कोपिला

सानैदेखि सैनिक बन्ने रहर

- चन्द्रशेखर अधिकारी
संस्कार, अनुशासन, मायाममता र राष्ट्रप्रेम घरपरिवारबाटै सिकाइनुपर्छ । कुनै पनि व्यक्तिका लागि त्यो सबैभन्दा ठूलो सफलताको सूत्र हो । ‘गर्न हुने’ र ‘गर्न नहुने’ कामबारे बालबालिकाले सानैदेखि सिक्नुपर्छ । संस्कार भनेको त्यही हो ।

कार्तिक १९, २०७४-तनहुँको चिसापानी–दुधेकुनामा जन्मेको हुँ । सैन्य परिवारको माइलो सन्तान हुँ । मेरा दाजुभाइ भने काठमाडौंमा जन्मे । मेरो जन्मचाहिँ आफ्नै मूलथलोमा भयो । पुख्र्यौली थलोमा जन्म हुन पाउनु मेरा लागि गौरवको विषय हो । म गर्भमा रहँदा मेरी आमा केही समयका लागि गाउँ जानुभएको बेला मेरो जन्म भएको हो । जन्म त्यहाँ भए पनि हामी काठमाडौंमा हुर्कियांै । तनहँु, काठमाडौं र चितवनमा गरेर मेरो बाल्यकाल बित्यो । बाल्यकालको अधिकांश समय ठमेलको भगवान् बाहलमा बित्यो । पछि हामी सामाखुसी सर्‍यांै । 

मेरो विद्यालयस्तरको पढाइ शान्ति विद्यागृह, लैनचौरमा भएको हो । म मध्यमस्तरको विद्यार्थी थिएँ । उच्च स्तरको विद्यार्थी भएको भए म चिकित्सक वा इन्जिनियर हुन्थें होला । बुबाको इच्छा मलाई चिकित्सक वा इन्जिनियर बनाउने थियो । हाम्रो परिवारिक पृष्ठभूमिका कारणले मलाई सानैदेखि सेनामा निकै आकर्षण थियो । सैनिक हुने रहर सानैदेखि थियो । एसएलसीपछि मैले ओभरसियरका लागि पुल्चोक इन्जिनियरिङमा आवेदन दिएको थिएँ । म मध्यम स्तरको भएकाले पहिलो सूचीमा नाम निस्केन । पछि निस्कँदा सरस्वती बहुमुखी कलेजमा आईकम (व्यवस्थापन) पढ्न थालिसकेको थिएँ । त्यतिबेला सेमस्टर प्रणाली थियो । ६/६ महिनामा परीक्षा हुन्थ्यो ।

त्यतिखेरको परिवेश अहिलेभन्दा निकै फरक थियो । अहिलेको अवस्थासँग तुलना गर्नै सकिँदैन । कतिपय गाउँमा अझैसम्म पनि पुरानो परिवेश फेरिएको छैन । पहिले हामी खोलामा पौडिन्थ्यौं भने अचेल स्विमिङ पुलमा । पहिले हामी स्थानीय खेल (लुकामारी, डन्डीबियो, कपड्डी, खेत आँगनमा) खेल्थ्यौं भने अचेल मोबाइल र टयावलेट अनि फन पार्क वा रिसोर्टमा । हाम्रो समयमा रेडियो सुन्नु नै ठूलो हुन्थ्यो । अचेल टीभी, मोबाइल र इन्टरनेटको सुविधा छ । यसले हामीभन्दा हालका बालबालिका धेरै अब्बल र सबल बन्न सक्छन् । त्यसका लागि संस्कार, अनुशासन, मायाममता र राष्ट्रप्रेम घरपरिवारबाटै सिकाइनुपर्छ । कुनै पनि व्यक्तिका लागि त्यो सबैभन्दा ठूलो सफलताको सूत्र हो । ‘गर्न हुने’ र ‘गर्न नहुने’ कामबारे बालबालिकाले सानैदेखि सिक्नुपर्छ । संस्कार भनेको त्यही हो ।

म मध्यमस्तरको विद्यार्थी भए पनि नियमित पास हुने केहीमध्ये (याद भएसम्म ६ जना) मा परें । त्यसपछि म सेनामा गएँ । त्यतिबेला म १७ वर्ष १० महिनाको थिएँ । त्यो समयमा पासआउट हँुदा १८ वर्ष ११ महिना हुने हँुदा मलाई भर्तीमा लिएका थिए । 

२०३५ कात्तिक ७ मा तत्कालीन शाही नेपाली सैनिक शिक्षालय, खरिपाटीबाट अधिकृत क्याडेट तालिममा राम्रो नतिजासहित राजदल गणमा सहायक सेनानी दर्जामा नियुक्त भएँ । मेरा बालसखाहरू नरेश, उत्तम, जनकहरू जेहनदार थिए । उनीहरू साइन्स लिएर पढ्दै थिए । कतिपय व्यापारी त कतिपय ठूला डाक्टर छन् । कोही सरकारी सेवामा सचिव भएर सेवानिवृत्त भइसकेका छन् । सेनामा आएपछि मेरो पढाइ खासै जम्न पाएन । तर पनि मैले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र र इतिहासमा स्नातक अनि पछि इतिहासमा स्नातकोत्तर गरेँ । अमेरिकाको आर्मी वार कलेजबाट स्ट्राटेजिक स्टडिजमा स्नातकोत्तर र अन्य सेनाका कोर्सहरू भारत, अमेरिका, चीन, बेलायत, पाकिस्तानलगायत मुलुकमा गरेँ ।

हामी चार भाइ छौं । जेठो दाइ (रमिन्द्र) पनि सेनामा हुनुहुन्छ । उहाँ पढाइमा अब्बल, म मध्यम, साइला र कान्छा पनि राम्रै थिए । हाम्रो उमेरको फरक एक–डेढ वर्षको मात्रै थियो । हामी साथीझैं हुर्कियांै । एकको कपडा अर्कोलाई मिल्ने थियो । अहिलेको जस्तो फेन्सी (विभिन्न डिजाइनका) कपडा कहाँ पाइन्थ्यो र ? त्यो बेलामा दर्जीले सिलाउने कपडा, पुस्तकको जोहो पनि सहज थिएन । दाइको पुस्तक मैले र मेरो भाइले गर्दै पढ्थ्यौ । बुबा (महासेनानीमा सेवानिवृत्त स्वर्गीय गोपालबहादुर खत्री क्षत्री) पनि सेनामा हुनाले ठूलै समस्या भने थिएन । भरतपुरको हाकिम चौकदेखि एरपोर्टसम्मको भाग हाम्रो थियो । त्यहाँ खेती राम्रो हुन्थ्यो । तर काठमाडौंका हुनेखानेकाझंै हामी निकै ठूलो सोखमा पनि थिएनौं । 

मेरो कान्छो भाइ व्यवसायमा रम्यो भने अरू तीन जना सेनामा । साइला (रतिन्द्र) रिटार्यड भइसकेको छ । माओवादी द्वन्द्वको समयमा दाइले मुलुकका लागि काम गर्दा दुई खुट्टाको क्षमता गुमेपछि अझै ह्वील चियरमा रहेर सेवा गरिरहनुभएको छ । उहाँको आत्मबल सबैका लागि प्रेरणादायी छ । 

सानोमा सामान्य झगडा हुनु स्वाभाविक नै हो । त्यतिबेला म मिलाउने काम गर्थें । दाइ–भाइको म मध्यस्तकर्ता जस्तो भूमिकामा रहन्थें । हामी सानोमा मिनपचास (जाडो बिदा) मनाउन सधैं चितवन जान्थ्यांै । त्यहाँ खेती थियो । तोरीको गट्टेमा होस् या दाइँ हालेको परालमा लुकामारी खेल्ने, उफ्रने हाम्रो दैनिकी हुन्थ्यो । हामी सानोमा गुच्चा, डण्डीबियो, गुलेली, तारो, भलिबल, कपर्दी र विष्णुमतीमा पौडी खेल्दै हुर्केका हौं । तर, सेनाको घर हुनाले निकै कडाइ थियो । अनुशासन र संस्कारमा कमी थिएन । म सानैदेखि संगीतमा निकै रम्ने व्यक्ति हुँ । कविता, कथा, पढ्न, संगीत सुन्न, नयाँ स्थानमा जान मन पथ्र्यो । अचेल फुर्सद भएसम्म कमेडी कार्यक्रम, सिनेमा, सांगीतिक कार्यक्रम छुटाउदिनँ । मेरो पहाडको घरभन्दा माथि गन्धर्व टोल थियो । उनीहरू काठमाडौं आउँदा हाम्रैमा बस्ने–गाउने गर्थे । त्यसैले पनि त्यसमा मेरो लगाव बढ्यो होला । सायद यही हिँड्ने र रुचि फरक–फरक राख्ने हुनाले होला प्रतिविद्रोह तथा जंगल युद्धकला, जुनियर स्टाफ, गुल्मपति र गणपति तालिमहरूमा उत्कृष्ट नतिजा हासिल गरेँ । म प्याराट्रुपर पनि हुँ । मैले संयुक्त राष्ट्रसंघ शान्ति स्थापना कार्यमा लामो अनुभव बटुल्न पाएँ ।

राष्ट्रप्रेम र संस्कार सिक्न र सिकाउन हामी कहिल्यै चुक्नु हँुदैन । हामी दुई ठूला छिमेकको बीचमा रहेर कहिल्यै नझुकेको मुलुकका नागरिक हौं । हाम्रो अन्तर्राष्ट्रिय जगत्मा ठूलो इज्जत छ । हाम्रो मुलुकलाई विश्वले नियालिरहेको छ । राष्ट्रको गौरव बढाउने कार्य गर्नु हामी सबैको कर्तव्य हो । 

प्रकाशित: कार्तिक १९, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार