समाचार

चुनावी मुद्दा बनेन हुम्लीको चामल दु:ख

  • ‘चामल बोकेरै यो जुनी जाने भो,’ अपाङ्गता भएको खुट्टाका भरमा आठ दिन हिँडेर हुम्लाबाट मुगुको गमगढी आएका लामाले भने, ‘नेताले सधैं चामल र बाटोको कुरा गर्छन्, तर बाटो नदेखेरै जिन्दगी जालाजस्तो छ ।’
- जनक नेपाल, राजबहादुर शाही, तुलाराम पाण्डे, गमगढी (मुगु)

कार्तिक २६, २०७४-६४ वर्षे कोज्योक ङुटुप लामा हुम्लाको सिमकोट गाउँपालिका १ का निर्वाचित वडा सदस्य हुन् । १५ वर्षीय नाति नोर्गेलाई लिएर उनी चामल लिन गमगढी आइपुगेका छन् । टोलीमा दोजाम गाउँका अरू ९ जना छन् । उनीहरूले आफ्ना र छिमेकीका गरेर झन्डै ३ सय भेडाबाख्रा पनि ल्याएका छन्, चामल बोक्न ।

‘चामल बोकेरै यो जुनी जाने भो,’ अपाङ्गता भएको खुट्टाकै भरमा आठ दिन पैदल हिँडेर आएका लामाले भने, ‘नेताले सधैं चामल र बाटोको कुरा गर्छन् । तर बाटो नदेखेरै जिन्दगी जालाजस्तो छ ।’ केही वर्षअघिसम्म हुम्ला मात्र हैन, सिंगो कर्णालीमा चामलको राजनीति खुबै फस्टाएको थियो । चुनावमा मोटरबाटो, अन्न उत्पादन वृद्धि र आयआर्जनका उपायभन्दा चामलको कोटा थप्ने नारा बिकाउ हुन्थ्यो । चामलको कोटा थप्नुलाई सांसदहरूले उपलब्धि ठान्थे । तर त्यो चामल सदरमुकाम बाहिर कहिल्यै पुगेन । ‘खाद्य संस्थानको चामल कहिल्यै पाइएन, एक/दुई दिन हिँडेर सदरमुकाम पुगी घण्टांै लाइनमा बसेपछि पालो आउँथ्यो,’ लामाले दुखेसो पोखे, ‘मुस्किलले ५/१० केजी पाइन्थ्यो, त्यति चामलले कति दिन धान्छ र ?’

हुम्लीले धेरै वर्ष बर्दिया राजापुरबाट चामल ओसारे । सुर्खेतसम्म बाटो खुलेपछि गुटुबाट लैजान सजिलो भयो । त्यसपछि अछाम र बाजुरा हुँदै मुगुसम्म बाटो खुलेपछि गमगढीबाट चामल ओसार्न थालेका छन् । ‘हुम्लामै बाटो र चामल नपुगे पनि नजिक–नजिक सरेको छ,’ उनले थोरै भए पनि राहत मिलेजस्तो महसुस भएको बताए । 

हुम्लाकै सर्केघाट–३ उनापानीका बासिन्दा मुगुस्थित खाद्य संस्थान गोदामबाहिर चामल किन्ने पैसा गन्दै । तस्बिर : जनक र तुलाराम/कान्तिपुर

हुम्लामा खाद्य संस्थानको चामल नपाए पनि मुगुमा भने नबिकेर गोदामभरि छ । चामल लिन न लाइन बस्नुपर्छ, न त ५ र १० केजीको कोटा । खाद्य संस्थानले मोटा चामल प्रतिकेजी ४३ रुपैयाँमा बिक्री गर्दैआएको छ । नबिकेर लामो समय गोदाममा थन्किएकाले चामल भने खासै गुणस्तरीय 

नभएको तल्लो हुम्लास्थित सर्केघाट–३ का गोरा फडेराले बताए ।

संस्थानको चामल चित्त नबुझ्नेले गमगढीमा बजारबाटै खरिद गर्छन् । अनुदानको चामलभन्दा बजारमा केही महँगो पर्छ । तर पनि राम्रै चामल लैजान चाहनेले बजारबाटै खरिद गर्छन् । ‘सिमकोटमा थोरै चामल लिन धेरै दु:ख गर्नुपर्छ । चामल किन्ने खर्च पालो कुरेर बस्दैमा सकिन्छ,’ ३२ वर्षीय ग्याल्पु लामाले भने, ‘तर मुगुबाट लैजान अरू समस्या छैन । जति दु:ख छ, आउनु–जानुमै छ ।’

मोटरबाटो खुलेसँगै हिमाली जिल्लामा खच्चड घटेका छन् । खरिद गर्न महँगो पनि छ । त्यसैले निम्न वर्गीय हुम्ली भेडाबाख्राबाटै चामल ओसार्छन् । एउटा भेडा वा बाख्राले ५ देखि १० केजीसम्म चामल बोक्छ । त्यसका लागि ससाना थैलामा चामल राखी सिलाएर लुकाल (भारी) बनाउनुपर्छ । कोज्योक ङुटुप लामाको टोलीलाई तीन सय भेडाबाख्राको भारी तयार गर्न झन्डै एक दिन पूरै लाग्यो । गमगढी बजारमुनिको बारीको कुनामा भेडाबाख्रासहित उनीहरूले खुला आकाशमुनि रात काटे । त्यहीं बसेर चामलका भारी बनाए । ‘गमगढी छिर्नसमेत नगरपालिकाले कर लिन थालेछ, सामुदायिक वनमा भेडाबाख्रा चराउन पनि पैसा तिर्नुपर्छ,’ ४९ वर्षीय बमबहादुर लामाले भने, ‘गरिबलाई जता पनि मर्कैमर्का छ ।’ गमगढी नगरपालिकाले नगरभित्र छिर्न आन्तरिक पर्यटकलाई प्रतिव्यक्ति २ सय ५०, घोडा खच्चड ५०, गाईभैंसी ३० र भेडाबाख्रालाई १५ रुपैयाँ प्रवेश शुल्क तोकेको छ । उनको टोलीले तीन सय भेडाबाख्राको ४ हजार ५ सय शुल्क बुझाउनुपर्‍यो ।

हुम्लाबाट आउँदाजस्तो सजिलो फर्कंदा छैन । भारी बोकेका भेडाबाख्रा धेरै हिँड्न मान्दैनन्/सक्दैनन् । उनीहरू गमगढीबाट लुम, दर्के र सातथाप्ले हुँदै चौथो दिनमा पिप्लाम पुग्छन् । त्यहाँबाट न्यासीसम्म माथिल्लो हुम्ला र तल्लो भेगको एउटै बाटो पर्छ । न्यासीबाट सर्केघाट जाने र माथिल्लो भेग जाने बाटो छुट्टिन्छ । उनीहरू दिउसी, छारे, खार्पुनाथ हुँदै नवौं दिनमा दोजाम गाउँ पुग्छन् । 

मुगुको चामल हुम्लीलाई 

कर्णाली राजमार्ग सुर्खेत–जुम्ला सडकसँग कालिकोटको नाग्मबाट गमगढीसम्म ९४ किमि सडक जोडिएपछि खाद्य संस्थानको चामल बिक्रीमा कमी आएको छ । खाद्यान्न कम उत्पादन हुने सोरु र करान भेगमा मात्र खाद्यान्न खपत भइरहेको छ । मोटरबाटो खुलेपछि तीन वर्षदेखि मुगुमा खाद्य संस्थानको चामल बिक्री हुन छाडेको शाखा प्रमुख भरतराज खनियाँले बताए । गत वर्ष गमगढीको १० हजार, सोरुकोट डिपोको ३ हजार र श्रीकोटको २ हजार क्विन्टल चामल कोटामध्ये गमगढीको ५ हजार २ सय क्विन्टल चामल बिकेको छैन । यस वर्ष पनि १० हजार क्विन्टल स्वीकृत भएको छ । त्यसमध्ये ४ सय क्विन्टल गमगढी पुगिसकेको छ । 

‘सडक पुगेपछि मुगुमा चामलको समस्या छैन,’ ६ महिनाअघि मनाङबाट सरुवा भई आएका प्रमुख खनियाँले भने, ‘मुगुको कोटाको खाद्यान्न हुम्लीले खपत गरिरहेका छन् ।’ उनीहरूको दु:ख देखेर आफूले कार्यालय समय नभनेर बिहान वा साँझ आउनेलाई पनि चामल उपलब्ध गराउने गरेको उनले बताए । 

बजारमा भन्दा खाद्य संस्थानले ढुवानी अनुदानमा उपलब्ध गराउने चामल सस्तो भए पनि कम गुणस्तरको भन्दै स्थानीयले बजारबाटै खरिद गर्ने गरेका छन् । संस्थानले प्रतिकेजी अरुवा मोटो चामल ४२, मकवानपुर ४३ रुपैयाँ ५० पैसा, सोना मन्सुली र मध्यम चामल ४९ रुपैयाँ ६० पैसाका दरले बिक्री वितरण गर्छ । मुगुको गमगढीमा ३० केजीको बोरालाई १ हजार २ सय ४० पर्ने चामल हुम्लाको सर्केगाड पुगेपछि ३ हजार पर्ने गरेको हुम्ला उनापानीकी छमरकली फडेराले बताइन् । 

सरकारले निर्धारण गरेको ढुवानी अनुदानको चामलको कोटा हुम्लाको सिमकोट शाखा, श्रीनगर र सर्केगाड डिपोका लागि नपुग्ने अवस्था छ । समयमा ढुवानी हुन नसक्दा सर्वसाधारणले पाउन सकेका छैनन् । कोही बाजुराको कोल्टी वा कालिकोटको भुराबगर जान्छन् त अधिकांश मुगुको गमगढी पुग्छन् । खाद्य संस्थान हुम्लाका अनुसार सरकारले यस वर्ष हुम्ला सिमकोट शाखाका लागि १६ हजार ५ सय, श्रीनगर र सर्केगाड डिपोको लागि ३ हजार १ सयका दरले कोटा निर्धारण गरेको छ । तर अहिलेसम्म सिमकोटमा २ हजार १ सय ८९ क्विन्टल मात्र पुगेको छ । श्रीनगर डिपोमा २ सय १८ र सबैभन्दा टाढाको सर्केगाड डिपोमा जम्मा २१ क्विन्टल चामल पुगेको शाखा प्रमुख नारायणसिंह केसीले बताए । 

‘चामल ढुवानी भएको छैन,’ केसीले भने, ‘चुनावको मुखमा जोसुकै चामल चाहियो भन्छन्, कसरी पुर्‍याउनु ?’ उनका अनुसार हुम्लामा प्रतिमहिना सर्वसाधारणलाई ५ केजी, विद्यार्थीलाई १० र कर्मचारीका लागि १५ केजीको कोटा निर्धारण गरिएको छ । त्यही पनि नियमित वितरण हुँदैन । जन्म, मृत्यु र चुनावी कार्यक्रमका लागि प्रमुख जिल्ला अधिकारीको सिफारिसमा सीमित चामल मात्र दिने गरिएको छ । उम्मेदवारले पनि चुनावका लागि चामल माग्ने गरेका छन् । 

हुम्लामा पछिल्ला दुई वर्षमा खाद्यान्न कोटा झन्डै ७ हजार क्विन्टल वृद्धि गरियो । तर विपन्न र पहुँच नहुने सर्वसाधारणले सहज रूपमा खाद्य संस्थानको चामल पाएका छैनन् । आर्थिक वर्ष ०७२/०७३ मा १५ हजार ७ सय ८५ क्विन्टल चामल ढुवानी भएको थियो । गतवर्ष वृद्धि भई २२ हजार २ सय २ क्विन्टल पुर्‍याइएको थियो ।

 

‘दु:ख सम्झँदा भोटै नहालौं जस्तो’

मुख्य प्रतिस्पर्धी दल र उम्मेदवारले यस पटकको चुनावमा चामलको कोटा वृद्धिलाई मुख्य नारा नबनाएर ‘चामलको राजनीति’ अन्त्य गर्न खोजेका छन् । उनीहरूले मोटरबाटो, पर्यटन तथा रोजगारीलाई मुख्य मुद्दा बनाएका छन् । तर हुम्ली सर्वसाधारणको चामल–दु:ख भने ज्युँका त्युँ छ । हुम्ली मतदातालाई नेताका यस्ता आश्वासन ‘ढाँट, छल र झूट’ लाग्ने गरेको कङ्ग्री लामाले बताए । ‘नेता इमानदार भइदिएको भए हिल्सा–सिमकोट सडक उहिल्यै बनेर मोटर चल्ने थियो,’ ३५ वर्षीय उनले भने, ‘यो दु:ख सम्झिँदा त कहिल्यै भोट नहालौं जस्तो हुन्छ । तर, यसले नगरे उसले गर्छ कि भनेर भोट दिइरहेका छांै ।’

चामल ओसार्नका लागि कुम्लाको सर्केघाटबाट मुगुको गमगढी आइपुग्न पाँच दिन लाग्छ, फर्किन ६ दिन । विश्व खाद्य कार्यक्रमले कामका लागि खाद्यान्न परियोजनाअन्तर्गत सिमकोट–हिल्सा बाटो खन्न सुरु गरेपछि धेरैलाई छिट्टै मोटरबाटो आउने आशा जागेको थियो । तर खर्चअनुसार उपलब्धि भएन । ‘चामल बिछ्याएरै बाटो बनाएको भए पनि बन्थ्यो होला, तर काम भएन,’ सर्केघाट ६ बराईका २७ वर्षीय जयलाल ऐडीले भने, ‘विश्व कहाँ पुग्यो । हामी भने दुई कट्टा चामलका लागि ११ दिन पैदल हिँड्न बाध्य छौं ।’ ‘हाम्रो जिल्ला र सिंगो कर्णालीमै राष्ट्रिय राजनीतिमा प्रभाव पार्न र निर्णय लिन सक्ने योग्य नेता नजन्मिएकाले दु:ख पायौं,’ उनले गुनासो गरे, ‘नेताहरू सबै चुनावका बेला बिरालो भएर आउने र चुनाव जितेपछि बाघ बनेर बस्ने मात्र छन् ।’

प्रकाशित: कार्तिक २६, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार