोध थेग्न नसकेर राजा महेन्द्रले नै राजीनामा गराएको भने त कसैले भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीको ‘धम्की’ कै कारण विष्टले राजीनामा दिएको हल्ला पिटाए । तर, विष्टले यी कुनै कारणले भन्दा पनि पदमा बसेर निर्वाचनमा प्रतिस्पर्धा गर्नु नैतिक नहुने ठानेरै राजीनामा दिएका थिए । राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भएपछि ०२८ मा विष्ट दोस्रोपटक प्रधानमन्त्री बने ।

सन् १९५० को शान्ति तथा मैत्री सन्धिलाई असमान र नेपालका लागि अमान्य छ भनेर अन्तर्राष्ट्रिय सञ्चार माध्यमबाट बोल्ने पहिलो व्यक्ति हुन्, विष्ट । विष्टले नै भारतीय दैनिक पत्रिकाका सम्पादकलाई नेपाल बोलाएर सार्वजनिक रूपमा त्यस सन्धिको विरोध गरेका थिए ।

३१ वैशाख ०२९ मा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापालाई जेल हालेर पुन: चर्चामा आए विष्ट । राजा महेन्द्र र विष्ट सरकारको विरोधमा थापा ‘द्वैध शासन’ को कुरा उठाएर सडकमा उत्रिएपछि विष्ट उनलाई जेल हाल्ने निर्णयमा पुगेका थिए । राजा महेन्द्रको नेतृत्वमा सँगसँगै काम गरेका थापालाई जेल हाल्नु कम चुनौतीपूर्ण थिएन । तर, त्यस्ता चुनौती सामना गर्नमा विष्ट आनन्द मान्थे । सत्तामा बसुन्जेल राजभक्ति दर्साउने र सत्ताबाट बाहिरिनेबित्तिकै सिद्धान्तका कुरा गर्ने थापालाई प्रधानमन्त्री विष्टले गृहमन्त्री जोगमेहर श्रेष्ठमार्फत मध्यरातमै गिरफ्तार गर्न लगाई जेल हालेका थिए । झन्डै १४ महिना थापा जेल बसे ।

२५ असार ०३० मा सिंहदरबार आगलागी काण्डपछि कीर्तिनिधि विष्टले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिए । राजीनामा पत्र बुझाउन जाँँदा राजा वीरेन्द्रले विष्टलाई भनेका थिए, ‘सिंहदरबारमा तिमीले आगो लगाएका होइनौ । तिमीले किन राजीनामा दिने ? राजीनामा आफ्नै खल्तीमा राख ।’ तर, विष्टले मानेनन् । उनले दृढ र नैतिकवान शैलीमा जवाफ दिए, ‘मेरो जिम्मामा रहेको राष्ट्रिय सम्पत्ति खरानी भयो । तसर्थ, यस पदमा बस्न मेरो मनले मानेन ।’ उनले एकोहोरो जिद्दी गरेरै राजीनामा पत्र बुझाएर छाडे । तत्कालीन भारतीय राजदूत एलपी सिंहले बालुवाटारमै पुगेरै साखुल्ले हुन खोजेछन्, ‘त्यति नै घटनाका आधारमा राजीनामा दिनु जरुरी थिएन ।’ विष्ट पनि के कम ? चर्कै जवाफ फर्काएछन्, ‘एउटा सामान्य रेल्वे दुर्घटना हुँदा लालबहादुर शास्त्रीले किन रेलमन्त्रीको पदबाट राजीनामा दिए त ?’ भारतीय राजदूतको अनुहार हेर्नलायक भएछ, रातो न रातो भएछ । 

***

राणाविरोधी आन्दोलनमा सक्रिय भएर लागेका कीर्तिनिधि विष्ट ००७ सालको प्रजातन्त्र बहालीपछिका झन्डै १३ वर्ष प्रजातन्त्रका लागि सक्रिय रहे । तर, त्यसपछि भने उनको बाटो फेरियो र पञ्चायत र पञ्चायती व्यवस्था नै उनको एकसूत्रीय अभियान भयो । पञ्चायतसहितको प्रजातन्त्रका पक्षमा भने उनले केही लबिङ गरेको देखिन्छ । ०२८ मा दोस्रोपटक प्रधानमन्त्री हुँदा विष्टले राजा महेन्द्रसँग सल्लाह गरेरै त्यसका लागि संविधान संशोधनको प्रस्ताव अघि बढाएका थिए । तर, दुर्भाग्य † त्यसबीचमा राजा महेन्द्रको निधन भयो । चितवनको दियालो बंगलामा संविधान संशोधनको प्रस्ताव लिएर जाने तयारी गरेका उनी राजा महेन्द्रको शव लिन जानुपरेको थियो । 

विष्ट आफूलाई दरबारिया र पञ्चायती व्यवस्थाकै पक्षपोषक भनेर चिनाउनमा गर्व गर्थे । उनले भनेका थिए, ‘अवसर र फाइदा पाउन्जेल पञ्चायत नै ठीक भन्ने तर जब त्यो व्यवस्था नै परिवर्तन भयो, त्यसको कटु आलोचना गरेर अवसर खोज्ने लोभ ममा कहिल्यै पलाएन । दरबार र पञ्चायतले मलाई जसरी चिनायो, म पनि त्यसकै श्रीवृद्धिमा जीवन अर्पण गर्नेछु ।’ नभन्दै विष्ट जीवनपर्यन्त नै आजको लोकतन्त्र र प्रजातन्त्रका पक्षमा उभिएनन् । 

०४६ सालको परिवर्तनपछि मुलुक प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्रमा प्रवेश गरे पनि कीर्तिनिधि विष्टले भने राजतन्त्र र दरबारकै पक्षपोषण गरिरहे । त्यसकै पक्षमा सक्रिय रहे । मुलुकमा प्रजातन्त्रको आगमनपछि पनि पञ्चायत र दरबारकै पक्षपोषण गर्ने सीमित नेतामा उनको नाम आउँथ्यो । 

***

बालुवाटारलाई प्रधानमन्त्री निवासका रूपमा प्रयोग गर्ने पहिलो व्यक्ति विष्ट थिए । ०२८ सालमा उनी एउटा लैनो गाई डोर्‍याएर बालुवाटार छिरेका थिए । सिंहदरबार आगलागीपछि राजीनामा दिएर घर फर्किंदा पनि उनले त्यही गाई डोर्‍याएरै बालुवाटार छाडे ।

पूर्वप्रधानमन्त्री विष्ट सादगीपूर्ण जीवन बाँचे । उनको ‘शव प्रदर्शन गरेर मलामी नबटुल्नू’ भन्ने आग्रहबमोजिम नै उनका सन्ततिले आममानिससरह विष्टको शवमा दागबत्ती दिए । कीर्तिमानी–कीर्तिनिधि आफ्नो देशभक्ति र इमानदारीको उँचो पहाड हामीबीच छोडेर सुनसान † सुनसान †† बिदा भए ।

प्रकाशित: मंसिर २, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार