प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन

थकाली टक्कर

- विनोद त्रिपाठी, मुस्ताङ
मुस्ताङका उम्मेदवार रोमी गौचन र प्रेमप्रसाद तुलाचन एउटै गाउँका हुन् । दललाई भन्दा नातालाई प्राथमिकता दिने थाकखोलाका मतदातालाई कसलाई रोज्ने भन्ने पिरलो छ

कार्तिक २५, २०७४-थाकखोला अर्थात् थकालीको पुख्र्यौली थलो । कवि भूपी शेरचनको गाउँ । मुस्ताङको यो तल्लो भूभागमा कोवाङ, लेते र घाँसा पर्छ । 

यसपटक मुस्ताङबाट प्रतिनिधिसभाका लागि प्रतिस्पर्धी उम्मेदवार कांग्रेसका रोमी गौचन थकाली र वाम गठबन्धनका प्रेमप्रसाद तुलाचन दुवै थाकखोलाकै हुन् । दलभन्दा नातालाई बढी मान्यता दिइने थाकखोलाका मतदाता थकाली र तुलाचनको भिडन्तले अप्ठ्यारोमा परेका छन् । दुवै उम्मेदवार एउटै गाउँ थाक्खोले परिवारका सदस्य छन् । दुवै जनाको घर थासाङ गाउँपालिका ३ लेते बजारमै पर्छ । दुवैका परिवारले सञ्चालन गरेका आआफ्ना होटल छन् । सानो बजारमा यी दुई चर्चित अनुहार दैनिक मतदातासँग भोट मागिरहेका छन् । मतदाता पनि दुवैलाई ‘हुन्छ, दिन्छौं’ भन्छन् । मतदातासँग भोट माग्ने दुवैका एजेन्डा उस्तै छन् । मतदाताले उठाएका मागबाहेक दुवैले आफू सांसदमा विजयी भएपछि कोरला नाका खुलाउने विषय भन्न छुटाउँदैनन् । 

गौचन ०३६ सालमा इन्जिनियरिङ पढ्न काठमाडांै गएका थिए । त्यही वर्ष जनमत संग्रहको आन्दोलनमा जेल परे । आन्दोलनकै क्रममा ०३९ मा पुन: पक्राउ परे । ०४२ पछि कांग्रेसले सञ्चालन गरेको सत्याग्रह आन्दोलनमा फेरि जेल चलान भए । 

विद्यार्थी कालदेखि नेविसंघमा लागेका गौचनले ०४७ मा आफ्नै गाउँ लेते फर्केर स्याउ खेती सुरु गरे । मौसमले साथ नदिएर स्याउ फल्न छाड्यो । उनको अहिले पनि म्याग्दी र लेतेमा सुन्तलाको ठूलो फार्म छ । होटल र फार्मको जिम्मेवारी लिएकी छिन् श्रीमती लक्ष्मी गौचन थकालीले । ०५१ सालमा कांग्रेस विदेश विभागको सदस्यमा निर्वाचित भएपछि गौचन कांग्रेसका पूर्णकालीन कार्यकर्ता भए । ०५६ को आमनिर्वाचनमा मुस्ताङबाट विजयी भए । ०५७ मा गिरिजाप्रसाद कोइरालाको प्रधानमन्त्रीकालमा उनी परराष्ट्र सहायकमन्त्री बने । त्यसपछि उनले लामो समयसम्म पार्टीको विदेश विभागमा रहेर काम गरे । ०७० सालको संविधानसभा निर्वाचनमा समेत विजयी भएका उनी पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा वाणिज्यमन्त्री भएका थिए । अहिले उनी मतदातासँग दुईपटक मन्त्री हँुदाको कार्यकालमा पूरा हुन नसकेका काम गर्ने वाचा गर्दै भोट मागिरहेका छन् । ५७ वर्षीय गौचन लगातार चारपटक चुनाव लडिसकेका छन् । ‘कोरला नाका खुलाउने र उपल्लो मुस्ताङ सडक पुर्‍याउने मेरै योजना हो,’ उनले भने, ‘यो योजना अबको कार्यकालमा जसरी पनि पूरा गर्नेछु ।’ सडक फराकिलो बनाएर कोरला पुर्‍याउने र सरकारसँग नाका खुलाउन जोडदार पहल हुने उनले सुनाए । ‘दामोदर कुण्ड जाने सडक, प्रत्येक वडामा सडक सञ्जाल, कोरलाबाट मानसरोवर जाने तीर्थयात्रीका लागि सहज यात्राको व्यवस्था गर्ने मैले योजना बनाएको छु,’ उनले भने, ‘कोरलाबाट ८ घण्टाको दूरीमा रहेको मानसरोवर जान मुस्ताङबाट पहल गर्नेबित्तिकै यो जिल्ला विश्वकै पर्यटन केन्द्र बन्नेछ ।’ 

पार्टीको विदेश विभागमा बसेर र मन्त्री भएका बखत चिनियाँ अधिकारीहरूसँग आफूले राखेका योजनालाई सकारात्मक रूपमा लिएको उनले दाबी गरे । गौचनका योजनामा ग्रामीण विद्युतीकरण, गोबरग्यासबाट घरघरमा बिजुली र ठिनी, स्याङ गाउँमा स्याउ भण्डारण केन्द्र स्थापना आदि पनि छन् । शुक्रबार नै उनले मुक्तिनाथ मन्दिर वरपरका बासिन्दालाई सम्बोधन गर्दै जिल्लालाई वर्षभरि नै पर्यटक आउने विकास र भौतिक संरचना चाहिएको बताए । 

वाम गठबन्धनले गौचनको प्रतिस्पर्धी बनाएका एमालेका तुलाचन ०४७ सालमा कांग्रेसको साधारण सदस्य लिएर राजनीतिमा प्रवेश गरेका हुन् । १० वर्षसम्म कांग्रेसको जिल्ला कार्यसमितिमा रहेका उनी ०५४ मा जिविस सदस्यमा निर्वाचित भए । थाक खेलकुद तथा सांस्कृतिक विकास संघ खोलेर ५५ वर्षीय तुलाचन यहाँका खेलाडीलाई राष्ट्रियस्तरमा पुर्‍याउन सफल मानिन्छन् । ०५६ सालमा सरकारले कोरला नाकासम्म सडक लैजाने चर्चा चलाएपछि कोरला–लोमान्थाङ सडक निर्माण संयोजक बनेर उनले काम गरे । ठेक्कापट्टा, ट्राभल एजेन्सी, होटल व्यवसायमा सक्रिय उनलाई ०७० सालको संविधानसभा चुनावमा पार्टीले टिकट दिएन । उनी ‘बागी’ बनेर उठे । उनी तीन महिनाअघि मात्रै एमालेमा प्रवेश गरेका हुन् । गएको चुनावमा आफूलाई १२ मतको अन्तरले पराजित गरेका गौचनसँग उनी फरक पार्टीबाट प्रतिस्पर्धी उम्मेदवार भएका छन् । एमाले अध्यक्ष केपी ओली गत साउन २९ मा जोमसोम आउँदा उनी एमाले प्रवेश गरेका हुन् । दुई वाम दलको गठबन्धन भएकाले अहिले उनलाई माओवादी केन्द्रको पनि साथ छ । ‘मुलुक र मुस्ताङवासीको विकासका लागि राजनीतिभन्दा काम ठूलो ठानेर वाम गठबन्धनबाट चुनाव लडेको हुँ,’ उनले भने, ‘मैले काम गर्ने संकल्प गरेको छु, त्यसैले कांग्रेस त्यागेर एमालेमा आएको हुँ ।’

तुलाचनका पनि गौचनका जस्तै साझा योजना छन् । कोरलासम्म सडक पुर्‍याउने, नाका खुलाउन पहल गर्ने, पर्यटन आगमनमा वृद्धि गर्ने, पदमार्ग निर्माण गर्ने र मानसरोवर जान सरकारसँग अनुमतिका लागि माग राख्नेलगायत योजना सुनाएर उनले चुनाव प्रचार गरिरहेका छन् । ‘मैले मुख्य गरी चिनियाँ व्यापारीका लागि लोमान्थाङ बजार केन्द्रविन्दु बन्ने र यहींबाट नेपालका प्रमुख सहरमा चिनियाँ सामान पठाउन सकिने योजना ल्याएको छु,’ उनले भने, ‘कोरलाबाट चिनियाँ ब्यापार सुरु हुनेबित्तिकै पश्चिमाञ्चलको विकास तीव्र गतिमा हुनेछ ।’ 

 

प्रकाशित: कार्तिक २५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार