कोसेली

सोह्रौं शताब्दीदेखिको पर्व

  • संस्कृति
- लालप्रसाद शर्मा, काठमाडौं

कार्तिक २५, २०७४-अविवाहित युवा बारीमा कोदाली, बाउसो घिसार्दै हहहह, हो.....बा, माले भन्दै खन–जोतको अभिनय गर्छन् । केही बूढापाका हिउँदे बालीको बीउ लिएर बारीमा पस्छन् । लगत्तै अविवाहित युवती पनि बारीमा देखिन्छन् । परम्परागत वेशभूषामा ठाँटिएका युवायुवती छरेको बीउ पुर्न बारी खन्छन् । विवाहयोग्य युवायुवती मात्र यसमा सहभागी हुन्छन् । बारी खनिसकेपछि कोदाली जुधाएर तरुनी–तन्नेरीबीच तानातान हुन्छ । खेतबारी खन्ने क्रममा बाउसो, कोदाली ठोकिएमा बाली सप्रेर सहकाल आउने (अन्न अभाव नहुने) मान्यताले यस्तो गरिएको हो । वरपर दर्शकको ठूलो भींड छ । ‘छापे खन्ने’ भनिने यस्तो दृश्य प्रत्येक कात्तिक २६ गते अपराह्न देख्न पाइन्छ । 

गीत गाउने र मादल बजाउनेको अगाडि मारुनी नाचिरहेका हुन्छन् । यो समूहलाई नाचपाटी (नास्पाती) भनिन्छ । यो क्रियाकलाप वर्षदिनभरि गाउँमा मृत्यु भएका परिवारको बरखी अर्थात् दु:ख फाल्ने कामका लागि हो । नाचपाटीले मृतकको घरमा पुगेर मारुनी नाची मृतकका आफन्तलाई आशिष दिँदै टीकाटालोदेखि सबै फुकाइदिन्छ । सबै मृतकको परिवारमा बरखी फुकाएपछि शंखु (देवता) घरमा जम्मा भई अर्गासी (सार्वजनिक जग्गामा) युवायुवतीले छापे खन्छन् । शंखु देवताको पूजा गरी अग्नि साक्षी राखी वराना (हली) ले युवालाई छेउ लगाउन भन्छन् । त्यसपछि वरकल (बीउ छर्ने) ले गहुँ, जौ, मटर, भट्टजस्ता हिउँदे बालीको बीउ छर्छन् । तरुनीतन्नेरीले खन्छन् । मादले मारुनी समूह गीतसँगै हातमा राँका, डाला र स्याउला लिएर निस्किन्छन् । 

पश्चिम बागलुङको अर्गल गाविसस्थित मगर समुदायको परम्परागत तथा ऐतिहासिक भुस पोल्ने तथा छापे खन्ने संस्कृतिको दृश्य हो यो । सोह्रौं शताब्दीमा तत्कालीन पाल्पाका सेनवंशीय राजा रूद्र सेनको शासनप्रति विमति राख्दै आफ्नो अस्तित्व रक्षाका लागि पाल्पाको अर्गलीबाट आएको मगर समुदायले सोही बेलादेखि मनाउँदै आएको एक मुख्य सांस्कृतिक पर्व हो यो । 

उतिबेला चारथरी मगर नाउसा (नावसा), पुलिसा, ओसासा र पुन तथा केही दलित परिवार यहाँ आएका थिए । ‘पुर्खाहरू आफ्नै शासन प्रणाली, पदको बाँडफाँड पनि गरेका तर सेन राजाले भनेको नमानेपछि आफ्नो संस्कार र संस्कृतिलाई स्थापित गर्न यहाँ आएका रहेछन्,’ संस्कृतिबारे अध्ययन थालेका शिक्षक बिर्बलाल घर्तीमगर भन्छन, ‘त्यतिबेला ६० घरधुरी हतियारसहित यहाँ आएका थिए ।’ उतिबेला चौबीसे राज्य र अन्य थुप्रै ससाना राज्यरजौटा थिए । एउटा राज्यबाट त्यही पनि हतियारसहित अर्को राज्यमा छिर्न सक्ने अवस्था थिएन । तर आफ्ना पुर्खाहरूको आत्मविश्वासले यहाँ आइपुगेको उनी बताउँछन् । 

यस ठाउँमा आएर बसेका पुर्खाले भौगोलिक अन्वेषण गर्दै कुनै पनि राज्य तथा व्यक्तिको अधीनमा अर्गलको भूमि नरहेको यकिन गरेपछि कात्तिक अन्तिममा आफ्नो जग्गा ठहर्‍याउँदै बसेको जनश्रुति रहेको स्थानीय सूर्यबहादुर घर्ती बताउँछन् । ‘कोही पनि जग्गाको दाबी गर्न नआएपछि खोरिया फाँडेर घामको झुल्कोसँगै जलाइएको रहेछ,’ शिक्षकसमेत रहेका उनी भन्छन् । अर्गलीबाट विस्थापित हुने क्रममा र बाटोमा समेत कसैको ज्यान गएको हुन सक्ने बिर्बलाल अनुमान गर्छन् । ‘पुर्खाहरू त्यत्तिकै अर्थात् खुीिसाथ आएका होइनन् । खोरिया फाँडेर जलाइएपछिको खरानी सेलाएसँगै मृत्युको अन्तिम संस्कार पनि सम्पन्न गरेका हुन सक्छन,’ यहाँ आएर घना जंगल फाँडेर बस्ती बसाउने र बारी बनाएको दिनको स्मरणस्परूप यसरी पर्वको रूपमा मनाउँदै आएको हुन सक्ने उनको भनाइ छ । ‘कात्तिक २६ गते बिहान अन्तिम संस्कार हुनु भनेको भूमि हाम्रो अधीनमा रह्यो भनी घोषणा गरेको र हिउँदे खेतीपाती सुरु भएको दिन स्मरणमा संस्कृतिको विकास भएको हो,’ उनी भन्छन्, ‘कात्तिक अन्तिम साता अन्तिम मृत्यु संस्कार एउटा संयोग मात्रै हुन सक्छ ।’ उतिबेला अनिकालको समयमा धनपैसा नभएका कारण ‘रहे किरिया’ गर्ने संस्कार पनि रहेको र वर्षायामको असार, साउनमा मृत्यु भएमा कामको चाप र अन्नपातसमेत नहुने भएकाले कात्तिक अन्तिममा अन्तिम संस्कार गर्ने चलन पनि रहेको हुन सक्ने उनी बताउँछन् । २६ गते पितृमुक्त भएर खुसियालीसँगै भोलिपल्टबाट वर्षदिनभरमा जेठो छोरा जन्मेको घरमा सोही नाच टोली पुगेर हर्षबढाइँ गर्छ । कात्तिक २७ गतेदेखि अर्को कात्तिक २२ गतेभित्र मृत्यु भएका परिवारलाई कात्तिकै २६ गते अम्काउने (दु:ख फाल्ने) गरिन्छ । 

प्रत्येक कात्तिक २४ गतेको अपराह्न ४ बजे होलदास (मृतकको घरमा किरिया रुँग्न) राख्ने चलन छ । मृतक अविवाहित तर उमेरले पाको भएमा मृतकको मावलीमा र विवाहित भएमा मावली तथा श्रीमतीको माइतीबाट होलदास राख्ने चलन छ । होलदासमा १८ माना चामल, १८ दाना सुकेको छाला तथा सुकुटी (कोर्तो) हाचक (मर्चा) र भुस्केट (जडीबुटी) लगिन्छ । होलदास भनेको किरिया रुँग्न (कुर्न) जाँदा हुलाबाट होल भएको हुन सक्ने अनुमान स्थानीय गर्छन् । दास भनेको काममा राख्नु भन्ने बुझिन्छ । पाको मान्छेको मृत्यु प्रमाणित गर्न होलदास लैजाने चलन रहेको हो । २४ गतेको बिहान घामको झुल्कोसँगै बीउ छरेर उब्जनी गर्न खनेको बारीमा कोदो, मकै, भट्टलगायतका बालीको जरा, डाँठ बस्तु जलाउनुपर्छ । अपराह्न ४ बजे होलदासको कार्यक्रम हुन्छ । २५ गते मृतक परिवारका आफन्तजन, भाइखलक जम्मा हुन्छन् । बेलुकी ज्वाइँचेला आएर होलदासमा ल्याइएको चामल, सुकुटीलगायत वस्तु पितृलाई चढाइदिन्छन् । सबै काममा युवापुस्ताको उत्तिकै सहभागिता रहन्छ । ‘यो संस्कृति (पर्व) मा युवापुस्ताको पनि उल्लेख्य सहभागिता रहन्छ’, स्थानीय महेन्द्र घर्तीले भने, ‘यसले संस्कृतिको जगेर्नामा युवापुस्ता आकर्षित गरेको छ ।’ कात्तिक २४ गतेलाई भुस पोल्ने र २६ गतेलाई छापे खन्ने भनिन्छ । यस विषयमा गहिरो अध्ययन अनुसन्धान भने भएको छैन । 

छापे खनिसकेपछि सबै जना शंखु घरमा जम्मा भएर खाजा खाने, गाउने र नाच्ने गर्छन् । पछिल्लो समय विभिन्न कलाकार बोलाएर सांस्कृतिक कार्यक्रम, खेलकुद पनि हुन थालेका छन् । यसले गाउँका प्रतिभाको पहिचान हुने र व्यापार व्यवसायमा पनि सहयोग पुर्‍याउने गरेको छ । 

छापे खन्ने करिब एक रोपनी जग्गा गाउँलेको सामूहिक स्वामित्वमा छ । जग्गामा उब्जिएको बालीबाटै पर्व मनाउने खर्च जुटाइन्छ । ‘यो हाम्रो स्थिर चाड भएकाले अन्य चाडबाड तथा मेलापर्व परे पनि हामीलाई असर पर्दैन,’ अर्गल माविका प्रधानाध्यापक गणेश घर्तीमगर भन्छन्, ‘अहिलेसम्म जीवन्त छ । भविष्यमा पनि जीवन्त राख्न प्रतिबद्ध छौं ।’

विसं १९९७ सालमा श्रेष्ठ थरका एक योगी यो ठाउँमा आएर तपस्या गरेका थिए । गाउँकै बयोवृद्ध नासु नन्दवीर थापाको भनाइमा ती योगीले गाउँको सबै गतिविधि पनि नियालेका थिए । अन्तिममा उनले अफाप हुन सक्छ हतियार एउटा कोत बनाएर राख्नू भन्दै त्रिशूलसमेत दिएर गएका थिए । त्यसपछि स्थानीले आफूले ल्याएका उतिबेलाका हतियार कोत बनाएर सुरक्षित राखेका छन् । 

lalpsharma@gmail.com

प्रकाशित: कार्तिक २५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार