देश

‘रूख चढेर ज्यान जोगायौं’

- शिव पुरी, माडी (चितवन)

श्रावण २९, २०७४-माडी–२ भैरवपुरकी २७ वर्षीया समा परियारको परिवारले शनिबार बिहानदेखि केही खान पाएको छैन । चितै खोलाको बाढीले घर डुबेपछि उनीहरूका लत्ताकपडा, खाद्यान्न सबै बगे । शुक्रबार राति १० बजेदेखि घरमा पानी पस्न थालेपछि उनीहरूले नजिकको पीपलको रूखमा चढेर ज्यान जोगाए । ४ घण्टा त्यहीँ झुन्डिएर बिताए । बिहान पानी कम भएपछि मात्र भुइँमा झरे ।

भैरवपुरस्थित दलित बस्तीमा ३ घर मात्र छन् । ‘यस्तो बाढी कहिले देखेको थिइनँ,’ समाले भनिन् ‘बल्लतल्ल ज्यान जोगाइयो ।’ पानीको सतह बढेपछि सबै परिवार घरका समान छाडेर ज्यान जोगाउन बालबालिका च्यापेर रूख चढेका थिए । बालबालिकालाई जेनतेन खुवाए पनि अभिभावक भोकै रहे । खोला नजिकै भएकाले चितैमा ठूलो बाढी आउनासाथ उनीहरूको घर डुबिहाल्छ । 

सुत्केरी बस्न आएकी सविता परियारले चार महिनाको दुधे बालक बोकेर रूख चढ्नुपर्दा निकै पीडा भएको सुनाइन् । ‘राति घर डुबेपछि अभिभावकले तानेर रूख चढाए,’ उनले भनिन्, ‘तर, पानी परिरह्यो ।’ माडीका कतिपय बासिन्दा घरको छतमा बसेर जोगिएका थिए । 

रियु र चितै खोलामा आएको बाढीले माढीमा १६ घरमा क्षति पुगेको छ । १० वटा पुल बगेकाले यातायात बन्द छ । पैदल आउजाउ गर्नसमेत मुस्किल छ । बाढीबाट जोगाउन बनाइएका १२ वडा ड्याममा क्षति पुगेको प्रजिअ नारायणप्रसाद भट्टले जानकारी दिए । उनका अनुसार ३ सय घरमा आंशिक क्षति पुगेको छ । १५ वटा माछापोखरीमा क्षतिग्रस्त छन् । 

वसन्तपुर क्षेत्रमा टेलिफोन सेवा अवरुद्ध छ । एक महिनायता विद्युत् आपूर्तिसमेत छैन । खानेपानीका धेरैजसो धारा बिग्रिएका छन् । पुन: बाढी आउन सक्ने भन्दै मानिसहरू सडकमा बसिरहेका छन् । विस्थापितलाई खाना र बासको समस्या परेको छ । उनीहरूलाई छिमेकीका घर, स्कुल र अन्य स्थानमा बस्ने व्यवस्था मिलाउन प्रजिअ भट्टले जनप्रतिनिधिलाई अनुरोध गरेका छन् । 

बाढीमा फसेकाको उद्धारका लागि प्रजिअसहित सुरक्षा अधिकारी, सेना, सडक, खानेपानी, जनस्वास्थ्य, रेडक्रस सहितको टोली पुगेको थियो । माडीका मेयर ठाकुरप्रसाद ढकाल बाढीबाट धेरै क्षति पुगेको बताउँछन् । उनी बिहानदेखि उद्धारमा खटेका थिए । माडी–१ वनकट्टाका ६७ वर्षीय यमबहादुर अधिकारी घर डुबेपछि परिवारका सदस्यसहित छानामा चढेर जोगिएको बताउँछन् । माडीमा २०६७ सालमा आएको बाढीले ठूलो क्षति पुगेको थियो ।

प्रकाशित: श्रावण २९, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार