कला र शैली

सम्झना तिम्रो आइदिन्छ...

- कान्तिपुर संवाददाता , काठमाडौं

भाद्र २९, २०७४-एक्लै बस्दा सधैं मलाई सम्झना तिम्रो आइदिन्छ

सहन नसकी आँखाबाट आँसु त्यसै झरिदिन्छ...

गायिका अरुणा लामाको कालजयी गीत हो यो । उनी आफैँ  भन्ने गर्थिन्, ‘मेरा सबै गीतमध्ये सबैभन्दा मन पर्ने एक गीत ।’ सम्भवत: उनको जीवनसँगै धेरै मेल खाएर पनि यस्तो भएको हुन सक्छ । यही गीतका रचनाकार हुन्, देव बज्राचार्य । उनले धेरै कम गीत लेखे, तर जति लेखे, ती सबै लोकप्रिय रहे । यिनै बज्राचार्यको बुधबार निधन भएको छ ।

उनले लेखेका एक दर्जनभन्दा बढी गीत रेकर्ड भएका छन् । उनले आफ्नै स्वरमा पनि केही गीत रेकर्ड गरेका छन् । तीमध्ये उनले गाएको गीत ‘तिमी सागर भएर के गरूँ, म त यहाँ प्यासी छु...’ पछि मुरलीधरको स्वरमा पनि रेकर्ड भयो । बज्राचार्यको स्वरमा रेकर्ड भएको अर्को गीत हो– ‘एउटा गीत रचेको छु...’ ।

भक्तराज आचार्यले गाएको उनको अर्को गीत ‘प्रिय तिम्रो मुहारमा...’ पनि उत्तिकै लोकप्रिय छ । बज्राचार्यका रचनामा गायिका मीरा राणाले पनि केही गीत गाएकी छन् ।

गायक/संगीतकार न्ह्यू बज्राचार्यका काका उनी तबला र हार्मोनियम पनि बजाउने गर्थे । नेपालमा टेलिभिजनको प्रवेशअगाडि काठमाडौंका टोलटोलमा आयोजना हुने सांस्कृतिक कार्यक्रमका प्रमुख आयोजकमा उनी पनि पर्ने गर्थे ।

ओलम्पस क्लबसँग आबद्ध भएर उनले आफ्नो टोल ओमबहालमा धेरै कार्यक्रम गरे । यिनै कार्यक्रममा उदितनारायण झाले पहिलोपल्ट काठमाडौंमा गाउने अवसर पाएका थिए । झाले काठमाडौंमा सुरुवाती संघर्षका बेला केही वर्ष बज्राचार्यको ओमबहालस्थित घरमै बिताएका थिए ।

छाती र मुटुको रोगबाट ग्रस्त बज्राचार्य ६५ वर्षका थिए । उनी नेपालभाषाका अभियन्ता पनि थिए । युवा उमेरमै अप्रत्यक्ष रूपमा च्वसा पासासँग जोडिएका थिए । उनी पछिल्लो समय ज्ञानमाला भजन खल:सँग पनि आबद्ध थिए । युवा छँदा उनी राष्ट्रियस्तरका भलिबल खेलाडी पनि थिए । 

बज्राचार्यको अन्त्येष्टि बिहीबार टेकु दोभानमा गरिनेछ । बज्राचार्यका श्रीमती, तीन छोरी र एक छोरा छन् ।

प्रकाशित: भाद्र २९, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार