देश

सबै पार्टीमा आकांक्षी धेरै

- कान्तिपुर संवाददाता , पाल्पा

आश्विन ३०, २०७४-मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि मुख्य तीन दलमा उम्मेदवार आकांक्षी धेरै देखिएका छन् । खासगरी कांग्रेस र एमालेमा आकांक्षीको सूची लामो छ । एमाले र माओवादीबीच तालमेल हुने भए पनि छुट्टाछुट्टै सूची तयार पारिएका छन् । 

सिफारिसमा परेकाहरू टिकट फुत्काउन समर्थकसहित राजधानीमा व्यस्त छन् । केही आकांक्षी केन्द्रीय नेता भेटेर जिल्ला फर्किएका छन् । ‘आफ्नो शक्ति र पहुँच देखाउने बेला यही हो भन्ने धेरैको बुझाइ छ,’ सिफारिसमा परेका एक कांग्रेस नेताले टेलिफोनमा भने, ‘योग्यता, क्षमता र योगदानभन्दा पहुँच र भनसुनले काम गर्ने भएकाले सबैले नेताको घरदैलो चाहारेका छन् ।’ आकांक्षीहरू आफ्नो पक्षका समर्थक लिएर काठमाडौंमा सम्पर्क सूत्रमार्फत लबिइङ गरिरहेका छन् । प्रतिनिधिसभाका लागि २ र प्रदेश सभाका लागि ४ निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रत्यक्ष र समानुपातिकमा गरी कांग्रेस, एमाले र माओवादी केन्द्रबाट १ सय ५० भन्दा बढी सिफारिसमा परेका छन् । सबैभन्दा बढी कांग्रेसले ६९, एमालेले ४३ र माओवादी केन्द्रले २१ जना सिफारिस गरेका छन् । सर्वसम्मत नाम छान्न नसकेपछि कांग्रेस र माओवादीका जिल्ला नेतृत्वले टिकट टुंगो लगाउने जिम्मा केन्द्रीय समितिकै तजबिजमा छाडेका छन् । ‘सिफारिसमा परेका सबैजसो नेता दलबलसहित काठमाडौं पुगेका छन्,’ एमालेका एक नेताले भने । धेरै नाम सिफारिसमा परेका कारण काठमाडौं धाउनेमा पनि कांग्रेसकै नेता–कार्यकर्ता बढी छन् । माओवादी केन्द्रका नेता, कार्यकर्ताको पनि दौडधुप पनि उस्तै छ । एमालेले प्रदेशस्तरीय कमिटीलाई टिकट टुंगो लगाउन जिम्मा दिएको थियो । कमिटीले सर्वसम्मत नाम छान्न नसकेपछि जिल्लाबाट आएका सबै नाम केन्द्र पठाउने निर्णय गरेको छ । 

 

प्रकाशित: आश्विन ३०, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार