देश

लापरबाहीले वीरगन्ज ‘अस्तव्यस्त’

- भूषण यादव, वीरगन्ज

श्रावण २९, २०७४-निर्धारित समयमै मझौला सहर एकीकृत वातावरणीय सुधार परियोजनाअन्तर्गत वीरगन्जको ढल र फोहोर व्यवस्थापन परियोजना पूरा भइदिएको भए वर्षात्मा नगरवासीले सास्ती खेप्नुपर्ने अवस्था आउँथेन । तर ठेकेदार कम्पनी र नियमन निकायको लापरबाहीले वीरगन्ज महानगरपालिका अहिले अस्तव्यस्त बनेको छ । 

महानगरवासी लामो समयदेखि सहज आवागमनबाट वञ्चित बनेका छन् । भित्री सडकमा साना सवारी चल्ने अवस्था छैन । नाला निर्माणका लागि ठेकेदारले खनेका सडक हिलाम्मे बनेका छन् । 

बालबालिकालाई जुत्ता लगाएर विद्यालय जान अप्ठ्यारो छ । अधिकांश नाला निर्माणको कार्य सम्पन्न भइसके पनि निर्माण कम्पनीले सडक कालोपत्रे नगर्दा हिँडडुल गर्न समेत समस्या छ । मूल्य अभिवृद्धि करसहित २ अर्ब ४८ करोड ३६ लाख रुपैयाँमा चिनियाँ निर्माण कम्पनी र कालिका कन्स्ट्रक्सनले निर्माण सम्झौता गरेका थिए । 

एसियाली विकास बैंकको अनुदान, नगर विकास कोषको ऋण र वीरगन्ज महानगरपालिकाको समपूरक रकमले आयोजना सञ्चालन भएको हो । योजनाअन्तर्गत सहरभित्र ५३ किलोमिटर नाला बनाउनुपर्ने छ । २०१४ मार्च २४ मा सुरु भएको परियोजना गत वर्ष नै सम्पन्न भइसक्नुपर्ने थियो । ३ पटक म्याद थपिएको परियोजना अगामी नोभेम्बर महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको मझौला सहरी विकास परियोजना कार्यालयले जनाएको छ । परियोजनाअन्तर्गत हालसम्म ८० प्रतिशत काम सम्पन्न भएको छ । सहरी विकास योजनाको काममा ठेकेदारले चरम लापरबाही गरेको भन्दै गत साउन १५ मा संसदीय विकास समितिले उच्चस्तरीय प्राविधिक समितिमार्फत अनुगमन गर्न सहरी विकास मन्त्रालयलाई निर्देशन दिएको थियो । समितिले निर्देशन दिएको भोलिपल्ट परियोजनाका ठेकेदार कम्पनीले नियमन गर्ने निकाय र वीरगन्ज महानगरपालिकाका कार्यकारी अधिकृत लगायतका माथिल्ला कर्मचारीलाई एक साता चीन भ्रमणमा लगेको छ । ठेकेदारलाई नियमन गरी निर्माण कार्यमा तीव्रता दिलाउनुको सट्टा उसैको पैसामा कर्मचारी विदेश भ्रमणमा गएको भन्दै स्थानीयले आक्रोश पोखेका छन् । 

विकास निर्माण कार्य योजनाबद्ध रूपले गर्नुपर्नेमा ठेकेदारले भद्रगोल तरिका अपनाएर वीरगन्जलाई अस्तव्यस्त पारेको रानीघाटका सरोज बस्नेतले गुनासो गरे । ‘अव्यवस्थित निर्माणले नगरवासीलाई धेरै सास्ती भयो,’ उनले भने, ‘नियमन निकाय पनि फितलो देखियो ।’ जिल्ला अदालत, जिल्ला समन्वय समिति र नारायणी यातायात व्यवस्था कार्यालय अगाडिको सडक निर्माण नहुँदा सेवाग्राही मारमा परेका छन् । पानीले निकास नपाउँदा सामान्य वर्षा हुँदा पनि मुख्य व्यापारिक केन्द्र आदर्शनगर, जिल्ला प्रशासन कार्यालय क्षेत्र, रानीघाट, नगवा, इनर बाइपास लगायतका क्षेत्र डुबानमा पर्ने गरेका छन् । नाला निर्माणको सम्पूर्ण कार्य सम्पन्न भइसकेपछि एकैपटक सबै सडक पक्की गरिने परियोजनाका इन्जिनियर शैलेन्द्र श्रेष्ठले बताउँदै आएका छन् । 

मुख्य नाकाको सडक जीर्ण

आयात/निर्यातका लागि मुलुकको प्रमुख नाकाको सडक जीर्ण बनेको छ । वीरगन्ज महानगरपालिकाको बाइपास सडक खण्ड खाल्डाखुल्डीले भरिएको छ । पानी पर्दा झन्डै ४ किलोमिटर लामो उक्त सडकका खाल्डाखुल्डी साना पोखरीमा परिणत हुने गरेका छन् । दिनहुँ मालवाहक सवारी बिग्रिने गरेका छन् । सडक मर्मत सम्भारका लागि यातायात व्यवसायीले गत साता सडक अवरुद्धसमेत गरेका थिए । महानगरपालिका कार्यालय र सडक डिभिजन कार्यालयले मर्मत सम्भारका लागि प्रतिबद्धता 

जनाएपछि ३ घण्टाको अवरोधपछि सडक खुलाइएको थियो । 

वीरगन्जको गण्डक, लक्ष्मनवा, बसपार्क, रजतजयन्ती चोक हुँदै मालवाहक सवारी वीरगन्ज भन्सार कार्यालय पुग्नका लागि उक्त सडक निर्माण गरिएको हो । भन्सार राजस्व बुझाएर सोही सडक हुँदै मालवाहक सवारी मुलुकका विभिन्न सहरमा जाने गरेका छन् । सरकारलाई दैनिक करिब २५ करोड रुपैयाँ राजस्व बुझाउने नाकाको सडक जीर्ण बन्दा पनि सरोकारवाला निकाय मौन बसेको यातायात व्यवसायीले आरोप लगाएका छन् । बसपार्क, लक्ष्मनवा, ब्रह्मस्थान र नगवा क्षेत्रमा मालवाहक सवारी गुड्ने अवस्थामा नरहेको नारायणी यातायात व्यवसायी संघका क्षेत्रीय उपाध्यक्ष विनोद मानन्धरले बताए । 

‘महानगरपालिका, स्थानीय प्रशासनदेखि लिएर सडक डिभिजन कार्यालयसम्मलाई पटकपटक सडकको अवस्थाबारे ध्यानाकर्षण गरायौं,’ उनले भने, ‘तर, कसैले चासो लिँदैनन् ।’ उक्त सडक खण्डमा दैनिक हजारभन्दा बढी सवारीसाधन गुड्ने गरेका छन् । चालु आर्थिक वर्षमा महानगरपालिकाले सोही सडकमा ४ करोड १० लाख रुपैयाँको पिठिया र सवारी कर संकलनका लागि ठेक्का लगाएको छ । 

प्रकाशित: श्रावण २९, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार