कोसेली

पेमाको संसार

  • फोटो
- कुम्भराज राई, काठमाडौं

कार्तिक २५, २०७४-१४ वर्षअघि पहिलो सन्तानको रूपमा छोरी जन्मिँदा उनका बुवा पासतेम्बा शेर्पा र आमा लाप्टी शेर्पाको खुसीको सीमा थिएन । दोलखाको गौरीशंकरस्थित लुवाङसा गाउँका शेर्पा दम्पतीको त्यो खुसी धेरै समय भने टिक्न पाएन । सुरुमा सामान्य लाग्ने पेमा जति बढ्दै गइन्, त्यति नै उनको शरीर चल्न चटपाउन छाड्यो । उनको बोली फुटेन ।

त्यसपछि उनलाई उपचारका लागि सकी–नसकी उनीहरूले काठमाडौंका विभिन्न अस्पताल पुर्‍याए । तर कहीँ पनि उपचार सम्भव भएन । उनीहरूको सपना हरायो । अनि विवश भएर त्यही छोरीमा आफ्नो खुसी खोज्न थाले । २४ सै घण्टा छोरीको रेखदेख गर्नुपर्ने भएकाले उनीहरूले अरू सन्तान पनि जन्माएनन् । 

उमेर जति बढ्दै गए पनि पेमामा खासै सुधार देखिएन । उनले आवाज त निकालिन् तर बोल्न सकिनन् । हात–खुट्टा पनि चलेनन् । हात–खुट्टा चलाउने कोसिस गर्छिन् तर बटारिन्छन् । उनी काँटाले खान मिल्ने चीज खुट्टाले बडो मुस्किलसँग खान्छिन् । यसरी खाना ख्वाउने र अन्य कामका लागि अरूको सहारा चाहिन्छ । सात वर्षकी भएपछि पेमालाई कहिलेकाहीं बोकेर उनकी आमाले आफन्तकहाँ जान्थिन् । त्यतिखेर उनले त्यहाँ पेन्सिल कापी खुट्टाले च्यापेर बोक्ने र लुकाउने गर्थिन् । अर्काको सामान चोर्नु हुन्न भन्दै आमाले गाली गर्थिन् । 

पेन्सिल र कलम भेटेपछि उनले खुट्टाले च्यापेर भित्ताभरि कोर्थिन् । यसरी भित्तामा लेख्दा ऋण लाग्छ, अलच्छिन हुन्छ भन्दै उनका अभिभावकले उनलाई पिट्थे पनि । तर उनले त्यसो गर्न छाडिनन् । अन्तत: एक दिन उनीहरूकै एक आफन्तले पेमाले पढ्न चाहेको अनुमान गरी कापी र पेन्सिल किनिदिए । त्यो अनुमान सही भयो ।

उनलाई नजिकैको मन्टेश्वरीमा भर्ना गरियो । तर अन्य बालबच्चाझैं हेरचाह गर्न सजिलो नभएकाले धेरै समय राख्न सकिएन । हाल उनी राजधानीको टोखामा बुवाआमासँगै बस्छिन् । उनको अवस्थाबारे सामाजिक सञ्जालमा थाहा पाएपछि स्वंयसेविका शिक्षकको रूपमा दुई वर्षदेखि सीमा श्रेष्ठले प्रत्येक दिन पढाउँदै आइरहेकी छन् ।

पेमाको दिमाग तीक्ष्ण भएको सीमा बताउँछिन् । ‘बोली नआउने र शरीर नचल्ने मात्र उनको अक्षमता हो,’ सीमा भन्छिन्, ‘मानसिक अवस्था उनको हाम्रोभन्दा राम्रो छ ।’ पेमाका बुवा मजदुरीको रूपमा वाल पेन्टिङको काम गर्छन् । आमाले आफ्नै डेरामुनि तरकारी पसल गर्छिन् । बुवाले अझै पनि प्रत्येक बिहान भगवान्लाई प्रार्थना गर्दै छोरीको स्वास्थ्यलाभको कामना गर्छन् । आर्थिक अवस्था कमजोर भएकाले कतिपय व्यक्ति र संघसंस्थाले पेमालाई सहयोग गर्दै आएका छन् ।

पेमाको सपना त्यति धेरै ठूलो छैन । उनी आफू झमक घिमिरेजस्तै बन्ने बताउँछिन् । उनलाई सीमा श्रेष्ठले झमकसँग भेटाइदिइन् । त्यतिखेर सीमा दंग भइन् । शारीरिक र मानसिक अवस्था मात्र नभएर बाल्यकालको पीडा पनि झमकसँगै मिल्ने भएकाले उनलाई कतिले झमकसँगै तुलना गर्छन् । 

प्राय: सधैं एउटै कोठामा भेटिने पेमा खुट्टाले नै लेख्ने पढ्ने मात्र नभएर मोबाइल चलाउने, रिमोट चलाएर टीभी हेर्ने गर्छिन् । भाडाको एउटा साँघुरो र अँध्यारो कोठा नै उनको संसार हो । कहिलेकाहीं मात्रै उनलाई बाहिर निकालिन्छ । 

 

 

 

 

प्रकाशित: कार्तिक २५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार