समाचार

६ मधेसी दलबीच एकता

- बसन्त बस्नेत, काठमाडौं

वैशाख ८, २०७४-

  • नयाँ दलको नाम ‘राष्ट्रिय जनता पार्टी’, तर पहिलो दिनमै विवाद
  • दलको नामबाट झिकियो ‘मधेस’ शब्द, २५ सिटसहित पाँचौं दल
  • पार्टीको चिह्न र झन्डामा ‘छाता’
  • वैकल्पिक राष्ट्रिय शक्ति बनाउने अध्यक्ष मण्डलको संकल्प
  • एकीकृत पार्टीको सिद्धान्त ‘लोकतान्त्रिक समाजवादमा आधारित समावेशी नेपाल’ 

मधेसी मोर्चामा आबद्ध सातमध्ये ६ दलबीच एकता गृहकार्यबारे समाचार लेख्दा मधेसवादी दलहरू मिल्न सक्नेमा धेरैले संशय व्यक्त गरेका थिए । तर यो संशयलाई छायामा पार्दै बिहीबार बिहान पौने २ बजे मधेसवादी दलबीच एकताको अन्तिम टुंगो लाग्यो । एकतापछि गठित राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलका एक अध्यक्ष राजेन्द्र महतोले राजधानीमा अपराह्न घोषणा सभामा बोले, ‘मधेसी फुट्न मात्रै जान्दछन्, जुट्न सक्दैनन् भनी सोच्नेका लागि यो ऐतिहासिक सन्देश हो । मधेसवादी दलहरूको मात्रै होइन, सिंगै आन्दोलनको एकीकरण भएको छ । अब हामी कुनै जाति वा क्षेत्रको नभई राष्ट्रिय पार्टी भएका छौं ।’

बिहीबार बिहान जावलाखेलको एक निजी घरमा एकता टुंगो लगाउने दलहरूमध्ये सुरुमा ५ घटकमात्रै थिए– तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई मधेस सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी र मधेसी जनअधिकार फोरम गणतान्त्रिक । आफ्नो दलको महासमिति बैठकमा व्यस्त नेपाल सद्भावना पार्टी अध्यक्ष अनिलकुमार झा भने एकता घोषणासभा सकिन लाग्दा टुप्लुक्क झुल्किए । महन्थ ठाकुर बोल्दाबोल्दै उनी हलमा छिर्दा चर्को तालीले स्वागत भएको थियो । मोर्चाभित्र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबाहेक सबै घटक अब नयाँ दलमा सामेल भएका छन् । एकीकृत नयाँ पार्टीको नाममा ‘मधेस’ शब्द हटाइएको छ । यसअघि उपेन्द्र यादव र विजय गच्छदारले आ–आफ्ना दलका छुट्टाछुट्टै एकता अभियान चलाउँदै मधेस शब्द हटाइसकेका छन् । ‘राष्ट्रिय जनता पार्टी’ (राजपा) को चुनाव चिह्न र झन्डामा ‘छाता’ रहनेछ । अब जनता पार्टी संसद्मा २५ सिटसहित पाँचौं दल बन्न पुगेको छ । यसअघि एकीकृत पार्टीको अध्यक्ष महन्थ ठाकुरमा सबै नेताहरूको मोटामोटी सहमति बनिसके पनि केही नेताले वरीयता विवाद निकालेपछि सामूहिक अध्यक्ष मण्डल बनाई नेतृत्व गर्ने निर्णय भयो । रातभर चलेको एकता बैठकको समापन गर्दै नेता ठाकुरले वैकल्पिक राष्ट्रिय शक्ति बनाउने घोषणा गरे । उनले झन्डै दुई वर्षयता अनिर्णीत आन्दोलनलाई अब एकीकृत शक्तिले राजनीतिक निष्कर्षमा पुर्‍याउने बताए । ‘हामी झन्डै दुई वर्षदेखि वार्ता र आन्दोलनमा सँगसँगै छौं, तर त्यसले ठोस परिणाम दिएन, अब यो एकीकृत पार्टीले निर्णायक आन्दोलन गरेर संविधानमा संशोधनको वातावरण बनाउनेछ,’ उनले भने, ‘संविधान संशोधनपछि मात्रै हामी चुनावमा जाने हो ।’ ठाकुरले बिहीबार दिउँसो कार्यक्रममा मधेसी दलहरूलाई कतिपयले जाति र क्षेत्रमा आधारित भएर मात्रै काम गर्ने गरेको आरोप लगाए पनि अब यसले राष्ट्रिय दलको स्वरूप ग्रहण गर्ने बताए ।

एकीकृत पार्टीलाई हालका अध्यक्षहरू महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र यादव, शरतसिंह भण्डारी, राजकिशोर यादव र अनिलकुमार झाले सामूहिक अध्यक्षमण्डलको अध्यक्षका रूपमा सामूहिक नेतृत्व गर्नेछन् । एक वर्षभित्र पार्टीको महाधिवेशन गरिसक्ने निर्णय छ । त्यस बेलासम्म सम्बन्धित दलहरूको पदमा बहाल रहेका नेताहरूले राजपामा सोही भूमिकामा रहेर काम गर्नेबारे नेतृत्वमा अनौपचारिक समझदारी बनेको छ । जिल्लाहरूमा भने पार्टी एकता र समायोजन प्रक्रिया चलाउने क्रममा नेतृत्व चयन साझा समझदारीमा गर्न सकिने बताइएको छ । ६ नेताहरूले हस्ताक्षर गरेको ६ बुँदे वक्तव्यमा सामूहिक नेतृत्वको सिद्धान्तलाई अवलम्बन गर्ने उल्लेख छ । नेताहरूले राष्ट्रिय जनता पार्टीको सिद्धान्त ‘लोकतान्त्रिक समाजवादमा आधारित समावेशी नेपाल’ हुने बताए । ‘एकीकरणमा सहभागी सबै दलका अध्यक्षहरू रहने व्यवस्था गरिएको छ,’ वक्तव्यमा भनिएको छ, ‘अध्यक्ष मण्डल नै पार्टीको सर्वोच्च निकाय हुने र पार्टीको सबै राजनीतिक, सांगठानिक निर्णयहरू सामूहिक निर्णय प्रणालीबाट हुनेछ ।’

कसरी भयो एकता ?

सप्तरीमा फागुन २३ गते एमालेको मेची–काली अभियान क्रममा प्रहरीको गोलीले ५ मधेसी कार्यकर्ता र सर्वसाधारण मारिएपछि मधेसी नेताहरू दबाबमा आएका थिए । उनीहरूलाई आपसी विभाजनका कारण आन्दोलन निर्णायक बनाउन नसक्ने, मधेसमा हिंसा भइरहनुको जिम्मेवारी लिन पनि नसक्ने अपजस लागिरहेको थियो ।

मधेसवादी नेतृत्वले चैत १३ गते एमालेको प्रदर्शनस्थल अर्थात् गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमै सहिद सभा गर्‍यो । त्यहाँ बोल्दै रामसपा अध्यक्ष भण्डारीले मधेसी दलबीच पार्टी एकता आहवान गरे । राजकिशोर यादवले कार्यक्रममा बोल्दै तमसपा, फोरम गणतान्त्रिक र रामसपाबीच पार्टी एकताको तयारी भइरहेको उल्लेख गर्दै चैतभित्र नतिजा आउने पहिलोपल्ट खुलासा गरे । उनीहरूलाई त्यहाँ उपस्थित भेलाले एकतामा आउन दबाबको वातावरण बनायो । त्यसको उत्कर्षचाहिँ चैत मसान्तभरिका तयारी भए । ठाकुरले कान्तिपुरसँग चैत ३० गते मधेसवादी घटकबीच एकताका लागि सघन पहल भएको खुलासा गरे ।

वैशाख १ गते नयाँ वर्षको साँझ ठाकुर निवासमै नेताहरू बसेर एकताबारे वार्ता गरे । मधेसवादी ६ दलका नेताबीच बुधबार बिहानदेखि साँझसम्म चलेका शृंखलाबद्ध बैठकले तत्कालै एकीकरणसम्बन्धी दस्ताबेज र विधानलाई अन्तिम रूप दिन सहमत भए पनि वरीयता विवादका कारण निष्कर्षमा पुग्न सकेका थिएनन् । ठाकुरलाई सर्वमान्य नेता बनाएर केही मधेसवादी नेताबीच आफू अध्यक्ष हुने होडसमेत थियो, तर एकताका लागि ‘त्याग गर्न’ कोही तयार नभएपछि ठाकुरले आफूलाई जुनसुकै पदमा राखे वा नराखे पनि फरक नपर्ने तर कुनै पनि हालतमा एकता हुनैपर्ने सर्त राखेपछि अरू नेताहरू फेरि छलफल गर्न तयार भए । त्यसपछि शरतसिंह भण्डारी, हृदयेश त्रिपाठी, राजेन्द्र महतो, महेन्द्र यादवले वरीयता विवादमा फस्दै नफस्ने भन्दै सामूहिक अध्यक्षमण्डलको विकल्प अघि सारे ।

बिहीबार विघटित रामसपा अध्यक्ष भण्डारीको भैंसेपाटीस्थित निवासमा बुधबार अपराह्न महतो, भण्डारी र तमसपा अध्यक्ष यादवबीच वरीयता सल्टाउनेबारे लामो बैठक चलेको थियो । भण्डारीले आन्दोलन र स्थानीय चुनावमध्ये जुन बाटोमा जानुपरे पनि जनताले एकीकृत पार्टीको ऊर्जा चाहिरहेको भन्दै वरिष्ठताको अल्झोमा नफस्न महतो र यादवलाई आग्रह गरेका थिए । स्रोतका अनुसार वरीयताले गर्दा एकता झन्डै धकेलिने विन्दुमा पुगिसकेको थियो, तर महतोले आफू एकताका लागि जस्तोसुकै त्याग गर्न तयार भएको बताएपछि अरू नेताहरू पनि फेरि संवादमा सहभागी भए । त्यसपछि अरू दलका अध्यक्ष समेत बोलाएर भण्डारीकै एक आफन्तको भैंसेपाटी निवासमा उनीहरू जुटे ।यता बिजुलीबजारस्थित तमलोपा मुख्यालयमा ६ मधेसवादी दलबीच पार्टी एकता प्रक्रिया टुंग्याउन बुधबार दिनभर नेताहरूबीच गृहकार्य चलेको थियो । दुवै बैठकलाई एकरूपता दिन जाउलाखेलमा बुधबार राति आठ बजे जुटेका नेताहरू बिहीबार बिहान पौने २ बजे टुंगोमा पुगे । ‘सप्तरीको मलेठमा हामीले गरेको सहिद सभामा सहिदका सन्तानहरू हाम्रो काखमा आएर टुलुटुलु हेर्न थालेपछि मनै थामिएन,’ नेता राजकिशोर यादवले भने, ‘मधेसमा मान्छे मरेको मर्‍यै गर्ने, तर हामी मिल्न नसक्ने कारणले मनमा दोषी भावना जन्मियो, त्यसपछि रातारात एकताको प्रयास गर्न थालेको हो ।’

अर्का नेता शरतसिंह भण्डारीले यादवको भनाइमा थपे, ‘कसैले भनेको सुनेर यो एकता भएको होइन, आफ्नो आत्माको आवाज सुनेर भएको हो । हामी आजसम्म म र मेरो भन्दै आयौं, आजदेखि हामी भएका छौं ।’

एकता हुने दलमध्ये सद्भावना पार्टी २०४७ सालमा स्थापित भएको थियो । अरू घटक भने अनेक विभाजन र टुटफुटसँगै २०६४ सालयता पालैपालो स्थापित भएका थिए । विभाजनको १० वर्षभित्र अनेक उतारचढाव भोगेका उनीहरू एउटै पार्टी बनाउने निर्णयमा पुगेका हुन् । नेताहरूले यो एकीकरणलाई दलहरूको नभई आन्दोलनको एकीकरण भनी अथ्र्याएका छन् । अधिकारकर्मी दीपेन्द्र झाले कार्यक्रममा बोल्दै मधेसमा बल्ल पार्टी निर्माणको सुरुवात भएको बताए, जसलाई अरू नेताहरूले पनि स्वीकार गरेका थिए । गायक आभाष लाभले ‘मधेसीहरू नेपाली होइन भन्न कहाँ पाइन्छ’ भन्ने गीत गाउँदा हलभरि खचाखच दर्शकले चर्को हुटिङले समर्थन गरेका थिए ।

उही नामको पार्टी आयोगमा दर्ता 

६ मधेसी घटकले बिहीबार एकता घोषणा गरेपछि बनेको राष्ट्रिय जनता पार्टी एक महिनाअघि नै निर्वाचन आयोगमा दर्ता भएको खुलेको छ । नेत्रबहादुर लिम्बू अध्यक्ष रहेको उक्त दललाई गत चैत २ गते निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले हस्ताक्षर गरी दिएको पत्रमा उक्त पार्टी दर्ता भएको देखिन्छ । नाम दोहोरिने अवस्था आएमा पछिल्लो दलले नाम परिवर्तन गर्नुपर्ने हुन्छ । यसरी गठन भएको पहिलो दिनमै नयाँ दलको नाम विवादमा परेको छ ।

मधेसी नेताहरूले भने पुरानो कुनै दल उक्त नाममा दर्ता भएको भए पनि अहिले उक्त नाम आयोगमा खाली रहेको देखिएकाले परामर्श लिएर दलको नाम चुनेको दाबी गरे । एकीकृत दलको अध्यक्ष मण्डलका राजेन्द्र महतोले भने, ‘त्यस्तो दल छैन, भएको भए पनि सायद दर्ता खारेज भइसक्यो होला, हामीले हेरेरै लिएका हौं ।’ तर एक महिनाअघि मात्रै दर्ता भएको दल कसरी खारेजीमा पर्‍यो, यसबारे चाहिँ उनले केही जवाफ दिन सकेनन् । नेताहरूले शुक्रबार कानुनी सल्लाहकारसहित निर्वाचन आयोग गएर यो विवाद टुंग्याउने कान्तिपुरलाई बताए ।

एमाले छाडेर पाँच वर्षअघि संघीय समाजवादी पार्टी खोलेका तत्कालीन अध्यक्ष अशोक राईले लिएको चुनाव चिह्न ‘छाता’ नै किन ‘राष्ट्रिय जनता पार्टी’ ले लिने निर्णय गर्‍यो त ? रातो, सेतो र हरियो रंगको पृष्ठभूमिमा खोलिएको अवस्थामा रहेको छाता राईले २०७२ जेठ ३२ गते छाडेर उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरमसँग मिल्दै संघीय समाजवादी फोरम गठन गरेका थिए । 

त्यसयता कसैले ‘नओढेको’ छाता निर्वाचन आयोगसँग अनौपचारिक परामर्श लिएर ५ मधेसी घटकले लिने निर्णय गरे । राजपाले बिहीबार जारी गरेको वक्तव्यअनुसार झन्डाको रातो रंगले क्रान्ति, सेतोले शान्ति र हरियोले समृद्धि जनाउनेछ । 

धेरैले नयाँ पार्टीको नाममा ‘मधेस’ शब्द झिकेकोमा मिश्रित टिप्पणी गरेका छन् । कतिपयले भारतीय जनता पार्टी (भाजपा) जस्तै सुनिएको भन्दै आशंका पनि गरेका छन् । किन यस्तो नाम राख्ने निर्णयमा पुग्नुभएको त भन्ने जिज्ञासामा नेताहरूले जवाफ दिए, ‘खासमा हामीले नेपाली जनता पार्टी, नेपाली जनता दल राख्न खोजेको, तर त्यो त निर्वाचन आयोगमा पहिल्यै दर्ता गरेर अर्कैले चलाइसकेको रहेछ । अनि हामी यो नाममा पुगेका हौं ।’ 

नया नाममा पनि विवाद देखिएपछि पार्टी नेताहरू अन्योलमा परेका छन् । उक्त विषय प्राविधिक भएकाले छिट्टै सुल्झाउने उनीहरूको भनाइ छ ।

पार्टीले देशभरि एकताको सन्देश दिन दीपावली गर्ने, त्यसपछि मेची–महाकाली एकता यात्रा गर्ने जानकारी दिएको छ ।

गच्छदारको दल र थरुहट पनि एक

काठमाडौं (कास)– मधेसवादी दलहरूबीच एकता भएकै दिन विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम र भानुराम चौधरी नेतृत्वको थरुहट तराई पार्टीबीच बिहीबार राजधानीमा एकता भएको छ । पछिल्लो एक महिनायता साना जनजाति घटकसँग एकता गरिरहेका गच्छदारले थरुहटसँग पनि एकता गरेका हुन् । लोकतान्त्रिक फोरम महासचिव रामजनम चौधरीले तीनकुनेमा एक कार्यक्रम गरी एकता घोषणा गरिएको कान्तिपुरलाई बताए । 

पार्टीको नाम साविककै लोकतान्त्रिक फोरम राखिएको छ । कार्यक्रममा बोल्दै गच्छदारले लोकतान्त्रिक फोरम समावेशी लोकतन्त्रमा विश्वास गर्ने वैकल्पिक शक्ति बन्ने दाबी गरेका थिए । ‘विगतमा हामी अलग अलग बसेर काम गर्दा जनतालाई दिनुपर्ने जति सुविधान दिन सकिएन भन्ने लागेर एकता गरेको हो,’ गच्छदारले भने । उनले अरू मधेसी घटकको एकताबारे चाहिँ कुनै टिप्पणी गरेनन् ।

बुधबार बसेको संयुक्त बैठकले एकीकरणको घोषणापत्रसमेत सार्वजनिक गरेको छ । यसअघि फोरमले शिवलाल थापा अध्यक्ष रहेको राष्ट्रिय जनमुक्ति पार्टी, यशोदा लामा अध्यक्ष रहेको दलित जनजाति पार्टीसँग पनि एकता गरेको थियो । संसद्मा अब लोकतान्त्रिक फोरमको १७ सिट पुगेको छ ।

झालाई ल्याउन त्रिपाठीको भूमिका

काठमाडौं (कास)– मधेसवादी ५ घटकबीच एकता हुने घोषणा भइसक्दा पनि अर्को दल नेपाल सद्भावना पार्टी अध्यक्ष अनील कुमार झा एकता प्रक्रियामा आउन मानेकै थिएनन् । उनी नआउने निश्चितजस्तै भएपछि कालिकास्थानस्थित अमृतभोग पार्टी प्यालेसमा बिहीबार दिउसो २ बजे पार्टी एकता कार्यक्रम सुरु भयो । नेताहरूलाई आसन ग्रहण गराउने क्रममा रामसपा महासचिव केशव झाले तमलोपा वरिष्ठ उपाध्यक्ष हृदयेश त्रिपाठीको नाम दुईपल्ट लिए । तर उनी मञ्चमा चढेनन् । कतिपयले उनी एकता प्रक्रिया र वरिष्ठता विवादलाई लिएर असन्तुष्ट होलान् कि भन्ने अड्कल काटे ।

त्रिपाठीमात्रै होइन, मञ्चमा बोलाइएका तमलोपा उपाध्यक्ष सर्वेन्द्रनाथ शुक्ल र वृषेशचन्द्र लाल पनि मञ्चमा गएनन् । अरुले पत्तै नपाउने गरी उनीहरू सुत्त कतै निस्किए । उनीहरूको ‘तरिका’ बारे नेताहरूबीच कानेखुसी पनि चल्यो । झन्डै ५ घण्टा चलेको एकता सभाको अन्तिम वक्ता महन्थ ठाकुरले आफ्नो भाषण टुंग्याउनै लाग्दा अकस्मात अनील झा हलमा प्रवेश गर्दा मधेसी नेता र कार्यकर्ता छक्कै परे । त्रिपाठी मञ्चमा नचढी उनै झालाई मनाउन बाहिरिएका रहेछन् । त्यसको खुलासा झा आफैंले कार्यक्रममा गरे । त्रिपाठी र झा कुनै बेला सद्भावना पार्टीमा सगैथिए । आफूभन्दा जुनियर भएकाले त्रिपाठी उनलाई ‘तुम’ सम्बोधन गर्दा रहेछन् ।

‘२४ पल्ट फोन गरेपछि उनी (झा) बल्ल एकतामा आउन तयार भए,’ त्रिपाठीले कान्तिपुरसग हास्दै भने, ‘एकता भनेको यस्तै हो, कठिन हुन्छ । विभाजन गर्न सजिलो, एकता गर्न गाह्रो ।’

झाले गजेन्द्रनारायण सिंह नेतृत्वकालको सद्भावनाका नेता त्रिपाठी र राजेन्द्र महतोलाई भावुकतापूर्वक सम्झिए । संसदमा एक सिट रहेको नेपाल सद्भावना पार्टी आफूलाई सिंहको विरासत बोकेको असली सद्भावना दाबी गर्छ । बुधबारसम्म आफनो दलको महासमिति बैठकमा सक्रिय उनीसग अन्य नेताले ढिलोगरी एकता वार्ता गरेको भन्दै ठुस्किएका थिए । त्रिपाठीसग शुक्ल र लालले झासग वार्ता गर्दै पार्टी एकताका लागि आ–आफ्नातर्फबाट त्याग गर्न प्रेरित गरेका थिए । झा एकता प्रक्रियामा आएपछि ६ मधेसी घटकका ६ अध्यक्षको सामूहिक अध्यक्ष मण्डल गठन भएको छ । एक नेताले टिप्पणी गरे, ‘कतिपय नेता उद्घोषकलाई नामै टिपाएर मञ्च ओगट्न जानुभयो, त्रिपाठीजीहरू पनि मञ्चमा गएको भए अनीलजी एकतामा आउने सम्भावना नै सकिएर जाने रहेछ ।’ पार्टी एकताको ब्यानरमा अरु पाच मधेसी नेताको फोटो भए पनि झाको थिएन । 

प्रकाशित: वैशाख ८, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार