कोसेली

मलेसियाका सुल्तान टीका

  • प्रवास
- जनकराज सापकोटा , काठमाडौं
मलेसियामा सस्तो श्रम गर्न बाध्य झन्डै साढे सात लाख नेपाली कामदारमध्ये श्रीसको परिचय भिन्न छ । किनकि उनी कामदार हुँदै मालिक भएका हुन् । पछिल्ला सात वर्षयता उनले चिनियाँ र जंगलमै बस्न रुचाउने स्थानीय आदिवासी ओरङअस्लीको स्वामित्वमा रहेको जग्गा भाडामा लिएर व्यावसायिक तरकारी खेती गरिरहेका छन् ।

कार्तिक २५, २०७४-कुराकानीको बीचैमा गुल्मी भार्सेका ४६ वर्षीय टीकाराम श्रीसले चर्को स्वरमा बोलाए, ‘भालु यता आइजो ।’ एउटा कालो रंगको कुकुर पुच्छर हल्लाउँदै लुखुरलुखुर उनको छेउमा आयो । श्रीसले आफ्नो टहरो छेउमा खेलिरहेका दुई कुकुरलाई देखाउँदै भने, ‘त्यो कुकरको नाम बन्चरे, अनि त्यसको नामचाहिँ ढल्के ।’

मलेसियाको राजधानी क्वालालम्पुरको चमकधमकबाट परको ग्यान्टिङ हाइल्यान्डको एउटा सुनसान कुनामा घुमिरहेका कुकुरहरूको नेपाली नाम सुनेर को छक्क नपर्ला । चिनियाँ र मलेसियन जग्गा मालिकहरूको तरकारी फार्ममा मजदुरको हैसियतमा रातदिन पसिना बगाइरहेका वैधानिक र गैरकानुनी हैसियतका नेपालीहरूका माझमा श्रीसको आफ्नै सानसहितको परिचय छ । किनकि उनी बहुसंख्यक नेपालीजस्तै कामदार मात्रै होइनन्, ग्यान्टिङ हाइल्यान्डका ठूला भनिएका दुई तरकारी फार्मका मालिकसमेत हुन् । बीस र चालीस हेक्टरमा दुई तरकारी फार्ममा उनले १२ जना स्थायी कामदार राखेका छन् । जसमध्ये अधिकांश नेपाली छन भने केही इन्डोनेसियाली । जहाँ तरकारी रोप्ने र टिप्ने बेलामा भने उनले ७ देखि आठ इन्डोनेसियाली कामदारलाई ज्यालादारीमा राख्ने गर्छन् । 

यिनै फार्मको सुरक्षाका निम्ति श्रीसले एउटा फार्ममा तीन र अर्कोमा चार कुकुर पालेका छन् । बुकिटिंकी पहाडको जन्डा वाइक भन्ने ठाउमा रहेको अर्को फार्ममा रहेका चार कुकुरको नाम भने उनले माली, माइला, गैंडा र टाइगर राखेका छन् । तरकारी खेतीको प्रसंग सुनाउनुअघि टीकाले सुनाए, ‘यी कुकुरले नेपाली भाषा मात्रै बुझ्छन् । नेपालीमा बोल्नेलाई टोक्दैनन् । अरू भाषा बोल्ने मान्छे फार्मभित्र छिर्न आँट्यो भने झम्टिहाल्छन् ।’

मलेसियामा सस्तो श्रम गर्न बाध्य झन्डै साढे सात लाख नेपाली कामदारमध्ये श्रीसको परिचय भिन्न छ । किनकि उनी कामदार हुँदै मालिक भएका हुन् । पछिल्ला सात वर्षयता उनले चिनियाँ र जंगलमै बस्न रुचाउने स्थानीय आदिवासी ओरङअस्लीको स्वामित्वमा रहेको जग्गा भाडामा लिएर व्यावसायिक तरकारी खेती गरिरहेका छन् । ३५ हेक्टर जमिनका निम्ति वर्षका १० हजार रिंगिट अर्थात् करिब दुई लाख ५० हजार नेपाली रुपैयाँ भाडा मात्रै तिर्छन् । क्वालालम्पुरको चमकधमक छाडेर एकान्त पहाडी कुनामा श्रीसले कतिसम्म पसिना बगाएका छन भन्ने जान्न धेरै उदाहरण दिइराख्नु पर्दैन । 

उनले तरकारी खेती सुरु गर्नुअघिसम्म ती पहाडी भूभाग झाडी र बुट्याउनले भरिएका थिए । श्रीसले सुनाए, ‘झाडी फाँडेर आगो लगाए, डोजर लगाएर उबडखाबड जमिन सम्याए ।’ उनले व्यावसायिक तरकारी खेतीमा सिँचाइ पुर्‍याउन ६ किलोमिटर परको खोलाबाट पाइपमा पानी ल्याएका छन् । बिजुली नभएको ठाउँमा सोलार राखेर बत्ती बालेका छन् । कतिसम्म भने फार्म ठूलो भएकै कारण उनले कामदारका नाइकेहरू तोकेका छन् र तिनीहरूसँग कामको खैखबर बुझ्न वाकिटकीमा कुरा गर्छन् । 

जन्डा वाइकमा श्रीसले तरकारी फार्म सुरु गर्नुअघिसम्म गाडी जाने बाटोसम्म थिएन । उनले आफ्नै खर्चमा डोजर लगाए, बाटो कोतरे र ट्रयाक्टर हिँड्न मिलाए । अहिले उनी त्यही ट्रयाक्टरमा तरकारी भरेर अलिक वरसम्म ल्याउँछन् र क्वालालम्पुरबाट तरकारी किन्न आउनेहरूको हातमा थमाउँछन् । 

सात रोपनीबाट तरकारी खेती सुरु गरेका श्रीसले अहिले आफ्नो खेतीको क्षेत्रफल मात्रै बढाएका छैनन्, सिजनअनुसारका तरकारीका अनेक जात पनि उमारिरहेका छन् । उनले मदानी सिमी, प्यासन फ्रुट अर्थात् लहरे आँपदेखि अदुवा र खुर्सानी मात्रै फलाएका छैनन् सुगर लेस भनेर चिनिने चिनियाँ साग सायु मनिसदेखि औषधिको रूपमा समेत प्रयोग हुने चिनियाँ साग चिनचाक पनि उनले आफ्नै बारीमा उमारेका छन् । 

अनेकन दलालको चुंगुलमा परेर मलेसिया पुग्ने र भनेजस्तो काम नपाएर कम्पनी छोड्दै गैरकानुनी हैसियतमा लुकिछिपी काम गर्नुपर्ने साझा कथा रहेको मलेसियामा श्रीस अपवादका पात्र हुन् । मासिक बीस/पच्चीस हजारका निम्ति ज्यानकै बाजी लगाइरहेको कामदारका अनन्त दु:खका कथा सुनेर उक्ताएकाहरू श्रीसको मिहिनेत र त्यसको कमाइ सुनेर जिब्रो काड्छन् । दुवै फार्ममा गरेर डेढ लाख रिंगिटभन्दा धेरै अर्थात् ३७ लाख नेपाली रुपैयाँभन्दा धेरै लगानी गरिसकेका श्रीसले सबै खर्च कटाएर वार्षिक रुपमा २० देखि २५ लाख रुपैयाँ कमाउँछन् । 

श्रीसलाई कहिलेकाहीं लाग्छ, आफ्नो देशमा त्यतिका  धेरै डाँडाकाँडा झाडी, बुट्यानले भरिएका छन् । आफू भने अर्काको देशमा आएर झाडी फाँडेर खेतीयोग्य जमिन बनाइरहेछु । यहाँका जस्तै नेपालका पहाड सम्भिँmदा कस्तो लाग्छ ? बिहान सात बजेदेखि झमक्क रात नपर्ने बेलासम्म डाँडाकाँडा कुँदी हिँड्ने श्रीसले सुनाए, ‘नेपालमा पनि यसै गरेर खेती गर्न नसकिने हैन । तर फलाएर मात्रै के गर्नु ? बजार खै ? बजारसम्म पुर्‍याउने सडक खै ?’ यस्त अनेकन प्रश्नको उत्तर जति घोत्लिए पनि नभेटे पनि श्रीस मनमनै देश सम्झेर थकथकाउँछन् । 

श्रीस आफ्नो काम र कमाइ दुवैबाट खुसी छन् । तर पनि परिवार र आफन्तसँग टाढा हुनुको नियास्रो कसै गरे पनि उनको मनबाट मेटिएको छैन् । आफ्नै अदुवाबारीमा हिँड्दै गर्दा श्रीसले सुनाए, ‘आजको दिनसम्म मैले धेरै दु:खको अँध्यारो बाटो हिँडेको छु ।’ दुई छोरी र एक छोराका बाबु श्रीसको विगत ग्यान्टिङ हाइल्यान्डका घुमाउरा बाटाहरूजस्तै छ । 

जीवनमा उनले के मात्रै गरेनन् । सन् १९९१ देखि २००९ को अवधिमा उनी कतिपटक मलेसिया आए र कतिपटक स्वदेश फर्के भनेर गन्नका लागि हातका औंलाहरू नै भाँच्नुपर्छ । 

यो बीचको अवधिमा केही वर्ष उनी नेपालमै अडिन पनि खोजेका थिए । त्यो बीचमा उनले के मात्रै गरेनन् । केही समय म्यानपावर व्यवसाय खोले । चिनियाँ अल्टरनेटिभ मेडिसिनको कारोबार गरे । गाउँमा मौरीपालन गरे । तर ती सबै कामबाट सोचेजस्तो र भनेजस्तो नभएपछि उनले आफ्ना पाइला विदेशतिर मोडेको मोड्यै गरे । श्रीसले पुरान दिनहरू सम्झिँदै भने, ‘मैले जति दु:ख त सायद कसले गरेको होला र ?’ 

सन् २००९ मा पछिल्लोपटक मलेसिया आएपछि भने श्रीस ढुक्कैले मलेसिया अडिए । कामदारको हैसियतबाट श्रीसले आफूलाई खेती मालिकको हैसियतमा उकाले । पछिल्लोपटक मलेसिया छिरेका केही वर्ष उनले जन्डा बाइक बोस भन्ने ठाउँको घना जंगलको बीचमा रहेको तरकारी फार्ममा काम समय काम गरे । त्यसपछि भने उनी आफैंले हिम्मत गरेर तरकारी खेती गर्ने काममा लागिपरे । 

बिजुली बत्ती पनि नभएको पहाडी थुम्कोमा श्रीसले आफ्नै बुतामा स्थानीय काठ र जस्तापाताको प्रयोग गरेर टहरा बनाएका छन् । त्यही उनी आफ्ना कामदारसँगै बस्छन् । आफू र कामदारले खान भनेर ४० वटा जति लोकल कुखुरा पालेका छन् । बेला–बेलामा आदिवासी ओरङ असलीले मारेको बँदेलको मासु पनि किनेर स्वाद मानी–मानी खान्छन् । घर छेउमा कलकल गर्दै बग्ने कुलेसोको पानी स्वाद मानीमानी खान्छन् । अनि चाडबाडका बेला वरिपरिका डाँडाकाँडामा छरिएर काम गरिरहेका नेपालीहरू बोलाएर चाड मनाउँछन् । 

श्रीसको अनुभवमा नेपालीलाई भन्दा इन्डोनेसियालीलाई काम लगाउन धेरै सजिलो छ । उनले आफ्नो अनुभव सुनाउँदै भने, ‘इन्डोनेसियाली कामदार त मलाई देख्नेबित्तिकै मालिक आयो भनेर सतर्क हुन्छन् । तर नेपाली भने दाजुभाइ नै ठान्छन् ।’ श्रीस बस्ने ग्यान्टिङको डाँडामा झन्डै चार सय नेपालीहरू विभिन्न फार्ममा मजदुरको हैसियतमा काम गर्छन् । ती भने झन्डै आधा दर्जन भने इन्डोनेसियाली केटीसँग दिल साटेर बसेका छन् । तर उनको मन र तन भने तरकारीबारीमै साटिएको साटियै छ । 

तरकारी बारीमा फुलिरहेको सिमीको सेतो छिर्केमिर्के फूलजस्तै उनको दिन पनि हिजोआज रंगीन छ । घरपरिवारको नियास्रो भए पनि उनी रातदिन नेपाली दाजुभाइसँगै छन् । उनको टहरोजस्तो भान्छामा नेपालकै जस्तो खान्की पाक्छ । बास्मती चामलको भात, आफ्नै बारीको साग, दाल सधैं पाक्छ । श्रीसले सुनाए, ‘कहिलेकाहीं मकैको आटा पनि मुख फेर्ने खाइन्छ । सधैं मकैको च्याख्ला खान मन लाग्छ मलाई त । तर के गर्नु बास्मती चामलभन्दा मकै महँगो पर्छ ।’ यति भनेर श्रीस मज्जाले हाँसे । उनको हाँसोबाटै अनुमान लगाउन सकिन्थ्यो, नेपालमा मकैको आटो त गरिबको खान्की भनेर हेला गरिन्छ र चामलभन्दा सस्तोमा किन्न पाइन्छ । 

समयको एउटा विन्दुमा नेपालमै गएर केही गर्नुपर्छ भन्ने सोच श्रीसको मनमा गढेर बसेको छ । सधैं केही न केही नयाँ गर्न खोज्ने उनले केही वर्षअघि गुल्मीको भार्सेमा तीन सय श्रीखण्डका बोट रोपे । उनले अनेक सम्पर्क सूत्र पहिल्याएर कम्बोडियाबाट त्यतिका धेरै बिरुवा किनेर नेपाल पुर्‍याएका थिए । जसमा उनले २ लाख ९० हजार रुपैयाँ खर्चिएका थिए । तर उनले सोचेजस्तो भएन । रोपेमध्ये जम्मा एउटा श्रीखण्डको बोट मात्रै बाँच्यो । उनले चुकचुकाएको स्वरमा भने, ‘धेरै कुरो नजान्दा लगानी खेर गयो ।’ तर उनले हिम्मत हारेका भने छैनन् । दुई वर्षअघि उनले फेरि मलेसियाबाट श्रीखण्डका करिब एक सय बिरुवा नेपाल पठाए । यति बेला उनी रूपन्देहीमा रोपेका श्रीखण्ड कतिसम्म हुर्केलान् भनेर दिन गनेर बसेका छन् । 

करिब एक दशकयता मलेसियाको माटो खोस्रिरहेका श्रीसले आफ्नो तरकारी फार्म कति क्षेत्रफलसम्म फैलाउलान् ? आफ्नो फार्ममा कामदारको संख्या कतिसम्म पुर्‍याउलान् ? अनि वार्षिक कमाई कतिसम्म गर्लान् ? सामाजिक सञ्जाल फेसबुकमा आफ्नो नाम सुल्तान टीका राखेका उनले गम्भीर भएर भने, ‘यो अर्काको देश हो । गतिलो नाफा भयो भन्दैमा सधैं बस्न सकिन्न । पराई देशमा लामो बाटो हिँड्न हुन्न ।’

प्रकाशित: कार्तिक २५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार