प्रदेश

तीन दशकसम्म एकै उम्मेदवार

- कान्तिपुर संवाददाता , लमजुङ

कार्तिक २५, २०७४-नेपाली राजनीतिमा एमालेभित्र पृथ्वीसुब्बा गुरुङ चर्चित नाम हो । उनी पार्टीका सचिव तथा संगठन प्रमुखसमेत हुन् । 

राष्ट्रिय राजनीतिमा उनको नाम जति चर्चित छ, जनतामाझ उनी त्यति चर्चित थिएनन् भन्नलाई तीन दशकबीचको चुनावी नतिजाले देखाउँछ । २०४३ मा जनपक्षीय उम्मेदवारका रूपमा पहिलोपटक चुनावमा होमिएका उनी २०७० को संविधानसभा चुनावबाहेक बाँकी ५ वटै चुनावमा पराजित भएका हुन् । उनी सातौंपटक चुनाव लडदैछन् । सातौंपटकसम्म एकै ठाउँमा चुनाव लड्ने नेता नेपालमा सायद बिरलै होलान् ।

गाउँमा मावि विज्ञान शिक्षक छोडेर राजनीतिमा होमिएर वाम गठबन्धनबाट उम्मेदवार बनेका उनी ०४३ मा लेखनाथ अधिकारीसँग हारे । ०४८ मा कांग्रेसका रामबहादुर गुरुङसँग पराजित भए । आफ्नो क्षेत्र छाडेर आएका रामबहादुरसँग पृथ्वीसुब्बा गुरुङले ०५१ को मध्यवधि निर्वाचनमा पनि हार बेहोरे । ०५६ को आमनिर्वाचनमा कांग्रेसकै हरिभक्त अधिकारीसँग पराजित भए । तत्कालीन माओवादी पहिलो र एमाले तेस्रो पार्टी बन्दा कतिपय वरिष्ठ नेताले हार्दा भने उनी ०६४ को पहिलो संविधानसभा निर्वाचनमा विजयी भए । उनीसँग पराजित भएका दिलबहादुर घर्ती अहिले प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका उम्मेदवार छन् । घर्तीसँग वाम गठबन्धनबाट माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङ चुनावी मैदानमा छन् । देवप्रसादसँगै शान्ति प्रक्रियापछिको मन्त्रिमण्डलमा रहेका पृथ्वीसुब्बा केन्द्र छोडेर प्रदेशमा चुनाव लडिरहेका छन् । 

दोस्रो संविधानसभा चुनाव २०७० को प्रचारप्रसारमा बेंसीसहर आएका एमाले अध्यक्ष केपी ओलीले ‘पृथ्वीसुब्बालाई जिताएर पठाउनोस्, म मन्त्री बनाएर पठाइदिन्छु’ भन्ने आश्वासन दिएका थिए । तर, उनलाई जिताउनुका सट्टा हराइदिए । संसद्मा आदिवासी जनजाति समूह (ककस) मा लागेर ब्राह्मण, क्षेत्रीविरुद्ध बोलेको आरोप खेपेका उनले त्यही आरोपका कारण हार बेहोरे । अहिले उनी प्रदेश नं. ४ को मुख्यमन्त्री बन्ने उद्घोषसहित चुनावी प्रतिस्पर्धामा होमिएका छन् । वाम गठबन्धनले बहुमत प्राप्त गरे उनको मुख्यमन्त्री बन्ने ढोका खुला रहनेछ । तर, उनलाई मुख्यमन्त्री बन्न नदिन कांग्रेसका निवर्तमान सभापति कृष्णप्रसाद कोइराला ‘चर्को’ रूपमा लागेका छन् । कोइरालाले भने, ‘यो पहिल्यैदेखि कांग्रेसको ठाउँ हो । अहिलेको चुनावमा पनि यो ठाउँ हामी जित्छौं । कसैको कुनै पनि नाराले जनतालाई छुँदैन, जनताले कुरा बुझेका छन् ।’ उनी विकासको नारा लिएर गाउँगाउँमा चुनाव प्रचारप्रसार गरिरहेका छन् । उम्मेदवार गुरुङ चुनाव जितेर मुख्यमन्त्री बन्ने र त्यसपछि विकास गर्ने आश्वासन दिएर चुनाव प्रचारमा होमिएका छन् ।

 

प्रकाशित: कार्तिक २५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार