समाचार

प्रदेशकै भविष्यप्रति चिन्तित छन् कोइलाडीवासी

- कुलचन्द्र न्यौपाने, अवधेशकुमार झा, कोइलाडी (सप्तरी)
कोइलाडीवासी मधेसलाई पहाडसँग अलग्याउन नहुने मात्रै होइन, पहिलेकै ५ प्रदेशलाई नै संघीय प्रदेश बनाएको भए राम्रो हुने ठान्छन्

भाद्र २९, २०७४-मधेसमा ‘स्यायत्त मधेस एक प्रदेश’ को नारा चर्किरहेका बेला यहाँका बासिन्दा भने त्यसको विरोधमा छन् । अहिले पनि मधेसका ८ जिल्ला मात्रै समेटर बनाइएको २ नम्बर प्रदेशप्रति उनीहरूमा रत्ती खुसी छैन, बरु आक्रोश छ । 

प्रदेश नम्बर २ लाई उनीहरू ‘गुदी’ नभएको प्रदेशको रूपमा चित्रण गर्छन् । मधेस आन्दोलनका अभियन्ता गजेन्द्र नारायण सिंह र गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहको राजनीतिक दशर्नबाट प्रशिक्षित यहाँका बासिन्दालाई अहिलेको चुनावप्रति भन्दा पनि प्रदेश नम्बर २ को भविष्यप्रति बढी चिन्ता छ । 

स्थानीय ६० वर्षीय मनिराजप्रसाद सिंह आफू बूढो भए पनि संघीय व्यवस्था सफल नभएमा भावी पुस्ताले दु:ख पाउने चिन्ता पोख्छन् । ‘स्रोत र साधन अर्कैतिर छ, हाम्रो प्रदेशमा के छ ? न बिजुली छ, न सिँचाइ छ, न त वन–जंगल नै छ,’ उनले भने, ‘हाम्रो प्रदेश योभन्दा पनि झनै पिछडिने हो कि भन्ने चिन्ता पो लाग्न थाल्यो ।’

राष्ट्रिय जनता पार्टी (राजपा) ले सीमांकनको मुद्दा उठाएर चुनावमा मत मागिरहेका बेला मधेस आन्दोलनकै दुई क्रान्ति नायकको यो भूमिका बासिन्दा भने मधेसलाई पहाडसँग अलग्याउन नहुने मात्रै होइन, पहिलेकै ५ प्रदेशलाई नै संघीय प्रदेश बनाएको भए राम्रो हुने ठान्छन् । ‘पहिलेका विकास क्षेत्रमा पहाड, हिमाल र मधेस सबै जोडिएको थियो र हामी सबै दाजुभाइ थियौंं,’ अर्का स्थानीय राघवप्रसाद सिंहले थपे, ‘तर अहिले मधेसका जिल्ला मात्रै समेटर प्रदेश बनाउँदा भविष्यमा के हुने हो ? हामी त आज छौं, भोलि छैनौं । भावी सन्ततिले दु:ख पाउने हुन् कि भन्ने लाग्या छ ।’

 मधेस आन्दोलनका अभियन्ता गजेन्द्रनारायण सिंहले २०४० मै नेपाल सद्भावना परिषद् स्थापना गरेर मधेस आन्दोलनको संघर्ष सुरु गरेका थिए । सिंह अहिंसावादी थिए भने गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहले त्यसको विपरीत धारको नेतृत्व लिएर क्रान्ति थालेका थिए । ०४६ मा प्रजातन्त्रको पुन:स्थापना भएपछि गजेन्द्रनारायणले त्यही सद््भावना परिषद्लाई सद्भावना पार्टी बनाएर चुनावमा भाग लिँदै आए । ०५७ मा उनको निधनपछि पार्टी पनि टुत्रँmदै गयो र अहिले आएर राजपामा समाहित भयो । 

चुनावको माहोलले चौतर्फी ढाकिरहेका बेला उनकै भूमिका बासिन्दा भने गजेन्द्रनारायणको पथमा मधेस केन्द्रित दलहरू हिँड्न नसकेकै कारण विकासमा पछि परेको बताउँछन् । गजेन्द्रनारायण अहिंसात्मक आन्दोलन र विकासलाई सँगै जोडेर अघि बढ्थे । ‘तर, त्यसपछिका पुस्ताले न त विकास गरे, न त आन्दोलनलाई बैठान गर्न नै सके,’ राधवकुमार सिंहले भने, ‘सरकारलाई पनि मधेसतिर चासो छैन । मधेस केन्द्रित दलले पनि आफ्नो भूमिको विकासमा चासो दिएनन् ।’

 मधेस आन्दोलनले यहाँका थुप्रै धनाढ्य विस्थापित भएका छन्, जो अधिकांश पहाडी मूलका थिए । अहिले यो गाउँ करिब आधा रित्तिएको छ । अधिकांश बासिन्दा विपन्न छन् । राजनीतिक रूपमा सचेत गाउँमा अझै पनि ७० प्रतिशतको घरमा शौचालय छैन । भएको एउटा बाटो पनि भत्किएको छ । गजेन्द्रनारायण सिंहले सहरसँग जोड्न गाउँ पश्चिमको खोलामा पुल बनाउने काम गरेका थिए । त्यसपछि गाउँसम्म बाटो ल्याउने काम गरे । अँध्यारो गाउँलाई बिजुली दिएर उज्यालो बनाए । जसलाई पछिल्लो पुस्ताले संरक्षणसमेत गर्न सकेन । बाटो भत्किएर गाडी आउजाउ गर्नसमेत कठिनाइ पर्ने भइसक्यो । ‘गजेन्द्रनारायण हुँदासम्म विकास थियो । अहिले छैन । हामीले चुनावमा चुनेर धेरै नेता बनायौं तर कसैले ध्यान दिएनन्,’ स्थानीय नागेन्द्र मण्डल भन्छन्, ‘हाम्रो गाउँ चारैतिरबाट खोलाले घेरिएको छ, पुल छैन । बाटो भत्किएको छ । ग्राभेल सम्म हुन सकेको छैन ।’

 २० वर्षपछि हुन गइरहेको स्थानीय तह चुनावले विकास होला कि भन्ने आशा स्थानीयको छ । स्थानीय निकायमा जनप्रतिनिधि नभएकै कारण विकास बजेट कर्मचारी र दलका नेताहरूले भागबन्डा मिलाएर खाँदै आएकाले विकास ठप्प भएको उनीहरूको गुनासो छ । ‘स्थानीय तह नभएका बेला सबै काम उपभोक्ता समितिबाट हुन थाल्यो, उपभोक्ता समितिमा चार/पाँच दलका नेता र कर्मचारी मिल्यो पचास प्रतिशत खायो, पचास प्रतिशत मात्रै यसो गरेको देखायो,’ कोइलाडी–३ सकरपुराका स्थानीय नीलाम्बर झाले भने, ‘अब जनता जे चाहन्छन् त्यही नेताले पूरा गर्नुपर्छ । त्यस्तो नेता मात्रै अब छान्न सक्नुपर्छ ।’

प्रकाशित: भाद्र २९, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार