अर्थ/वाणिज्य

बनेपा महोत्सव सुरु

- कान्तिपुर संवाददाता , काभ्रे

भाद्र २९, २०७४-कला, संस्कृति, कृषि, घरेलु उद्योग तथा व्यापार प्रवद्र्धन गर्ने उद्देश्यले बनेपा महोत्सव बुधबारबाट सुरु भएको छ । बनेपा ब्याइज क्लबको आयोजनामा ‘उग्रेश्वर व्यापारिक, सांस्कृतिक, मनोरञ्जनात्मक खेल मेला–बनेपा महोत्सव २०७४’ सुरु भएको हो । महोत्सव असोज १० सम्म चल्नेछ । 

क्लबका अध्यक्ष महेश कर्माचार्यका अनुसार मेलामा कृषि, घरेलु सामग्रीलगायतका १ सयभन्दा बढी व्यापारिक स्टलहरू छन् । बालबालिकाको मनोरञ्जनका लागि बाल उद्यान स्थापना गरिएको छ । महोत्सवमा नृत्य प्रतियोगिताका साथै मिनी फुटबल र महिला भलिबल प्रतियोगितासमेत हुने मुख्य संयोजक हरिकुमार कर्माचार्यले बताए । प्रत्येक दिन राष्ट्रियस्तरका तथा स्थानीय कलाकारबाट सांस्कृतिक प्रस्तुति हुने संयोजक मणिकुमार तुम्रोकले जानकारी दिए । 

सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले महोत्सवको उद्घाटन गरे । प्राकृतिक, सांस्कृतिक, धार्मिक, शैक्षिक रूपमा काभ्रे धनी भएको भन्दै यहाँका सम्भावनालाई महोत्सवले थप टेवा पुग्ने विश्वास उनले व्यक्त गरे । उद्योग राज्यमन्त्री रेसम लामाले बनेपालाई पुरानै लयमा फर्काउन महोत्सव फलदायी हुने जनाए ।

 

प्रकाशित: भाद्र २९, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार