हेलो शुक्रबार

संरक्षणमा युवा

- विमल खतिवडा
वन र वन्यजन्तु संरक्षणसम्बन्धी प्राय: कार्यक्रममा नारायणगढकी सुष्मा पुरीको उपस्थिति रहन्छ । संरक्षण गतिविधिले उनलाई ठूलो एक्पोजर मिलेको छ ।

वैशाख ८, २०७४-चितवन रत्ननगर नगरपालिका १ स्थित सौराहा चोकका सुराजन श्रेष्ठ २१ वर्षका भए । सहिद स्मृति बहुमुखी क्याम्पसमा बीबीएम आठौं सेमेस्टरमा पढ्दै गरेका श्रेष्ठ फुर्सदको समयमा प्राय: संरक्षणको कार्यमा जुट्छन् । उनी पढाइमा ह्याम्पर नहुने गरी संरक्षणमा सक्रिय हुन्छन् । 

चितवन निकुञ्जमा दुर्लभ वन्यजन्तु पाइन्छन् । ती राष्ट्रको सम्पत्ति संरक्षणमा सबै जुट्नुपर्ने सन्देश दिन उनी साथीहरूसँग मिलेर स्कुल–स्कुल पुग्छन् । घर–गाउँमा सचेत गराउँछन् । 

उनले सन् २०१४ मा कानुनी रूपमा एनिमल राइट्स क्लब दर्ता गराए । जसमा ९ जनाको कार्यसमिति छ । ‘मैले फरक विषय पढे पनि वाइल्ड लाइफमा मनैदेखि लागेर काम गर्दै आएको छु,’ उनी भन्छन्,

‘यसलाई निरन्तरता दिँदै जानेछु ।’ उनको क्लबले सौराहामा आयोजना हुने हात्ती दौडविरुद्ध आवाज उठायो । हात्तीलाई कुदाएर अरूलाई मनोरञ्जन दिने काम राम्रो नहुने क्लबको जिकिर थियो । 

उनको संस्थाले पशु बलिविरुद्ध अभियान नै चलायो । यस्तो अभियानमा उनी एक्लै छैनन् । 

वान फुट फरवार्ड संस्थामार्फत वन र वन्यजन्तु संरक्षणसम्बन्धी प्राय: कार्यक्रममा नारायणगढकी सुष्मा पुरीको उपस्थिति रहन्छ । गुरुकुल कलेजबाट प्लस टु पास गरेकी उनी अहिले संरक्षण गतिविधिमा सक्रिय छिन् । यस्ता कार्यक्रम प्राय: पर्यटकीय क्षेत्र सौराहा आसपास हुन्छन् । कार्यक्रम हुने सुइँको पाउनासाथ उनी साथीसँग सौराहा 

दौडिहाल्छिन् । ‘स्ट्ेर डगको उपचारमा सहयोग गर्दै यस्तो कार्यमा हात हालें,’ उनी भन्छिन्, ‘आफ्नै खुसीले लागेको हो, परिवारबाट राम्रो सहयोग मिलेको छ ।’ 

गत चैत २५ गते तस्करले गैंडा मारे । तेस्रो शून्य चोरी सिकार वर्ष मनाउन २६ दिन बाँकी छँदा अत्याधुनिक हतियार प्रयोग गरी गैंडा मारियो । चितवन निकुञ्जअन्तर्गतको बेलहट्टा हरियाली मध्यवर्ती सामुदायिक वनमा यस्तो घटना भएपछि जिल्लावासी स्तब्ध बने । गैंडा मार्ने तस्करलाई कारबाहीको माग गर्दै युवाहरूले विभिन्न संघसंस्थाले आयोजना गरेको कार्यक्रममा साथ दिए । यसमा सुष्मा पनि साथीहरूसँग सौराहा पुगिन् । 

सौराहामा संरक्षणसम्बन्धी कार्यक्रमबारे सबैलाई वाइल्डलाइफ फोटो ग्राफर सागर गिरीले खबर गर्छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत सूचना प्रवाह गर्छन् । आई क्लिक फर कन्जर्भेसन संस्थाका फाउन्डर रहेका गिरी संरक्षणमा युवा एक जुट भए सबैमा जनचेतना जगाउन सकिने बताउँछन् । ‘ दुर्लभ वन्यजन्तुले चितवनलाई मात्र चिनाएको छैन, सिंगो मुलुकलाई चिनाएको छ,’ उनी भन्छन् । उनको अधिकांश समय दुर्लभ वन्यजन्तुको फोटो खिच्न र संरक्षण कार्यक्रममा सहभागिता जनाउँदैमा बित्छ । उनी अस्ट्रेलियामा ब्याचलर इन हस्पिटालिटी म्यानेजमेन्ट पढेर आएका हुन् । उता प्रेरणा माविबाट बायो साइन्स लिएर प्लस टु गरेकी १९ वर्षीया अस्मिता शाही ठकुरी पनि संरक्षणसम्बन्धी कार्यक्रममा छुट्दिनन् । नारायणगढ बेलचोकका माधव अधिकारी ब्याचलर इन कम्प्युटर साइन्स एन्ड इन्फर्मेसन टेक्नोलोजी पढिरहेका छन् । उनी पनि छुट्टीको सदुपयोग साथीहरूसँगै मिलेर संरक्षणको कार्य गर्छन् । 

‘युवा पुस्ता अग्रसर हुँदा संरक्षणको क्षेत्रमा ठूलो सहयोग मिल्छ,’ नारायणगढ क्षेत्रपुरकी प्रज्ञा श्रेष्ठ भन्छिन् । कक्षा १२ मा अध्ययनरत उनले भोलेन्टियर भएर संरक्षणको क्षेत्रमा सघाउन तयार रहेको बताइन् । वान फुट फरवार्डका मेम्बर १५ जना भए पनि ७ जना एक्टिभ भएर यस्ता कार्यमा उपस्थित हुन्छन् । त्यस्तै एनिमल राइट्सका मेम्बर ३५ जना भए पनि ११ जना एक्टिभ छन् । पछिल्लो समय संरक्षणमा युवाहरूको आकर्षण बढेकोमा चितवन राष्ट्रिय निकुञ्ज पूर्वी सेक्टर प्रमुख अभिनय पाठक दंग छन् । ‘पहिलाभन्दा कन्जर्भेसनमा युवा सहभागिता बढ्दै गएको छ,’ उनी भन्छन्, ‘यो सकारात्मक पक्ष हो ।’ 

प्रकाशित: वैशाख ८, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार