कोपिला

पेट दुख्ने रोग

वैशाख ३, २०७४- एघार बजेको थियो । अफिसमा कामको चाप त्यति थिएन । केही स्टाफहरू जम्मा भएर गफिँदै थिए । त्यतिकैमा उपासनाकी आमालाई भने स्कुलबाट फोन आयो । उपासना पेट दुखेर रोइरहेकी छन् भन्ने खबर पाएर उहाँ निकै आत्तिनुभयो । बिदा माग्दा हाकिमले आनाकानी गरे । बल्लतल्ल आधा दिनको बिदा मिलाएर उहाँ हतारहतार स्कुल पुग्नुभयो । बिहान घरबाट निस्कँदासम्म त उनी ठिकै थिइन्, अचानक के भयो होला ? गेटमा कुरुन्जेल पनि धुवाँ, धुलो र प्रदूषणका कारण कुनै किसिमको भाइरल संक्रमण पो भयो कि भन्ने आशंकाले उहाँ निकै पिरोलिनुभयो ।

केही बेरमा रुँदै गरेकी उपासनालाई गेटसम्म ल्याइदिएर उनकी कक्षा शिक्षिकाले भन्नुभयो, ‘यो समेत तीनपटक भयो उपासनाको पेट दुखेको, कृपया डाक्टरकहाँ लैजानुहोला ।’ आमा स्वीकृति जनाउँदै उपासनाको हात समातेर गेटबाहिर निस्कनुभयो । गेट कट्नासाथ उपासना आँसु पुछेर मुसुक्क हाँसिन् । अघिल्ला दुईपटक पनि उनलाई ठीक यही समयमा पेट दुखेको थियो । आमाका मनमा केके कुरा खेले । उहाँले एकपटक सरसर्ती उपासनालाई नियालेर हेर्नुभयो । 
बिहान उपासना आफ्नो स्कुलको डायरीमा नोट लेखाइमाग्न आमाकहाँ गएकी थिइन् । पेट दुखेकाले गणितको गृहकार्य गर्न नसकेको भन्ने व्यहोराको नोट लेखिदिनू भन्ने उनको आग्रह थियो । आमा भान्सामा व्यस्त हुनुहुन्थ्यो । उहाँले भन्नुभयो, ‘बाबाकहाँ जाऊ छोरी ।’ उपासना डायरी बोकेर अँध्यारो मुख लगाउँदै निस्किएकी थिइन् । सायद बाबाले नोट लेखिदिन भ्याउनु भएन ।
उनलाई गृहकार्य गर्ने बेला कहाँ पेट दुखेको थियो र ? बेलुकी खाना पनि राम्रैसँग खाएकी हुन् । आफू भान्साको काम सिध्याएर आउँदा पनि टेलिभिजनको अघिल्तिर कार्टुन हेर्दै बसिरहेकी उपासनालाई जबरजस्ती बोकेर उहाँले नै ओछयानसम्म पुर्‍याउनुभएको थियो । बिहान पनि उनी अबेर उठिन् । फेरि उठ्नासाथ बाबाको मोबाइलमा खेल्न थालिन् । आमालाई याद आयो, ‘उनले त किताब, कापी झोलाबाट झिकेकै थिइनन् ।’ ‘अब कुन विषयको कक्षा थियो नि ?’ आमाले सोध्नुभयो । 
‘म्याथ,’ उनले दुवै हातले पेट थिच्दै भनिन् ।
उपासनाको जवाफले आमाको मन खिन्न भयो । उहाँको अनुहार चिन्तित देखियो । रोग पत्ता लागिसकेकोले डाक्टरकहाँ जानु पनि आवश्यक थिएन । छोरी डोर्‍याएर उहाँ सरासर घर फर्किनुभयो ।
आमाले दिएको एक गिलास कागती पानी सिध्याउनासाथ उपासना रिमोट खोज्न थालिन् । आमा भने उनको स्कुल ब्याग खोतल्न थाल्नुभयो ।
उनको स्कुलको डायरीमा विषय शिक्षकले अभिभावकका लागि लेखेका केही नोटहरू थिए, जसमा उपासनाले गृहकार्य नगरी आउने गरेको, उनले किताब नल्याएको, उनको कापी हराएको, फोहोरी अक्षर लेखेको आदिइत्यादि गुनासाले भरिएका थिए । दुइटा आफूहरूले लेखिदिएका नोट पनि थिए, जसमा उपासनालाई सन्चो नभएकाले गृहकार्य गर्न सकिनन् भन्ने व्यहोरा थियो तर ६ महिनायता उपासना गृहकार्य नै गर्न नसक्ने गरी कहिल्यै बिरामी परेकी थिइनन् ।
उपासनाले हरायो भनेको गणितको किताब बुक–र्‍याकको च्यापमा भेटियो । आमाले उनको किताब देखाउँदा पनि उपासनाले कुनै प्रतिक्रिया जनाइनन् । टेलिभिजनमा उनको मनपर्ने कार्टुन आइरहेको थियो । त्यसका मुख्य पात्रको संवाद नक्कल गर्दै उनी रमाइरहेकी थिइन् तर आमाको मन रमाउन सकेन । उहाँका आँखामा पश्चात्ताप भरिएको थियो ।
अफिसबाट फर्किएपछि हुने शारीरिक थकान र भान्साको कामको चापले गर्दा उहाँले छोरीलाई समय दिन सकिरहनुभएको थिएन । बाबा पनि साँझ थाकेर फर्किनुहुन्थ्यो । आराम गरिरहेका बेला झर्को नलगाओस् भनेर पहिले पहिले आफैंले टेलिभिजन हेर्न दिने गर्नुभएको थियो । तर, पछि उनलाई बानी नै पर्‍यो । नेटबाट गेम डाउनलोड गरेर खेल्न पनि उनलाई आउँथ्यो । ल्यापटप नभए मोबाइल र मोबाइल नभए टीभी उनलाई चाहिन्थ्यो । बाबाको समाचार हेर्ने बेलामा पनि उनी रिमोट च्यापेर कार्टुन हेरिरहेकी हुन्थिन् । केही भन्यो कि रुने, चिच्याउने, झगडा गर्ने उनको बानी बढ्दै गएकाले बाबाआमा दुवै आजित हुनुभएको थियो । उनलाई चुप लगाउने माध्यम नै मोबाइल वा टेलिभिजन भएको थियो । उनी यिनीहरूसँग यति नजिकिँदै गएकी थिइन् कि किताबसँग उनको दूरी बढ्दै गएको कसैलाई पत्तै भएन ।
यति ठूली भएर पनि उपासनालाई अझै आमाले खुवाइदिनुपथ्र्यो । आमाले खुवाइदिँदा होस् वा कपाल कोरिदिँदा उनका आँखाचाहिँ सधैं टेलिभिजनमै टाँसिएका हुन्थे । उनको पढाइ भने खस्कँदै गएको थियो । सामान्य जोड घटाउ गर्न पनि उनले बिर्सिसकेकी थिइन् । घरमा कुनै किसिमको नियम थिएन ।
साँझ घर फर्किएपछि आमाले सबै कुरा बाबालाई पनि सुनाउनुभयो । बाबाको अनुहारमा केही रिस देखियो । उहाँले भन्नुभयो, ‘झापड लाउन नपुगेको ?’
‘झापड लाउन नपुगेको कि समय दिन नपुगेको ?’ आमाले बाबातिर प्रश्नसहित हेर्नुभयो । बाबासँग कुनै जवाफ थिएन । लामो छलफलपछि उपासनाको पढ्ने, खेल्ने र टेलिभिजन हेर्ने समयको एउटा तालिका बन्यो । त्यसमा बाबाआमाको पनि उत्तिकै सहभागिता थियो ।
स्कुलबाट फर्किएपछि उपासना आधा घण्टा टेलिभिजन हेर्थिन् अनि आमासँग बसेर आफ्नो गृहकार्य सकाउँथिन् । बाबा नफर्किउन्जेल आमाले उनलाई राम्राराम्रा कथा पढेर सुनाउनुहुन्थ्यो । बाबा आएपछि उनी बाबासँग ल्यापटप हेर्थिन् । बाबाले नेटमा खोजेर उनका लागि रमाइला गेम पनि डाउनलोड गरिदिनुभयो । त्यसमा त खेल्दा खेल्दै हिसाब गर्न, गीत गाउन र अंग्रेजी पनि सिक्न सकिन्थ्यो ।
उनले बिहान बिहान बाबासँग व्यायाम गर्न र आमासँग कम्मरमा रिङ घुमाउन पनि सिकिन् । नियममा चल्न थालेपछि उनका किताब कापी कहिल्यै हराएनन् । उनलाई स्कुलमा पेट दुख्न पनि छाड्यो । उनको डायरीमा शिक्षकका गुनासा भरिएका नोट पनि आएनन् ।
त्रैमासिक परीक्षापछि रिजल्ट लिन जाँदा बुबाआमाको उज्यालो अनुहार देखेर उपासना पनि खुसी भइन् । 

जानुका खतिवडा

प्रकाशित: वैशाख ३, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार