समाचार

मुहार फेर्ला राजविराजले ?

- अवधेशकुमार झा, राजविराज
तराई–मधेसको पहिलो र ऐतिहासिक यो नगरपालिकाको मुहार फेर्ने प्रतिबद्धतासहित मेयरका उम्मेदवारहरु चुनावी मैदानमा होमिएका छन् । खाल्डाखुल्डी र फोहोरको थुप्रोमात्र देखिने नगरको विकास–निर्माणका योजनासहित दैलोदैलोमा पुगेर मत मागिरहेका छन् ।

भाद्र २४, २०७४-मुलुककै पुरानो नगरमध्ये एक राजविराज भारत, जयपुरको नक्साअनुसार नेपालमा पहिलो पटक टाउन प्लानिङ गरी बस्ती विकास गरिएको नगर हो । सगरमाथा अञ्चल र सप्तरी जिल्ला सदरमुकामसमेत रहेको यो सहर मुलुककै चौथो र मधेसको पहिलो नगरपालिका पनि हो । यहींबाट राजनीति गरेर थुप्रै नेता नीतिनिर्माण तहसम्म पुगे तर नगरको विकासतर्फ कहिल्यै ध्यान दिएनन् । 

ऐतिहासिक साख जोगाउनै हम्मे छ अहिले यो नगरलाई । सहरका मुख्य सडक खाल्डाखुल्डीले भरिएका छन् । पानी पर्दा माछापोखरीझैं बन्छन् । भित्री गल्लीका सडकको अवस्था झन् जर्जर छ । अधिकारका नाममा भएका आन्दोलनमा राजविराजबाट पहाडी समुदाय पलायन हुँदै जादा नगरको आर्थिक कारोबार त खस्कियो नै, विकासको क्रम पनि अधोगतितर्फ धकेलिएको छ ।

राजविराज नगरपालिकामा पछिल्लो समय विभिन्न गाविस जोडिएका छन् । थपिएका ग्रामीण क्षेत्रका सडकको अवस्था झन् नाजुक छ । फोहोर विसर्जन यहाँको अर्काे मुख्य समस्या हो । दैनिक १० टन फोहोर उत्सर्जन हुने यस नगरपालिकाले ५ टन पनि विसर्जन गर्न सक्दैन । सडकमै फोहोर फाल्नु नियतिझैं देखिन्छ । २० वर्षपछि राजविराजले पनि जनप्रतिनिधि चुन्दै छ । मेयरका उम्मेदवारहरू प्रचारका क्रममा सहरको विकासका खाका प्रस्तुत गरिरहेका छन् । तर समस्यै समस्याबाट ग्रसित राजविराजको विकास र ऐतिहासिकता संरक्षण सहज भने छैन । उम्मेदवारहरूले ३ महिनादेखि ५ वर्षसम्मको समयसीमा तोकेरै विकास निर्माणका आश्वासन दिइरहेका छन् । आम मतदाता भने नेताका आश्वासनमा भन्दा राजविराजको साख जोगाउने नेतृत्व चुन्ने जोडघटाउमा देखिन्छन् ।

२०१६ सालमै नगरपालिका घोषणा भएको राजविराज सरसफाइ, स्वास्थ्य, शिक्षालगायत मानवीय आवश्यकता पूर्तिका सवालमा निकै पछाडि छ । औद्योगिक कलकारखाना छैनन्, विमानस्थल वर्षौंदेखि बन्द छ । व्यापार व्यवसाय चौपट हँुदै गएको छ । अञ्चल अस्पताल रेफरल सेन्टरजस्तो भइसकेको छ । १९.१ प्रतिशत नगरवासी गरिबीको रेखामुनि छन् । राजतन्त्र, पुन:स्थापित प्रजातन्त्र, लोकतन्त्र (गणतन्त्र) सबै व्यवस्थामा सप्तरीका नेता मन्त्रीसहित उच्च ओहोदामा पुगे तर राजविराजको यात्रा कहिल्यै उभो लागेन । 

राजविराज सदरमुकाम बन्नुअघि १२ किमिपूर्वको हनुमाननगर बजार सप्तरी मुकाम थियो । झापादेखि कमला नदीसम्मको जग्गाजमिनको कारोबार हुने अमिनी कार्यालय हनुमाननगरमै थियो । गोश्वारा कार्यालय पनि त्यहीं थियो । राजविराज नगरपालिकाका पूर्वप्रधानपञ्च गोविन्द सिंहका अनुसार १९९७ मा सप्तकोसीले हनुमाननगर बजार कटान गर्न थालेपछि नयाँ सदरमुकामको खोजी सुरु भयो । विकल्पका रूपमा राजविराज चयन भयो । पूर्वमा आदर्श ग्रामपञ्चायत पडरिया र पश्चिममा खर्साल बीचको जंगल–झाडी हटाएर नगर बसाउने योजना त्यही बेला सुरु भएको सिंह बताउँछन् । नेपालकै पहिलो नहर चन्द्रनहरको बरमझियास्थित कार्यालयका इन्जिनियर नरमर्दन थापालगायतले नगर बसाउने योजना तयार पारेका थिए ।

अर्का इन्जिनियर मिन्टोजङ राणालाई भारतको प्रसिद्ध सहर जयपुर पठाएर त्यहाँको नक्सांकन मगाइयो । जयपुरकै नक्साका आधारमा २००३ सालमा राजविराज नगर बसाइएको हो । सुरुमा ६० बिघा क्षेत्रफलमा राजविराज नगर विकास गरिएको थियो । हरेक तीन प्लटपछि सडक, हटियाको छुट्टै व्यवस्थापनका साथै अड्डा लाइन, गल्ला लाइन, कचहरी लाइन, आवास लाइन, मनिहारा लाइनलगायत छुट्टाछुट्टै सेक्टरअनुसार बजार क्षेत्र विस्तार गरिएको थियो । सरकारी अधिकारीको आवास व्यवस्थापनका लागि थप आठ बिघा र अन्य दुई बिघा गरी ७० बिघा क्षेत्रफलमा सदरमुकाम बसाइएको सिंहले बताए । राजविराजलाई २०१६ सालमा नगरपालिका घोषणा गरिएको थियो । त्यसअघि नै २००३ सालमा पवि मावि, २०१४ सालमा महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस स्थापना भएको थियो । तत्कालीन निर्माण तथा यातायातमन्त्री गणेशमान सिंहले २०१६ सालमै विमानस्थल उद्घाटन गरेका थिए । २०२४ सालमै विद्युतीकरण, खानेपानी र सडक विस्तारको काम भएको थियो ।

मुलुककै पुरानो नगर राजविराजको ओरालो यात्राका पछाडि धेरै कारण छन् । भारत र पहाडसितको सम्पर्कविच्छेदलाई प्रमुख कारण मान्छन् जानकारहरू । पूर्व–पश्चिम महेन्द्र राजमार्ग निर्माण हँुदा कोसी ब्यारेज भारदह हँुदै राजविराजको उत्तरी क्षेत्र बसबिटीबाट सर्भे डिजाइन भएको थियो । त्यति बेला राजविराजकै चतुर्भुजप्रसाद सिंह मन्त्री थिए । तर षड्यन्त्रपूर्वक त्यसलाई राजविराजबाट १० किमि  उत्तर सारियो । यही कारण राजविराजको आर्थिक गतिविधि ठप्प भएको पूर्वमेयर शैलेशकुमार चौधरी सुनाउँछन् । ‘सदरमुकामलाई राजमार्गबाट अलग्याउने काम भयो,’ पूर्वप्रधानपञ्च सिंहको भनाइ पनि उही छ ।

अर्को कारण कुनौली–राजविराज सडकको दुरवस्था हो । निर्मलीसम्म रहेको भारतीय रेलहेडलाई कुनौली हुँदै राजविराजसम्म जोडेर फाइदा लिन सकिन्थ्यो तर यो सडक वर्षौंदेखि जीर्ण छ । सप्तरीकै पहिलो पिच रोड पुनर्निर्माणमा कसैले चासो दिएन । रुपनी–गाईघाट ३६ किलोमिटर सडक पटक–पटक डिजाइन भए पनि अझै निर्माण हुन सकेको छैन । यसले राजविराजलाई पहाडी जिल्लासँग जोड्न दिएन ।

निजी केहीबाहेक अधिकांश सामुदायिक विद्यालयको पठनपाठन खस्किँदो छ । एक मात्र महेन्द्र विन्देश्वर बहुमुखी क्याम्पस पनि पुरानै शैलीमा चलिरहेको छ । कुनै बेला विज्ञान र कानुनका लागि चर्चित यस क्याम्पस चरम राजनीतिले शिथिल छ । चिकित्साशास्त्रतर्फ युनिक र छिन्नमस्ता क्याम्पसले केही राम्रो गरेका छन् ।

यहाँ भरपर्दो स्वास्थ्य सेवा छैन । सगरमाथा अञ्चलकै सदरमुकाम राजविराजमा २०३० सालमा स्थापित सय शय्याको सगरमाथा अञ्चल अस्पताल (पछि नाम परिवर्तन भई गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल) ‘रेफरल सेन्टर’ मा परिणत भएको छ । प्रसूतिबाहेक अन्य शल्यक्रिया हुँदैन । स्रोतसाधन र दक्ष जनशक्ति अभावले आकस्मिकका अधिकांश बिरामी तुरुन्त रिफर गरिन्छ । औद्योगिक क्षेत्र र विमानस्थल सञ्चालन नहुँदा पनि राजविराजले काँचुली फेर्न नसकेको हो । २०४२ सालमा स्थापित औद्योगिक क्षेत्र लगानीकर्ता अभावले फस्टाउनै सकेन ।

२०१६ सालमा उद्घाटित राजविराज विमानस्थल बन्द छ । १ हजार ६ मिटर लामो रन–वे रहेको मुलुकको दोस्रो ठूलो विमानस्थल सञ्चालनमा ल्याउन दुई वर्षअघि मर्मत थालिए पनि बजेट अभावले पूरा हुन सकेन । कुनै बेला खेलकुद गतिविधिमा चर्चित राजविराजमा खेल गतिविधि र रंगशालाको अवस्था पनि उस्तै छ । मुलुकलाई क्रिकेटबाट अन्तर्राष्ट्रिय स्तरमा चिनाउने खेलाडी महबुब आलम राजविराज रंगशालाबाटै आफ्नो क्रिकेट यात्रा सुरु गरेका थिए । दीपेन्द्र चौधरी, पवन दासलगायतले यही रंगशालामा अभ्यास तथा प्रतियोगात्मक खेल खेलेका थिए । तर, सप्तरीकै एक मात्र रंगशाला वर्षाैंदेखि जीर्ण छ ।

प्रतिस्पर्धी उम्मेदवारका योजना

राजविराजको मेयर प्रतिस्पर्धामा रहेकाहरूले आफूले जिते नगरको मुहार फेर्ने दाबी गरिरहेका छन् । मेयर प्रतिस्पर्धामा रहेकामध्ये २ जनाले यसअघि पनि नगरको नेतृत्व सम्हालिसकेका छन् । माओवादी केन्द्रबाट मेयर उम्मेदवार अनिश अन्सारी २०३९ सालमै राजविराज नगरको प्रधानपञ्च थिए । पूर्वआपूर्ति सहायकमन्त्रीसमेत रहेका अन्सारी २ साताअघि मात्र माओवादी केन्द्र प्रवेश गरेका थिए । 

‘त्यतिबेला स्रोतसाधन थिएन तर अहिले भएका स्रोतसाधन परिचालन राम्ररी गर्न सकिए राजविराजलाई नमुना र सुन्दर सहर बनाउन सकिन्छ,’ प्रचार दौडमा रहेका अन्सारीले भने, ‘ऐतिहासिक सुन्दर सहर राजविराज अहिले कुरूप भयो, यहाँबाट नागरिक पलायन रोकेर भएका स्रोतसाधन इमानदारीपूर्वक परिचालन गर्न सकिए सुन्दर सहरका रूपमा विकास गर्न सकिन्छ ।’

कांग्रेसबाट मेयर प्रतिस्पर्धी धु्रव देवसँग पनि राजविराज बनाउने अठोट छ । ‘२१आंै शताब्दी अनुसारको स्मार्ट सिटीका रूपमा राजविराजको विकास गर्छु,’ उनले भने, ‘जहाँ इच्छा हुन्छ त्यहाँ उपाय भइहाल्छ, स्थानीय स्रोत र सरकार तथा अन्तर्राष्ट्रिय सहयोगले राजविराजलाई समयानुकूल परिवर्तन गर्छ‘ ।’ संघीय समाजवादी फोरमका उम्मेदवार भीमराज यादवले भ्रष्टाचारले यो नगर कुरूप बनाएको बताए । ‘राजविराजभन्दा पछिका सहर कहाँबाट कहाँ पुगे तर यहाँको विकास, शिक्षा, स्वास्थ्य सबै धराशायी भयो,’ उनले भने, ‘मैले जिते ३ महिनाभित्रै योजनाबद्ध विकास देख्न सकिनेछ ।’

अर्का प्रतिस्पर्धी राष्ट्रिय जनता पार्टीका शम्भु यादवले समस्याकै बीचबाट विकासको बाटो निस्कने बताए । ‘समस्या छन् तर समाधान नै नहुने खालका भने होइनन्,’ यादवले भने, ‘जनचाहनाअनुरूप काम गर्न सकिए जनताकै साथबाट पनि धेरै समस्या समाधान हुन सक्छ ।’ नगर विकासका लागि १०१ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरेका एमालेका उम्मेदवार सुखराम यादवले भने, ‘क्लियर भिजन भए विकास गर्न सकिन्छ, कृषि विकास, रोजगार र बाटोघाटोको समस्या समाधान गर्न सकिए नगरपालिकाको विकास गर्न धेरै दिन कुर्नु पर्दैन ।’ 

मेयर प्रतिस्पर्धामा रहेका लोकतान्त्रिक फोरमका जिल्ला अध्यक्ष शैलेशकुमार चौधरीले ‘स्थानीय निकायमा प्राप्त अधिकार र स्रोतलाई परिचालन गर्न सक्ने क्षमतावान व्यक्तिका लागि राजविराजको विकास धेरै टाढा नभएको’ बताए । ‘मूल समस्या फोहोर व्यवस्थापन, ढल निकास र विकासलाई प्याकेजमा समाधान गरी समुन्नत सहर बनाउने छु ।’

प्रकाशित: भाद्र २४, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार