समाचार

बाघको आहारा ठूला जनावर

- कान्तिपुर संवाददाता , काठमाडौं

आश्विन २३, २०७४-पाटे बाघले साना र मध्यम खालका शाकाहारी जनावरमात्र खाने गरेकामा पछिल्लो अध्ययनले आफूभन्दा ठूला र घरपालुवा जनावरप्रति आकर्षित हुने गरेको देखाएको छ । चितवन निकुञ्जका विभिन्न स्थानबाट संकलन गरिएको बाघको दिसाको अध्ययन/विश्लेषणबाट यस्तो सूचना मिलेको हो ।

त्रिविको प्राणीशास्त्र केन्द्रीय विभागका प्राध्यापक डा. मुकेशकुमार चालिसे, राष्ट्रिय प्रकृति संरक्षण कोषको जैविक विविधता संरक्षण केन्द्र, सौराहाका प्रमुख डा. चिरञ्जीवी पोखरेल र हिमाली जैविक विविधता सञ्जाल नेपाल, भरतपुरका शिभिस भण्डारीले चितवन निकुञ्जका बाघका आहार प्रजातिबारे अध्ययन गरेका थिए । उक्त अध्ययनले गाई, भैंसी र गौरी गाई पनि बाघको आहार बन्दै गएको देखाएको हो । तीनवटै जनावर बाघभन्दा ठूला हुन् । 

‘साना र मध्यम खालका जनावर मात्र होइन, अब आफूभन्दा ठूला प्रजातिका जनावरलाई पनि बाघले सिकार गर्ने गरेको देखिन्छ,’ अनुसन्धानकर्तामध्येका एक डा. चालिसेले भने, ‘यसले बाघ र मानवबीच द्वन्द्व बढ्ने प्रस्ट संकेत गर्छ ।’ 

अनुसन्धानकर्ताहरूले बाघको आहारा प्रजाति पत्ता लगाउन चितवन निकुञ्जका विभिन्न १०९ स्थानबाट बाघको दिसाको नमुना संकलन गरेका थिए । तीमध्ये ८५ स्थानको दिसाको नमुना त्रिवि ल्याबमा जाँच गरिएको थियो । चालिसेका अनुसार दिसामा बाघले खाएका आहार प्रजातिका रौं भेटिने हुनाले आहार प्रजाति छुट्याउन सकिन्छ । अध्ययनले बाघले चित्तल, जरायो, जंगली बँदेल, लगुना, रतुवा मृग, गौरी गाई, भैंसी र गाई गरी आठ प्रजातिका जनावर खाने गरेको देखाएको छ ।

बाघले पहिले मध्यम खालका प्रजातिमा पर्ने चित्तल, जरायो, लगुना, रतुवा मृगल, दुम्सीगायतलाई मात्र मुख्य आहारका रूपमा लिने गरेको थियो । पछिल्लो अध्ययनले बाघले संरक्षित सूचीकै जनावर गौरी गाईलाई समेत आहार बनाउने गरेको पाइएको छ । ‘मध्यम आकारका शाकाहारीलाई आक्रमण गर्नु त स्वाभाविकै हो,’ चालिसेले थपे, ‘दैनिक आपूर्तिका लागि पहिला सामान्यतया नखाने गरेको र ठूला जनावरको पनि सिकार गर्ने क्रम बढ्नु राम्रो होइन ।’ 

बाघका विषयमा विद्यावारिधि गरेका डा. झमकबहादुर कार्कीका अनुसार बाघले एउटा प्राकृतिक आहारलाई सिकार गर्न कम्तीमा २० पटक प्रयास गरेको हुन्छ । ‘२० पटक प्रयास गरेपछि बल्ल एउटा प्राकृतिक जनावर सिकार गर्न सक्छ,’ कार्कीले भने, ‘घरपालुवा जनावरले बाघबाट भाग्न जानेको हुँदैन, गन्ध पनि थाहा पाउँदैन । त्यसैले बाघले सीधै घाँटीमै आक्रमण गर्न सक्ने भएकाले १९ पटकको शक्ति खेर नजाओस् भनेर घरपालुवामा ध्यान दिएको पनि हुन सक्छ ।’ 

उही समय र उही शक्ति लगाउँदा ६/७ दिन पुग्ने जनावर मार्न सकिने भएकाले घरपालुवातिर आकर्षित भएको हुन सक्ने कार्कीको विश्लेषण छ । ‘चितवनमा मध्यवर्ती क्षेत्रमा बाघको विचरण बढी भएकाले छाडा घरपालुवा जनावरलाई बाघले आहार बनाउने गरेको देखिन्छ,’ कार्कीले भने ।

प्रकाशित: आश्विन २३, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार