कोपिला

पढाइ कि सिकाइ ?

  • निबन्ध

कार्तिक १९, २०७४-‘बाबु ∕ स्कुल जाने होइन ? छिटो तयारी गर ।’ ‘नानी, किताबकापी लिएर आऊ त । यहाँ बसेर पढ, होमवर्क गर ।’ हो, प्राय: अभिभावकको मुखबाट यस्तै शब्द सुन्न पाइन्छ । उनीहरू आफ्ना सन्तानलाई जतिसक्दो चाँडो स्कुलमा एड्मिसन गर्न चाहन्छन् । आफ्नै नजिक बसेर सधैं गृहकार्य गरिरहोस्, पुस्तक पढिरहोस् भन्ने चाहन्छन् । कतिपयले त आफ्ना बच्चालाई विद्यालयको पढाइ राम्रो होओस् भनेर टयुसन क्लास, कोचिङ तथा एक्स्ट्रा क्लास गर्न पठाइदिन्छन् । तर बालबालिकाहरू चाहन्छन्– धेरै खेल, थोरै पढाइ । यो त स्वाभाविक नै हो ।

बाबुआमाले आफ्ना सन्तानको जीवन समृद्ध र सुखमय बनोस् भनी शिक्षित बनाउन उसलाई स्कुलमा भर्ना गरिदिन्छन् । ती बालबालिकाहरूलाई सधैं चार पर्खाल र छतको बीचमा दिनभर थुनिएर बस्दा, पढिरहँदा दिक्क लाग्न थाल्छ । त्यसैमा पनि पढाइ केही कमजोर भएमा, परीक्षामा कम अंक ल्याएमा अभिभावकको गाली, थप्पड, डन्डा, धम्की ....अनेकौं छन् साधन र विधिहरू । साथै, शिक्षकको पनि उही तरिका । बिचरा बालक ∕ के गरोस् त उसले । 

विद्यालयको दिनभरको पढाइको तनावले गर्दा ऊ घर आउनेबित्तिकै झोला फयाँक्छ र खेल्न जान्छ या आराम गर्न खोज्छ । तर बाबुआमाले एउटै कुरा मात्र रटिरहन्छन् : पढाइ, पढाइ अनि पढाइ । अभिभावकको यो रटाइ स्वाभाविक नै हो । किनकि धनभन्दा विद्या ठूलो, तरबारभन्दा कलम बलियो, सन्तानलाई सम्पत्ति होइन, शिक्षा.... अनेकौं छन् कारणहरू । आफ्नो सन्तान हर्दम परीक्षामा प्रथम भएको देख्न चाहन्छन् । बालबालिका विद्यालयबाट छुट्टी भएर आएपछि प्राय: ‘आज केके पढयौ ?’ भनेर सोधिन्छ तर ‘के सिक्यौ’ भनेर विरलै सोध्ने गरिन्छ । 

विद्यालयमा बालबालिकालाई होमवर्क गर्न लगाइन्छ, जतिसक्दो धेरै, उसलाई पढाइमा व्यस्त राख्नका लागि । तर यसले बालकालिकामा डिप्रेसनको समस्या बढ्दै जान्छ । उनीहरूमा तनाव र थकान बढ्छ । अनुहारको चमक मलिनतामा परिणत हुन्छ । बालबालिकाको रुचि प्राय: खेलतर्फ नै हुन्छ । धेरै गृहकार्य हुँदा उनीहरूले खेल्ने, मनोरञ्जन गर्न समय नै नपाउने वा एकदमै कम पाउने हुन सक्छ । होमवर्क नगरे शिक्षक र बाबुआमाको औषधि तयार नै हुन्छ, मात्र खुवाउन बाँकी रहन्छ । यस्तै तनावले गर्दा उसको मानसिक, शारीरिक क्षमता कमजोर हुँदै जान्छ । सिर्जनात्मक एवं रचनात्मक क्षमता विकास हुन सक्दैन । उसमा नकारात्मक संवेग (रिस, डाहा, ईष्र्या) उत्पन्न हुन थाल्छ । 

‘शिक्षा’ यो एउटा यस्तो शब्द हो, जसलाई हामी प्राय: संकुचित रूपमा सोच्छौं । शिक्षालाई विद्यालयमा हुने पढाइका रूपमा मात्र बुझ्छौं । तर व्यापक रूपमा अर्थ लगाउँदा ‘शिक्षा भनेको व्यक्तिमा अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गरी व्यक्तित्व विकास गर्नु हो ।’ यसअन्तर्गत विद्यालयमा हुने पढाइका साथमा विभिन्न अतिरिक्त क्रियाकलापहरू पनि पर्छन्, जसले बालबालिकाको सर्वाङ्गीण विकासमा मद्दत पुर्‍याउँछ । शिक्षा पुस्तक पढेर मात्र होइन, अनुभवबाट पनि पाइन्छ । शिक्षा सिकाइ हो । शिक्षा अनुभव हो । बालबालिकालाई विद्यालय तथा पुस्तकको ज्ञान र पढाइ पनि जरुरी हुन्छ । तर यसो भन्दैमा बालबालिकालाई किताबी किरो मात्र बनाउनु हुँदैन । सिकाइ व्यापक हुन्छ, यसको कुनै सीमा हुँदैन । सिकाइ जीवनभर चलिरहन्छ । 

विद्यार्थीलाई किताब घोक्न लगाउने होइन, बुझेर स्मरण गर्न सक्ने क्षमता विकास गराउनुपर्छ । परीक्षामा सधैं पहिलो हुनु जरुरी छैन । जरुरी छ त मात्र सिकाइ । अहिलेको प्रविधियुक्त युगमा सबै व्यक्तिको सूचना तथा सञ्चार प्रविधिसँग पहुँच हुनुपर्छ । विद्यार्थीले वैज्ञानिक आविष्कार र उपकरणहरूको अधिकतम प्रयोग गर्न पाउनुपर्छ । विद्यालयमा पढाइका साथै खेलकुदलाई पनि उत्तिकै महत्त्व दिइनुपर्छ । घर परिवारबाटै बालबालिकाको सम्मान गरिनुपर्छ । अभिभावकले बालबालिकाको रुचि, इच्छा तथा आवश्यकता बुझिदिनुपर्छ । उनीहरूका विचार तथा सुझाव सुनिदिनुपर्छ । 

अभिभावकले समय र परिस्थितिअनुसार आफ्ना सन्तानको गुरु, अभिभावक, पथप्रदर्शक, साथी, प्रतिस्पर्धीको भूमिका निर्वाह गर्न सक्नुपर्छ । बालबालिकालाई विभिन्न मानसिक तथा शारीरिक खेलहरूमा सहभागी गराउनुपर्छ । समय–समयमा बालबालिकालाई विभिन्न ठाउँमा घुमाउन लैजानुपर्छ । यसबाट उनीहरूले मनोरञ्जन र ताजगी महसुस गर्छन् । उनीहरूले विभिन्न ज्ञान, जानकारी प्राप्त गर्छन् । उनीहरूले अनुभव बटुल्ने मौका पाउँछन् । भ्रमणबाट उनीहरूले पुस्तकको सीमित दायराभित्र मात्र नरही व्यापक रूपमा सिक्ने अवसर पाउँछन् । यसबाट उनीहरूको ज्ञान एवं सिकाइ स्थायी प्रकृतिको र दिगो हुन्छ । साथै उनीहरूले विभिन्न सीप सिक्ने अवसर पाउँछन् । वैज्ञानिक आविष्कार तथा प्रविधिको प्रयोग गरेर पनि धेरै कुरा सिक्न सक्छन् । 

बालबालिकालाई सधैं हात समाएर हिँडाउने मात्र नभई कहिलेकाहीँ एक्लै दौडन पनि दिनुपर्छ । अर्थात् बालबालिकालाई सधैं आफ्नै निर्देशनअनुसार काम नगराई कहिलेकाहीँ आफैंले सिर्जना गरेर, रचना गरेर काम गर्न दिनुपर्छ । बालबालिकाले सही काम गरिरहेको भए कहिल्यै रोक्नु हुँदैन । अन्तत: बालबालिकाको किताबी पढाइका साथमा अन्य ज्ञान, सीपको सिकाइमा पनि उत्तिकै ध्यान र धन खर्चिनुपर्ने हुन्छ अभिभावक र शिक्षकले ।

-सुल्तान सिद्दिकी, कक्षा : १०

जनजागृति माध्यमिक विद्यालय, बाग्लुङ

 

प्रकाशित: कार्तिक १९, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार