कोसेली

प्रिग्नेन्सी टेस्ट

  • उनले झोलाबाट नाइलनको डोरी झिकिन् । अझै नजिकैबाट नियाल्न हतार–हतार बाथरुम पसेँ । मेरो मनमा भुमरी चल्न थाल्यो । उनले पर्दा मिलाइन्, बाँकी खापामा गम्छा पनि झुन्डाइन् ।
- भवसागर घिमिरे

वैशाख २३, २०७४-काठमाडौंको नयाँबानेश्वरमा रहेको मेरो फ्ल्याट र उनी बसेको महिला छात्रावासबीचको दूरी लगभग दुई हात मात्र छ । दोस्रो तलामा रहेको उनको सानो तीनकुने कोठा दक्षिण पूर्व फर्केको छ । कोठाको दक्षिणतर्फ काठको फ्रेम भएका सिसाको झ्याल छ । झ्यालमा तीनवटा खापा अनि त्यसमाथि बुट्टेदार फलामको भेन्टिलेसन छ । झ्यालको पर्दा अलि सानो छ, दुई खापा मात्र ढाक्छ । खुला हुने बाँकी एक खापाबाट म उनलाई राम्ररी नियाल्न सक्छु । यसका लागि मैले फ्ल्याटको बाथरुम वा भान्छाकोठाको जाली खापाबाट चियाउनुपर्छ । कहिलेकाहीं पर्दा नपुगेको बाँकी एक खापामा उनी गम्छा झुन्डाउँछिन् । यस्तो बेला मेरो नजर र उनीबीच पूरै पर्दाको पर्खाल उभिन्छ । यति छोटो दूरीलाई ती पर्दाहरूले यति धेरै लम्बाइदिन्छन् कि मन बेचैन हुन्छ । मीठो बेचैनी, नछोएको शीतजस्तै, नलेखेको गीतजस्तै ।

एकान्तमा उनी गीत गुनगुनाउन रुचाउँछिन् । गुनगुनाउँदै कोठाबाट पूर्व फर्किइन् भने झ्यालबाट धुलाम्य खुला चौर अनि चौरसँगै जोडिएको सडक देख्न सक्छिन् । माटो उधिन्दै दगुर्ने डोजर अनि कामको सुस्त गतिका कारण बाटो लामो समयदेखि भर्खरै खनिएको आलुबारीजस्तै छ । बेला–बेला हुरी चल्दा बटुवाले गाडी देख्दैनन्, गाडीले बटुवा देख्दैन । रातको समयमा भने सडक किनारका बत्तीहरूले सुनसान सडकमा सुनौला रंगहरू छर्छन् । उनलाई सायद त्यो मन पर्दो हो एउटा खापा खुलै राखेर रातमा सडक टोलाउँदै अबेरसम्म पढ्छिन् । बिहानीपख त्यही झ्यालबाट घामसँगै मेरा नजरले उनलाई सुम्सुम्याउँछ ।

यसैले पनि म बिहान सबेरै उठ्छु अनि भान्छामा चिया पकाउन पुगिहाल्छु । मस्त निदाएकी उनको शान्त मुद्रा नियाल्छु । कर्कलाको सिन्की बाटेको जस्तो कपाल । कालो फ्रेम भएको ठूला–ठूला चारपाटे सिसाका चस्मा अडिएका लाम्चा आँखा । बाटुलो निधार । सानो कदको शरीर । हिस्सी र हल्का कालो वर्णको मुहार अनि त्यसभित्र अनगिन्ती सपनाहरू । यस्तो सोच्छु, उनका सपनाको कुनै पलमा खुसुक्क म पनि पस्न पाए, बाँकी जिन्दगी उनीसँगै हराउन हुन्थ्यो । पछिल्लो दुई महिना भने मेरो लागि उनको मोबाइलमा बज्ने एउटा भिन्दै रिङटोन त्यो पर्दाभन्दा ठूलो पर्खाल बनेर खडा भएको छ । त्यो रिङटोनमा बज्ने सुमधुर धुन पनि मेरो मनमा नराम्रोसँग बिझ्छ, फूलको धारले रेटेजस्तै ।

दुई दिनअघिको कुरा हो । रातिको सवा नौ बजे । उनको मोबाइलमा त्यही रिंगटोन बजेको प्रस्टै सुनेपछि हतारीँदै म बाथरुमतिर दौडिएँ । बत्ती बाल्न भुलेँ । जाली खापामा धूलो जमेर होला सायद मधुरो जून मात्र भित्र पस्न सक्यो । हत्तारिँदै आफूलाई सम्हालेर कभर नउठाई कमोडमा बसिहालेँ । यताबाट फोन उठिसकेको रहेछ ।

‘अँ, ठीक छ, तिम्रो केही भयो ?’ उसले उताबाट सोध्यो ।

‘नाइँ, सिम्टम्स् नै छैन,’ उनले मलीन हुँदै भनिन्, ‘मिन्स् कटेको नि दुई हप्ता भइसक्यो,’

‘टेन्सन नलेऊ, ठीक हुन्छ के,’

‘कसरी ठीक हुन्छ ?’

‘त्यति बेला सेफ भाथ्यो,’

‘अँ खुब, प्रोटेक्सन नै थिएन,’

‘विश्वास गर न सेफ थियो,’

‘मैले छोड भन्दाभन्दै तिमी ओभर कन्फिडेन्ट भयौ...’

‘त्यति बेला के भो भो...’

‘अब नसोचेको भो भने ?’ उनी आत्तिँदै बोलिन् ।

‘केही हुन्न, भनेसि भएन ?’ उसले अलि खस्रो बोल्यो ।

‘तिमी मेरो प्रब्लम नै बुझ्दैनौ,’ उनी एक्कासि सुकसुकाउन थालिन्, ‘आज पनि आमाले फोन गरेर राम्ररी पढ है नानी भन्नुभाथ्यो । इक्जामनजिक छ, कन्सन्ट्रेट हुन सक्या छैन ।’

‘फेरि सुरु भो,’ ऊ रिसायो ।

‘नरिसाऊ न, कसलाई भनूँ म त नि ?’ उनले मन कटक्कै खाने गरी बोलिन्, ‘भोलि बिहानै किट ल्याएर टेस्ट गर्छु ।’

‘तिमी जहिल्यै मेरो दिमाग मात्र चाट्छ्यौ...’ ऊ झड्कियो र फोन काट्यो ।

उनी घुक्क–घुक्क रुन थालिन् । म बिस्तारै कमोडबाट उठेँ । जाली खापाको एउटा कुनो पुछेर हेरेँ । उनको कोठाको झ्यालको पर्दा राम्ररी लगाइएको थिएन । बेडमा किताब, कापी छरपस्ट थिए । स्कुसको लहराले आफू चढेको रूख ढोकेझैं, बेतको स्ट्यान्डमाथि लुगाहरू अस्तव्यस्त थिए । असरल्ल कोठा र उनको हालत देख्दा मेरो मन सुक्खा याममा धुलाम्य सडकछेउ उभिएको बोटझंै भयो । निराश हुँदै बेडरुममा आएर पल्टिएँ । 

उनीसँग बोलचालै नभए पनि मैले उनको पारिवारिक र व्यक्तिगत जीवनका बारे धेरै कुरा थाहा पाइसकेको थिएँ । त्यसको एकै कारण थियो— उनको फोन संवाद । चर्को आवाज निस्किने उनको मोबाइल अनि त्यसलाई प्रस्ट सुन्न सकिने मेरो बाथरुम । एकतर्फी परिचयका लागि अरू के चाहियो ? नाम दीपा । घर नवलपरासी । बा द्वन्द्वकालमा चेपुवामा परेर बिते । घरमा आमा, एक भाइ र दुई बहिनी छन् । गाई पालेका छन् । डेरीमा दूध पुर्‍याउँछन् । छात्रवृत्तिमा नाम निकालेर इन्जिनियरिङ पढ्ने अनि ठूलै प्रगति गर्ने उनको सपना । अहिलै आफूसँगै तयारी कक्षामा पढ्ने नवलपरासीकै साथीसँग उनी मनको दु:ख–सुख साट्छिन् । उनीहरूको प्रेम बिस्तारै झांगिँदै छ । मैले सुनेका आवाजका तरंगहरू पोतेर उनको यति नै चित्र बनाउन सकेको थिएँ । गएको डेढ साता मोफसल पुग्दा, उनीहरूको प्रेमालापबाट म टाढिनुपर्‍यो । हिजो एकाएक सुनेको तीतो संवादले मलाई अबेरसम्म निद्रा परेन । मध्यरातमा फेरि बाथरुम पस्दा मैले जाली खापाबाट फेरि उनलाई नियालें । उनी घोप्टो परेरै लडिरहेकी थिइन्, जूनको सिरक ओढेर ।

गहु्रंगो मन लिएर, बिहान अलि ढिला उठेँ । सरासर भान्छामा पुगेँ । ग्यास सल्काएँ र स्टिलको दिउरीमा फ्रिजको दूध बसालेँ । यसो आँखा घुमाएर उनको झ्यालमा हेरेँ । झ्यालका सबै खापा बन्द थिए । के भो ? उनलाई आजको घाम मन परेन ? मनमा प्रश्नहरू कुद्न थाले । दौड्दै सरासर छतमा पुगेँ । योभन्दा अघि केहीपटक मैले उनलाई छतमा लुगा सुकाउँदै, उठाउँदै गरेको पनि देखेको छु । आज भने त्यो संयोग मिलेन । फेरि हतारमा तल झरेँ । चिया उम्लिएर पोखिइसकेको थियो । झट्पट् ग्यास बन्द गरेँ र फेरि उनको झ्यालमा हेरेँ । अहिले भने झ्यालको एउटा खापा खुलै थियो, ढोका सायद बाहिरबाट बन्द थियो । कोठामा उनी थिइनन् । कहाँ गईन् त ? उनको व्यक्तिगत संसारमा मलाई किन चासो बढ्दै गयो ? थाहै भएन । अफिस जान पनि मन लागेन । बिरामी भएको बहाना बनाएँ । दिनभर घरमै बिताएँ । उनको कुनै अत्तोपत्तो थिएन । साँझको साढे चार बजे बल्ल उनको ढोका बजेको सुनेँ । यसो मुन्टो तन्काएर हेरेँ । उनी निराश थिइन् । खाटमा थुचुक्कै बसिन्, भारीले थिचिएको भरियाझैं । लामो श्वास फेरिन् र झोला बिसाइन् । मैले किचेन र्‍याकमा हात अड्याएर अझ ध्यान दिएर हेर्न थालेँ । उनले झोलाबाट नाइलनको डोरी झिकिन् । अझै नजिकैबाट नियाल्न हतार–हतार बाथरुम पसेँ । मेरो मनमा भुमरी चल्न थाल्यो । उनले पर्दा मिलाइन्, बाँकी खापामा गम्छा पनि झुन्डाइन् । के गर्न आँटिन् ? देख्न नपाउँदा मेरो निधारमा चिट्चिट् पसिना आउन थाल्यो । झ्यालको ग्रिलमा डोरी बाँध्न थालेको देखियो । के पो गर्ने होला ? मेरो मुख सुक्यो । चिच्याउन पनि सकिनँ । हतार–हतार छतमा पुगेँ । म छत फिड्केर उनको कोठासम्म पनि पुग्न सक्थेँ । खै के हो हो, आँट गर्नै सकिनँ । फेरि दौडँदै तल झरेँ । भान्छामा पुगेर हेरेँ ।

उनको झ्यालबाट गम्छा झिकिएको थियो । उनले लुगा पनि फेरिसकिछन् । डोरी झ्यालको ग्रिल र ढोकाको ग्रिलमा बाँधिएको थियो । स्ट्यान्डका असरल्ल परेका लुगाहरू डोरीमा मिलाएर झुन्ड्याइएका थिए । र्‍याकमा किताबहरू मिलाउँदै थिइन् उनी । एउटा किताब लिइन् र पढ्न बसिन् । मैले लामो श्वास फेरेँ । त्यसै बेलामा फेरि उही रिंगटोन बज्यो । उनले काटिन् । फेरि बज्यो । फेरि काटिन् । धेरै बेर फेरि बजेपछि ढिलो गरी उठाइन् । म उनीहरूको संवाद सुन्न बाथरुमको भित्तासँगै पूरै श्वास अड्याएझैं गरी उभिएको थिएँ । 

‘फोन किन काटेको ?’ उसले रिस पोख्यो ।

‘तिम्लाई किन चाहियो ?’ उनी झोक्किइन् ।

‘ट्राई टु अन्डरस्टान्ड मी दीपा । मैले ब्यान पनि भनेँ, ऐले पनि भन्छु । आई कान्ट असेप्ट दिस के । बरु अबोर्सन गराऊ । तिमी एक्लै बच्चा राख्छु भन्छौ भने भोलि मलाई ब्लेम लगाउन पाउँनौ,’ फोन काटिन्छ कि झैं गरी ऊ एकै सासमा बोल्यो ।

उनी बिनाआवाज भक्कानिइन् र केही बेरको मौनतासँगै सम्हालिइन् । 

‘दीपा सुनिराछौ नि ? फर्गेट अबाउट ह्वाट हेपेन्ड... इट्स नट माई फल्ट...’ ऊ अझै रिसाएको सुनियो ।

‘थेंक्यु । अबदेखि फोन नगर्नू, आजदेखि तिमीसँग मेरो कुनै सम्बन्ध छैन,’ उनको यस्तो कडा आवाज मैले आजसम्म सुनेको थिइनँ । उनले फोन काट्नुअघि भनिन्, ‘बिहान भनेजस्तो मेरो पेटमा कुनै बच्चा पनि छैन । टेस्ट वाज नेगेटिभ ।’

प्रकाशित: वैशाख २३, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार