समाचार

महानगरका मतदाता ‘अस्थिर’

- भूषण यादव, वीरगन्ज
‘तटस्थ मतदाताले जसको पक्षमा जनलहर छ उसैलाई भोट हाल्ने प्रवृत्ति देखिएकाले दलहरूले चुनावका दिन आआफ्ना उम्मेदवारको पक्षमा हुने गरी अनेकौं हल्ला चलाउँछन्’

भाद्र २९, २०७४-मधेस आन्दोलनपछि २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा पर्सा क्षेत्र नम्बर १ बाट तत्कालीन मधेसी जनअधिकार फोरमबाट करिमा बेगम ठूलो मतान्तरले विजयी भइन् । क्षेत्र नम्बर २ बाट कांग्रेसका अजय द्विवेदीले फोरमका शशिकपुर मियाँलाई पराजित गरे । दोस्रो संविधानसभामा बेगम र द्विवेदी उक्त क्षेत्रमा पराजित भए । यसअघि ०५६ को संसदीय चुनावमा पर्साको १ नम्बर क्षेत्रबाट कांग्रेसका कृष्णप्रसाद भट्टराई विजयी भएका थिए । 

 ०५१ को मध्यावधि निर्वाचनमा २ नम्बर क्षेत्रबाट राप्रपाका राजीव पराजुलीले जितेका थिए भने ०४८ मा कांग्रेसका आत्माराम ओझा विजयी भएका थिए । यसैगरी ०४९ मा भएको स्थानीय निर्वाचनमा वीरगन्जको मेयरमा कांग्रेसका माधवलाल श्रेष्ठ र उपमेयरमा अजय द्विवेदीले विजय हासिल गरेका थिए । ०५४ मा स्वतन्त्र समूहबाट विमल श्रीवास्तव मेयर र कांग्रेसका कृष्णमुरारि रौनियार उपमेयरमा विजयी भए । 

एकपटक जितेकालाई बारम्बार दोहोर्‍याइरहने प्रवृत्ति यहाँ देखिएको छैन । राजनीतिक जानकारका अनुसार वीरगन्ज महानगर कुनै दल विशेषको अखडा होइन । यहाँका मतदाताले सबै दल र व्यक्तिको प्रभाव हेरी मौका दिने गरेका छन् । महानगरको चुनावी प्रक्रियालाई विभिन्न ‘फ्याक्टर’ ले प्रभावित पर्दै आएको राजनीतिक विश्लेषक विनोद गुप्ताको बुझाइ छ । ‘आन्दोलन, जातीय समीकरण, समुदायगत विभाजनले पनि मतदानमा प्रभाव पार्छ,’ उनले भने, ‘कतिपय अवस्थामा उम्मेदवारले ल्याएको स्लोगनले पनि फरक पर्छ ।’ 

आर्थिक नगरी वीरगन्जमा व्यक्तित्व प्रभाव, उम्मेदवारको पैसा खर्च गर्ने क्षमता र कार्यकर्ता परिचालनले पनि तटस्थ मतदाता प्रभावित हँुदै आएका छन् । ‘मतदाता र राजनीतिक दलका चाहनाबीच एकरूपता देखिँदैन,’ ठाकुरराम बहुमुखी क्याम्पसका राजनीतिशास्त्रका प्रध्यापक हरेराम ठाकुर भन्छन्, ‘मतदाताले जहिले पनि परिवर्तन, विकास र समृद्धि चाहेका हुन्छन् ।’ 

दलप्रति प्रतिबद्ध नरहेका ‘नन पोलिटिकल’ मतदाताको पनि महानगरमा बाहुल्य छ जो अन्तिम अवस्थामा मात्र खुल्छन् । आर्थिक र व्यापारिक केन्द्र भएकाले जनस्तरमा राजनीतिप्रति खासै चासो देखिँदैन । ‘चुनावको अन्तिम अवस्थामा कसको पक्षमा लहर देखिएको छ, अधिकांश तटस्थ भोट त्यही उम्मेदवारको पक्षमा जान्छ,’ ठाकुरले भने, ‘तटस्थ मतदाता अहिले ‘वेट एन्ड सी’ को अवस्थामा छन् ।’ त्यस्तो लहर ल्याउन अधिकांश उम्मेदवारले हल्ला पनि फैलाउने गरेका छन् । पहिलो संविधानसभाको मतदान हुने दिन पनि विमल श्रीवास्तवले बेगमलाई सहयोग गरिदिए भन्ने हल्ला फैलाइएको थियो । विमलको पकड क्षेत्र मानिएको नगवा र छपकैयाका अधिकांश मतदाताले बेगमलाई मत हाले । विश्लेषक विनोद गुप्ताका अनुसार निर्वाचनको अन्तिम ४८ घण्टामा जसले ‘वेब’ सिर्जना गर्न सक्छ, तटस्थले उसैलाई मत हाल्ने प्रवृत्ति देखिन्छ । ‘न्यूट्रल मतदाता भोट खेर फाल्न चाहँदैनन्,’ उनले भने, ‘जो जित्ने उम्मेदवार हुन्छन् त्यसैलाई हाल्छन् ।’ मुलुकको कान्छो महानगरपालिका घोषणा गर्दा सरकारले पर्साको निर्वाचन क्षेत्र नम्बर १ र २ लाई गाभेको छ । १ सय ३२ दशमलव ७ वर्गकिमि क्षेत्रफल रहेको महानगरपालिकाको पूर्वमा बारा र दक्षिणमा भारतको विहार राज्यसँग सीमा जोडिएको छ । ३२ वडा रहेको महानगरमा १ लाख ८ हजार ५ सय १ मतदाता छन् । १६ गाउँका बासिन्दा बिनापूर्वाधार एकैपटक महानगरमा गाभिएका हुन् । 

तटस्थ मत तान्ने होड

असोज २ मा हुने स्थानीय चुनावमा मुलुककै ‘लाइफ लाइन’ वीरगन्जको परिणाम पक्षमा पार्न दलले सम्पूर्ण शक्ति प्रयोग गरिरहेका छन् । बुधबार जितिया पर्वका क्रममा मेयरका एक उम्मेदवारले ठूलो संख्याका महिलालाई साडी वितरण गरे । स्रोतका अनुसार भारतबाट मगाइएका ती साडी महानगरमा हालै गाभिएका गाविस र पिछडिएका क्षेत्रमा बाँडिएको हो । तटस्थ मतदाता आकर्षित गर्न हरेक पार्टीले विभिन्न प्रलोभन दिइरहेका छन् । भत्किएका सडकमा माटो पुर्ने, चापाकल वितरण, पिछडिएका महिलालाई सिलाइ मेसिन वितरणलगायत काम हुँदै छन् । 

दलहरूको आन्तरिक विश्लेषणअनुसार त्रिपक्षीय प्रतिस्पर्धा हुने अवस्थामा महानगर जित्न २०/२२ हजार मत आवश्यक पर्छ । स्थानीय तहको प्रथम र दोस्रो चरणको मतदान ट्रेन्ड हेर्दा यहाँ करिब ७० हजार मत खस्ने देखिन्छ । मधेसमा क्रस भोटिङ प्रवृत्ति र मतदाता शिक्षा प्रभावकारी नहुँदा १५ प्रतिशत जति मत बदर हुने सम्भावना छ । ‘संगठन र कार्यकर्ता हेर्दा कसैको पनि २० हजार मत पुग्ने देखिन्न,’ गुप्ता भन्छन्, ‘यो अवस्थामा आफ्ना कार्यकर्ता बाहेकका मत तान्न सके चुनावी परिणाम आफ्नो पक्षमा पार्ने देखिन्छ ।’ पिछडिएका समुदायलाई दलले बढी आर्थिक प्रलोभन दिने गरेका छन् । 

अघिल्लो संविधानसभा निर्वाचनमा तत्कालीन तराई–मधेस लोकतान्त्रिक पार्टीले मौन अवधिमा सुगौलीबिर्तामा मतदातालाई रकम वितरण गर्दा प्रहरीले कार्यकर्ता नियन्त्रणमा लिएको थियो । ‘यसपालि पनि मौनअवधिमा तटस्थ, गरिब, विपन्न वर्गको मत खरिदका लागि ठूलै रकम खर्च 

गर्ने योजनामा उम्मेदवार छन्,’ स्रोतले भन्यो, ‘विभिन्न वडाबाट पैसा माग हुन थालिसकेको छ तर अहिले नै पैसा निकाले अन्य दलले आफ्नो भन्दा बढी पैसा निकाल्न सक्ने भय पनि उम्मेदवारमा 

उत्तिकै छ ।’

प्रकाशित: भाद्र २९, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार