कोसेली

बालबालिका र स्मार्टफोन

- कान्तिपुर संवाददाता , काठमाडौं

मंसिर २, २०७४-अध्ययनअनुसार पढाइ र सामाजिक अन्तक्र्रियामा भन्दा बढी समय सामाजिक सञ्जालमा बिताउने बालबालिकाहरूमा डिप्रेसनको समस्या बढी पाइएको छ । प्रस्तुत छ, ‘टाइम म्यागेजिन’ मा प्रकाशित मार्खद हेइदको रिपोर्टको अनुवाद :

निना लाङटनसँग ‘डिप्रेस’ हुनुपर्ने कुनै कारण थिएन । कम्तीमा, त्यो उनले जसरी देखिन् । उनका निकै मिलनसार साथीहरू थिए । छिमेकी उस्तै सहयोगी थिए । उनी आफ्ना बाबुआमासँग पनि उत्तिकै नजिक थिइन् । विद्यालयका अन्य साथीहरूजस्तै उनी पनि आफ्नो अधिकांश समय स्मार्टफोनमा खर्च गर्थिन् । 

तर अधिकांश साथीहरूभन्दा फरक उनी सामाजिक सञ्जालभन्दा बाहिर लक्षित भइनन् । इन्स्टाग्राम, स्न्यापच्याटजस्ता इन्टरनेट साइटहरूमा बुलिइङ र आलोचनाका लागि उनले सधैंजसो शब्दहरू खर्चिन् । उनले भनिन्, ‘मैले म किन दु:खी भएँ भन्ने थाहा नपाउनु नै मेरो डिप्रेसन अझ जटिल बन्नुको प्रमुख कारण हो ।’

पछि जब उनले आत्महत्याको प्रयास गरिन् र पुन:स्थापना केन्द्रमा बसिन् उनले र उनका थेरापिस्टले उनको तनावको कारण समाजिक सञ्जालमा देखिने शरीरको आकर्षण रहेको पत्ता लगाए । हाल १७ वर्ष पुगेकी निनाले भनिन्, म इन्स्टाग्राममा मोडलहरूको तस्बिर हेर्न निकै व्यस्त रहन्थे र आफू त्यस्तो नदेखिएकोमा निकै चिन्तित हुने गर्थें । 

उनी राति ढिलासम्म आफ्नो मोबाइलमा सामाजिक सञ्जाल चलाउन व्यस्त रहन्थिन् । जसका कारण उनमा निद्रा कमी हुनुका साथै खानपिनको समस्या देखिन थाल्यो । र, उनले आफ्नो एक मात्र विकल्प आत्महत्या देखिन् । 

सार्वजनिक स्वास्थ्य विषयमा अध्ययन गरेकी उनकी आमा क्रिस्टिन लाङटनले एक बाल अस्पतालमा काम गर्छिन् । तर उनको पेसागत पृष्ठभूमिका बाबजुद उनी पूर्णतया आफ्नो छोरीको आत्महत्या प्रयासबारे अनविज्ञ थिइन् । ‘निना एकदमै फरासिली थिइन्, खेलकुदमा रुचि राख्थिन्, छरितो र निकै सामाजिक थिइन्, मैले उनमा डिप्रेसन हुने सोच्नु त कल्पनाभन्दा बाहिरको कुरा हो,’ उनले भनिन् ।

उनले बेलैमा छोरीले स्मार्टफोन प्रयोग गर्ने समयबारे ध्यान दिएको भए यस्तो नहुने जनाइन् । ‘मैले राति उसलाई आफ्नो कोठामा मोबाइल लैजान रोकिनँ,’ उनले भनिन्, ‘खासमा मैले यस्तो घटना नहुन्जेल कहिल्यै पनि मोबाइल फोनको प्रयोगको असर र उनको बालवृत्तिमा पार्ने प्रभावबारे सोचिनँ ।’

अमेरिकाको स्वास्थ्य र मानव सेवा विभागको सर्वेक्षणअनुसार सन् २०१० र २०१६ को बीचमा डिप्रेसनको सिकार हुने किशोर/किशोरीहरू ६० प्रतिशत छन् । सन् २०१६ मा १७ हजार बच्चामा गरिएको सर्वेक्षणमा १३ प्रतिशतमा जटिल प्रकारको डिप्रेसन देखिएको थियो, जुन ६ वर्षअघि करिब ८ प्रतिशतमा सीमित थियो । त्यसैगरी रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार १० देखि १९ वर्ष उमेर समूहका बालबालिकाको आत्महत्या दर पनि ह्वात्तै बढेको पाइएको छ । 

‘यो निकै भयावह अवस्था हो,’ सान डियागो विश्वविद्यालयका मनोविज्ञान विषयका प्राध्यापक जिन 

ट्वयङ्गेले भनिन् । उनको प्रकाशोन्मुख अनुसन्धानको नतिजाका अनुसार सन् २०१० पछि अन्य बच्चाको तुलनामा बढी समय सामाजिक सञ्जालको प्रयोग गर्नेमा मानसिक समस्या देखिने गरेको पाइएको छ । 

उनले २०१० देखि २०१५ सम्म ५ लाख किशोर/किशोरीहरूमा गरेको अध्ययनमा दैनिक ३ घण्टा वा बढी समय स्मार्टफोन वा अन्य विद्युतीय यन्त्रमा समय खर्चने बच्चाहरूमध्ये ३४ प्रतिशत र ५ घण्टा वा बढी समय बिताउने बच्चामध्ये ४८ प्रतिशतमा कुनै न कुनै प्रकारको आत्महत्यासम्बन्धी समस्या देखापर्ने पाइएको छ । 

ट्वयङ्गेले गरेको अनुसन्धानमा दैनिक समाजिक सञ्जाल प्रयोग गर्ने बच्चाहरूमध्ये १३ प्रतिशतमा उच्च तहको डिप्रेसनको समस्या रहेको पत्ता लाग्यो । समग्रमा उनले गरेको अध्ययनअनुसार पढाइ, सामाजिक अन्तक्र्रियामा भन्दा सामाजिक सञ्जालमा बढी समय बिताउने गरेका बच्चाहरूमा डिप्रेसनको बढी समस्या पाइएको छ । 

ट्वयङ्गेको अनुसन्धानले कारण र सम्बन्धको बारेमा भने खासै केही पत्ता लगाएको छैन । तर डिप्रेसनमा परेका बच्चाहरूले समय पाएसम्म झन् धेरै सामाजिक सञ्जालको प्रयोग गर्ने गरेको पाइएको छ ।

युवा मस्तिष्क

कुनै पनि यन्त्रले युवाहरूको मानसिक स्वास्थ्यमा पार्ने प्रभाव बुझ्न उसको मस्तिष्कमा हुने जटिल परिवर्तनबारे थाहा पाउनु महत्त्वपूर्ण छ । केही अध्ययनअनुसार स्मार्टफोनमार्फत गरिने विभिन्न गतिविधिले मस्तिष्कको एन्टेरियर सिंगुलेट कर्टेक्स (एसीसी) मा हुने मांसपेशी नियन्त्रण गर्ने, हेर्ने, सुन्ने, स्मरणशक्ति, संवेदना, निर्णय क्षमता र नियन्त्रण गर्ने भागलाई बिस्तारै कम गर्दै जान्छ । जसका कारण मानिसमा डिप्रेसन र लत लाग्ने समस्या देखापर्छ । 

‘हामीलाई थाहा छ कि वयस्क व्यक्तिको तुलनामा युवाहरूमा आवेग नियन्त्रण, सहानुभूति प्रकट गर्ने तथा निर्णय क्षमताको पूर्ण रूपमा विकास भइसकेको हुँदैन’— ‘द टिनएज ब्रेन’ पुस्तकका लेखक उपेन जेन्सेन भन्छिन् । जसका कारण विकसित अवस्थाको मस्तिष्कले जस्तो उनीहरूले आफूलाई हानि पुर्‍याउने विभिन्न सामग्रीको प्रयोग त्याग्न असफल हुन्छन् । 

सामाजिक सञ्जालसँग र अरू स्मार्टफोनमार्फत हुने गतिविधिबीचको सम्बन्धबारे गरिएका अनुसन्धानले मस्तिष्कमा डोपामाइनजस्ता रसायनहरूको उत्पादनमा बिस्तारै वृद्धि हँुदै जाने र बच्चाहरूलाई स्मार्टफोन अनिवार्य प्रयोग गर्नुपर्ने अवस्था आउँछ । त्यस्ता बच्चाहरूलाई फोन प्रयोग गर्न वञ्चित गर्‍यो भने उनीहरूमा एकाग्रता नहुने, कष्ट महसुस गर्ने तथा अनावश्यक रिसाउने समस्या देखिन्छ । यद्यपि बच्चाहरूको चिन्ताको प्रमुख कारण स्मार्टफोन नभए पनि जेन्सेनका अनुसार यसले केही हदसम्म गति बढाइदिने काम भने गरेको छ । 

कान्सस विश्वविद्यालयका प्राध्यापक पल अट्चलेका अनुसार मानवीय संवेदनामा केन्द्रित हुने मस्तिष्कको महत्त्वपूर्ण भाग मानिस २० वर्ष नपुग्दासम्म पूर्ण रूपमा विकास भइसकेको हुँदैन । उनका अनुसार उक्त समयसम्म हामीले मस्तिष्कमा हुने कुनै पनि प्रकारका विचलन पूर्ण रूपमा रोक्न सकेनौं भने त्यसले जीवनकालसम्म असर पुग्छ । 

उनी भन्छन्, ‘हामीले अहिले देखिरहेको मुख्य समस्या भनेको बालबालिकाहरू बिस्तारै अरूप्रति संवेदनहीन र मानसिक रूपमा विचलित हुँदै गइरहेका छन् ।’ उनका अनुसार किशोर–किशोरीको मानसिक अवस्थामा आउने नकारात्मक परिवर्तनमा स्मार्टफोनको बढ्दो प्रयोग मुख्य जिम्मेवार देखिन्छ ।

तर कतिपय वैज्ञानिकहरू स्मार्टफोनको प्रयोग र उनीहरूको स्वास्थ्य समस्याबारे खासै सम्बन्ध नरहेको बताउँछन् । डुक विश्वविद्यालयका मनोविज्ञान र स्नायुविज्ञानका प्राध्यापक क्यान्डिस ओडगर्स भन्छिन्, ‘मैले खासगरी किशोरीहरूमा बढ्दो डिप्रेसनको समस्या देखेको छु, तर किन मानिसहरू यसलाई नयाँ प्रविधिसँग जोडिरहेका छन् ?’ उनका अनुसार युवाहरूको स्वास्थ्य समस्यामा मोबाइल फोनको प्रयोग कारकका रूपमा निकै कम तथ्यांकले मात्र देखाएको छ । यद्यपि उनी किशोर–किशोरीलाई स्मार्टफोनको अनियन्त्रित प्रयोगको भने विपक्षमा छिन् । 

ओडगर्स भन्छिन्, ‘म कुनै आठ वर्षको बच्चालाई स्मार्टफोन चलाउन दिनुपर्छ भन्ने पक्षमा भने छैन । तर त्यसका लागि कुन उमेर र कति समय उपयुक्त हो भन्ने कुरामा भने पर्याप्त अनुसन्धान आवश्यक छ ।’ अनुसन्धानकर्ताहरूले बढ्दो स्मार्टफोनको प्रयोगबारे चिन्ता गरिरहँदा बच्चाहरूले भने निकै कम उमेरदेखि नै प्रयोग गरिरहेको पाइएको छ । विकसित मुलुकमा औसत १० वर्षको उमेरमा सबै बालबालिकको स्मार्टफोनमा पहुँच हुने गरेको छ । 

किशोर/किशोरीले कसरी कुरा गर्छन् ?

कोलिन निस्वेटले विद्यालयको परामर्शदाताको रूपमा काम गर्न लागेको २० वर्ष नाघिसक्यो । उनी कनेक्टिकटको ग्रयान्बी मेमोरियल स्कुलका विद्यार्थीलाई खाजाको समयमा निगरानी गर्छिन् । उनका अनुसार उक्त समय विद्यार्थीहरू एकआपसमा कुराकानी गर्नुको साटो छुट्टै बस्ने र मोबाइलमा व्यस्त हुने गर्छन् । यस्तो समस्या सबैजसो घर वा अन्य सार्वजनिक स्थानमा पनि देखिने गरिएको छ ।

पिट्सवर्ग विश्वविद्यालयको अनुसन्धान केन्द्रका निर्देशक ब्रायन प्रिम्याकले बढ्दो मोबाइल प्रयोगले प्रत्यक्ष कुराकानी हुने अवस्थालाई नै निरन्तर विस्थापित गर्दै गएको छ । उनका अनुसार अहिलेका बच्चाहरू एक अर्कामा कुराकानी गरिरहेका हुन्छन्, एक अर्काबारे कुराकानी गरिहरेका हुन्छन् तर मोबाइलमा । 

निस्बेट भन्छिन्, ‘उनीहरूले सँगै बसेको बेलामा पनि मोबाइलमार्फत आफ्नो साथीबारे प्रक्रिया दिने वा आलोचना गर्ने गरेको बताउँछन् । कुरा काट्नु कुनै नौलो कुरा होइन । तर अनुसन्धानअनुसार इन्टरनेटले किशोर–किशोरी मात्र नभई अन्य मानिसलाई पनि बिनारोकतोक भद्दा मजाक र वार्तालाप गर्न सम्भव बनाइदिएको छ ।’

यल विश्वविद्यालयबाट तालिम लिएर किशोर–किशोरीहरूको तनावको उपचारमा संलग्न मार्यलिन प्याच्लरको अधिकांश समय बच्चाका बाबुआमासँग उनीहरूका कतिपय डर नाजायज भएको मनाउँदै बित्थ्यो । तर उनी भन्छिन्, ‘हाल त्यस्तो छैन, यदि कुनै बच्चाले कक्षामा हात उठाएर केही सोध्यो वा केही भन्यो भने पनि उसका साथीहरूले म्यासेज गर्ने वा सामाजिक सञ्जालमा केही पोस्ट गर्ने गर्छन् ।’

उनी सामाजिक सञ्जालमा फोटोहरू पोस्ट गर्दा निकै खुसी देखिने बच्चाहरू वास्तविकतामा त्यस्तो नभएको दाबी गर्छिन् । तर किशोर–किशोरीहरू भने सामाजिक सञ्जालमा कसैले पनि आफू नराम्रो देखिने कुनै पनि कुरा पोस्ट नगर्ने बताउने गर्छन् । 

अब के ?

बच्चाहरू डिप्रेसनको सिकार हुनुमा धेरै कारण भएकामा कुनै शंका छैन । अभिभावकहरूका अनुसार पहिलेभन्दा बच्चा आफैं हालैका दिनमा बढी व्यस्त हुने गर्छन् । उनीहरूले राम्रो स्कुल/कलेजमा भर्ना पाउन पढाइका साथै अतिरिक्त क्रियाकलापमा राम्रो हुन आवश्यक भइसक्यो । तर कतिपय अनुसन्धानकर्ताले भने सामाजिक सञ्जाल र अन्य माध्यमको बढी प्रयोग हानिकारक हुने भन्दै यसको नियमनमा मात्र जोड दिंदै आएका छन् । 

अमेरिकाको बालबालिका स्याहार प्रतिष्ठानका सञ्चार निर्देशक डेभिड हिलले भने, ‘मलाई लाग्दैन कि यसको सम्पूर्ण कारण स्मार्टफोन हो । मैले धेरै अभिभावकसँग कुराकानी गरेको छु र म बच्चाहरूलाई मोबाइल प्रयोग गर्न रोक लगाउने पक्षमा छु, खासगरी सुत्ने कोठामा मोबाइल प्रयोग गर्न दिनै हँुदैन ।’

कतिपय शैक्षिक संस्था वा व्यक्तिहरूबीच पनि बच्चालाई मोबाइल प्रयोग गर्न दिने वा नदिनेबारे विवाद छ । कतिपय स्कुलले विद्यार्थीहरूलाई आफ्नो कक्षाकोठामा पढाइ हुनेबाहेकको समयमा मोबाइल प्रयोग गर्न दिने गरेका छन् तर शिक्षकहरूले बारम्बार मोबाइल बन्द गर्न भन्नुपर्ने भएकाले अनावश्यक भार थपिएको छ । 

सान लोरेन्जो विद्यालयकी अंग्रेजी शिक्षक जिना स्पायर्सले आफूले कक्षाकोठामा प्रयोग गरेको मोबाइल जफत गर्ने गरेको जनाइन् । तर त्यसले विद्यार्थीमा अनावश्यक भय र पढाइमा ध्यान नदिने समस्या उत्पन्न हुने गरेको उनको भनाइ छ । यो शैक्षिक सत्रदेखि लोरेन्जोले अन्य स्कुलहरूसँगको सहकार्यमा योन्द्र कम्पनीसँग मिलेर पठनपाठन हुने अवधिमा मोबाइलको पहुँच बन्द गर्न लागेको छ । योन्द्रले निर्माण गर्ने सानो ताला लगाउन मिल्ने सानो थैली बनाउने गर्छ । त्यस्तो थैलीमा मोबाइल राखेर विद्यार्थीलाई दिइने भए पनि प्रयोग गर्न भने मिल्दैन । 

युवाहरूले आफ्नो जीवनशैलीमा सहजता ल्याउन स्मार्टफोन प्रयोग गर्न सक्छन भन्नेमा दुईमत छैन । तर किशोर–किशोरीलाई अनियन्त्रित इन्टरनेट सुविधासहितको सर्वसुलभ स्मार्टफोन प्रयोग गर्न दिने कुरा भने मनासिब देखिँदैन ।

आत्महत्या प्रयास गरेको केही महिनापछि निना लाङटनले माध्यमिक विद्यालयका सहपाठीहरूलाई सम्बोधन गर्दै आफ्नो डिप्रेसनको बारेमा खुलेर कुरा गरिन् । उनले आफ्नो मानसिक बिमारीको अवस्थाको वर्णन गरिन् । उनले भनिन्, ‘जब धेरै किशोरहरूले पीडा अनुभव गर्छन्, धेरै थोरै यसको बारेमा कुरा गर्न इच्छुक हुन्छन् वा मद्दत माग्ने गर्छन् । म मेरो संघर्षको बारे लामो समयदेखि अरूलाई सुनाउन आतुर थिए किनकि मलाई लाग्थ्यो ममाथि न्याय हुनेछ ।’

‘मेरो उमेरका धेरै मानिसले गरेको प्रविधि, डिप्रेसन र थेरापीको सहयोगले मलाई यसबाट बाहिर निस्कन सहज भयो,’ उनले भनिन्, ‘मलाई लाग्छ यो ठूलो समस्या भएकाले यसबारे धेरै कुराकानी गर्न आवश्यक पर्छ ।’

प्रकाशित: मंसिर २, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार