कोसेली

विगतजस्तो केही : प्रेमको अभिव्यञ्जना

  • पुस्तक
- ज्ञानु अधिकारी, काठमाडौं

कार्तिक २५, २०७४-कुनै चकमन्न रातको सपनामा 

विरोधको खोला तरिरहेको देख्छु

मन उदास हुन्छ, यौटा रिक्तता भरिन्छ

तिम्रो याद आउँछ । (बाढी १६४)

हो, यही याद, अनुभूति र यही स्मृतिको मिठो कोलाजको गाढा विम्ब हो— ‘विगतजस्तो केही’ । सूत्र उपन्यास भनेर नामकरण गरिएको प्रस्तुत कृति वास्तवमा कुनै एउटा निर्धारित विधामा मात्र सीमित नरही निकै परसम्म फैलिएको देखिन्छ । महाकाव्य, सूक्तिसङ्ग्रह, काव्य, संस्मरणकाव्य आदि जे नामले चिनाउन पनि सकिने तर्कयुक्त सम्भावनाहरू यसमा पाइन्छन् । निकै सुन्दर भावलाई स्वतस्फूर्त रूपमा लेखिएको प्रस्तुत उपन्यास ध्रुवचन्द्र गौतमको पछिल्लो नवीन र प्रयोगपरक कृति हो । युगल प्रेमका स्मृति विम्बहरूलाई केन्द्र बनाएर विविध किसिमका अनुभूतिका झोक्कालाई यसमा कलात्मक र रोचक शैलीमा प्रस्तुत गरिएको छ ।

कृतिमा समावेश भएका प्रत्येक पङ्क्ति एउटा झिल्काजस्ता लाग्छन् । यीमध्ये केहीले हृदयमा तरङ्ग ल्याउने काम गर्छन् भने केहीले न्यानो दिएर विगततर्फ लैजान्छन् । जीवनको उत्तराद्र्धतर्फ लाग्दै गर्दा हरेक मानिससँग रहेको आफ्नो निजी कमाइ र सम्पत्ति भनेको स्मृति र अनुभूति नै हो । तिनले कहिल्यै साथ छाड्दैनन् । झन् प्रेमपूर्वक आफूले मन मुटुमा सम्हालेर, सजाएर राखेको कसैको याद त झन् यति मिठो र गाढा भइदिन्छ कि एकान्तको प्रिय वस्तु नै त्यही भइदिन्छ । यस्तै यस्तै अनुभूतिका रङहरू पोखिएका छन् कृतिमा :

बिर्सन सक्छु यो संसार म आफैँलाई 

तिम्रो मिठो अनुहार बिर्सन सक्दिनँ ।

वास्तवमा स्नेहसीक्त यस्ता मृदु अभिव्यक्ति थोरै शब्दमा नै मिठा भइदिन्छन् । लम्बेतान वर्णन असान्दर्भिक र फिका लाग्छन् । प्रेम अभिव्यक्तिका लागि प्रयोग गरिँदै आएको पत्रात्मक शैली पनि परम्परित लेखन बनिदिन सक्छ र त्यसले नयाँपनको अनुभूति नदिन सक्छ, त्यसैले यस कृतिमा जुन शैली अपनाइएको छ, त्यो निकै उपयोगी र प्रभावशाली बनेको छ । कृति कस्तो छ ? भन्ने प्रश्नको ठोस उत्तर हुँदैन । यसको उत्तर पाठकसापेक्ष हुने कुरा हो । यस कृतिभित्र रहेका सूक्तिहरूमा अर्थका धेरै सम्भावनाहरू रहेका छन् । यी दुई हरफे पङ्क्तिहरूमा अर्थका यति धेरै ग्याप वा रिक्तता छन् कि, त्यहाँ पाठकहरूले आफ्नै अनुभूति र स्मृतिविम्बका माध्यमबाट लामो ‘डिस्कोर्स’ थप्न सक्छन् ।

यस कृतिको अनौठो विशेषता के हो भने, उपन्यासको कथानकभरि ‘तिमी’ र ‘म’ बाहेक अर्को दोस्रो पात्र अटाएको छैन । म अर्थात् प्रेमीको आत्मालापीय शैलीमा लेखिएको संस्मरणात्मक अभिव्यक्तिमा परिवेश पनि बाह्यभन्दा आन्तरिक नै बढी देखिन्छ । प्रणय प्रेमलाई नै पाठको केन्द्र बनाइएको भए पनि यसमा सस्तो भावुकता, रोदन, क्रन्दन, गुनासो र पश्चात्तापका कथा बुनिएका छैनन् । हृदयका अमूर्त भावलाई पनि उनले मानवीय कमजोरी, समाज मनोविज्ञान, संस्कार आदि सन्दर्भसँग जोडेर व्यङ्ग्यात्मक रूपमा प्रस्तुत गरेका छन्, यसले गर्दा रागात्मक तरलता कम देखिन्छ ।

प्रेमलाई समाज रूपान्तरणका लागि उपयोगी नभएको र अनावश्यक भावुकता देख्नेहरूले प्रेममा कत्रो शक्ति हुन्छ र प्रेमले मान्छेलाई कसरी रूपान्तरण गर्न सक्छ भन्ने कुरा यस कृति पढेपछि राम्ररी बुझ्न सक्छन् । विद्रोह, क्रान्ति, भाषण, आदर्श, नारा र उपदेशात्मकताबाट टाढा रहेको यस कृतिले पाठकका मनमा भने मिठो तरङ्ग पैदा गरिरहन्छ । सूक्तिहरूकै सङ्ग्रहका रूपमा रहेको महाभारत आर्ष महाकाव्य बने जस्तै यस कृतिका दुई हरफे सूक्तिहरूले पनि एउटा नवीन उपन्यासको आकार तयार गरेको छ । यसमा उपन्यासकारको अन्तश्चेतनाको अभिव्यक्तिका साथै त्यसमा उनको लेखकीय प्रवृत्ति पनि घोलिएको छ । व्यङ्ग्यात्मकता र संवेदनायुक्त कथन उनका निजी विशेषता हो र यसमा पनि उनले प्रेमिल विषयलाई समेत निकै रमाइलो किसिमबाट प्रकट गरेका छन् । अधिकांश सूक्तिमा विपर्यासको स्थिति देखिन्छ । जस्तै पहिलो पङ्क्ति सकारात्मक र संयोगान्त रहेको हुन्छ भने प्राय: दोस्रो पङ्क्ति नकारात्मक र वियोगान्त देखिन्छ । विम्बैविम्बले छोपिएका यस कृतिका हरेक सूक्तिमा एउटा सग्लो, स्पष्ट र रङ्गीन यादहरू मिसिएका छन् तर कृतिमा भएका ती चित्रहरूले पाठकले बनाएका विम्बहरूलाई खोसेर लगेको जस्तो पनि कतैकतै देखिन्छ । 

यस कृतिमा घटनाको क्रमिक विकास छैन । यसमा उत्कर्ष र अपकर्ष पनि छैन । एउटा वाक्य वा सूक्ति नै सम्पूर्ण हो । यहाँ एक अर्को सूक्तिका बीचमा पूर्वापर सम्बन्ध नभए पनि पाठकको आँखामा एउटा मिठो विम्ब ओढाएर अघि–अघि हिँड्छ विषय र पूरै कृति नसकिउन्जेल पछि–पछि हिँडिरहन्छ पाठक । यस कृतिमा रहेको प्रत्येक सूक्तिलाई एउटा पूर्ण पाठका रूपमा फरकफरक किसिमबाट व्याख्या गर्न पनि सकिन्छ । तिनमा बेग्लाबेग्लै यथार्थ, दर्शन र दृष्टिकोण पाइन्छ । 

‘विगतजस्तो केही’ वास्तवमा प्रेम उपन्यास हो । अत्यन्त रोचक, कलात्मक र व्यङ्ग्यात्मक तरिकाले लेखिएको यस कृतिमा उपन्यासकारले आफ्ना प्रेमसम्बन्धी अनुभूति र कल्पनालाई एउटा सुन्दर आकार दिएका छन् । तर, पाठकले पनि आ–आफ्नै आकारमा ढालेर यसलाई ग्रहण गर्न मिल्ने सुबिधा पनि यसमा छ । कुनै विषय, वस्तु वा व्यक्तिका स्वभाव एवम् गुणप्रति मनमा उत्पन्न हुने आकर्षण वा आत्मीयता, अनुरागलाई नेपाली बृहत् शब्दकोशले प्रेम भनेर अथ्र्याएको छ । 

कृतिमा प्रस्तुत गरिएका सूक्तिमय वाक्यहरू प्रेमसँग सम्बद्ध अनुभूति तथा दृष्टिकोण हुन् । प्रणय प्रेममा आधारित अभिव्यक्ति भए पनि यसमा कोरा भावुकता नभई यथार्थपरक चिन्तन व्यक्त भएको छ र यसमा प्रेमको तरलतालाई मात्र नपोखी प्रेमसँगै आएको सांसारिकता, संवेदना तथा दार्शनिक पक्षसमेत प्रकट भएका छन् । प्रेमका नाममा आलाप, विलाप गरेर वियोगान्त प्रेमको दुहाई दिने परम्परालाई भत्काएर यहाँ भौतिक रूपमा टाढा भएर गरिएको प्रेम झन् जीवनकै ऊर्जा बन्न सक्छ भन्ने कुरालाई देखाइएको छ । दुई हरफमा एउटा पूरै दर्शन समेट्न सक्ने अद्भुत क्षमतालाई उपन्यासकारले केही सूक्तिमा पोखिदिएका छन् । 

तिमी मेरा लागि घाम हौ 

जुन अवकाश प्राप्त वृद्धलाई अझ प्यारो हुन्छ ।

तिमी सुखान्तकथा–नायिकाझैँ आयौ,

धन्यवाद, दु:खान्त बने पनि नायक बनाएर गयौ । (९०)

म कथा लेख्न चाहन्थेँ, तिम्रो र आफ्नो,

समय हेर, मै कथा बनेँ, तिमी कथाकार बन्यौ । (१२४)

माथि प्रस्तुत गरिएको सूक्तिहरू केही नमुना मात्र हुन् । यस कृतिभरि तिमी अर्थात् प्रेमिकाको व्याप्ति छ । छेउमा बस्ने प्रेमिका बिजुलीजस्तो र आफू अन्धकारजस्तो भएको, प्रेमिकालाई कथाहरू मन पर्ने भएकाले आफू कथा मात्र बनेको, प्रेमिका काव्यजस्तो कोमल र आफू कथाजस्तै ठोस भएको र आफैँलाई कथा बनाएर प्रेमिका कथाकार बनेको सन्दर्भहरू प्रस्तुत गरेर यस कृतिको नायकले 

आफ्नो प्रेमी रूपको वर्णन गरेको देखिन्छ । प्रेमिकासँग तुलना गरेर आफूलाई प्रस्तुत गरिएका प्रेमीको यस्ता अभिव्यक्तिहरूमा साहित्यिक चेतना अर्थात् अधि साहित्यको पनि प्रयोग भएको देखिन्छ । यस्ता धेरै 

पङ्क्तिहरूमा अभिव्यक्त भावले प्रेमीको यथार्थ रूपलाई देखाएको छ । यसरी देखाउँदा प्रेमिकाको रूप, बानी, स्वभाव आदिसँग आफूलाई तुलना गरेर देखाएका छन् । कृतिको शक्तिशाली पक्ष व्यङ्ग्यात्मक चेतना र त्यसको प्रस्तुति हो । प्रस्तुत कृतिमा व्यङ्ग्यात्मकता स्वतस्फूर्त रूपमा आएका छन् । यो उपन्यासकारको निजी र मौलिक शैली हो । 

व्यङ्ग्यात्मकता आख्यानकार गौतमको लेखनमा पाइने मौलिक पहिचान र निजी प्रवृत्ति हो । उनका सिर्जनात्मक कृतिमा यसप्रकारका व्यङ्ग्यात्मकता सहज र स्वतस्फूर्त रूपमा अभिव्यक्त भएका हुन्छन् । माथिका व्यङ्ग्यात्मक सूक्तिहरूमा मानवीय जीवनका विरोधाभासहरूलाई निकै मार्मिक रूपमा अभिव्यक्त गरिएको छ । प्रेमलाई आत्मिक कुरा मानिरहँदा पनि त्यसलाई अरू थुप्रै भौतिक कुराले प्रभाव पार्ने सङ्केत यस कृतिका सूक्तिहरूमा पाउन सकिन्छ । यसैमध्येको पहिलो सूक्तिमा प्रेमलाई स्वादको बनाउन नियुक्तिपत्रको आवश्यकता भएको कुरा उल्लेख गरिएको छ । ध्वन्यार्थक रूपमा आएको नियुक्तिपत्रले एकातिर रोजगारीको नियुक्ति पत्रको सन्दर्भलाई देखाएको छ भने अर्काे तिर अभिभावकले दिने नियुक्तिपत्रतर्फ पनि सङ्केत गरेको छ । यसैगरी आउँदो वैशाखको कुरा गरेर यसपालीको पुस काटौँ भन्ने अभिव्यक्तिले सारा अभावहरूलाई भुलेर भ्रमकै रूपमा भए पनि प्रेम गरौँ भन्ने अभिप्राय प्रकट भएको छ भने माथिका अन्य पङ्क्तिहरूमा पनि प्रेमिकाको अभिव्यक्तिलाई व्यङ्ग्यात्मक रूपमा प्रश्न गरी भावलाई सङ्केतार्थक बनाइएको छ ।

कृतिको केन्द्रीय पक्ष प्रेम रहेको भए पनि यसमा समसामयिकता, दर्शन, समाजमनोविज्ञान, यौन, राजनीति आदि पक्षको प्रभावपूर्ण उपस्थिति पनि देख्न सकिन्छ । तर जे होस् आफूले प्रथमपटक अनुभव गरेको प्रेम र प्रेमिकाको स्मृतिलाई पृथक् र कलात्मक रूपमा प्रस्तुत गर्नु नै यस कृतिको मुख्य अभीष्ट हो र यो आख्यानकार गौतमका अघिका सारा कृतिभन्दा भिन्न र नवीन कृति हो ।

प्रकाशित: कार्तिक २५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार