कोसेली

उखान सिद्धान्तको इतिवृत्तान्त

  • पुस्तक

मंसिर २, २०७४-उखान लोकपरम्परा, समाजिक मूल्यमान्यता र रीति, थितिमा आधारित पुराना लोकका भनाइ र भोगाइहरू हुन् । उखानले लेखन कार्यलाई चम्क्याइदिन्छ । कथ्य र लेख्य रूपमा अभिव्यक्तिलाई मार्मिक र व्यञ्जनामय बनाउनु उखानको साहित्यिक विशेषता हो । मानवीय जीवनको अनुभवसिद्ध ज्ञानलाई सरल एवम् सहज रूपमा उखानले अभिव्यक्त गर्छ । मानिसले देखेका, भोगेका, अनुभव गरेका र व्यवहारमा स्वत: उब्जिएका छोटा वाक्यहरू नै उखान हुन् । समीक्षकहरू उखानलाई लामो अनुभवबाट निस्केका छोटा वाक्य पनि भन्ने गर्छन्  । 

उखानमा तीन तत्त्व हुन्छन्, कथ्य, शैली र उद्देश्य । उखानमा जे भनिएको छ, त्यही नै उखानको कथ्य हो, उखान जुन ढंगले भनिन्छ त्यो उखानको शैली हो भने उखान जुन प्रयोजनका निम्ति अभिव्यक्त हुन्छ, त्यो उखानको उद्देश्य हो । कथा, निबन्ध, संवादमा उखानको प्रयोगले भन्न खोजेको कुरा वा कथनलाई अझै प्रस्ट्याएर पाठकलाई पढूँ–पढूँ लाग्ने जिज्ञासा बढाउँछ । उखानमा लोक जीवनका अनेकौं आयाम र विशेषता पाइन्छन् । 

उखान जातीय भिन्नता र स्थान फरक प्रयोग गरेको पाइन्छ । समाजले बसालेका रीति, थिति, नीति र मूल्य–मान्यता उखानमा प्रतिविम्बित हुन्छन् । उखान सामाजिक रूपमा जति मूल्यवान पाइन्छन्, भाषा र साहित्यका दृष्टिले त्यत्तिकै वजनदार रहेको तथ्य स्विकारिएको छ । ऐतिहासिक र भाषा विज्ञानको अध्ययनको क्षेत्रमा पनि उखानको प्रयोग मूल्यवान् मानिन्छ । प्राचीन शब्द, रूप, ध्वनि आदि प्राचीनतम उखानमा भेटिन्छन् । उखानमा संसारका समाजका एक भावका अनेक रूपमा  भेटिन्छन्  । वाक्यमा उखानको प्रयोगले अभिव्यक्ति झरिलो र व्यङ्ग्यपूर्ण सजीव बन्ने गर्छ । जस्तै : गाईगोठबाट फर्किएर भाइ, द्रव्य शाहले दाजु नरहरि शाहलाई लमजुङको गद्दीबाट खसाल्ने सुर कसे । दुवै दाजुभाइबीच कुस्ताकुस्ती चल्यो । लमजुङको राजघरानाभित्र विद्रोहको आगो सल्केको यसै विषयलाई उखानमा यसरी प्रयोग गरियो– ‘भाइ फुटे गँवार लुटे’ । 

जसको मन पवित्र छ, उसको व्यवहार पनि स्वच्छ हुन्छ भन्ने कुरालाई ‘आफू भलो त जगतै भलो’ । प्राणीको उद्भव स्रोत उसको मन हो । पवित्र मनमा खेल्ने असल विचारले काम पारदर्शी र स्वच्छ हुन्छ, जसले मानिसलाई सभ्य बनाउँछ ।  असल र सुसंस्कृत मानिसले मानवको हितविपरीतको काम, अमानवीय व्यवहार गर्दैन । तर, असंस्कृत वा संस्कार नभएको मानिसबाट यदाकदाबाहेक राम्रो मानवीय व्यवहार र बोली वचन पाइन्न ।  

उखानमा प्रयोग हुने सर्वनाम र विशेषणले केन्द्रीय सन्देश बोकेको हुन्छ । सन्देश वा अर्थबिनाको उखान हुन सक्दैन । उखानलाई आफ्नै किसिमले प्रयोग गर्न वा परिमार्जन गर्न मिल्दैन । जस्तो कि–‘कालो अक्षर भैंसी बराबर’ लाई ‘कालो अक्षर राँगो बराबर’ भन्न मिल्दैन । र, यसले सन्देश पनि दिन सक्दैन । उखानको मूलभूत सिद्धान्त यही हो ।  

नेपाली उखानको अध्ययनको परम्पराको सुरु माध्यमिक कालमा कवि मोतीराम भट्टबाट भएको पाइन्छ । यसपछि धेरै विद्वान्हरूले उखानका  पुस्तक प्रकाशित गरेको भेटिन्छ । तर नेपाली र मैथिली भाषाका उखानको विश्लेषण भने गरेको पाइँदैन । यसै मेसोमा त्रिभुवन विश्वविद्यालयमा ३६ वर्ष नेपाली विषयमा अध्यापन गराएका प्राध्यापक कुलप्रसाद कोइरालाद्वारा (हाल नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति) संकलित नेपाली र मैथिली भाषाका उखानहरूको संगालो ‘उखान सिद्धान्त र विश्लेषण’ नामक पुस्तक साझा प्रकाशनले प्रकाशित गरेको छ । पुस्तकमा कोइरालाले नेपाली र मैथिली भाषाका उखानलाई नेपाली र मैथिली भाषामा केस्राकेस्रा गरी मिहिन रूपले केलाएर सप्रसङ्ग व्याख्या/विश्लेषण गरेका छन् । पुस्तकमा उखानको सिद्धान्त र विश्लेषण गरिएको छ ।  खास गरेर मैथिली भाषा नेपालको तराई मधेस त्यसमा पनि मिथिला क्षेत्रमा बढी बोलिन्छ । मैथिली भाषाको उखानका क्षेत्रमा नेपालमा खास अध्ययन भएको नपाइए पनि हिन्दी भाषाका माध्यमले मैथिली भाषा साहित्यको विशद् अध्ययन भइसकेको कोइरालाले पुस्तकमा उल्लेख गरेका छन् । 

मैथिली भाषामा उखानको प्रयोग गरेर लेख्ने रमानाथ मिश्रको ‘मैथिली मुहाबरा एवं लोकोक्ति प्रकाश’ (१९६३ ई) लाई पुस्तकमा पहिलो मानिएको छ । त्यस पुस्तकमा ५० वटा उखान संकलन गरेको उल्लेख छ । यसैगरी परमेश्वर झाले ‘मिथिला तत्त्वविमर्श’ नामक पुस्तकमा (१९४९ ई) मा मैथिली उखानको सामान्य परिचय दिएका छन् भने  जीवानन्द ठाकुर, जयदेव मिश्र, युगेश्वर झा, ताराकान्त मिश्रले मैथिली उखान प्रयोग गरेको पुस्तकमा उल्लेख छ । माथिका लेखकमध्ये  युगेश्वर झाले लेखेको मैथिली व्याकरण ‘आओर रचना’ (१९८५ ई) मा  मैथिली उखानको परिचय दिएर यसलाई वाक्यमा प्रयोग गर्ने तरिका उल्लेख गरिएको जानकारी पुस्तकमा छ । 

कोइरालाको पुस्तकमा एउटै भावका  नेपाली र मैथिली उखानको विश्लेषण गरिएको पाइन्छ ।  ‘आफू भलो त जगतै भलो’ भन्ने नेपाली उखानको भाव मैथिलीमा पनि समान अर्थात् उस्तै छ । 

– नारायणप्रसाद बराल

प्रकाशित: मंसिर २, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार