कोपिला

र्‍याग गर्‍यौ कि ?

- कान्तिपुर संवाददाता , काठमाडौं

कार्तिक १९, २०७४-के तिमी कसैलाई जिस्काउने वा गिज्याउने गर्छौ ? गर्छौ भने यो बानी सुधारिहाल । यस्तो गर्दा गिज्याउनेलाई एकैछिन मनोरञ्जन त हुन्छ, तर जसलाई जिस्क्याइएको हो ऊ अत्यन्तै दु:खी र हिनताबोधको सिकार हुन पुग्छ । व्यक्तिगत रमाइलोका लागि गरिने यो कार्यले पीडितमा नराकात्मक प्रभाव पार्ने गर्छ । ठटयौलो पारामा ठूलाबाट सानाका लागि गरिने यी कार्य शैक्षिक संस्थाहरूमा नराम्रो तरिकाले फस्टाउँदै गएको छ । विद्यालयहरूमा सिनियरले जुनियरलाई गिज्याउने वा मजाक गर्ने घटनाले दु:खद मोड लिएकोबारे समयसमयमा हामीले सुन्ने गरेकै छौं । 

तिमीहरूमध्ये कतिलाई स्कुलमा ठूला कक्षाका दाइ–दिदी या आफ्नै साथीले गिज्याएका छन् होला । अरूले सुन्ने र देख्ने गरी जिस्काएको कसलाई पो मनपर्छ र ? कलेज 

वा विश्वविद्यालयमा सिनियर विद्यार्थीबाट जुनियरलाई गरिने यस्तो कार्यलाई ‘र्‍यागिङ’ भनिन्छ । यसको सुरुवात बेरुत र एथेन्सबाट भएको मानिन्छ । सेना र अंग्रेजी पब्लिक स्कुलमा यसलाई परम्पराको एउटा हिस्साकै रूपमा मानिएको थियो । आफूभन्दा 

जुनियरलाई अनुशासनमा राख्न या आफूले भनेको मनाउनकै लागि यस्तो गरिन्थ्यो । युरोपेली मुलुकमा भने १५ औं शताब्दीमा यो सुरु भएको मानिन्छ । पछि अमेरिका हुँदै अन्य मुलुकमा समेत यो फैलियो । विकसित मुलुकमा ‘र्‍यागिङ’ गर्ने चलन केही हदसम्म कम हँुदै गएको छ । तर दक्षिण एसियाली मुलुकमा भने यो तीव्र रूपमा बढ्दो छ । सिनियर्सद्वारा जुनियर्समाथि गरिने कुनै पनि व्यवहारले बालबालिकामाथि नराम्रो छाप र प्रभाव पर्छ । नेपाल, बंगलादेश, श्रीलंका, भारतजस्ता विकासशील मुलुकमा यो कार्यलाई बालबालिकाको उत्पीडनसँग जोडेर हेर्न थालिएको छ ।

प्राय: गिज्याउने काम ठूलाले सानालाई गर्छन् । यसो गर्नु एक प्रकारको बद्मासी नै हो । यसले सिनियर्स र जुनियर्सबीचको मैत्रीपूर्ण सम्बन्ध बिगार्छ । यसले कलिलो मस्तिष्कमा अपमान र उत्पीडन महसुस गराउँछ । अति भयो भने व्यक्तित्व विकासमै नकारात्मक प्रभाव पार्छ । कुनै पनि व्यक्तिलाई मानसिक र शारीरिक रूपमा कष्ट पुर्‍याउने, चिढाउने, गिज्याउने वा उत्पीडनको सिकार बनाउने कदम तत्काल रोकिएन भने यो झन् बढ्दै जान्छ । यसको सबैभन्दा बढी प्रभाव मनौवैज्ञानिक नै हो । कुनै कुनै घटनामा त बालबालिकाले आत्महत्या गर्ने अवस्थासमेत आउन सक्छ । सानालाई जिस्क्याउँदा उनीहरूको मानसिक सन्तुलन प्रभावित हुन सक्छ । यसले व्यक्तिमा तनाव सिर्जना गर्छ । बालबालिकामा त झनै धेरै खालका नकारात्मक भावना उत्पन्न गराउँछ । 

तनावको प्रकृति र त्यसको हानिकारक प्रतिक्रियाबारे जानकार भएको अवस्थामा हामी त्यसबाट टाढा बस्न सक्छौं । र्‍यागिङ प्राय: विद्यार्थी–विद्यार्थीबीच अझ बढी हुन्छ । चर्को र्‍यागिङले अपमानित महसुस गर्ने, समूह या सार्वजनिक स्थलमा जानै डराउने अवस्था आउन सक्छ । यस्तोमा परेका बालबालिकामा एक्लो बस्ने, कम बोल्नेजस्ता लक्षण देखा पर्न सक्छन् । त्यसैले कसैले जिस्क्यायो, होच्याएको वा अपमान गर्‍यो भने तिमीले तत्काल कक्षाशिक्षक, विद्यालय प्रशासन वा अभिभावकलाई भनेर त्यसको समाधान खोज्नुपर्छ । 

(साइन्सडाइरेक्ट अनलाइनमा प्रकाशित ‘प्रोसेडिया’ जर्नलको रिपोर्टमा आधारित) 

 

व्यावहारिक समस्या:

  • लागूपदार्थको दुव्र्यसनमा लाग्न सक्ने 
  • जिद्दी व्यवहार देखाउने
  • घुमक्कड जीवनशैली बन्ने 
  • आक्रामक व्यवहार देखाउने 
  • तनावपूर्ण अनुभवहरूको प्रतिक्रिया जनाउने 
  • पारस्परिक सम्बन्ध बिग्रने

 

मनोवैज्ञानिक समस्या :

  • तनावको प्रतिक्रियास्वरूप चिन्ता बढ्ने 
  • व्यक्तिको क्षमता र प्रदर्शनको स्तर प्रभावित हुने 
  • आत्मसम्मान र आत्मविश्वास घट्ने  
  • रिसाउने, झर्किने 
  • नराम्रो सपना देख्ने 
  • कुनै पनि काम गर्न मन नलाग्ने
  • व्यवहार परिवर्तन हुने  
  • एकाग्रता र ध्यान केन्द्रित गर्न समस्या हुने 
  • कम आत्मसन्तोष मिल्ने 
  • बिर्सिने समस्या आउने 
  • गलत निर्णयहरू गर्न मन लाग्ने

 

 

 

शारीरिक समस्या :

  • रिंगाटा लाग्ने 
  • टाउको दुख्ने 
  • रक्तचाप बढ्ने 
  • निद्रा नलाग्ने 
  • मुटुको धड्कन बढ्ने 
  • एलर्जी देखिन सक्ने 
  • सास फेर्न गाह्रो हुने 

प्रकाशित: कार्तिक १९, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार