क्षेत्रीय

स्थानीय सहयोगमा ट्राफिक भवन

- कान्तिपुर संवाददाता , पाल्पा

भाद्र २९, २०७४-जिल्ला ट्राफिक प्रहरीले नयाँ भवन पाएको छ । ट्राफिक प्रहरी प्रमुख प्रवीण आचार्यको सक्रियता र स्थानीयको सहयोगमा तीनतले पाँचकोठे भवन निर्माण भएको हो । 

जिल्ला तथा बाहिरका ८६ सरकारी, संघसंस्था र व्यक्तिबाट करिब २४ लाख रुपैयाँ नगद तथा जिन्सी सहयोगमा भवन निर्माण भएको प्रमुख आचार्यले बताए । 

ट्राफिक प्रहरीले २०५५ देखि सेवा सुरु गरे पनि २०६३ देखि औपचारिक रूपमा सेवा दिँदै आएको छ । सुरुका समयमा प्रहरी कार्यालयबाटै कार्य सम्पादन गर्ने ट्राफिकले २०५८ देखि तानसेन बसपार्कमा नगरपालिकाको साँघुरो भवनबाट सेवा दिँदै आएको थियो जसका कारण सेवा प्रवाहमा कठिनाइ भएको थियो । ११ जना ट्राफिक प्रहरी प्रमुखको कार्यकाल सकिँदा यसपटक आफ्नै भवन पाएको हो । 

पछिल्लोपटक यहाँ सरुवा भएर आएका आचार्यले भवन निर्माण गर्न जग्गा व्यवस्थापनलगायत काम गरेका हुन् । उनले ट्राफिक व्यवस्थापन, दुर्घटना न्यूनीकरणका लागि सचेतना, घुम्तीमा कन्भेक्स मिरर जडान, जेब्रा क्रसजस्ता काममा उल्लेख्य भूमिका निर्वाह गर्दै आएका छन् । प्रहरी अतिरिक्त महानिरीक्षक मिङ्मार लामाले भवन निर्माणलगायत कार्य उत्कृष्ट गरेबापत ट्राफिक प्रहरी प्रमुख आचार्यसहित प्रहरी हवल्दार थलीबहादुर रेउले, प्रहरी जवानहरू नारायण पौडेल, दुर्गाप्रसाद अर्याल, धर्मराज न्यौपाने, दिपेन्द्रबहादुर केसीलाई नगद र प्रमाणपत्रले सम्मान गरे ।

 

प्रकाशित: भाद्र २९, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार