समाचार

२६ वर्षदेखि एउटै माग- ‘पक्की सडक र बाँध’

- दीपेन्द्र बडुवाल, -लक्ष्मी साह, आदर्शकोतवाल (बारा)

भाद्र २५, २०७४-आदर्शकोतवाल गाउँपालिका–५ का प्रत्येक घरमा विभिन्न दलका झन्डा फहराइरहेका छन् । यहाँ धेरै घर फुसका छन् । झुरुप्प घर सामुन्ने केटाकेटी र महिला बढी देखिन्छन् । टोलको मुखैमा रहेको प्रतीक्षालयमा बस्तीका तन्नेरी र पाका पुस्ता बहसमा तल्लीन भेटिए । दुई दशकपछि हुन गइरहेको स्थानीय तह निर्वाचनमा उम्मेदवारसित राख्ने मागबारे उनीहरू छलफल गरिरहेका थिए । 

‘प्रत्येक चुनावमा धुरीमा झन्डा गाड्छौं,’ स्थानीय रामसुरेश यादवले भने, ‘तर हाम्रा माग पूरा भएका छैनन् ।’ घरदैलोमा आउने उम्मेदवारले स्थानीयका माग पूरा गर्ने वचन दिन थालेको २६ वर्ष भयो । यस अवधिमा धेरै केन्द्रीय निर्वाचन भए । यसअघि स्थानीय निर्वाचनमा पनि उनीहरूको खाँचो पूरा गर्ने बताएका थिए । ‘तर कसैले सुनुवाइ गरेनन्,’ उनले भने, ‘यसपालि पनि उम्मेदवारका चुनाव चिह्न अंकित झन्डा छन्, एजेन्डा छ्रैनन् ।’ उनका अनुसार क्षेत्र नम्बर १ मा एमालेबाट मुकुन्द न्यौपाने दुई पटक सांसद बने । कांग्रेसका उमाकान्त चौधरीले एक पटक जिते । २०६४ को संविधानसभा निर्वाचनमा सद्भावनाबाट सरोज यादव र २०७० मा कांग्रेसका रामअयोध्या यादवले जिते । 

सबै नेताले स्थानीयवासीको दैनिकीसित गाँसिएको तामागढी–सिम्रौनगढ सडक निर्माणको वाचा गरेका थिए । यस पटक गाउँपालिका प्रमुख/उपप्रमुखमा उम्मेदवार बनेकाहरू पनि यही सडक निर्माण पूरा गर्ने आश्वासन दिएर भोट मागिरहेका छन् । पूर्वपश्चिम राजमार्गलाई भारतीय सीमासित जोड्ने सडक स्थानीयका लागि महत्त्वपूर्ण छ । सधंै वर्षातमा बाढीले बगाउने सडकको हालत यतिखेर पनि नाजुक छ । अधिकांश ठाउँमा सडक बगेका छन् । धेरै स्थानमा खाडल र पोखरी बनेका छन् । कल्भर्ट भत्किएकाले हलुका सवारी पनि गुड्दैनन् । ‘गाउँमा एम्बुलेन्स पनि आउन सक्दैन,’ स्थानीय भोला मण्डलले भने, ‘बिरामीलाई बोकेरै अस्पताल पुर्‍याउनुपर्छ ।’ स्थानीयका अनुसार हुलाकी सडक आयोजनाले २०६८ मा सडक फराकिलो बनाएको थियो । यसमा गरिएको ग्राभेल बाढीले बगाएको छ । यही खण्डको टेढाकट्टीमा पक्की पुल निर्माण गरिएको छ । तर दायाँबायाँ ‘एप्रोच’ सडक निर्माण नगरिएकाले पुल अलपत्र छ । पुल नजिकै यसपालि बाढीले ५० मिटरभन्दा बढी सडक बगाएको छ, जसले यातायात आवागमन अवरुद्ध छ । मोटरसाइकल जोखिम मोलेर खोलाबाटै तार्ने गरिएको छ । 

जिल्लाका २५ भन्दा बढी गाउँका बासिन्दा सिँचाइका लागि चुरेबाट उत्पन्न अडुवा खालाको पानीमा निर्भर छन् । तर आदर्शकोतवाल–६ स्थित टेढाकट्टीमा पक्की बाँध निर्माण नगरिएकाले स्थानीय पीडित छन् । पक्की बाँध निर्माण गरेर सबै गाउँलाई पुग्ने गरी समानुपातिक ढंगले पानी वितरण गरिनुपर्ने माग स्थानीयको छ । ‘सधैं माटोका चपरी हालेर बाँध निर्माण गर्छौं,’ स्थानीय लाखीचन साहले भने, ‘पानी बढ्नासाथ बग्छ ।’

यहाँका अधिकांश किसान आकाशेपानीमा निर्भर छन् । गाउँका हुनेखानेले बोरिङ गाडेका छन् । ‘पक्की बाँध बनाएर बराबर पानी बाँड्नुपर्छ,’ स्थानीय नागेन्द्र साह कानुले भने, ‘सधैं पानीका लागि मारामार चल्छ ।’ यहाँका बासिन्दा कुलोमा कच्ची बाँध निर्माण गर्छन्, जसले तलका गाउँमा पानी पुग्दैन । पानी नपाएका बस्तीका बासिन्दा आएर बाँध भत्काउँछन् ।

‘सधैं विवाद चल्छ,’ स्थानीय पारस साह कानुले भने, ‘जसले हाम्रो माग पूरा गर्छ, उसैलाई भोट दिने हो ।’ यस कुलोबाट जिल्लाको पूर्वी क्षेत्रका भगवानपुर, कर्चहवा, टेटा, पटेरवा, सिम्रौनगढ, चिक्निबेलधारी, रौतहटको सर्मजुवा, पत्थरालगायत स्थानमा सिँचाइ पुग्छ । उनीहरू घरदैलोमा आउने उम्मेदवारसित पक्की बाँध निर्माणको माग गर्छन् । सबै उम्मेदवारले चुनाव जितेपछि बनाइदिने आश्वासन दिएको उनीहरूले बताए । 

चुनावले ‘आशावादी’

दुई दशकपछि मुखिया (स्थानीय तह) को चुनावले यहाँका बासिन्दालाई आशावादी बनाएको छ । दैनिक ज्याला/मजदुरी र खेतपातीबाट गुजारा चलाउँदै आएका उनीहरूलाई जनप्रतिनिधि चुनिएपछि विकास निर्माणले गति लिने आशा छ । ‘गाविसमा सचिव हुँदा हामीले विकास देखेनौं,’ स्थानीय प्रभुप्रसाद यादवले भने, ‘गाउँका टाठाबाठाले बाँडीचुँडी बजेट सिध्याए ।’ जनप्रतिनिधि नभएकाले गाउँलेले गल्ती औंल्याउन सक्ने अवस्था थिएन । ‘कर्मचारीले कागजमा मिलाएर बजेट खान्थे,’ स्थानीय भोला मण्डलले भने, ‘गाउँकै मुखिया भएपछि खान पाउँदैन ।’ यस पटक चुनिएर बदमासी गरेमा अर्को चुनावमा जनताले हराउने डरले पनि जनप्रतिनिधिले माग पूरा गर्ने विश्वास उनीहरूको छ । स्थानीय झबुलाल साहले जनप्रतिनिधि नहुँदा विपन्नको गुनासो सुन्ने कोही नभएको बताए । उनको गाउँ आदर्शकोतवाल–६ पटेरहवामा बिजुलीको ट्रान्सफर्मर बिग्रेको ५ महिना पुग्यो । अहिले बिजुली बल्दैन । उनीहरूले गाउँले अगुवामार्फत नयाँ ट्रान्सफर्मरका लागि प्रतिपरिवार एक सय दरले रकम संकलन गरेर २५ हजार रुपैयाँ विद्युत् कार्यालयमा बुझाए । कार्यालयले कम क्षमताको ट्रान्सफर्मर दियो । ‘नधान्ने भएपछि फिर्ता गर्‍यौं,’ स्थानीय रामजिनिस साहले भने, ‘गाउँकै मुखिया भएपछि यस्तो दु:ख नहोला ।’

सडकका लागि ‘सहिद’ 

व्यवस्थित सडक निर्माणका लागि यहाँ सहिद भएका छन् । तीन वर्षअघि सदरमुकाम कलैयादेखि मुलुककै ऐतिहासिक र पुरातात्त्विक स्थल सिम्रौनगढसम्म जोड्ने गण्डक नहरको सडक निर्माणका लागि भएको आन्दोलनमा हरिहरपुरका जयनारायण पटेलले सशस्त्रको गोलीबाट ज्यान गुमाए । २०५४ ताका जनप्रतिनिधि भएका बेला जिल्लाको दर्जन कृषि सडक निर्माण भएको थियो । तर जनप्रतिनिधिको कार्यकाल २०५९ मा सकिएयता ती सडक टालटुलकै भरमा छन् ।

सडकको न स्तर सुधार भयो, न त पिच भयो । ग्राभेल र माटो पुर्ने खुद्रे बजेट खर्चेर राजनीतिक दल आबद्ध कार्यकर्ता रमाए । पूर्व–पश्चिम हुलाकी मार्गको कलैया–वीरगन्ज १२ किमि र कलैया–बरियारपुर खण्डबाहेक जिल्लामा कालोपत्रे सडक छैन । ‘२० वर्षे जनप्रतिनिधिविहीन अवस्थामा न कर्मचारीले सडकको विकास गरे न त राजनीतिक दलका संयन्त्रले नै,’ आदर्शकोतवालका गाउँपालिकाका स्थानीय लेख महम्मदले भने, ‘कागज मिलाएर खाए, अबका जनप्रतिनिधिले त्यस्ता सडक बनाउने आस लागेको छ ।’ दुई दशकदेखि जिल्लामा सडकको अवस्था नाजुक छ । सडकमा यातायात सञ्चालन गर्न जिल्ला समन्वय समितिले कर असुलीका लागि ठेक्का लगाउँछ । तर ठेक्काको आम्दानी सडक सुधारमा खर्चिंदैन । बर्सेनि यातायात समितिले सडक सुधारका लागि आन्दोलन गर्दै आएको छ । केही साताअघि आएको बाढीले सडक हालत बिजोग छ । 

 

प्रकाशित: भाद्र २५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार