क्षेत्रीय

धनुषामा सप्तमीको रमझम

- कान्तिपुर संवाददाता , जनकपुर

आश्विन १२, २०७४-वडादसैंको सातौं दिन बुधबार यहाँको प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा फूलपाती भित्र्याइएको छ । नेपाल प्रहरी तथा सशस्त्रका जवानले सलामी दिएर फूलपाती भित्र्याएका थिए ।

राजा जनकको गृहदेवी भनिने राजदेवी मन्दिरबाट निस्केको बाजागाजासहितको शोभायात्रा जनकपुर ५ माडवाडी सेवा समिति परिसरमा अवस्थित बेलको रूखबाट बेल तथा बुट्यान टिपेर मन्दिरमा भित्र्याइएको थियो । 

राजदेवी मन्दिरबाट मंगलबार गएका गुरु पुरोहितले मंगलबार उक्त बेलको रूखलाई निम्तो दिएका थिए । स्थानीय भाषामा बेललाई निम्तो दिने परम्परालाई बेलनौती तथा बेल तोड्ने परम्परालाई बेलतोडी भनिन्छ ।

राममन्दिरका महन्थ राम गिरी नेतृत्वमा बेलतोडी गर्न निस्केको शोभायात्रामा जनकपुर उपमहानगरपालिका नवनिर्वाचित प्रमुख लालकिशोर साह, उपप्रमुख रीतादेवी मिश्रसहित प्रमुख जिल्ला अधिकारी तथा नेपाल प्रहरी र सशस्त्रका प्रमुख सहभागी थिए ।

यसैगरी दुर्गापूजा आयोजन गरिएका यहाँका रामानन्द चौक, विद्यापति चौक, भ्रमरपुरा चौक, पिडारी तथा ठढेसरी बाबा मन्दिरमा पनि बुधबार बेलतोडी सम्पन्न भएको छ ।

यसबीच बडादसैंको आठांै दिन बिहीबार राजदेवी मन्दिरमा बिहान प्रसाद चढाउने, महिलाले ‘खोइंछ’ भर्ने तथा अपराह्न बोका बलि दिने तयारी तीव्र बनाइएको छ । अध्यक्ष जायसवालले यस वर्ष १८ हजारसम्म बोका बलि चढाइने दाबी गरेका छन् । यसैगरी बिहानदेखि मध्याह्नसम्म प्रसाद चढाइन्छ ।

श्रद्धालुहरूको भीड नियन्त्रण गर्न महावीर, राम, गणेशलगायतका युवा कमिटीका १ हजारभन्दा बढी स्वयंसेवक परिचालन गरिएको श्रीराम युवा कमिटीका पूर्वअध्यक्ष प्रमोद चौधरीले जानकारी दिए ।

प्रकाशित: आश्विन १२, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार