देश

गैंडाको शोकमा र्‍याली

- विमल खतिवडा, सौराहा

तेस्रो शून्य चोरी सिकार वर्ष मनाउन २६ दिन बाँकी छँदा तस्करले गैंडा मारेका थिए, संलग्नहरू अझै पक्राउ परेनन्

वैशाख ५, २०७४-चितवन निकुञ्जअन्तर्गत बेलहट्टा हरियाली मध्यवर्ती सामुदायिक वनमा गत चैत २५ गते तस्करद्वारा गैंडा मारिएको विरोधमा यहाँ आइतबार ‘शोक र्‍याली’ निकालिएको छ । २२ औं वन्यजन्तु सप्ताहअन्तर्गत तेस्रो दिन करिब ४ दर्जन संघसंस्थाको अगुवाइमा र्‍याली निकालिएको हो ।

र्‍यालीका सहभागीले ‘तस्करलाई कीरा परोस्, खाग कुनै औषधि होइन, चोरीसिकार निर्मूल पारौं, एकसिंगे गैंडाको संरक्षण गरौं’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए । सौराहाको आगन्तुक चोकबाट सुरु र्‍याली हात्तीचोक हुँदै गैंडाचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । सहभागीले हातमा झुपो (सेतो कपडा) बाँधेका थिए । र्‍यालीमा विद्यार्थी, संरक्षणकर्मी, सञ्चारकर्मी, होटल व्यवसायी, सुरक्षाकर्मीलगायतको सहभागिता थियो । कार्यक्रममा बोल्दै संरक्षणकर्मीले गैंडा मार्नेलाई चाँडोभन्दा चाँडो पक्राउ गरी कारबाही गरेर संरक्षणमा सहयोग गर्न सरकारसँग आग्रह गरे । 

‘अत्याधुनिक हतियार प्रयोग गरी तस्करले गैंडा मारे,’ समुदायमा आधारित चोरीसिकारी नियन्त्रण युवा जागरण उपसमितिकी अध्यक्ष डोमा पौडेलले भनिन्, ‘अब यस्ता घटना दोहोरिनु भएन, गैंडा मार्नेलाई पक्राउ गरी कारबाही होस् ।’ उनले विश्वको ध्यानाकर्षण गर्ने उद्देश्यले पहिलोपटक गैंडा मारिएको विरोधमा शोक र्‍याली निकालिएको बताइन् । चितवन निकुञ्जमा ६ सय ५ गैंडा छन् । शुक्लाफाँटा स्थानान्तरण गर्ने कार्य जारी रहेको समयमा तस्करले गैंडा मारेका हुन् । ‘गैंडा चितवनको मात्र सम्पत्ति होइन,’ बाघ संरक्षण समितिका अध्यक्ष जितु तामाङले भने, ‘सिंगो मुलुकको सम्पत्ति हो, यसले हाम्रो जिल्लालाई मात्र चिनाएको छैन, सिंगो नेपाललाई चिनाएको छ ।’ 

उनले गैंडा दुर्लभ वन्यजन्तु भएकाले यसको संरक्षणमा सबै गम्भीर भएर लाग्नुपर्ने बताए । स्थानीय तहको निर्वाचन मिति नजिकिँदै जाँदा तस्कर सलबलाउन थालेका छन् । तेस्रो शून्य चोरीसिकार वर्ष मनाउन २६ दिन बाँकी छँदा तस्करले गैंडा मारेका थिए । घटनामा संलग्न अझै पक्राउ पर्न सकेका छैनन् । निकुञ्ज सुरक्षार्थ नेपाली सेनाको ठूलो डफ्फासहितको गण खटिँदै आएको छ । तस्करले सुरक्षा पोस्ट नजिकै गैंडा मारेपछि सुरक्षा चुनौती बढेको हो । ‘गैंडा मार्ने काम निन्दनीय छ,’ संरक्षणकर्मी वासु बिडारीले भने, ‘यो हाम्रो सम्पत्ति हो, यसलाई बचाइराख्ने दायित्व पनि हामी सबैको हो ।’ उनले सुरक्षा पोस्ट नजिकै पुगेर तस्करले गैंडा मार्नु दु:खद भएको बताए । आन्तरिक तथा बाह्य पर्यटक गैंडा हेर्नकै लागि चितवन आउने गरेका छन् । यसरी तस्करले गैंडा मारेपछि पर्यटकले समेत घटनामा संलग्नलाई कारबाहीको माग गरेका छन् । 

३ वर्षयता गैंडा चोरीसिकार भएको थिएन । यो घटनाले गैंडा मार्न अझै तस्कर सक्रिय छन् भन्ने कुरा देखाएको छ । उता संरक्षणकर्मीले शुक्लाफाँटामा ५ वटा गैंडा स्थानान्तरण गर्ने भनिए पनि बर्दियामा थप गैंडा लगेको भन्दै विरोध जनाएका छन् । बर्दियामा सुटुक्क गैंडा लगिएको हो । यसबारे संरक्षणकर्मीसँग कुनै छलफल गरिएन । ‘गैंडा स्थानान्तरण नगर्नु भन्ने कुरा होइन,’ संरक्षणकर्मी बिडारीले भने, ‘यसरी लगिएका गैंडा सुरक्षित भएनन्, हामीलाई जस्तै गैंडाको माया स्थानान्तरण गरेर लगिएका ठाउँका समुदायलाई हुनुपर्‍यो ।’ 

उनले बासस्थान कस्तो छ, आहारा छ छैन, ठाउँ कति सुरक्षित छ भन्नेबारे अध्ययन/अनुसन्धान गरेर मात्र गैंडा सार्नुपर्ने बताए । त्यस्तै, संरक्षणकर्मीले २० प्रतिशत घाँसेमैदान रहेको निकुञ्जमा अहिले घटेर ४ दशमलव ८ प्रतिशतमा झरेको भन्दै चिन्ता व्यक्त गरेका छन् । ‘निकुञ्जमा रूख बढे, घाँसेमैदान घट्यो,’ अध्यक्ष तामाङले भने, ‘सिमसारसमेत सुक्दै गएकाले यसमा सबैको ध्यान जान जरुरी छ ।’ 

 

प्रकाशित: वैशाख ५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार