खेलकुद

बहुप्रतीक्षित मुलपानी मैदान

- विनोद पाण्डे, काठमाडौं

कार्तिक २५, २०७४-विनोद दासको कप्तानीमा नेपालले सन् २००२ को आईसीसी यू–१९ विश्वकपमा प्रतिस्पर्धा गरिरहेको थियो । दोस्रोपल्ट युवा विश्वकपमा खेलिरहेको नेपालले न्युजिल्यान्डमा टेस्ट खेल्ने पाकिस्तान र बंगलादेशलाई पराजित गरी स्तब्ध नतिजा निकाल्यो । यसले विश्व क्रिकेटको ध्यान नेपालतर्फ तानिएको थियो । 

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले त्यसको केही समयपछि नै नेपालमा ग्लोबल क्रिकेट एकेडेमी बनाउने प्रस्ताव गर्नु न्युजिल्यान्डमा यू–१९ विश्वकपमा युवा टोलीले देखाएको प्रदर्शन एउटा कारण थियो । नेपाल प्लेट फाइनलसम्म पुग्यो । नेपाली खेलाडीले पनि आफूमा भएको प्रतिभा देखाए । 

आईसीसीको प्रस्तावमा नेपालले मैदान खोज्न गृहकार्य सुरु गर्‍यो । कहिले पोखरा त कहिले मुलपानी । यो सूचीमा पर्‍यो । यसले नेपाली क्रिकेटको सर्वोच्च निकाय क्यानभित्र कलह नै ल्यायो । कोही पोखरामा हुनुपर्छ भन्ने कोही काठमाडौंमै । धेरै पानी पर्ने हुनाले पोखरामा हँुदैन भन्ने एकथरि थियो । अर्काथरि फोहोर फाल्ने गोकर्णको ल्यान्डफिल्ड साइट भएकाले मुलपानीमा वातावरणीय असर पर्छ भन्ने थिए । 

ग्लोबल एकेडेमीमा नेपाली क्रिकेटका अन्य राजनीतिक पक्षको प्रभाव पनि थियो । त्यसपछि सेन्ट्रल, रिजनल एकेडेमीका रूपमा प्रस्ताव आयो । त्यसमा पनि क्यानभित्र सहमति जुट्न सकेन । जतिखेर नेपालललाई विभिन्न एकेडेमीको प्रस्ताव आएको थियो, त्यस समयमा माओवादी द्वन्द्व थियो । अन्तर्राष्ट्रिय क्रिकेटले सुरक्षाको हिसाबले नेपाल उचित देखेन । अन्तत: नेपालबाट यो फर्किएर गयो । नेपाललाई दिने भनिएको ग्लोबल एकेडेमी आईसीसीले दुबईमा बनाएको छ । 

०००

मुलपानीले त्यसयता मैदानका रूपमा स्थान पाउन पनि संघर्ष गर्दै आएको छ । ३ सय ६५ रोपनी पर्ति जग्गा स्थानीयले क्रिकेटका लागि भनेर २०६१ सालमा सरकारमार्फत राष्ट्रिय खेलकुद परिषद्लाई भोगाधिकार गर्न दिएको थियो । त्यो अतिक्रमणमा पर्दा अहिले झन्डै २ सय ९६ रोपनीमा झरेको छ । माथिल्लो र तल्लो गरी त्यसमा दुई मैदान खेल्नका लागि बनाइँदै गरेको हो । 

आईसीसीबाट क्यान निलम्बनमा पर्नु अघि सरकारले यसको निर्माणका लागि बजेटबाटै सम्बोधन गर्ने गरेको थियो । एसियाली क्रिकेट परिषद्ले पनि आर्थिक सहयोग गर्दै आएको थियो । ५ महिनाअघि दलजीत श्रीपाइली युवा तथा खेलकुदमन्त्री हुँदा आफूहरूले मैदानलाई खेल्न योग्य बनाउन सहयोग मागिएको क्यानका चिफ अफरेटिङ अफिसर छुम्बी लामा बताउँछन् । युवा तथा खेलकुद मन्त्रालय र परिषद्ले काठमाडौं जिल्ला खेलकुद विकास समितिमार्फत नेपाली राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ललाई मुलपानी क्रिकेट मैदान समितिको संयोजक बनाएर १५ लाखभन्दा बढी रकम निकास गरी माथिल्लो मैदान खेल्न योग्य बनाइएको हो । 

दास युवा टोलीबाट राष्ट्रिय टोलीका कप्तान भएर संन्यास लिई यू–१९ को प्रशिक्षक बनिसकेको अवस्थामा मुलपानी क्रिकेट मैदान बल्ल खेल्न योग्य बनेको छ । शनिबार प्रदर्शन खेल्दै बहुप्रतीक्षित यस मैदानको शुभारम्भ गरिँदै छ । 

स्थानीय तथा पत्रकार नरेश फुयाल लामो समयदेखि सपना पूरा हुन लागेको बताउँछन् । पोखरामा ग्लोबल एकेडेमी नबन्ने भएपछि आफूले नै यहाँबाट पनि हिमाल देखिन्छ भनेर क्यान पदाधिकारीलाई बोलाएर मुलपानी देखाएको उनी सम्झन्छन् । ‘पोखरामा ग्लोबल एकेडेमी नबन्ने भएपछि माछापुच्छ्रे नभए पनि दोर्जे लाक्पा हिमाल त देखिन्छ नी भनेर मैले क्यानका पदाधिकारीलाई मुलपानीको जग्गा देखाएको थिएँ,’ उनले भने । उनका अनुसार त्यसपछि काठमाडौं महानगरपालिकाका मेयर केशव स्थापित मुलपानीमा क्रिकेट रंगशाला बनाउनुपर्‍यो भनेर आफैं प्रस्ताव लिएर गएँ । 

स्थानीयको केही माग अहिले पनि रहेको फुयाल बताउँछन् । ‘हामीले मुलपानी क्रिकेट मैदान नै नाम हुनुपर्छ भनेर जग्गा दिएका थियौं । स्थानीयले आहान गरेर यो पर्ति जग्गा दिएका हौं,’ फुयालले भने, ‘मैदान छिर्ने अहिलेको बीचको बाटो भत्काएर बाहिरी भागबाट बनाएमा दुवै मैदानलाई डिस्टर्व हुँदैन । आम्दानीको केही हिस्सा स्थानीय वडाले पाउनुपर्छ । रोजगारीको अवसरमा स्थानीय तह प्राथमिकतामा पर्नुपर्छ । स्थानीयले पनि खेल्ने वातावरण बनाइनुपर्छ ।’

०००

खेल्न योग्य बनाइएको माथिल्लो मैदानमा ४ विकेट छ । मैदानको आकार केही सानो छ । विकेटको सिधा भाग दुवैतर्फ ६० यार्डको छ । अफ र अन साइड ८० यार्डको छ । असारमा यसलाई मैदानको स्वरुप दिन पुन: पिच निर्माणको काम सुरु भएको थियो । एक महिनादेखि पिचको सम्भार गर्न सुरु गरिएको क्युरेटर मधु तामाङ बताउँछन् । 

‘नयाँ विकेट हो, एकपल्ट नखेलेसम्म केही थाहा हँुदैन, विकेट राम्रै हुन्छ भन्ने आस छ,’ तामाङले भने, ‘आउट फिल्ड खेल्नलायक छ तर राम्रो नै चाहिँ होइन । मैदानमा पानी खासै हाल्न पाएका छैनौं, रोल पनि राम्रोसँग गरेको छैन । त्यही भएर केही खाल्डाखुल्डी छन् । मर्मत सम्हार गर्ने हो भने यो अन्तर्राष्ट्रिय स्तरको हुन्छ ।’ उनका अनुसार १ टनको रोलमात्र मुलपानी मैदानमा छ । जबकि यसका लागि २ टनभन्दा माथिको रोल चाहिन्छ । 

बिहीबार नेपाली राष्ट्रिय टोलीले मुलपानीमा माथिल्लो मैदानमा आएर फिल्डिङ गरेको थियो । मैदान निकै सुख्खा देखिएको छ, बलौटे माटो रहेका कारण घाँस त्यति देखिन्न । तटबन्धन नहुँदा वर्षाको समयमा मैदान जोखिममा पर्न सक्छ । तटबन्धन नहँुदा दुई वर्षअघि वर्षामा मैदान घेरिएको पर्खाल नै ढल्न पुगेको थियो । त्यसपछि फलामको रेलिङको बार अझ भित्र ल्याएर लगाई मैदानको आकार घटाइएको थियो । 

‘खेल्नलाई मैदान ठिक भएको छ, तर पूर्वाधार केही छैन । बाउन्ड्री पर्खाल, तटबन्धन केही छैन । 

दर्शक बस्ने स्थान छैन, संघ नहुँदा व्यवस्थापनको हिसाबमा धेरै कमजोरी छन्,’ मुलपानी मैदानलाई परिषदबाट समन्वयकर्ताको रूपमा खटाइएका राधाकृष्ण विष्टले भने, ‘राष्ट्रिय खेलाडीहरू खेलेर मैदानको सुरुआत हुँदैछ भनेर सन्देश जानु निकै सकारात्मक पक्ष हो ।’

मुलपानीमा ग्लोबल एकेडेमी बन्ने घोषणा हुँदा उपमा फुयाल स्कुल जान्थिन् । ‘म २–३ कक्षामा 

पढ्दादेखि नै यहाँ क्रिकेट मैदान बन्छ भनेको थियो । त्यसपछि बन्छ बन्दैन भन्ने चर्चा चलिरह्यो,’ स्थानीय उपमा भन्छिन्, ‘अहिले मैले ब्याचलर्स पढाइ सकें । मैदान भए पनि बनेको छ । भोलिको दिनमा यो अन्तर्राष्ट्रिय मैदान भएको हेर्न चाहन्छु ।’

 

प्रकाशित: कार्तिक २५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार