हेलो शुक्रबार

मिस यु अनिल

- हिमेश, काठमाडौं

मंसिर १, २०७४-जत्तिकै राम्रा खेलाडी किन नहोस्, आफ्नो खेल जीवनबाट विरलै उत्तिकै राम्रो बिदाइ पाइन्छ । आफ्नो खेल जीवनका सुरुआतलाई लिएर त ‘स्क्रिप्ट’ लेख्न सकिएला, तर संन्यासलाई लिएर सकिन्न । यो अर्थमा अनिल गुरुङ निकै भाग्यमानी रहे । एसियन कप २०१९ छनोटमा फिलिपिन्सविरुद्ध सातदोबाटोमा भएको खेलसँगै उनले घोषणा गरे, ‘अब म अन्तर्राष्ट्रिय फुटबल खेल्दिनँ ।’ अर्थात् अब उनी फेरि दोहोर्‍याएर नेपालको जर्सीमा देखिने छैनन् ।

अनिल केही समययता यस्तै संन्यास लिने राम्रो अवसरको खोजीमा थिए । राष्ट्रिय टिममा पनि नियमित पर्न छाडेका थिए । उनलाई थाहा भइसकेको थियो, अब लामो समय खेल्न सकिन्न । संन्यास अनि ५० क्यापको उपलब्धि, अवसर वास्तवमै सुन्दर थियो । नेपालको राष्ट्रिय टिमका लागि धेरै कमले मात्र यति खेल्न पाएका छन् । यस्तोमा अनिल फेरि भाग्यमानी रहे ।

वास्तवमा अनिल निकै भाग्यमानी खेलाडी हुन्, जसको यात्रा धेरै अर्थमा सुमधुर नै रह्यो । किन त ? यसका लागि फ्ल्यास–ब्याकमा जानुपर्ने हुन्छ, सन् २००७ अक्टोबर ८ तिर । त्यति बेला विश्वकप छनोट चलिरहेको थियो र नेपालको प्ले–अफमा प्रतिद्वन्द्वी थियो, ओमान । र, नेपाली टिमका प्रशिक्षक थिए, उनै श्याम थापा । ओमानविरुद्ध मस्कटको स्पोर्ट्स कम्प्लेक्समा अनिलले डेब्युको अवसर पाए, त्यो पनि स्टार्टिङ लाइन अपबाटै । अब के चाहियो र ? उनले त्यसयता पछाडि फर्केर हेर्नुपरेन । उनी चाँडै नेपाली टिमका स्थापित नाम भए ।

यो खेलको ठीक अगाडि प्रशिक्षक थापाले अनिललाई डेब्युको अवसर दिने क्रममा भनेका थिए, ‘यो केटोले केही गर्छ ।’ त्यो समय एन्फा एकेडेमीको पहिलो ब्याचको बिगबिगी थियो । पूरा टिम लगभग यही ब्याचको जस्तै थियो । तर यो ब्याचसँग त्यस्तो फरवार्ड थिएन, जसले अनिललाई टक्कर दिन सकोस् । अनिलले जति बेला खेल्न सुरु गरेका थिए, त्यसको ठीक अगाडि वसन्त थापाले खेल्न छाडेका थिए । भाग्यले अनिललाई यति बेला साँच्चै साथ दिएको थियो ।

फेरि वसन्त र अनिलमा धेरै समानता पनि छन् । खासमा वसन्तपछि फरवार्डमा खेल्ने खेलाडीमा सबैभन्दा ठूला स्टार कोही भए भने ती अनिल नै हुन् । घरेलु फुटबलमा मनाङ–मस्र्याङ्दीसँग एक खास ठूलो स्टार खेलाडी हुन्छ । वसन्तपछि यही क्रम अगाडि बढाउने काम पनि त अनिलले नै गरे । अनिल पोखरेली हुन्, यो सबैलाई थाहा छ । अनि सबैलाई थाहा भएको के पनि हो भने उनलाई यहाँसम्म पुग्न कसैले सबैभन्दा बढी मद्दत गरेको छ भने त्यो पनि पोखरेली नै हो ।

चाहे त्यो पर्दा पछाडिबाट होस् अथवा पर्दा अगाडिबाट । उनको जीवनमा साथ दिने खास–खास व्यक्तिहरू छन्, जसलाई अनिलले भुल्न सक्ने छैनन्, चाहे उनीहरू अनिलको जीवनबाट अचेल टाढा नै किन नहोस् । सहारायता घरेलु फुटबलमा उनको पहिलो क्लब बीबीसी हो । त्यति बेला बीबीसी प्राय: रेलिगेसनबाट बच्न संघर्ष गर्ने क्लब थियो, यहींबाट खेलेर अनिलले आफ्नो पूरा खेल देखाउने अवसर पाए । सुरुमै ठूला क्लबबाट खेलेका भए, अनिल हराउने पो थिए कि ?

आखिरमा अनिलले बीबीसीका लागि त्यस्तो खेल देखाए, जसको पछि ठूला क्लब आफैं उनको पछाडि लागे । त्यसैले त अनिलले थ्रीस्टारबाट खेले, मनाङ–

मस्र्याङ्दीबाट पनि खेले । अनि एक समयको खर्चिलो एनआरटीबाट पनि । भारतको आई लिगमा खेल्न पाउने केही भाग्यमानी खेलाडीमा पनि पर्छन्, उनी । सन् २००९–१० को सिजनमा उनले सिलोङ लाजोङबाट खेले र तहल्का नै मच्चाए । उनले त्यति बेला राम्रो अफर पाएका थिए ।

फेरि एकपल्ट अनिलको भाग्य चम्किएको अवसर थियो । भारतमा खेलेर फर्केयता उनीसँग कार हुने गथ्र्यो । अभ्यासका बेला उनी कार चढेर आउने गर्थे । नेपाली फुटबलमा यसले एकखाले ‘स्टारडम’ ल्याएको थियो । अनिलको जमानामा अरू दुई फरवार्ड पनि चर्चामा आउने गर्थे, जुमनु राई र सन्तोष साहुखल । उनीहरू दुवै अनिल जत्तिको टिक्न सकेनन् । जुमनु आफैं एक समय खुबै राम्रो लयमा थिए, त्यसले पनि अनिललाई फाइदा नै गरेको थियो ।

फेरि नेपालको राष्ट्रिय टिमकै प्रसङ्गमा फर्कने हो भने उनले आफ्नो पहिलो गोलका लागि अरू कुनै सहर होइन, पोखरा नै रोजे । त्यति बेला पाकिस्तानविरुद्ध दुई खेलको मैत्रीपूर्ण शृंखला चलेको थियो । अनिलले नेपालका लागि तेस्रो खेल मात्र खेल्दै पहिलो गोल गरे र समय थियो, ८५ औं मिनेट । यो अवसर अनिललाई राम्रोसँग याद होला पनि । आखिरमा अनिलले नेपालका लागि गरेका सबै नौ गोलबारे खुबै याद राखेका छन्, बल कसरी आफूसम्म आयो, कसले थियो अनि आफूले कसरी त्यसलाई पोस्टको दिशा दियो भनेर ।

अनिलले गरेका यी नौ गोलमध्ये सम्भवत: सबैभन्दा महत्त्वपूर्ण गोल सन् २०१३ को साफ च्याम्पियनसिपमा भारतविरुद्ध थियो । उनले ६९ औं मिनेटमा गोल गरेका थिए र यसै गोलले भारतमाथि ऐतिहासिक जित सम्भव भएको थियो । त्यसको तीन दिन अगाडि उनले नै १८ औं मिनेटमा बंगलादेशविरुद्ध प्राप्त जितमा पहिलो गोल गरेका थिए । यो हेडर गोल भने अनिलको आफ्नै ‘पर्सनल बेस्ट’ रह्यो किनभने उनकै भाषामा यो कठिन परिस्थितिमा सम्भव भएको थियो ।

अन्त्यमा सबैभन्दा महत्त्वपूर्ण प्रश्न, अनिल वास्तवमै किन विशेष छन् त ? यसको पहिलो उत्तर हो, उनी मैदानमा शतप्रतिशत दिन्छन् । बललाई ‘चेज’ गर्न उनी कहिल्यै पछाडि पर्दैनन्, जति समय मैदानमा हुन्छन्, पूरा–पूरा सक्रिय हुन्छन् । गोल गर्ने क्षमता उनमा छ, यो सबैलाई थाहा भएकै भयो । मैदान बाहिर अनिल वास्तवमै ‘जेन्टलम्यान’ हुन्, मीठो बोली र व्यवहार । यही त अब नेपाली राष्ट्रिय टिमबाट देख्न नपाइने भयो । भन्नै पर्छ, ‘वि विल मिस यु अनिल ।’  

twitter : @himeshratna

प्रकाशित: मंसिर १, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार