कला र शैली

जितिया उल्लास

- कान्तिपुर संवाददाता , काठमाडौं

भाद्र २९, २०७४-भदौभरि नै राजधानी नारीमय बन्यो । महिनाको सुरुवातमा तीजले रौनक छर्‍यो भने लगत्तै सुदूरपश्चिमको गौरा पर्वले राजधानी ततायो । बुधबार भने मैथिल र थारू युवतीहरू मौलिक परिधानमा सजिएर जितिया पर्व मनाउँदै थिए । थारू महिला समाज र थारू महिला सभाको संयोजनमा नेपाल प्रज्ञा प्रतिष्ठानमा जितिया पर्व मनाइयो ।

जिमुतवाहन नामक पौराणिक राजाको पुजा गरिने यो व्रत महिलाहरू सन्तानको दीर्घायु, आरोग्य, सुख र परिवारको शान्तिका लागि बस्ने गरेको सभाकी अध्यक्ष तारा चौधरीले बताइन् । व्रतमा पाकाले जिमुतवाहनको कथा वाचन गर्छन् र अन्यले सुन्छन् । किम्बदन्तीअनुसार राजा जिमुतवहान घुम्दै गइरहेको बेला एक ब्राम्हणी रोइरहेको सुन्छन् । ‘के भयो ?’ भनी राजाले सोधिखोजी गरेपछि ती ब्राम्हणीले गरुडले ८ जना छोरा खाइसकेको र नवौँ सन्तान पनि खाइदिने वेदना सुनाउँछिन् । राजाले रक्षा गर्ने वचन दिन्छन् । सन्तान जन्मिएपछि गरुड आएर लान खोज्दा राजाले सन्तानको सट्टा आफूलाई लैजान आग्रह गर्छन् ।

‘राजाको स्वभाव देखेर गरुड प्रसन्न भई बच्चालाई छोडिदिन्छ र पहिलेका आठ जना सन्तान पनि जीवित गरिदिएको कथा छ,’ समाजकी अध्यक्ष गीता चौधरीले भनिन्, ‘यो कथा सुन्ने मानिसको सन्तान दीर्घायु हुने मान्यता छ ।’ 

व्रतको पहिलो दिनलाई ‘नहा खाय’ (नुहाएर खाने दिन) भनिन्छ । नजिकको पोखरी वा पवित्र जलाशयमा नुहाएपछि मातृवंश अर्थात् आमा, सासु र ससुरालीतिरकी मृतक महिलाहरूलाई सम्झिने प्रचलन छ । व्रतालुहरू दिवंगत सासु र आमाको नाममा पिना र तेल चढाउने गर्छन् । तीजमा खाइने दरझैँ जितियाको अष्टमी तिथि सुरु हुनुअघि व्रतालुहरूले ओठङन (दहीचिउरा, मिठाई लगायतका मीठा परिकार) खान्छन् । जितिया मान्ने मैथिल र थारू समुदायमा अन्य पर्वमा अशुद्ध मानिने माछमरुवा (माछा र कोदोको रोटी), नोनीको साग यस बेला अनिवार्य रूपमा खाइने अध्यक्ष चौधरीले बताइन् । 

भोलिपल्ट अष्टमीको दिन थारू समुदायमा कुलदेउता बस्ने पिँढीमाथि चील र मुन्तिर स्यालको पूजा गरिन्छ । दसैं आगमनको संकेतका रूपमा पनि लिइने यस पर्वमा ‘व्रतालुले व्रत अवधिभर कपाल कोर्ने, सिन्का भाँच्ने, तरकारी काट्ने, जिब्रो टोक्नेजस्ता नियम पालन गर्नुपर्ने’ हुन्छ । कुनैकुनै वर्ष तिथिअनुसार ३० घण्टाभन्दा बढीसम्म निर्जल व्रत बस्नुपर्ने भएकाले यो वर्तलाई कडा व्रतको रूपमा लिइने चौधरीले बताइन् । एकपल्ट नियम तोडेकी महिलाले आजीवन यो व्रत गर्न नसक्ने मान्यता रहेको पनि उनले सुनाइन् ।

कार्यक्रममा सबि, हितिका, रिन्कु, निशा, मनीषा, एलिना, रविना, अंशिकाले टाउकामा घैला राखेर ‘झिझिया नाच’ प्रस्तुत गरे । त्यस्तै, थारू विद्यार्थी सभा, थारू चलचित्र तथा सांस्कृतिक संघ, सीएस क्रु, सर्लाही थारू, उदयपुर थारू जागरण समाजका कलाकारले सांस्कृतिक प्रस्तुति दिए ।

प्रकाशित: भाद्र २९, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार