क्षेत्रीय

पुल छ, सडक छैन

- कान्तिपुर संवाददाता , खोटाङ

भाद्र २९, २०७४-अधिकांश स्थानमा सडक हुन्छन् तर पुल हुँदैनन् । यहाँ भने पुल भएर पनि सडक छैन । हुर्लुङ–जालपा–ऐंसेलुखर्क खण्डअन्तर्गत माक्पा र जालपाबीच पर्ने रावाखोलामा पुल बने पनि सडकको काम पूरा भएको छैन ।

स्विस सरकारको करिब साढे ४ करोड लागतमा सम्पन्न उक्त पुल रूपाकोट–मझुवागढी नगरपालिका–१२ जालपा र एेंसेलुखर्क गाउँपालिका ७, माक्पा जोडिएको छ । पुलको वल्लो र पल्लोपट्टि (एप्रोच रोड) सडक बनेको छैन । 

पुल बने पनि सडक अपूरै हुँदा सिधा यातायात सेवा सञ्चालन भएको छैन । एप्रोच रोडका लागि स्विस सरकारको सहयोगमा करिब ८५ लाख रुपैयाँको ठेक्का लागेको कर्मचारी सुशील श्रेष्ठ बताउँछन् । एप्रोच रोडका लागि करिब १ करोडको स्टिमेट भए पनि घटाघटको बोलपत्रमा ८५ लाखमा नर्थस्टार–कुँवर जेबी कम्पनीले ठेक्का पारेको श्रेष्ठले बताए । उनका अनुसार आगामी पुस–माघभित्र काम सकिनेछ । ‘यो पुलको एप्रोच रोडका लागि ठेक्का लागि सकेको छ,’ श्रेष्ठले भने, ‘अब पुस–माघभित्रमै काम सकिन्छ ।’

त्यसो त हुर्लङ–जालपा–ऐंसेलुखर्क ४० किमिमध्ये माक्पा–ऐंसेलुखर्क करिब साढे ६ किमि सडक पनि अपूरै छ । स्विस सरकारको सहयोगमा निर्माणाधीन सडक अलपत्र परेको हो । हुर्लङ–जालपा–ऐंसेलुखर्कसम्मको ४० किमि सडकका लागि स्विस सरकारले करिब ८० करोड रकम विनियोजन गरे पनि करिब ३८ करोड मात्र खर्च भएको छ । 

नेपाल र स्विस सरकारबीच सडक निर्माणमा काम नगर्ने सहमतिपछि सडक अलपत्र परेको श्रेष्ठको भनाइ छ । ‘नेपाल र स्विस सरकारको सहमतिअनुसारै कामको फेज आउट भएको हो,’ उनले भने, ‘त्यसैले काम छाड्नुपरेको हो ।’

जिल्लास्थित राजनीतिक दलहरूले स्विस सरकार र नेपाल सरकारसँग अपूरो सडक पूरा गर्न पटक–पटक अनुरोध गर्दासमेत सुनुवाइ नभएको गुनासो गरेका छन् । ‘अपूरो सडक पूरा गर्न हामीले पटक–पटक स्विस सरकार र नेपाल सरकारसमक्ष अनुरोध गर्‍यौं,’ कांग्रेस महासमिति सदस्य तथा पूर्वजिविस सभापति विष्णुकुमार राईले भने, ‘हाम्रो अनुरोधप्रति सुनुवाइ भएन ।’ पूर्वसांसद टंक राईले भने आफूले थालेको काम सक्न स्विस सरकारको नैतिक जिम्मेवारी भएको बताए ।

प्रकाशित: भाद्र २९, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार