देश

४ सय परिवार जग्गाधनी पुर्जाविहीन

- मेनुका ढुंगाना, अछाम

आश्विन १०, २०७४-मेल्लेख गाउँपालिका–३ का ४ सय परिवार आफूले भोगचलन गरेको जग्गाको लालपुर्जा पाएका छैनन् । २०५८ सालमा तत्कालीन माओवादी आक्रमणमा सदरमुकाम मंगलसेनका विभिन्न सरकारी कार्यालयमा आगजनी हुँदा कागजपत्र जलेपछि उनीहरू हालसम्म पुर्जाविहीन भएका हुन् ।

२०७१ सालमा अछामको विशेष टोलीले नापनक्सा गरे पनि लालपुर्जा दिन नसकेको स्थानीय अगुवा हेमराज शाहले बताए । विभिन्न निकायसँग पहल गर्दा पनि सरोकारवाला निकायले चासो नदिएको उनको आरोप छ ।

यस क्षेत्रबाट निर्वाचित जनप्रतिनिधि मन्त्रीसम्म भए पनि समस्या साधानका लागि कसैले चासो नदिएको स्थानीयले गुनासो गरे । सामान्य कृषि ऋण लिनबाट पनि वञ्चित हुनुपरेको स्थानीय खडबहादुर शाहले बताए । ‘विशेष टोलीले नापनक्सा गराए तर दर्ता प्रक्रियामा कसैले सहयोग गरेनन्,’ उनले भने ।

मेल्लेख गाउँपालिका ३ का वडा अध्यक्ष केशबहादुर शाहले गाउँमा नापीको विशेष टोली आएको र पुरानो रेकर्ड खोज्दा नभेटिएपछि लालपुर्जा दर्ता नभएको बताए । तत्कालीन राज्यपक्ष र विद्रोही पक्षबाट सदरमुकाम मंगलसेनमा आक्रमण हुँदा मालपोत र नापी कार्यालयमा रहेका सबै कागजपत्र नष्ट भएको अध्यक्ष शाहले बताए ।

नापनक्सा भए पनि व्यक्तिका नाममा रहेको जग्गाको प्रमाणका कागजपत्र नभेटिएपछि पुर्जा वितरण गर्न नसकेको विशेष नापी अछामका प्रमुख सियाराम ठाकुरले बताए । मन्त्रालयबाट आदेश नआउँदासम्म केही गर्न नसकिने ठाकुरको भनाइ छ ।

प्रकाशित: आश्विन १०, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार