समाचार

बाढीपीडित भन्छन्– ‘भोको पेटले केको भोट ?’

- कुलचन्द्र न्यौपाने, अबधेशकुमार झा, मयनाकडेरी (सप्तरी)

भाद्र २६, २०७४-नजिकिँदै गरेको चुनावी सरगर्मीले गाउँ, सहर तातिरहेको छ । जिल्लाको पूर्वाेत्तर तिरहुत गाउँपालिकाको मयनाकडेरीका बासिन्दा भने रासनकै खोजीमा छटपटाइरहेका छन् । ठ्याक्कै एक महिना भयो, पालमुनिको बास । चन्द्र नहरको डिलमा पाल टाँगेर बसेका सय परिवारलाई चुनावमा भोट माग्न आउने नेताहरूका कुराले झन् पीडा थपिदिन्छ । ‘भोट जसरी पनि दिनुपर्छ भन्छन्, पार्टीका झन्डा टाँग्छन् अनि हिँड्छन्,’ मोहम्मद सिद्दिकीले दु:ख र आक्रोश एकैपल्ट पोखिन्, ‘पालमा बसेका छौं, खाने अन्नसम्म छैन । राहतमा पनि भेदभाव छ । यिनले चुनाव जितेर के पो गर्लान् र ?’

बाढीले घरबासविहीन भएको महिना बिते पनि पीडितका अनुहारमा खुसी ल्याउने कोही भएन । यही अस्थायी शिविरमा बस्दाबस्दै ६ जनाले ज्यान गुमाइसके । एकातर्फ बासको चिन्ता, अर्कोतर्फ पेटको । अरू त के सफा खानेपानीसम्म छैन शिविरमा । एउटै पालमुनि एउटा कुनामा चौपाया, अर्कोतिर मान्छेको ओछ्यान छ । ६० वर्षका सन्तोष राम भन्छन्, ‘चौपायासँगै बस्ने, धमिलो पानी पिउने बाध्यताले अधिकांश बिरामी परेका छौं ।’ तिरहुत–२ नवटोलियाका बुद्धिलाल रामले अस्थायी शिविरमा ५० भन्दा बढी बिरामी परेको सुनाए । उपचारको व्यवस्था कतैबाट भएको छैन । सबिना खातुन १५ दिनदेखि ज्वरोले कापिरहेकी छन् । पालमुनि सिरक ओडेर सुतिरहेकी उनले भनिन्, ‘१५ दिनदेखि ज्वरो छ, कतैबाट उपचारको व्यवस्था भएन । बाहिर उपचार गर्न जान पैसा छैन, अब यो जिन्दगी उपचार अभावमै समाप्त हुन्छ जस्तो लाग्छ ।’ 

मरियम खातुनको छोराको सातादेखि आँखा पाकेको छ । ‘कुनै उपाय नलागेपछि सयकडा पाँचका दरले पैसा खोजेर ल्याएको छु, अब छोरालाई उपचार गराउन लहान लैजान्छु,’ उनले सुनाइन् । गाँसबासकै समस्याले चाहेर पनि पीडितहरू चुनावतिर तानिन सकेका छैनन् । ‘हाम्रो पीडामा मल्हम लगाउने फुर्सद कुनै नेता र राज्यका अधिकारीलाई छैन,’ युसुफ मियाँले भने, ‘के खाने भन्ने चिन्ता छ अनि केको चुनाव लाग्नु ?’

शिविरमा ५० भन्दा बढी बिरामी छन् । अधिकांश बालबच्चा र बूढाबूढी । उनीहरूलाई ज्वरो, श्वासप्रश्वास, पेट दुख्ने समस्या छ । सरकारले औषधि त पठाएको छ तर के हुँदा कुन औषधि खाने भन्ने ज्ञान छैन । 

विनिता पण्डितका एक छोरा र तीन छोरी चार दिनदेखि ज्वरोले थलिएका छन् । उनले भक्कानिँदै भनिन्, ‘उपचार गरिदिनुहोस् न हजुर !’ 

६० वर्षीया मिश्रीदेवी त्यही शिविरमा बस्दाबस्दै बेसहारा भइन् । श्रीमान् छैनन् । दुई छोरा विनोद र राजुले मानसिक सन्तुलन गुमाए । ‘छोरा पनि यस्ता भए, अब म कसरी बाँचुँ ?’ अन्न खोज्दै भौंतारिइरहेकी उनले भनिन् । सहरका चोक र गल्लीहरूमा चुनाव प्रचार भइरहे पनि उनीहरूको पीडामा मल्हम लगाउन कोही आएका छैनन् । पार्टीको झन्डा र चुनाव चिह्न टाँगेर बारम्बार मोटरसाइकल ओहोरदोहोर गर्दा पीडितहरू झनै पीडा थपिएको बताउँछन् । पालमा रहेका सय परिवारमध्ये अधिकांशले यतिका दिनसम्म राहत पाएका छैनन् । उनीहरूका अनुसार सरकारले घोषणा गरेको दैनिक ७० रुपैयाँको राहत रकम अहिले जम्मा ३५ परिवारले मात्रै पाएका छन् । ‘बाढी आएको महिना बढी भइसक्यो, सरकारले ३५ परिवारलाई मात्रै राहत दिएको छ, अरूले खान पर्दैन ?’ पीडित मोहम्मद इसुदले भने, ‘सरकारले त भेदभाव गर्छ भने अरू कसले हेर्ला ?’

आइतबार एक विदेशी पुगेछन् राहत लिएर । थोरै भए पनि उनीहरूका लागि त्यो ठूलो राहत बन्यो । २५ केजी चामल, १ केजी दाल, च्यादर, तन्ना बोकेर विदेशी आउँदा पीडितले राहत महसुस गरे । ‘केही दिनका लागि भए पनि अब खाना पुग्यो,’ लक्ष्मण रामले भने, ‘तर भोट माग्ने उम्मेदवारहरू सपना मात्रै दिन्छन् । केही दिँदैनन् ।’

आकाश धुम्म हुँदा उनीहरूका मनमा त्रासको हुरी चल्छ । डेढ महिनाअघिको त्यो त्रासदी क्षण फेरि आउला कि भन्ने भयले ओठ काप्छ । शनिबार राति पानी पर्दा पनि उनीहरू रातभर जाग्राम बसे । यहाँ कति पानी पर्‍यो भन्दा पनि पहाडतिर कति पानी पर्‍यो भन्ने भयले उनीहरूलाई सताइरहन्छ । 

‘श्रीमान् बाढीले बिरामी भएर संसारबाट बिदा हुनुभयो, अब न घर छ न त खाने अन्न नै,’ तिरहुत गाउँपालिका २ मयनाकरेडीकी फगुनीदेवी रामले भनिन्, ‘लाग्या होला, नेतालाई भोट, हाम्रो त न घर छ न अन्न, केको भोट ?’ 

फगुनीका पति ६५ वर्षीय मिश्रीलाल रामको गत साउन २७ गते महुली खोलाको बाढी बस्ती पस्दा बिरामी भई २ साताअघि निधन भएको हो । फगुनीदेवी मात्र होइन, बाढीपछि तिरहुत २ का ६ जनाले समयमै उपचार नपाएर ज्यान गुमाएका छन् । ५५ वर्षीय जगदीश राम, ७० वर्षीय गर्जु राम, ६० वर्षीय नन्दीलाल ठाकुर, १८ वर्षीय मुरली मण्डल र ५० वर्षीय पुष्पेन्द्र अरगरियाको बाढीपछि बिरामी भई मृत्यु भएको स्थानीयले सुनाए ।

तिरहुत २ मा महुली खोलाको बाढीले गत असारमा पाँच स्थानमा तटबन्ध भत्काउँदै बस्ती पसेको थियो । उक्त बाढीको पीडाबाट उम्किन नपाउँदै पुन: साउन २७ गतेको बाढीले उनीहरूको घरबास उडाएको हो । 

महुली खोलाको बाढी गत असारमा आउँदा यहाँ प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री जनार्दन शर्माको भ्रमण भएको थियो । प्रधानमन्त्री र गृहमन्त्रीले बाढीपीडित कसैले भोको बस्नु नपर्ने, उपचारको उचित प्रबन्ध मिलाइने आश्वासन दिएका थिए । 

‘प्रधानमन्त्री आए मीठामीठा कुरा गरेर गए तर हामी भोकभोकै बस्न बाध्य छौं,’ स्थानीय प्रमिलादेवी रामले भनिन्, ‘के यो पालमुनि भोकै बस्नु हाम्रो जिन्दगी हो त ?’

तत्काल खाने मात्र होइन, उब्जाउ गर्ने खेत पनि बगरमा परिणत भएको छ । घरबारी हेर्दै गर्दा मनोज रामको आँखाबाट आँसु थामिएन । ‘ऊ त्यही घर हो मेरो,’ बगाएको घरमा टक्क अडिएका शौचालय देखाउँदै उनले भने, ‘वैशाखमा १२ लाख खर्चेर जग्गा किनें । घर बनाएर बसें । अहिले सुकुम्बासी भएँ ।’

बाढीबाट घरसँगै किताबकापी बगाएर लगेका कारण स्थानीय बालबालिका विद्यालय जान पाएका छैनन् । कक्षा ४ का प्रमोदकुमार यादवले भने, ‘एक महिनादेखि विद्यालय गएको छैन ।’ ‘हामीलाई धेरै कुरा चाहिएकै होइन,’ स्थानीय बुद्धिलाल खंगले भने, ‘बरु २–४ दिन भोकै बस्छु तर हामीलाई सधैं दु:ख दिने महुली खोलाको तटबन्ध पक्की निर्माण हुनुपर्‍यो ।’

पीडितहरू भोट खसाल्न जाने मनस्थितिमै छैनन् । मो. युसुफले भने, ‘यो अवस्थामा कसरी पालमुनि बच्चाबुच्ची छाडेर भोट खसाल्न जानु ?’ उनले आफूहरूलाई डुबान समस्याको स्थायी समाधान गरिदिने नेता चाहिएको बताए । ‘प्रतिबद्धता धेरैको सुनियो, प्रधानमन्त्री, गृहमन्त्रीदेखि सरकारी अधिकारी र स्थानीय साना–ठूला नेताको, के–के न हुन्छ जस्तो लाग्या थियो तर हाम्रो हालत उस्तै छ,’ सबिना खातुनले भनिन्, ‘महुली खोलाको बाँधलाई पक्की रूपमा निर्माण हाम्रो माग हो, यो माग पूरा गरिदिए मात्रै नेता मानौंला ।’

महुली खोलाको तटबन्ध पक्की रूपमा निर्माण नहुन्जेल आफूहरू घर फर्किन सक्ने अवस्था नरहेको पीडितले बताए ।

प्रकाशित: भाद्र २६, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार