क्षेत्रीय

वृद्धभत्ताले बडादसैं खर्च

- भवानी भट्ट, कञ्चनपुर

आश्विन १२, २०७४-८१ वर्षीय लछी दमाई मुक्त हलिया हुन् । ४ छोरा र ४ छोरी अर्काकै हलो जोतेर हुर्काएका उनी यतिबेला भने सहाराविहीन भएका छन् । सानो झुपडीमा दम्पती जेनतेन आफ्नो गुजारा गरिरहेका छन् । दसैं नजिकिँदै गर्दा छोराछोरी सबै एकै ठाउँमा आइदिए हुन्थ्यो भन्ने उनको मनमा लागिरहेको छ । ‘सरकारले दिएको वृद्धभत्ताले पनि हाँसीखुसी दसैं मनाउँथ्यौं,’ उनले भने, ‘तर सबै छोराछोरी आउँछन् कि आउँदैनन् ।’ 

बाल्यकालमै बुवाको मृत्युपछि लछीले घर परिवारको गुजारा गर्न हलिया बस्नुपरेको थियो । बैतडीको कैलपाल गाउँपालिकामा ३५ वर्ष हलिया बसेपछि उनी तराई झरेका हुन् । यहाँ आएर पनि भीमदत्त नगरपालिका ९ को तुमडानीमा बुढेसकालसम्मै हलिया बसे । उनले हलो जोत्न नसक्ने भएपछि जेठा छोरा देवरामले बुवाको काम सम्हाले ।

‘सबै भाइ छुट्टिएर गए, अहिले बुढेसकालमा एक्लै बस्नुपरेको छ,’ उनले भने, ‘चाडपर्वका बेला सबै परिवार एक ठाउँमा बसेर रमाइलोसँग दसैं मनाउने इच्छा भए पनि मिलेन ।’ मुक्त हलिया भए पनि उनले परिचयपत्र पाएका छैनन् । नत सरकारले उपलब्ध गराउने बसोबास तथा घर मर्मतका लागि कुनै सहयोग नै पाएका छन् । ‘बूढाबूढी दुवैले पाउने भत्ताबाटै पिठो चामलदेखि नुनतेलको जोहो हुन्छ,’ उनले भने, ‘त्यही वृद्धभत्ताले दसैं पनि हाँसीखुसी मनाउँछौं ।’

भीमदत्त नगरपालिका ९ ब्रह्मदेवमा रहेका मुक्त हलिया परिवारसँग २/२ कट्ठा जमिन छ । जमिन खोला किनारमै भएकाले बगरजस्तै छ । चुरे फेदीको जमिनमा ढुंगा, गिट्टी र बालुवा मिसिएको हुनाले उब्जनी केही हुँदैन । उक्त क्षेत्रमा २० परिवार मुक्त हलियाको बसोबास छ । ‘सबैथोक किनेरै खानुपर्छ, गुजारा गर्नै समस्या छ,’ विमला भुलले भनिन्, ‘घरमै पालेका कुखुरा बेचेर दसैं मनाउने तयारीमा छौं ।’ पाँचवटा कुखुरा पालेकी छन् । तीमध्ये २/३ वटा बेचेर नुनतेल तथा खाद्यान्न किन्ने र बाँकी घरमै काटेर खाने सोच बनाएको उनले बताइन् । ‘ऋणदान गरेरै पनि दसैं राम्रैसँग मनाउने तयारीमा छौं,’ मुक्त हलिया देवराम दमाईले भने, ‘छोराछोरीलाई नयाँ कपडा पनि किन्नैपर्‍यो, खानपिन पनि गर्नैपर्‍यो ।’ ०६५ मा मुक्त भएपछि उनले सिलाइकटाइको काम सिकेर अहिले गाउँमै स्वरोजगार भएका छन् । तर गाउँमा थोरै मात्र ग्राहक भएकाले त्यसकै भरमा परिवार पाल्न सकिने अवस्था नरहेको उनले बताए ।

ब्रह्मदेवमा बसोबास गर्ने अधिकांश मुक्त हलिया रोजगारीका लागि भारत पसेका छन् । कतिपय गाउँमै मजदुरी गर्छन् । सधैं मजदुरीको काम नपाइने भएकाले उनीहरूलाई परिवारको गुजारा गर्न निकै समस्या छ । तैपनि उनीहरू दसैं तिहारलगायत चाडपर्व ऋणदान गरेरै मनाउने गर्छन् । ‘चाडपर्व सकभर रामै्रसँग मनाउँछौं,’ उनीहरू भन्छन्, ‘केटाकेटीलाई पनि खुसी राख्छौं, आफू पनि सकेअनुसारको खानेकुरा खान्छौं ।’ 

बढ्दै दसैंको रौनक

जुम्ला– तिला गाउँपालिकाका कमल रावत दसैं मनाउन इलामदेखि जुम्ला आइपुगेका छन् । चन्दननाथ नगरपालिका १ का टंकप्रसाद आचार्य पनि कालिकोटबाट जुम्ला आइपुगे । जुम्लामा स्थायी घर भई विभिन्न कामका लागि बाहिर बस्दै आएका उनीहरूमात्र होइन, जुम्लामै स्थायी बस्दै आएका स्थानीयसमेत फुर्सदिलो तरिकाले दसैं मनाउन पाएपछि खुसी छन् । अन्न भित्र्याउने मेलो सुरु नभएकाले जुम्लीले फुर्सदिलो तरिकाले दसैं मनाइरहेका छन् ।

हरेक वर्ष जुम्लीले कामको चटारोबीच चाड मनाउने गरेको तातोपानी गाउँपालिकाका डिल्लीप्रसाद उपाध्यायले बताए । ‘यस वर्ष भने दसैं छिटो परेकाले धेरैमा उल्लास देखियो,’ उनले भने । गाईबस्तुलाई हिउँदको समयसम्म पुग्ने गरी घाँस संलकन गर्नुपर्ने, कालिमार्सी धान भित्र्याउनेलगायत महत्त्वपूर्ण काम पनि दसैंकै मेसोमा हुने भएकाले अघिल्ला वर्षहरू त्यति उत्साहपूर्ण नहुने गरेको उनको भनाइ छ । ‘दसैं मनाउन घर फर्केका पनि कृषिलगायत अन्य काममै व्यस्त हुने गरेकाले भेटघाटसमेत नहुने गरेको थियो,’ उनले भने, ‘स्थानीय अहिले खुसीसाथ दसैं मनाइरहेका छन् । आफन्तसँगको भेटघाट बाक्लिएको छ ।’ दसैंका कारण खलंगा बजारमा चहलपहल बढेको छ । जुम्ला विमानस्थल र बसपार्कमा दसैं मनाउन घर फर्कनेको घुइँचो देखिन्छ । दसैं खर्चको जोहो गर्न खलंगामा स्याउ बेच्नेको भीड उत्तिकै देखिन्थ्यो । 

खेतीपातीका काम सँगै नपरेकाले स्थानीय घरको रंगरोगनलगायत काममा व्यस्त छन् । असोज महिना लागेसँगै स्याउ टिप्न र बेच्न व्यस्त हुने जुम्ली असोज अन्तिम सातामा घाँस र घान भित्र्याउन व्यस्त हुने कनकासुन्दरी गाउँपालिकाका रेवतीरवण उपाध्यायले बताए । ‘सबै काम असोज/कात्तिकमै सक्नुपर्ने भएकाले अघिल्ला दसैंको रौनक निकै कम हुन्थ्यो,’ उनले भने, ‘दसैंलाई रमाइलो बनाउन गाउँमा मेला, खेलकुद र नाचगानका कार्यक्रम राखिएका छन् ।’ घटस्थापनाको दिन चन्दननाथ भैरवनाथ मन्दिरमा लिंगो खडा गरेपछि सदरमुकाममा चहलपहल बढ्छ । 

प्रकाशित: आश्विन १२, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार