कोसेली

‘जुम्मा चुम्मा दे दे...

  • संस्मरण
- ब्रजेश, काठमाडौं

कस्तो होला अमिताभको त्यति लामो समयपछि बनेको सिनेमा र कस्तो होला ‘जुम्मा चुम्मा दे दे’ भन्ने गीत ? नढाँटी भन्दा त्यस रात मलाई राम्ररी निद्रा पनि परेन । कति बेला भोलिपल्ट होला र राजाको राँगो फुकेझैं रिगलतिर वेग हानुँला भन्दै रात बित्यो ।

मंसिर २, २०७४-मलाई पान खान कहिले पनि मन लाग्दैनथ्यो, अझै पनि लाग्दैन । तर त्यस दिन म नयाँ दिल्लीको रिगल भन्ने सिनेमाहलको पानपसलको अगाडि वाजिद अली शाहको खनाति नै हुँ भनेजस्तो नवाबी सानका साथ उभिएको थिएँ ।

म कामविशेषले दिल्ली पुगेको थिएँ । काठमाडौंको माघे जाडो केही दिनको लागि भए पनि छल्न पाएकोमा रमाइलो लागिरहेको थियो । काम सकाएर बिहीबारको दिउँसो म कनाट प्लेसको रमझम हेर्दै बराल्लिइरहेको थिएँ । अलि परको सिनेमाहलमा लगाइएको विशाल पोस्टरले मेरो आँखा तान्यो । काठमाडौंमा सिनेमाका त्यत्रा बडेमानका ब्यानरहरू नदेखिने हुँदा त्यो आफंैमा तिलस्मी कुरा थियो । झन् त्यसमाथि क्रुद्घ मुद्रामा उभिएको अमिताभ बच्चन र उनको अँगालोमा मोहक मुस्कान छरेर क्यामरामा सीधा हेरिरहेकी किमी काटकर भएपछि के चाहियो र ? ती दुईलाई नजिकबाट नियाल्ने मेरा आँखाहरूको मौन भाषा बुझेझैं मेरा पाइलाहरू स्वयं गतिशील भएर रिगल सिनेमाभवनतिर लम्के ।

नजिकै पुगेर मैले घाँटी ठाडो पारेर त्यो अजंगको पोस्टरलाई हेरें । किमी काटकर त झनै मादक पो लागिन् । त्यो अल्लारे उमेरमा उसले मलाई नै हेरिरहेकी हो भन्ने लाग्नु अस्वाभाविक पनि त थिएन नि । अनि अमिताभ बच्चनचाहिँ मैले उनकी नायिकालाई हेरेकोमा मलाई मारुँलाजस्तो गरी हेरिरहेका थिए । उनीहरूको पछाडि पहेंलो ठूलो अक्षरमा सिनेमाको नाम लेखिएको थियो, ‘हम’ ।

तलपट्टि अरू सहायक कलाकारहरूका फोटाहरू थिए तर तिनलाई कसले हेरिरहोस् र ?

‘कौन पुछे खेसरी का दाल ?’

त्यो सिनेमा भोलिपल्ट १८ गते शुक्रबार रिलिज हुने रहेछ । अमिताभ बच्चनले स्वघोषित सन्न्यास लिएको पाँच वर्षपछि उनको कुनै नयाँ सिनेमा आउन लागेको हुनाले ‘हम’ निकै चर्चा र प्रतीक्षाको विषय बनिसकेको थियो । त्यसको एउटा गीत ‘जुम्मा चुम्मा दे दे’ खुबै विवादित तर लोकप्रिय भइसकेको थियो । त्यसको क्यासेट नै एक करोडभन्दा बढी बिक्री भइसकेका समाचारहरू आइसकेका थिए । त्यसमाथि अब आफू परियो केटाकेटी बेलादेखि नै अमिताभ बच्चनको भक्त । अमिताभलाई कसैले केही नराम्रो भन्यो मात्र भने पनि म आफ्नो पच्चीस इन्चको पहाडजस्तो छाती र अढाई छटाकको पाखुरा सुर्कन गइहाल्थें । 

त्यसैले म दिल्ली पुगेको बेला पारेर त्यो चलचित्रको प्रदर्शन हुनु कुनै अलौकिक संयोग नै हो भन्ने मलाई लाग्यो । किनभने अहिलेजस्तो विदेशी सिनेमा रिलिजकै दिन काठमाडौंमा लाग्दैनथ्यो । अलि गतिलो सिनेमा त वर्ष–दुई वर्षपछि मात्र आउँथ्यो । त्यो पनि यत्रतत्र प्रदर्शन भइसकेको, थरीथरीका प्रोजेक्टरका तिखा दाँतहरूले टोकेर, चपाएर कोरिएको ध्यारध्यारे रिल आउँथ्यो । त्यसमा पनि हामीलाई हेर्न उत्सुकता हुने कुरा जति त आफूले हेरिसकेर, अरूले चाहिँ हेर्न नपाउन् भनेर सेन्सर बोर्डका परपीडकहरूले काटिदिइसकेका हुन्थे ।

ठूलो समस्याचाहिँ के भने मेरो फर्किने टिकट पनि भोलिपल्टकै थियो । त्यो सिनेमा नहेरि काठमाडांै फर्किएँ भने मलाई अमिताभ बच्चनले जिन्दगीभर माफ गर्ने छैनन् भन्ने पनि मलाई राम्ररी थाहा थियो । त्यसैले मेरो मगजले ओभरटाइम काम गर्न थाल्यो । सबैभन्दा पहिले त सीधै त्यति बेलाको शाही नेपाल वायुसेवा निगमको कार्यालयमा गएर मैले आफ्नो टिकट अर्को दिनका लागि सारें । यात्रुहरूको चाप नभएर होला, सजिलैसँग त्यो काम सफल भयो । छातीबाट दुई मनको पत्थर हटेझैं हलुँगो अनुभूति गर्दै मैले दिल्लीको साँझको उपभोग गरें, करिमको कबाबका साथमा । तर, मेरो मन त टाइम मेसिनमा भोलिपल्टको यात्रा गरिरहेको थियो । 

कस्तो होला अमिताभको त्यति लामो समयपछि बनेको सिनेमा र कस्तो होला ‘जुम्मा चुम्मा दे दे’ भन्ने गीत ? नढाँटी भन्दा त्यस रात मलाई राम्ररी निद्रा पनि परेन । कति बेला भोलिपल्ट होला र राजाको राँगो फुकेझैं रिगलतिर वेग हानुँला भन्दै रात बित्यो । बिहानीपख बल्ल–बल्ल निदाउनै लागेको मात्र के थिएँ, अमिताभ बच्चन आएर आफ्नो भारी भरकम स्वरमा कराएर ब्युँझाइहाले,

‘अगर किसी ने हिलने की कोसिस की, तो भुन के रख दुंगा ।’

भोलिपल्ट आठ बजे रिगल पुग्दा त्यहाँ मैले कल्पना पनि नगरेको दृश्यले मेरो स्वागत गर्‍यो । सिनेमाहलको वरिपरि, अघिल्तिर पूरै यातायात अवरुद्घ थियो । पाइला टेक्ने ठाउँ नहुने भीड थियो । त्यति मात्र नभई बेला–बेला भीडलाई तितरबितर पार्न प्रहरीहरू लाठीचार्जसमेत गरिरहेका थिए । ओहो, यस्तो होला भन्ने त मैले चिताएकै थिइनँ । लामो सास फेरेर मैले आँट गरेर पशुपतिनाथको नाम जप्दै आफ्नो लुरो पातलो ज्यानलाई भीडको ठेलमठेलमा होमिदिएँ । टिकटको झ्याल भएको ठाउँको छेउछाउसम्म पुग्न आमाको गर्भबाट यो धरतीमा आउनभन्दा बढी परिश्रम गर्नुपर्‍यो । वीर गोर्खालीले हिम्मत कहाँ हार्न जानेको हुन्छ र ? निकै बेरको धक्कामुक्कीपश्चात् म आफ्नो गन्तव्यसम्म पुगें । तर त्यहाँ लेखेको कुरा देखेर मलाई भाउन्न भयो । 

त्यो दिनको त कुरै नगरौं, आगामी दुई साताको टिकटसमेत अग्रिम बुकिङ भइसकेको रहेछ । भीड त त्यसपछिको टिकटका लागि पो रहेछ । विचारशून्य अवस्थामा अलिमलिएका बेला त्यहाँको मानव सुनामीले हुत्याएर मलाई कुन बेला एउटा कुनामा उछिट्याइदियो, मैले थाहै पाइनँ । म अब के गर्ने होला भनेर सोच्न थालें । दुई साता दिल्ली बस्न न मसँग पैसा थियो न त आँट । ‘हम’ नहेरी फर्कन त हुँदै भएन । मैले माइनस २ को चस्मापछाडिका आफ्ना तीक्ष्ण आँखाहरू चारैतिर नचाएँ । सँगैको एउटा पानपसलमा पुगेर ती टक्क अडिए । अनि ठ्याक्कै टाउकोमाथि एउटा अदृश्य बिजुलीको गुलुप धपक्क बल्यो । ब्ल्याकमा भए पनि टिकट किनेर ‘हम’ हेर्ने निर्णय गर्‍यो मेरो एक सदस्यीय उच्चस्तरीय टोलीले । अनि म उत्साहित भएर पानपसलतिर लम्किएँ ।

***

पानपसले मलाई हेर्दै हिन्दीमा सोधिरहेको रहेछ, ‘ए भाइ, कुनचाहिँ पान बनाऊँ भन्या ?’

आफूलाई पानको बारे केही थाहा थिएन । मैले उसको अगाडि चाँदीको पातलो झिल्लीजस्तो केही दलिएको झन्डै–झन्डै ढुकुर जत्रा केही तयारी अवस्थाका पानहरू देखें । यहाँ त फिस्टो जत्रा पानहरू मात्र देखेको थिएँ । सबैभन्दा महँगो र गतिलो त्यही ढुकुरे पान हुनुपर्छ भन्ने लख काटेर मैले त्यो मागें । उसलाई प्रभावित त पार्नु नै थियो । मैले पान चपाउँदै अमिताभ बच्चनको ‘डन’ भन्ने सिनेमाको शैलीको नक्कल पार्दै हिन्दीमा सोधें, ‘ब्ल्याकमा टिकट चाहिएको छ । केही जुगाड हुन सक्छ भाइ ?’

नयाँ पानको पातमा चुना दल्दै उसले मलाई शंकालु आँखाले हेरेर सोध्यो, 

‘दिल्लीको जस्तो त देखिन्नौ, कहाँबाट आएका हौ ?’

मैले हुन सक्ने जति मायालाग्दो स्वर बनाएर आफू नेपालबाट आएको, ‘हम’ हेर्न एक दिनको टिकट सारेको जस्ता आफ्ना त्यागका गाथा उसलाई एकै सासमा सुनाएँ । अनि आफ्नो स्वरमा आधा किलो मख्खन र डेढ पाउ जति मिस्री मिसाउँदै भनें,

‘तपाईं त यहीँ पसल गर्ने मान्छे, ब्ल्याकहरूलाई चिन्या होला, लौ न मिलाइदिनुहोस् ।’

उसले खुइय्य गर्दै भन्यो, 

‘अरू बेला त मसँगै पनि हुन्थ्यो । तर यो अमिताभको सिनेमा हो, सब टिकट फलानोथोक पुलिसियाले ब्ल्याक गरिराछन् ।’

मेरा लागि त्यो सर्वथा उदेकलाग्दो जानकारी थियो । सम्भवत: मैले उसको भीआईपी पान खाएको हुनाले वा मेरो करुणरसले ओतप्रोत पुकारले द्रविभूत भएर हो, उसले अलि पर भएको ‘एक फितावाला’ हवल्दारलाई आफूतिर बोलायो र आँखाको इसाराले मलाई देखायो । हवल्दारले मलाई माथिदेखि तलसम्म नियालेर हेर्‍यो र कर्कश स्वरमा भन्यो, ‘फ्रान्ट स्टाँल चलेगा ?’

त्यो भनेको नबुझेर मैले अर्थ सोधें । उसले अझै कर्कश स्वरमा भन्यो,

‘आगेवाला, सब से आगे का ।’

‘थर्ड क्लास ?’ मैले कहिले थर्ड क्लासमा बसेर सिनेमा हेरेको थिइनँ । 

‘अरे वहीं से देखने में ही तो असली मजा आएगा । हिरोइन बडी दिखेगी, उस का ‘सब कुछ’ भी बडा–बडा नजर आएगा ।’

ऊ गुट्खा खाएर कालो भएका दन्तलहरहरू देखाएर आफ्नो भद्दा मजाकमा आफैं हाँस्यो । पानपसलेले पनि खी खी गर्दै त्यो हाँसोमा साथ दियो । मैले अकड देखाएँ, ‘मलाई त बल्कोनीको चाहिएको ।’

उसको आँखामा अब मेरा लागि अलिकति सम्मान देखियो । उसले कान कन्याउँदै भन्यो,

‘उपर का तो साहब लोग के पास होता है ।’

मैले अर्को गूढ ज्ञान प्राप्त गरें त्यो दिन । ठूलो सिनेमाको टिकट ब्ल्याक गर्नेमा पनि पुलिसको आफ्नै मर्यादाक्रम हुँदो रहेछ । थर्ड क्लास हवल्दारहरूको, सेकेन्ड क्लास असइको, फस्र्ट क्लास सइको, बल्कोनी र ड्र्रेस सर्कल इन्सपेक्टरको अधिकार हुँदो रहेछ । उसैले मलाई आफ्नो पछि लगाएर बडे साहब उभिएको ठाउँतिर लग्यो । आँखाको गुप्त इसाारा फेरि चल्यो । ठ्याक्कै सम्झना त छैन तर त्यति बेला भारतमा बल्कोनीको टिकटको दर बाह्र वा पन्ध्र रुपैयाँभन्दा बढी थिएन । तर, बडे साहबले सुनाएको टिकटको कालोबजारको मोल सुनेर मेरो सातो गयो । लौ त भनौं भने त्यो रकमले प्रिमियर पद्मिनी किन्न किस्ताबन्दीको ‘डाउन पेमेन्ट’ गर्न पुग्थ्यो होला । मेरो भाव पढेर इन्सपेक्टरले रूखो स्वरमा झर्किंदै भन्यो, ‘लेना है तो बोल्, वर्ना धन्दे का टाइम खोटा मत कर और फुट ले ।’

म अमिताभ बच्चनको र जुम्माको चुम्माका लागि जस्तोसुकै त्याग गर्न तयार थिएँ । बरु पेट काटौंला, तर ‘हम’ त नहेरी छाड्दिनँ भन्ने अठोटका साथ मैले बोल कबोल गरें । अनि मनमनै भनें, ‘चलिये बच्चन साहब, आप भी क्या याद रखोगे किस रइस से पाला पडा था ।’

इन्सपेक्टरले मलाई आफ्नो पछि आउने इसारा गर्दै हलको भित्र लग्यो । मूलढोकामा बसेको गेटकिपरलाई उसले भन्यो, ‘इस को आने दे, मेरा बन्दा है ।’

भित्र पनि एउटा अर्को टिकटको झ्याल रहेछ । त्यहाँ पनि भीड थियो । त्यो भीड पन्छाएको जस्तै गर्दै उसले आफ्नो एउटा हात पछाडि ल्याएर मलाई कोट्याइरहेको थियो । मैले हेरें, आफ्नो बुढीऔंलो र चोरऔंलो एकआपसमा रगड्दै उसले पैसा मागिरहेको रहेछ । मैले रकम खुसुक्क उसको हातमा हालिदिएँ । भने जति छ भन्ने पक्का गरेपछि उसले अर्को खल्तीबाट एउटा कच्याककुचुक भएको चिर्कटो निकाल्दै मेरो हातमा मुठ्ठी पारेर थमाइदियो र भन्यो, ‘बाहर जा कर देखना, यहाँ मत खोलना ।’

अनि मैले केही भन्नुअघि नै ऊ ठमठम लम्केर भीडमा हरायो । बाहिर अलि पर पुगेर मैले टिकट खोलेर हेरें । टिकट त बेलुकीको ६ बजेको पो रहेछ । परेन फसाद ? खाने–पिउने बजेट त मैले भेटी चढाइसकेको थिएँ । जसोतसो भोकभोकै पहाडजत्रो दिन बिताएर म साँझ फेरि त्यहीं पुगें । कतै टिकट नक्कली त हैन भन्ने डर आफ्नै ठाउँमा थियो । 

भीड बिहानको भन्दा बढी थियो । दुई ठाउँमा टिकट जँचाएर अन्ततोगत्वा म छामछाम छुमछुम गर्दै अँध्यारो हलभित्र पसें । सिनेमा चल्न सुरु भइसकेको रहेछ । दुई–चार ठाउँमा घुँडा ठोक्दै, दुई–चार जनाको खुट्टामा टेक्दै र ‘भाइसाहब, माफ करना’ भन्दै आफ्नो सिटमा पुठ्ठो अडाएपछि मात्र मैले शान्तिको सास फेरें । छेउको एक जना दर्शकलाई सोधेपछि थाहा भयो, जुम्माले त म भित्र पुग्नुअघि नै चुम्मा दिइसकेकी रहिछ । लौ परेन वित्यास ? पेट काटीकाटी त्यत्रो तिकडम लगाएर जे कुराका लागि आएको, त्यही नै छैन । जुम्माको चुम्मा नै नपाइने भएकामा मलाई डाँको छोडेर रुन मन लाग्यो । विशाखापट्टनमबाट शिवरात्रिमा पशुपतिनाथको दर्शन गर्न आएको तिर्थालुले चन्दनै लगाउन पाएन भने त्यसको के अर्थ भयो र ? मलाई स्वादिलो तर मसला नहालेको तरकारी खाएजस्तो भइरहेको थियो । मसँगै र त्यसको एक छिनपछि भित्र आइपुगेका अरू केही दर्शक पनि नुन खाएका कुखुराझैं झोक्राइरहेका थिए । 

विष्णु भगवान्ले बेला–बेला विभिन्न अवतार लिएर आउँछन् भन्ने सुनेको थिएँ, नभन्दै त्यस दिन उनी रिगल सिनेमाको टिकट जाँचकीको रूपमा साक्षात् भूतलमा ओर्लेका रहेछन् । उनले हामी दर्जन जति दर्शकलाई एउटा वरदान पनि दिए । सिनेमा सकिएपछि अर्को सोमा पछाडि उभिएर छुटेको जुम्मा चुम्मासम्म हेर्ने अनुमति थियो त्यो वरदान । हामीले कानदेखि कानसम्म थुतुनो च्यातेर उनलाई प्रणाम गर्‍यौं र जुम्माको चुम्माको प्रतीक्षामा उभियौं ।

हमको राति ९ देखि १२ को शो चल्न सुरु भयो । अमिताभ वच्चनलाई देखाउँदा ताली पड्काउने र किमी काटकरलाई देखाउँदा सिठ्ठी फुक्ने नैसर्गिक अधिकारको हामी सबैले उपभोग गर्‍यौं । किमी काटकरलाई देखेर एक जना भद्रभलाद्मीले त सहन नसकेर कमिजको टाँकै उछिटयाएर छाती पिट्दै आर्तनाद गरे, 

‘हाय, जिगर पे चाकु चला दिया जालिम ने ।’ 

अन्तत: ‘जुम्मा चुम्मा दे दे’ भन्ने गीत सुरु भयो । अनि त के चाहियो र, हलभरिका दर्शकलाई मानौं एकैसाथ झाँक्री चढ्न थाल्यो । थर्ड क्लासदेखि बल्कोनीसम्मका, अल्लारेदेखि परिवारसँग आएका थुल्थुल भुँडी भएका पाका मानिससम्म सबै सिटबाट उठेर कोरसमा गाउन र नाच्न थालिहाले । कसको कुिहनाले कसको करङमा घुच्यायो, कसको खुट्टाले कसलाई कुल्च्यो, कसैलाई मतलब थिएन । जुम्माको चुम्माले सबैलाई एकताको सूत्रमा बाँधिदिएको थियो । सिनेमाको त्यस्तो पागलपनको हदसम्मको क्रेज देख्दा म मन्त्रमुग्ध भइरहेको थिएँ । अनि रोममा रोमनले जस्तै गर्नू भन्ने भनाइ शिरोधार्य गर्दै म पनि उनीहरूसँगै उफ्रिँदै, नाच्दै र घाँटीको नशा छिन्ला जसरी किल्किले फुलाएर गीत चिच्याइरहेको थिएँ, 

‘जुम्मा चुम्मा दे दे, जुम्मा चुम्मा दे दे चुम्मा....’

हलभरिका मानिसको करतल कोरसमा स्पिकरबाट बजिरहेको मूल गीत हराइरहेको थियो, तर कसैलाई त्यसको मतलब थिएन । पसिनाले निथ्रुक्कै भएर म भीडमा रमाइरहेको थिएँ । बडे साहबलाई चढाएको त्यो भेटीको पनि अब मलाई चित्त दुख्न छोडिसकेको थियो । ५, ६ मिनेट लामो त्यो गीत जब सकियो, साराका सारा झाँक्रीहरू अचानक फेरि आम मानिसमा परिणत भए । नयाँ शो हेर्न आएकाहरू आ–आफ्नो सिटमा स्याँ–स्याँ गर्दै थचक्क बसे । अघिल्लो सोका हामी दर्शकहरू चरम सन्तुिष्टको भाव लिएर छाती तन्काउँदै बाहिर निस्क्यौं । म त्यस दिन एउटा नयाँ र गज्जबको अनुभव बटुलेर निस्केको थिएँ । होटल नपुगुन्जेल पनि आफ्नो स्वरलाई घोक्रो बनाएर म गुन्गुनाइरहेकै थिएँ,

‘जुम्मा चुम्मा दे दे...’

प्रकाशित: मंसिर २, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार