कोसेली

बेलायतमा नेपाली

  • यात्रा
- गणेश राई, काठमाडौं

कार्तिक २५, २०७४-देश हेर्ने र मुख फेर्ने क्रममा बेलायत टेक्ने मौका जुर्‍यो । त्यो साइत जुराउने काम नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेको दोस्रो सम्मेलनले गर्‍यो । अगस्टको अन्तिम साता बेलायतमा आयोजित नेपाली मेला पनि हेरियो । सहभागी हुँदा नेपालमै छु जस्तो लाग्ने तर भौतिक संरचना र दैनिक जनजीवनले फरकपन महसुस गराउने रहेछ ।

गाउँ खाली, यूके भरिभराउ

नेपालका धेरै गाउँघरहरू ब्रिटिस गोर्खा सैनिकहरूको संमृद्धिसित तादात्म्यता राख्छ । लाहुरे परिवारको बसोबासो गाउँ र सहर सराबरी रहेको हो । प्रजातन्त्र आएपछि बिस्तारै सहर पस्ने क्रम चलेकै हो । बेलायत सरकारले सन् २००४ गोर्खा भूपू सैनिकलाई आवासीय भिसा दिने घोषणा गर्‍यो । त्यसयता ‘लाहुरेको गाउँघर’ बिस्तारै रित्तिन थाले । ती लाहुरेको रजगज रहेका गाउँका घर आफन्तहरूको जिम्मा लगाइए । अलिक आर्थिक कमजोर भएका गाउँलेका छोराहरू अरबतिर पैसा कमाउन हाँक्किए । ती छोराले बुहारी र भान्टाभुन्टुङलाई ‘बोर्डिङ स्कुल’ पढाउने निहुँमा सदरमुकाम कि सहरतिर बसाइ सर्न बोलाए । गाउँको पुख्र्यौली घरआँगन बूढा बाबा, बूढी आमाहरूको भरमा चल्दै छ । 

यसपटक बेलायत पुगेपछि थाहा लाग्यो, आवासीय भिसा लिएर जानेहरू आफू मात्र गएनछन् । भाषा, संस्कृति र वेशभूषा पनि लिएर गएछन् । कतिसम्म भने नेपालमै जसरी जातीय, भाषिक, क्षेत्रीय संघसंस्था खोलेका रहेछन् । यूकेमा विभिन्न संघसंस्थाबाट सम्मान पाएका पोखरेली पत्रकार हुम गुरुङ आश्चर्य प्रकट गर्दै थिए । ‘गाउँ खाली, यूके भरिभराउ रहेको पाइयो,’ छोटो अवधि बेलायत भ्रमणमा रहेका उनले भने, ‘लमजुङ, कास्की, तनहुँ, पर्वतका कतिपय गुरुङ गाउँघर रित्तै छन् । त्यहाँका लाहुरे परिवार सबै यूकेमा रहेछन् ।’

यूकेवासी ब्रिटिस गोर्खा परिवारले व्यक्तिगत घर मात्र होइन, सामूहिक संस्थागत स्थायी सम्पत्तिसमेत जोड्न भ्याएका छन् । त्यसको पहिलो उदाहरण हो, राई जातिको संस्था किरात राई यायोक्खा । यो संस्थाको नाममा लन्डन वकिङको रिप्लेमा १ सय ४८ रोपनी जग्गा खरिद गरिएको छन् । यहाँ उधौली र उभौलीमा साकेला नाच्ने, यलम्बर दिवसमा धनुषवाण प्रतियोगिता गर्ने गर्छन् । 

त्यसैगरी गुरुङ जातिको फरक–फरक तीन संस्था छन्— तमु समाज, तमुधि, तमु प्ये ल्हु संघ । तिनै संस्थाका आ–आफ्नै कम्युनिटी भवन (संस्थागत घर) खरिद गरेका छन् । तमु समाज यूकेले भर्खरै दसौं वार्षिकोत्सव मनाएको छ । त्यसै अवसरमा लन्डन काउन्सिलले समाजलाई भवन उपलब्ध गराएसँगै लन्डन ब्रेन्टका मेयर भगवानजी चौहानबाट उद्घाटनसमेत भयो । जहाँ, उपस्थित महिला र पुरुषको मौलिक पहिरन तथा प्रस्तुति पूरै गुरुङमय थियो । 

यस्तै, मगर संघको आफ्नै संस्थागत घर किनेको छ । माघी, भुम्यालगायत पर्वहरूमा विभिन्न गतिविधि गर्दै आएका छन् । मगरजन्य अनेकन भौतिक प्रतीकहरू निर्माण गरिएका छन् । यसो त सन् २००४ मै ब्रिटिस गोर्खा वेलफेयर सोसाइटी (बीजीडब्लूएस) मार्फत् साझा गोर्खा भवन खरिद गरिएको छ । लिम्बू जातिको संस्था किरात याक्थुङ चुम्लुङको नाममा जग्गा अर्थात् कम्युनिटी भवन किन्ने तयारीमा रहेको पदाधिकारीले जनाएका छन् । युनिभर्सिटी अफ अक्सफोर्डका सिनिरिय रिसर्चर डा. चन्द्र लक्सम्बा नेतृत्व टोलीले सन् २००७–०९ मा ‘बेलायतमा भएका नेपालीको जनगणना’ गरेको थियो । जसमा नेपालीको जनसंख्या ७२ हजार १ सय ७३ रहेको थियो । त्यसमा ६८ दशमलव ५ प्रतिशत ब्रिटिस गोर्खा परिवार पर्दछन् । सेन्टर फर नेपाल स्टडिज् यूकेमार्फत् गरिएको अनुसन्धानले जनसंख्या आँकडामा पहिलो गुरुङ, दोस्रो लिम्बू, तेस्रो मगर, चौथो राई र त्यसपछि अन्य जाति रहेका छन् । बेलायत सरकारले सन् २०११ मा गरेको राष्ट्रिय जनगणनाले १ लाख ५ हजार नेपाली रहेको प्रक्षपण गरेको छ । 

 

चुनौतीको पहाड

बेलायत पुगेका हरेक आमा–बाबुलाई लाग्छ, नेपालीपनसँगै बाँच्न पाऊँ । त्यसैले नेपालको गाउँघरदेखि सहर बजारसम्म हुने हरेक जातजातिका संस्कृति परम्पराजन्य क्रियाकलापहरू गर्ने गर्छन् । 

तर ठाउँ न ठहर बूढीको रहर भनेजस्तो स्थिति छ । बेलायती 

समाजमा घरबाहिर जथाभावी बोलचाल गर्ने, चौतारी गफ गर्ने परम्परा छैन । पार्क, खेलमैदानमा खेल्छन् । निश्चित ठाउँमा भेटघाट गरेर गफिन्छन् ।

बेलायतमा बसोबास गर्ने हरेकले त्यहींको कानुनको पालना गर्नैपर्छ । गर्छन् । घरआँगनबाट बाहिरिनेबित्तिकै त्यहीको भाषा बोल्नुपर्छ । त्यहींको रहनसहनको पालना गर्नुपर्छ । सडक, बजार, कार्यालय जताततै अंग्रेजीबाहेक अरू भाषा चल्दैन । बाबु–आमाले घुलमिल गर्न नसकेको समृद्ध सहरमा छोराछोरीले व्यवहार गर्नुपर्छ, गर्दै छन् । अंग्रेजी भाषा, बेलायती संस्कृतिअनुकूल हुन नसके कुनै व्यवहार चल्न सक्दैन । त्यसैले नेपालीपन जोगाउन बेलायतवासी नेपालीलाई चुनौती छ । यो विषयले सबैलाई घोचिरहन्छ नै । यही १० सेप्टेम्बरमा सम्पन्न ‘मिस नेपाल यूके–२०१७’ का प्रतिस्पर्धीलाई सवाल सोधिएको थियो, ‘हामी सधैं नेपाली रहन नयाँ पुस्तालाई कसरी पुस्तान्तरण गर्न सकिन्छ ?’ मिस यूकेको ताज पहिरिन सफल सृजना गुरुङले भनेकी थिइन्, ‘पहिला हामी नेपाली हौं । घरमा तमु भाषा र नेपाली भाषामा व्यवहार गर्ने वातावरण बन्न सके राम्रो हो । बाहिर अंग्रेजी भाषाबाहेक अर्को कल्पना गर्न सकिन्न ।’ युनिभर्सिटी सकेर स्वयंसेवामा जुटेकी पूनम राई नयाँ पुस्ताका हरेक बालबालिका अधिकांशले अंग्रेजी बोल्ने गरेको बताउँछिन् । बिहानदेखि दिनभरि स्कुलमा रमाउँछन् । बा–आमा ड्युटी जान्छन् । छोराछोरीलाई समय दिन भ्याउँदैनन् । ‘नाचगान रमाइलो गर्दा नेपालीमै गरिन्छ,’ युनिभर्सिटीमा नेपालको विषयमा रिसर्च गरेको उल्लेख गर्दै पूनम भन्छिन्, ‘हामी यहाँ (यूके) पढे पनि नेपालको विषय केन्द्रित काम गर्ने गर्दै छौं ।’ यूकेमा इन्डियन मुस्लिम र चाइनिजका छोराछोरीलाई अतिरिक्त कक्षा पढाउँछन् । तर नेपालीका निम्ति त्यो अहिलेसम्म व्यवस्था भएको छैन ।

ब्रिटिस नागरिकले बेलायतमा रहेका पाकिस्तानी र इन्डियन मूलका नागरिकलाई कतिपय अवस्थामा ‘आफ्नो देश फर्क’ भन्ने गरेका छन् । ब्रिटिस गोर्खाहरूले आवासीय अधिकार प्राप्त गरेको दशक नाघेको छ । विश्व युद्ध र अन्य युद्धमा बहादुर गोर्खाले गरेको योगदानको कदरस्वरूप यो अधिकार दिइएको हो । ‘अबका दुई–चार दशकपछि ब्रिटिस नागरिकले गोर्खाहरूका छोराछोरीलाई पाकिस्तानी र इन्डियनलाई जस्तै आफ्नो देश फर्क भन्न सक्छन्,’ गोर्खा भेटेरान्स एसोसियसन ननिटन तथा बेडवर्थका अध्यक्ष ओम गुरुङ भन्छन्, ‘हाम्रा छोराछोरीलाई बेलायतका निम्ति तिमीहरूको योगदान छैन भन्न सक्छन् ।’ कतिपय अवस्थामा अहिले पनि व्यक्ति विशेषमाथि शरणार्थीसरह व्यवहार हुने गरेको जनाइएको छ । 

‘गोर्खा मेमोरियल डे’

बहादुरहरूका पनि बहादुर ब्रिटिस गोर्खा सैनिकले हासिल गरेको एक मात्र मन्त्र हो— ‘कातर हुनुभन्दा मर्नु बेस ।’ प्रथम विश्वयुद्ध होस् या द्वितीय र अन्य युद्ध; ब्रिटिस गोर्खाली सैनिक कतै कायर सावित भएनन् । 

कुनै समय विश्व साम्राज्य फैलाउन सफल बेलायतको पृष्ठपोषणमा बहादुर गोर्खालीको रगत, पसिना र ज्यानको बाजी थापेका छन् । कहिल्यै सूर्य नअस्ताउने देश बेलायतमा वीरगति प्राप्त सैनिकहरूको सम्झनामा हरेक वर्ष नोभेम्बर अर्थात् ११ औं महिनाको ११ तारिखको ११ बजे ‘रिमेम्बरेन सन्डे’ मनाइन्छ । पहिलो विश्वयुद्ध समाप्तिको हस्ताक्षर सन् १९१८ को उक्त दिन, समयमा भएको थियो । ‘त्यो बार शनिबार थियो,’ रिटायर्ड गोर्खा मेजर सोनाम छिरिङ शेर्पा भन्छन्, ‘शनिबारदेखि नजिक सन्डे भएकाले आइतबार मनाए । जति पनि विश्वयुद्धहरू र अरू युद्धहरूमा सहिद हुनेहरू दिवंगत आत्माको सम्झनामा मनाइन्छ । यसलाई पपी डे पनि भनिन्छ ।’ 

एउटा युद्ध बेल्जियममा भएको थियो । युद्धभूमिमा धेरै पपी फूल फुलेका थिए । त्यसमा एक जना लेफ्टिनेन्ट कर्णेलले त्यो हेरेर पपी फूल हेरेर ‘इन द फ्याल्डरस फिल्ड’ शीर्षकमा कविता रचेका थिए । त्यसपछि ‘रिमेम्बर सन्डे’ मनाउने परम्परा बसाइयो । पपी फूल प्रतीक बन्यो । स्वतन्त्रताका लागि सहिद भएका व्यक्तिहरूको सम्झनाको दिन हो । कागजकै किन नहोस्, त्यस दिन बेलायतभरि पपी फूल लगाइन्छ । 

यसो त नेपाल र बेलायतबीचको दौत्य सम्बन्ध दुई सय दुई वर्ष पुगेको (सन् १८१५–२०१७) छ । दुई सय वर्षगाँठको अवसरमा बेलायतका विभिन्न ऐतिहासिक ठाउँहरू ब्रिटिस गोर्खा सैनिक स्मारक निर्माण गरिएका छन् । बेलायतमा आवासीय भिसा पाएसँगै यी गोर्खा स्मारक बन्ने क्रम बढेको हो । ब्रिटिस गोर्खा परिवारले हङकङमा अप्रिल २५ लाई ‘पुर्खा दिवस’ मनाउने गरेका छन्् । बेलायतको वारविकसायर काउन्टीअन्तर्गत ननिटनमा अप्रिल महिनाको तेस्रो आइतबार ‘गोर्खा मेमोरियल डे’ (गोर्खा स्मारक दिवस) का रूपमा मनाउने परम्पराको थालनी गरिएको गोर्खा भेटेरान्स एसोसिएसनका अध्यक्ष ओम गुरुङ बताउँछन् । यद्यपि बेलायतमै रहेका ब्रिटिस गोर्खा अगुवाहरूले यो दिवसबारे अनभिज्ञता प्रकट गरेका छन् ।

नेपाली मिडिया

बेलायतमा नेपाली भाषा माध्यमका मिडिया विस्तार गरिएका छन् । रेडियो बीजीडब्लूएस र बीएफबीएस रेडियो छन् । प्रिन्ट मिडिया एभरेस्ट टाइम्स साप्ताहिक छ । केही अनलाइन पोर्टलहरू छन् । मिडियाको प्रभाव के कस्तो छ भन्ने दोस्रो पक्ष हो । बीएफबीएस कार्यरत ब्रिटिस गोर्खा परिवारको विषय मात्र समेटिन्छ अर्थात् सर्वसाधारणको विषय पर्दैन । सामुदायिक रूपमा काम गर्ने रेडियो बीजीडब्लूएस मात्र हो । नेपाली र अंग्रेजी भाषामा कार्यक्रम सुचारु रहेको छ । नयाँ पुस्तामा भाषा, संस्कृति, संस्कार र देश नेपालसँग जोड्ने सेतुको काम जारी राखेको छ । बेलायती समाजमा घुलमिल गर्न मद्दत पुर्‍याउँछ । घरेलु हिंसा, ड्रग्स, अल्कोहल, पुलिस, आगलागी, स्वास्थ्य, सुरक्षाजस्तो विषय रेडियो हरपल उठाइरहन्छ । नेपालबाट आएका कलाकार, व्यक्तित्वहरू, पेसागत व्यक्तिहरूसित अन्तर्वार्ता गरिन्छ । ‘रेडियोमा गीत मात्र बजाएर होइन, समाजलाई इन्टरलिंक गर्दै छौं,’ रेडियोका निर्देशक सोनाम छिरिङ शेर्पा भन्छन्, ‘युवाहरूलाई ब्रोडकास्टिङ ट्रेनिङ दिन्छौं । नव युवा कार्यक्रम सञ्चालन गर्दै आएका छौं ।’ त्यसैगरी आंशिक रूपमा नेपाली टीभी र गोर्खा च्यानल सुचारु छन् । न्युमिडियाको प्रभाव पनि छ । 

बूढापाका भेटेरान्स

अवकाशप्राप्त सैनिकलाई ‘भेटेरान्स’ भनेर जानिन्छ । 

बेलायत पुग्ने दुईथरी ब्रिटिस गोर्खा छन् । पहिलो, लामो समयसम्म सेवा गरेर औपचारिक रूपमा पेन्सिन पाएकाहरू हुन् । दोस्रो, छोटो समय सेवा गरेर छाडे, जसले पेन्सन पाएनन् । यी दुवैथरी भेटेरान्स र तिनका परिवारले आवासीय भिसाको उपभोग गर्दै आएका छन् । बेलायत सरकारले उनीहरूलाई वृद्धभत्ता (पेन्सन क्रेडिट बेनेफिट) उपलब्ध गराउने गरेको छ । पेन्सिन पाउनेले वृद्धभत्ताको रकम केही पाउँछन् । पेन्सिन नपाउनेले जीविकोपार्जन हुनेगरी बेलायती नागरिकसरहको भत्ता पाउँछन् । वृद्धभत्ता उपभोग गर्न न्यूनतम उमेर महिलाको ६५ र पुरुषको ६७ वर्ष भएको हुनुपर्छ । वृद्धभत्ता उपभोग गर्ने दम्पती नै छन् भने हप्तामा २ सय ४३ पाउन्ड पाउँछन् । एकल हो भने १ सय ६९ पाउन्ड पाउँछ । नि:शुल्क स्वास्थ्य सेवा पाउँछन् । यो भत्ता उपभोग गर्नेले बेलायतभन्दा बाहिर बढीमा १ महिना बस्न पाउँछ । जो यतिखेर बेलायतको बस स्टप, बजार, पार्क, बाटोघाटोतिर टहलिरहेका भेटिन्छन् । 

अन्तमा, 

खासमा बेलायतमा पाइला टेक्ने पहिलो जंगबहादुर राणापछि अन्तिम यात्रीझैं लागिरहेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेपछि बिदेसिँदै गरेका नेपालीहरूको लस्कर देखेपछि ढुक्क लाग्यो कि म मात्र होइन रहेछ । बोर्डिङ पास लिएर माथिल्लो तलामा चढियो । नाम, थर, ठेगाना, पासपोर्ट नम्बर, जान लागेको मुलुक इत्यादि उल्लेख गर्नुपर्ने रहेछ । सहयात्री साहित्यकार शशी लुमुम्बु र मसँगै थियौं । विवरण भर्‍यौं । हाम्रो छेउमा एक तराईवासी ठिटो विवरण भर्न अनुरोध गर्न आए । उनको साथमा कलम थिएनछ भनेर कमल दिएँ । तर उनले लेखिदिनोस भने । अंग्रेजी होइन, नेपालीमै भर भनेर पाना पल्टाएर देखाएँ । उनले फेरि आउँदैन भने । उनको पासपोर्ट हेरेर विवरण भरिदिएँ । अनिष मण्डल, घर रौतहट रहेछ । वैदेशिक रोजगारीका निम्ति जाँदै रहेछन् । अन्तिममा हस्ताक्षर गर्नुपर्ने ठाउँमा सही गर्न लगाएँ । उनले फेरि भने, ‘जान्दिनँ ।’ पासपोर्टमा हस्ताक्षर हेरेको कालो मसीले ‘इन्टु’ (अंग्रेजी एक्स) कोरिएको रहेछ । उहिले प्रथम र द्वितीय विश्वयुद्धमा यस्तै निरक्षर लोर्केहरूलाई गोर्खा भर्तीमा लगिन्थ्यो भन्ने सुनिन्थ्यो । आज नेपालमा साक्षरता दर ६९ प्रतिशत रहेको बेला निरक्षर नागरिक अरबतिर ठेकिएका छन् । तैपनि बेलायतभन्दा अरबकै रेमिटेन्सले देश धानिरहेको छ भन्न पाउँदा आफूलाई धन्य सम्झिरहेको छु । मेरो लेखकीय सपनाको एउटा त्यान्द्रो ‘बीस किराती लेखक’ कृति बेलायतमै विमोचन गराएर फर्किएको छु । 

raiganesh@gmail.com

प्रकाशित: कार्तिक २५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार