हेलो शुक्रबार

थिएटरका अलराउन्डर

- गोकर्ण गौतम, काठमाडौं
जोसले भरिएका बेला नाटक गर्न नपाउँदाको पीडा थियो नै । उनले काठमाडौंमा टिक्नकै लागि सपिङ सेन्टर, रेस्टुरेन्ट, ट्राभल एजेन्सीदेखि प्लम्बिङ, मार्केटिङ पनि गरे । कन्स्ट्रक्सन कम्पनीमा जागिर खान नेपालगन्ज पनि पुगे ।

आश्विन २०, २०७४-१०–५ को जागिरमा पटक्कै रुचि थिएन । केही नवीन काम गरौं भन्ने हुटहुटी मात्र थियो । यसैसाथ दिलीप रानाभाट लमजुङको तार्कुघाटमा प्लस टु सकेर काठमाडौं आए २०६५ सालमा ।

आरआर क्याम्पस भर्ना भइसकेपछि एक दिन दाइ पर्नेले बिनाप्रसंग थिएटरको कुरा निकाले । थिएटरका अम्मली दाइको संगतबाट दिलीपमा ‘रंगमञ्च बौद्धिक र सिर्जनात्मक काम हुने थलो हो’ भन्ने छाप बस्यो । र, जीवनको लय बदलियो । जबकि त्यतिबेलासम्म दिलीप नाटक र अभिनयका बारेमा अनभिज्ञ थिए, सुनील पोखरेल र अनुप बरालको नाम सुन्नुको अलावा ।

इच्छाशक्ति र लगावको सामु कसको के लाग्थ्यो र π दिलीप यतिबेला नयाँ पुस्ताको आशालाग्दो रंगकर्मी बनेका छन् । उनी अभिनयमा मात्र होइनन्, निर्देशन र लेखन पनि गर्छन् । लाइट, ध्वनि, स्टेज डिजाइनमा पनि पोख्त छन् । स्कुल/कलेजमा नाटक पढाउने उनी अभिनीत नाटक भारत, पाकिस्तान र युरोपमा पनि मञ्चन भइसकेको छ । डेनमार्क र स्वीडेनमा थिएटर प्रोडक्सनको वर्कसपमा सहभागी भइसकेका उनी भन्छन्, ‘भौतिक रूपमा जति कष्ट भोग्नुपरे पनि नाटकमै मस्त छु ।’

करिब एकै समयमा हो, दिलीपलाई नाटकमा रस पसेको र गुरुकुल बन्द भएको । बन्द हुनु अगाडि एकाध पटक गुरुकुल पुग्थे तर गेट पालेसँग कुरा गरेर फर्कन्थे, सुनील पोखरेलसँग भेट्ने आँटै हुँदैन्थ्यो । त्यतिबेला अहिलेको जस्तो मनग्ये नाटकघर र नाट्य समूह थिएनन् । चिनेजानेको कोही थिएन । दिलीपलाई तीन वर्ष लाग्यो, शैली थिएटरसँग जोडिन । रसियन कल्चर सेन्टरमा तीन महिना राजकुमार पुडासैनीसँग अभिनय प्रशिक्षण लिन पाउँदा उनलाई लागेको थियो, सपना पूरा भयो । लजालु स्वभावका दिलीपले हाँस्दै सुनाए, ‘खासमा सपना पूरा गर्ने यात्रा चाहिँ सुरु भएको रहेछ ।’

स्टुडेन्ट प्रोडक्सनस्वरूप प्रशिक्षणपश्चात् नाटक तयार भयो, लम्बरी लाले । र, उनले जीवनमै पाएको पहिलो भूमिका थियो, नोकरको । शैलीसँगै जोडिएर केही सडक नाटक र कचहरी पनि गरे तर नियमित होइन । जोशले भरिएको बेला नाटक गर्न नपाउँदाको पीडा थियो नै । उनले काठमाडौंमा टिक्नकै लागि सपिङ सेन्टर, रेस्टुरेन्ट, ट्राभल एजेन्सीदेखि प्लम्बिङ, मार्केटिङ पनि गरे । कन्स्ट्रक्सन कम्पनीमा जागिर खान नेपालगन्ज पनि पुगे । एक दिन काम गर्दागर्दै करेन्ट लागेपछि उनी काठमाडौं हानिए । समयले पनि साथ दियो । उनी फर्कनासाथ थिएटर भिलेजमा आबद्ध भए ।

विमल सुवेदीसँग ३ महिना प्रशिक्षण लिएपछि नाटकलाई हेर्ने उनको दृष्टिकोण बदलियो । ‘सानिध्यताले नाटक भनेको अभिनय मात्र होइन भन्ने थाहा पाएँ र त्यहीअनुरूप आफूलाई निखार्दै लगें,’ उनले भने । उनी थिएटर भिलेजकै होस्टेलमा बस्न थाले । हरपल नाटककै वरपर । तर अभिनयभन्दा ब्याकस्टेजमा बढी ध्यान जान थाल्यो । चारुमती, यार्मा, सावितीलगायतका नाटकमा स्टेज म्यानेजर भए ।

थिएटर भिलेजबाट उनले खेलेको पहिलो नाटक थियो, मालिनी । संयोगले त्यो नेपालमा होइन, पाकिस्तानको चर्चित नाट्य महोत्सव नापा थिएटर फेस्टिभलमा मञ्चन भयो । यसमा उनले राजाको भूमिका निर्वाह गरेर चर्चा बटुलेका थिए, त्यही फेस्टिभलमा गत चैत्रमा दिलीपले कमाएको प्रशंसा साँच्चै लोभलाग्दो थियो । हेम्लेट नाटकको शीर्ष भूमिकामा दिलीपको कला हेरेपछि सबै दर्शकले उठेर ताली पिटेका थिए । बाहिर निस्केपछि दिलीपसँग भलाकुुसारी गर्ने र फोटो खिच्नेको भीड थियो ।

मालिनीको एक शो मञ्चन भएको उक्त नाटकका लागि दिलीपले गरेको मिहिनेत चानचुने थिएन पनि । जिम गए, कपाल खौरिए, हप्तौं पशुपति पुगेर शव जलाएको हेरे । चरित्र निर्वाह हैन, चरित्रमै जिउने प्रयास गरे । दिलीप सम्झन्छन्, ‘हेम्लेट बन्न दुई महिनासम्म अरु केही काम गरिनँ । किनभने मलाई चुनौतीपूर्ण भूमिका गर्न सक्छु भनेर आफैंलाई प्रमाणित गर्नु थियो ।’

सिंहदरबारको टेन्डर थिएटर भिलेजमा सर्वाधिक बक्स अफिस कलेक्सन गर्न सफल नाटक हो । यसको निर्देशन तथा नाट्य आलेख दिलीपले गरेका थिए । आधा दर्जन नाटकमा ब्याक स्टेजको अनुभवपछि उनलाई सोलो निर्देशन गर्ने आँट आएको थियो । उनले सान्दाजुको महाभारत, दाँतको डोब, मकैको अर्कै खेतीजस्ता नाटकमा एसोसिएट निर्देशकका रूपमा पनि काम गरे । सिंहदरबारको टेन्डर सफल हुँदाभन्दा त्यो नाटकले सिक्नुपर्ने अरू ज्ञानको ढोका खोलिदिँदा ज्यादा खुसी थिए उनी । त्यसैले जतिसक्दो राम्रो नाटक र निर्देशकसँग काम गरे ।

उनको निर्देशक, अभिनय, लेखन, ब्याकस्टेज सबैतिर ग्राफ उक्लिँदो थियो तर त्यही बेला लाजिम्पाटस्थित थिएटर भिलेजको नाटकघर बन्द भयो । त्यसयता उनी टुहुराजस्तै भएका छन् । नयाँ ठाउँमा खोल्ने प्रयास भने जारी छ । डेढ वर्षयता उनको अभिनय स्वदेशमा देखिएको छैन तर जर्मनीको ३ र बेल्जियमको एक फेस्टिभलमा मालिनी मञ्चन गरियो । त्यसअअघि कराँचीमा । भारतको चार राज्य पनि घुमे । त्यसैले उनको व्यस्तता भने घटेको छैन । 

gokarna.gtm@gmail.com

प्रकाशित: आश्विन २०, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार