क्षेत्रीय

मधेसबाट जन्तर बेच्न पहाड

  • ग्रहदशा शान्त हुने, भूतप्रेत भाग्ने, शरीरको दुखाइ कम गर्नेलगायत अन्धविश्वास
- कान्तिपुर संवाददाता , जाजरकोट

आश्विन ३०, २०७४-इटहरी नगरपालिका १८, सुनसरीका मोहमद मस्तान र मोहमद अनुवर जन्तर तथा बुटी बेच्न मध्यपश्चिमका पहाड उक्लेका छन् । उनीहरू भेरी नगरपालिका ३, ठाँटीबजारको पीपलचौतारामा बसेर बुटी बनाउन र बिक्री गर्न व्यस्त छन् । ठाँटीचौतारामा बुटी किन्न स्थानीयको भीड नै लागेको छ । मस्तान र अनुवर जन्तर, बुटी बिक्रीका लागि अघिल्लो सातादेखि यहीँ छन् ।

ग्रहदशा शान्त पार्न, मसान भगाउन, झस्किने, तर्सने, बरबराउनेलगायत समस्या समाधानका लागि जन्तर, बुटीको प्रयोग हुने मस्तान बताउँछन् । उनीहरूले ठाँटीचौतारामा हिमाली, पहाडी र तराई क्षेत्रमा पाइने १ सय ८ ऐंजुरु प्रजातिका जडीबुटीका साथै जनावरको हड्डी र पुच्छरको पसल राखेका हुन् । उनीहरूसँग बुटी बनाउन वर, पीपल, चक्रचाली, भूतकेश, भोजपत्र, कम्मरी, सल्ली, लोठसल्ला, नागबेली, ताजबेली, नीम, पिरार, झौवालगायत जडीबुटी छन् । 

त्यस्तै कालो घोडाको टाप, हेल माछाको हड्डी, ऊँटको दाँत, कछुवाको हड्डी, चौंरीको पुच्छरलगायत पनि रहेको मस्तानले बताए । जडीबुटी र विभिन्न जनावरको हड्डीको टुक्रा मिसाएर जन्तर भर्ने गरेको उनीहरू बताउँछन् । उनीहरू प्रतिजन्तर २ सय ५० देखि हजार रुपैयाँसम्म लिन्छन् । जन्तर बिक्री गर्न भ्याइनभ्याइ भएको उनले बताए ।

उनीहरूले बिक्री गर्ने जन्तरमा प्रयोग गरिएका अधिकांश जडीबुटी हिमाली तथा पहाडी क्षेत्रमा पाइन्छन् । पहाडको जडीबुटी पहाडीलाई बिक्री गर्न तराईवासी आउँदा अनौठो लागेको स्थानीय टीकाराम वलीले बताए । आफ्नै जंगल, डाँडाकाँडा र लेकाली भेकमा पाइने जडीबुटीलाई जन्तरका नाममा मस्तान र अनुवरसँग महँगोमा किन्न हानथाप भएको छ । वलीका अनुसार उनीहरूले दैनिक सय सर्वसाधारणलाई जन्तर, बुटी बेचेर ३० हजारभन्दा बढी कमाइ गरेका छन् ।

प्रकाशित: आश्विन ३०, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार