देश

बाढीले उठीबास

- मध्यपश्चिम ब्युरो, नेपालगन्ज
पाँचको मृत्यु, एक बेपत्ता, सयौं घर डुबानमा, यातायात अवरुद्ध ***घरको छतमा बसेर उद्धार पर्खाइ, पानी पसेर अन्न भिज्यो

श्रावण २९, २०७४- भीषण वर्षापछि आएको बाढीले पश्चिम तराईका बाँके, बर्दिया र दाङ डुबानमा परेका छन् । बाढीकै कारण पाँच जनाको ज्यान गएको छ । बाँकेमा तीन र दाङमा एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बाँकेको राप्तीसोनारी–४ लालपुरका एकै परिवारका तीन जना छन् । राप्तीपारिका फत्तेपुर, बैजापुर, सोनवर्षा, भगवानपुर र बाबुपुर गाउँमा दर्जनौं घर भत्किएका छन् । बाढीले तीन हजारभन्दा बढी सर्वसाधारण विस्थापित भएको प्रहरीले जनायो । 
शुक्रबार राति बाढी पसेर घर भत्किँदा कविराज थारूका छोरीहरू १२ वर्षीया अञ्जु, ९ वर्षीया सरिता, 
७ वर्षीया सुस्मिताको ज्यान गएको हो । कविराज मजदुरीका लागि पोखरामा छन् । बाढीमा फसेकी कविराजकी पत्नी फूलकुमारी गुहार माग्दै बाहिर निस्किएपछि घर भत्किएको थियो । तीन छोरी भाग्दै गर्दा ढोकानजिकै च्यापिएको छिमेकीले बताए । बाढीमा फसेपछि फूलकुमारी सम्पर्कविहीन थिइन् । उनी शनिबार दिउँसो अरूको घरमा आश्रय लिइरहेको अवस्थामा भेटिइन् ।
 
बाँकेको डुडवाका स्थानीयलाई डुंगामा राखेर उद्धार गर्दै सशस्त्र प्रहरी । तस्बिर : ठाकुरसिंह थारू/कान्तिपुर
बाढीमा डुबेको अवस्थामा एक शव पनि फेला परेको छ । उनी को हुन् भन्ने पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । सिक्टा सिँचाइ योजनाको राजकुलोतर्फको ‘साइफन’ भत्किएपछि राप्तीसोनारीको लालपुरमा तीन दर्जन र खैरनीमा आधा दर्जन घर भत्किएको स्थानीय हेमन्त चौधरीले जानकारी दिए । घर डुबानमा परेपछि सयौं सर्वसाधारण सुरक्षित स्थानको खोजीमा छन् । राप्तीसोनारी फत्तेपुरको बाबुपुरका सयौं सर्वसाधारण गाउँका केही पक्की घरको छतमा बसेर जोगिने प्रयासमा छन् । 
डुडवा गाउँपालिकाको चौफेरी, खडैचा र टेपरीका सर्वसाधारणलाई सशस्त्र प्रहरीले रबरको डुंगाबाट उद्धार गरेको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) टेकबहादुर तामाङले नरैनापुर गाउँपालिकाको भगवानपुर र सोनवर्षाका सर्वसाधारणलाई स्थानीय विद्यालयमा राखिएको बताए । भगवानपुरस्थित प्रहरी चौकी डुबानमा परेपछि त्यहाँ कार्यरत प्रहरी अधिकारी र जवानले मन्दिरको छत र पीपलको रूखमा चढेर ज्यान जोगाएको पनि उनले जानकारी दिए । ‘प्रारम्भिक जानकारीअनुसार तीन हजारभन्दा बढी सर्वसाधारणले घर छाडेका छन् । भौतिक क्षति विवरण संकलन भइरहेको छ,’ तामाङले भने, ‘अहिले बाढीमा फसेका सर्वसाधारणको उद्धारमा जुटेका छौँ ।’ घरभित्रै पानी पसेपछि सबैजसोको खाद्यान्न बिग्रिएको छ । प्रभावितहरू भोकभोकै छन् । उनीहरू उद्धारको पर्खाइमा छन् । राप्तीले नरैनापुर, डुडवा र राप्ती सोनारीका गाउँ डुबाएको छ । 
बाढीले पूर्व–पश्चिम राजमार्गको अगैयानजिकै गन्धैली नालाको कल्भर्ट बगाउँदा यातायात अवरुद्ध छ । राजमार्ग खोल्न डाइभर्सन बनाउने प्रयास भइरहेको कोहलपुर प्रहरीले जनाएको छ । त्यस्तै नेपालगन्ज होलिया सडक खण्डको बेतहनीनजिकै पुल भत्किएपछि आउजाउ ठप्प छ । नेपालगन्ज–गुलरिया राजमार्गमा पनि खजुरा पेडारी नालाको बाढीले यातायात अवरुद्ध भएको छ । बाढीमा फसेकालाई सशस्त्र र नेपाल प्रहरीले डुंगाबाट उद्धार गरेका छन् ।

यातायात ठप्प 
शुक्रबार रातिदेखिको अविरल वर्षाका कारण घर भत्किएर दाङ, तुलसीपुरमा एक महिलाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–१३ सिमलखुट्टीकी ४५ वर्षीया भगवती सुनारको ज्यान गएको हो । यस्तै तुलसीपुर उपमहानगरपालिका–४ का ५८ वर्षीय नरबहादुर रावतको बेतहनी खोलाले बगाउँदा मृत्यु भएको छ । लमही नगरपालिका–९ मा अमिलिया खोलाको बाढीले घर भत्किँदा कर्णबहादुर डाँगी र रीता डाँगी घाइते छन् । शान्तिनगर–५ बांगेतालमा टोपेन्द्र डाँगीको घरमा बाढी पस्दा १७ वटा बाख्रा बगेका छन् । घर पूरै क्षतिग्रस्त भएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकृत खिलानाथ दाहालले जनाए । सडक भत्किँदा र बाढी आउँदा शनिबार बिहानैदेखि यातायात अवरुद्ध हुन पुग्यो । तुलसीपुर–घोराही खण्डको हात्तीखौवामा बाढीले करिब १० मिटर सडक बगाएको छ । राप्ती राजमार्गको तुलसीपुर–अमिलिया खण्डका विभिन्न स्थानमा पहिरो खसेको छ । 
बाढीले विभिन्न ठाउँमा घर भत्किएका छन् । पशुचौपाया बगेका छन् भने मकै र धानबालीमा क्षति पुगेको छ । तुलसीपुर उपमहानगरपालिका–१३ अम्बापुरमा तीनवटा घर भत्किएका छन् । तुई खोलाको बाढीले डिल्लीबहादुर चौधरी, पूर्णबहादुर चौधरी र साइती चौधरीको घर भत्किए । घोराही र तुलसीपुर उपमहानगर, दंगीशरण र शान्तिनगर गाउँपालिका तथा लमही नगरपालिकाका खोला र नदीछेउका बस्तीमा बाढी पसेको छ । यी ठाउँमा ३४ घर पूर्णरूपले भत्किएको र २ सयभन्दा बढी घरमा पानी पसेको अनुमान छ ।
तुलसीपुर–९ शिवपुरमा चार घर पहिरोले पुरिएका छन् । वडा नम्बर १३ गिद्धेपानीमा पनि घर डुबानमा छन् । दंगीशरण–१ मा ६० घर डुबानमा परेपछि स्थानीयलाई सुरक्षित ठाउँमा सारिएको छ । वडा नम्बर ५ मा भमके खोलाको बाढी ३५ घरमा पसेको छ । जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार दंगीशरण–२ कलमखोलाको बाढीले ३ घरमा क्षति पुर्‍याएको छ । महारियामा ४ घर पूर्णरूपले क्षतिग्रस्त छन् । शान्तिनगर–६ देवीपुरमा बबई खोलाले ५ घर डुबानमा पारेको स्थानीयले बताए । घोराही–१७ स्थित कटुवा खोलाको बाढी बस्तीमा पस्दा १० घर डुबेका छन् । 

१५ सय घर डुबान
बर्दियामा झन्डै १५ सय घर डुबानमा परेका छन् । बबई र मान खोलाको बाढीले गुलरियामा मात्रै २ सय १८ घर डुबेका छन् । सबैभन्दा बढी बारबर्दिया नगरपालिका प्रभावित छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बारबर्दिया–३ मा ५३, वनगौढीमा २५, बासगढी–८ मा १५, बासगढी–४ मा २५ घर डुबेका छन् । 
 बासगढी–१ चेपाङमा तुलबहादुर विकको घरमा बाढी पस्दा भाडामा बस्दै आएका तीन जना घाइते छन् । नमकली विकको अवस्था गम्भीर छ । बारबर्दिया–९ मा १८ घर डुबानमा छन् । बारबर्दिया–१० का २९ वर्षीय राजेन्द्र चौधरी बाढीमा बेपत्ता छन् । उनको खोजी भइरहेको प्रहरी उपरीक्षक भरतबहादुर बोहराले जानकारी दिए । बाढीले २ सय घरपरिवारका १ हजार ५ सयभन्दा बढी व्यक्ति विस्थापित छन् । उनीहरूलाई रेडक्रसले राहत र त्रिपाल वितरण गर्न सुरु गरेको छ । गुलरिया–नेपालगन्ज सडक खण्डको इन्द्रपुर डुबानमा परेपछि आवागमन रोकिएको छ । गुलरिया नगरपालिकाका थपुवा, टडुवा, सूर्यगौढी, लटकनियालगायत क्षेत्र डुबानमा परेको जिल्ला आपतकालीन कार्य सम्पादनका सूचना अधिकृत रूपन ज्ञवालीले बताए । बाढीले गुलरिया–१० लटकनियामा १० बिघाभन्दा बढी जग्गा कटान गरेको छ । 
बाढीको त्रासले बालापुर, कोठिया, इन्द्रपुरलगायत बबई तटीय क्षेत्रका बासिन्दा सुरक्षित स्थानमा सरेका छन् । स्थानीय प्रशासनले पनि तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिरहेको छ । बाढीका कारण बिहानैदेखि बन्द विद्युत् आपूर्ति १२ घण्टापछि नियमित भएको छ । ०७१ साल साउन २९ गते बर्दियामा भीषण बाढी आएको थियो । ३२ जनाको ज्यान जानुका साथै ९० हजार बासिन्दा प्रभावित भएका थिए । कर्णाली नदीमा भने बाढीको कुनै प्रभाव परेको छैन । 
(साथमा, ठाकुरसिंह थारू/बाँके, दुर्गालाल केसी/दाङ र कमल पन्थी/बर्दिया)

प्रकाशित: श्रावण २९, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार