कोसेली

जंग गुरुको त्रिकेट जिन्दगी

  • जंगबहादुर थापा नेपाली क्रिकेटका त्यस्ता प्रशिक्षक हुन्, जसको प्रशिक्षणमा हुर्केका ६ दर्जनभन्दा बढी खेलाडीले नेपालबाट विभिन्न विधामा अन्तर्राष्ट्रिय क्रिकेट खेलिसकेका छन् ।
- विनोद पाण्डे

वैशाख २, २०७४-भैरहवाको सिद्धार्थ रंगशालामा देखिरहने एउटा अनुहार हुन्, जंगबहादुर थापा । उनी क्रिकेटका प्रशिक्षक हुन् । तर रंगशालाभित्र मैदान बनाउनेदेखि विकेट मिलाउनेसम्मका काम गरिरहेका हुन्छन् । कहिलेकाहीं मैदानको बीच भागमा बसेर अम्पायरिङ पनि गरिरहेका हुन्छन् । 

५५ औं वर्षमा लागेका थापाको पछिल्लो साढे तीन दशक यही सेरोफेरोमा बितेको छ । अहिले उनी राष्ट्रिय खेलकुद प्रशिक्षकका सहायक प्रशिक्षक हुन् । ३,४ वर्षपछि उमेरको हदबन्दीका कारण अवकाश पाउँदै गरेका उनले क्रिकेटले कोरिदिएको बाहेक अर्को बाटो देखेका छैनन् । एउटा व्यवस्थित एकेडेमी खोल्नुका साथै सिद्धार्थ रंगशालाको क्युरेटर बन्ने, सरकारी जागिर सकिएपछिको योजना हो उनको । 

अहिले थापा क्रिकेट एकेडेमी अफ लुम्बिनी खुकुरी क्लबमा प्रशिक्षण गराउँछन् । लुम्बिनी खुकुरी क्लबले केही हदसम्म मोफसल क्रिकेटको चिनारी दिन्छ । यसैले त्यो एकेडेमीलाई चलाएको छ । रूपन्देही जिल्ला क्रिकेट संघ र क्षेत्रीय क्रिकेट विकास समितिले यसलाई सहयोग गर्दै आएका छन् । भैरहवा क्षेत्रको सकारात्मक पक्षको एउटा उदाहरण उनी यसैलाई दिन्छन् । बिहान ६ देखि ८ र साँझ ४ देखि ६ बजेसम्म सिद्धार्थ रंगशालामा एकेडेमीका खेलाडीलाई प्रशिक्षण गराउँछन् उनी । १० देखि १६ वर्षका २५ देखि ५० खेलाडी प्रशिक्षण गर्न आएका हुन्छन् । 

धनगढी प्रिमियर लिग क्रिकेटमा धुम मचाइरहेका साह (साहेब) आलम यही एकेडेमीका खेलाडी हुन् । थापाको प्रशिक्षणमा हुर्केका अन्तर्राष्ट्रिय क्रिकेट अझै नखेलेका साह २ खेलमै ७ विकेट लिएपछि अहिले नेपाली क्रिकेटको चर्चाको विषय भएका छन् । त्यसबाहेक थापा साताको दुई दिन मणिग्राम कुँवरवर्ती बोर्डिङ हाइस्कुलमा पनि क्रिकेट नै सिकाउँछन् । 

उनकै प्रशिक्षणमा हुर्केका ६ दर्जनभन्दा बढी खेलाडीले नेपालबाट विभिन्न विधामा अन्तर्राष्ट्रिय क्रिकेट खेलिसकेका छन् । त्यसमा एक हुन अन्तिम थापा । यसअघि नै एक छोरी र एक छोरा रहेका थापाले आफ्नो अन्तिम सन्तान भनी उनको नाम अन्तिम राखेका थिए । थापाको जेठो छोरा सुरजले क्रिकेट छुँदै छोएनन्, पढाइमै ध्यान दिए । उनले सानो छोरा अन्तिमलाई क्रिकेट खेल्न धेरैपटक पढाइ नै माया मार्न पनि स्वीकृति दिए । नेपालबाट यू–१७ खेल्न भारत पठाउँदा त्यसको एक महिनापछि अन्तिमले एसएलसी दिनुपर्ने थियो । थापा आफैं विदेशबाट आउँदा अन्तिमलाई ब्याट, प्याडसहित क्रिकेटको अन्य समान किनेर ल्याइदिन्थे । अन्तिमले नेपालबाट यू–१७, यू–१५, यू–१९ खेले । नेपालको राष्ट्रिय टोलीमा पनि परे । दुईपटक राष्ट्रिय टोलीमा परे पनि खेल्न पाएनन् । 

अन्तिम आफ्नो खेल जीवनको उत्तराद्र्धमा आइसकेका छन् । थापाको चाहना अन्तिमलाई आफूजस्तै क्रिकेट प्रशिक्षक बनाउनेछ । अन्तिमले लेभल वानको प्रशिक्षण कोर्स गरिसकेका छन् । थापा २०५४ मा सहायक प्रशिक्षक बन्दा जिरो लेभलको प्रशिक्षण कोर्स गरेका थिए । २०६० मा अस्थायी जागिर भएका कारण उनको जागिर गएको थियो । त्यही वर्ष फेरि करारमा झरेर स्थायी नियुक्ति पाउँदै थापाले केही समय सर्लाहीलाई कर्मथलो बनाए । 

भैरहवामा क्रिकेटको माहोल छ, पूर्वखेलाडीहरू मैदानमा आइरहन्छन् । त्यही भएर काम गर्न सजिलो भएको उनलाई लाग्छ । त्यहाँ स्कुल पढ्दादेखि नै प्रशिक्षण लिँदा खेलाडी मिहिनेत गर्छन् । माथिल्लो स्तरमा पुग्न सकिन्छ भनेर उनीहरू लगनशील भएर अभ्यास गर्ने गरेको थापा बताउँछन् । भैरहवा क्षेत्रबाट धेरै अन्तर्राष्ट्रिय खेलिसकेका खेलाडी भएकाले नयाँ खेलाडीहरू छिट्टै सिक्न खोज्दा थापा आफूलाई सजिलो भएको मान्छन् । अभिभावकहरू पनि आफ्ना सन्तानलाई डोर्‍याउँदै मैदानमा ल्याउँछन् । जंग गुरु पनि सिक्न आउने सबै खेलाडीका अभिभावक हुन् । प्रशिक्षण लिन आउने सबैलाई उनी एक रूपको व्यवहार गर्छन् । 

२००४ मा हङकङ तीनदिवसीय खेल्न जाँदा थापा पहिलोपटक नेपालको सहायक प्रशिक्षक बनेका थिए । त्यति बेला उनमा खुसीको सीमै थिएन । यसकारण कि उनले पहिलोपटक ठूलो जहाज चढ्न पाएका थिए । पहिलोपटक विदेश जान पाएका थिए । दु:ख यसमा थियो, आफ्नो आँखाअगाडि हुर्केको र केही समय सँगै पनि खेलेका राजु खड्का त्यही भ्रमणमा नेपालको कप्तानबाट हटाइएका थिए । 

राखेपमा अस्थायीमा प्रशिक्षकमा उनले दोस्रोपटकमा आफ्नो नाम निकालेका हुन् । पहिलोपटक उनकै नाम नै निस्किएन । ९ कक्षासम्म पढेका उनलाई लाग्यो आफ्नो योग्यताले पुगेन् । २००१ मा काठमाडौं जिरो लेभल प्रशिक्षण कोर्स गरेयता थापाले २००४ मा काठमाडौंमै लेभल वान प्रशिक्षण कोर्स, २००८ मा मलेसियामा लेभल टु प्रशिक्षण कोर्स, २००९ मा सिंगापुरमा एजुकेटर लेभल वान कोर्स गरेका छन् । उनी बहिरा क्रिकेटको पनि मुख्य प्रशिक्षक हुन् । नेपालको बहिरा टिमलाई पाकिस्तान र भारतमा एसिया कपमा उतारेका छन् । 

थापा नेपालको महिला टोलीको पहिलो अन्तर्राष्ट्रिय प्रशिक्षक पनि हुन् । २००७ मा उनकै प्रशिक्षणमा नेपाल एसीसी वुमन्स ट्रफी खेल्न मलेसियामा ओर्लिएको थियो । पहिलोपटक एसीसीले महिला क्रिकेट आयोजना गर्न लागेकाले थापालाई अरू टिमको बारेमा थाहा नै थिएन । हङकङ राम्रो छ भन्ने उनले सुनेका थिए । देशअनुसार उनलाई चीनको नाम नै ठूलो लागेको थियो । ‘हाम्रा केटीहरूले ब्याट सीधा चलाउन सिकिसकेका थिए । उनीहरूले राम्रो पनि खेले,’ थापा त्यो क्षण सम्झन्छन् । 

नेपालले त्यही हङकङ र चीनलाई पराजित गरी फाइनल पुगेको थियो । टेस्ट खेल्ने राष्ट्र बंगलादेशसँग नेपाल फाइनलमा पराजित भएको थियो । त्यसयता नेपाली महिला टोली नकआउट प्रतियोगिताको फाइनल पुगेको छैन । नेपाली महिला क्रिकेटका लागि त्यो नयाँ अनुभव थियो । त्यो समयमा हङकङ र नेपालको क्रिकेट बराबरी हैसियतमा देखेका थिए थापाले । उनले भने, ‘थाइल्यान्ड र चीनसँग हामी ८०–२० को स्थितिले अगाडि थियौं । अहिले ठ्याक्कै उल्टो छ । थाइल्यान्डसँग हामी नियमित हारिरहेका छौं ।’ नेपाललाई उपविजेता बनाएर आएपछि थापासँग प्रशिक्षण लिन आउने महिला खेलाडीको संख्या ४० सम्म पुगेको थियो । अहिला महिला क्रिकेटको गतिविधि नै छैन, माहोल शून्यजस्तै छ । त्यसैले उनी पहिला माहोल तताउनुपर्ने बताउँछन् । 

थापा आफ्नो समयका औसत खेलाडी हुन् । २०४० मा पोखरामा भएको दोस्रो राष्ट्रिय खेलकुदबाट खेल्न सुरु गरेका उनले लुम्बिनी अञ्चलबाटै तेस्रो राष्ट्रिय खेलकुद वीरगन्जमा खेले । धरानमा २०५४ को जय ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितासम्म खेले । उनले खेल्न सुरु गर्दा नेपाली क्रिकेटको संरचना अञ्चलस्तरीय थियो, पछि त्यो जिल्लामा झर्‍यो । थापा क्रिकेट प्रशिक्षक भएपछि यो संरचना क्षेत्रीयमा पुगेको छ । 

उनी फ्रेन्चाइज गरी बनाइएको धनगढी प्रिमियर लिग क्रिकेटका लागि कैलाली आएका हुन् । धनगढीसँग उनको स्मरणीय अनुभवहरू छन् । उनी रूपन्देही जिल्लाको कप्तान भएर २०५१ को राष्ट्रिय प्रतियोगिता खेल्न आएका थिए । बारालाई फाइनलमा हराउँदै रूपन्देहीलाई च्याम्पियन नै बनाए । त्यो राष्ट्रिय प्रतियोगिता दुई मैदानमा भएको थियो । बाराले सबै म्याटमा खेलेर फाइनल पुगेको थियो । रूपन्देहीले सबै टर्फमा खेल्न पाएको थियो । फाइनल टर्फ विकेटमै भयो त्यसको फाइदा थापा र उनको रूपन्देहीले उठायो । 

२०६० यताको समय नेपाली क्रिकेटको ‘मक्का’ थियो भैरहवा । काठमाडौं हँुदै अहिले त्यो सुदूरपश्चिम सरेको छ । सुदूरपश्चिमको मुख्य सहर धनगढीमा उनी यस पटक सम्मानित पनि भए । धनगढी प्रिमियर लिगको आयोजक धनगढी क्रिकेट एकेडेमीले उनलाई ‘धनगढी क्रिकेट सम्मान’ दिएको हो । रूपन्देही च्यालेन्जर्सका प्रशिक्षक भएर आउँदा उनले त्यो बेला र अहिलेको धनगढीमा ठूलो भिन्नता पायो । २२ वर्षअगाडि उनी खेलाडी भएर आउँदा २५–३० जना दर्शक मैदानमा खेल हेर्न आएको देख्थे । अहिले धनगढी क्रिकेट संस्कार पूरै फेरिएको छ । दर्शक टिकट काटेर खेल हेर्न आएका छन् । विगतमा एसपीए कपको नामले आयोजना हुँदा जुन दर्शक आएको उनले सुनेका थिए, त्यो अझै देखिएको छैन र यत्रो ठूलो प्रतियोगिता आयोजना गरेको धनगढीमा उनले त्यही दर्शक आउने आशा लिएका छन् । 

धनगढी प्रिमियर लिगमा खेलिरहेका रूपन्देही च्यालेन्र्सका १० खेलाडी भैरहवा क्षेत्रका हुन् । यसले पनि भैरहवाको क्रिकेट माहोल कस्तो छ प्रस्ट पार्छ । त्यसमा एक हुन शाह आलम । मैदान नभएर खेलाडीले राम्रोसँग खेल्न नपाउँदा, राष्ट्रिय प्रतियोगिताहरू नहुँदा, क्यानले तोकेको खेलाडी पठाउनुपर्दा भैरहवाले नेपाली क्रिकेटको ‘तीर्थस्थल’ को ताज गुमाउनुपरेको कारण उनी दिन्छन् । ‘जिल्ला क्रिकेट संघ अहिले सक्रिय भएको छ, भैरहवाको क्रिकेट फेरि चलायमान भएको छ र हामी पुरानै स्थितिमा फर्किन लागिरहेका छौं,’ थापाले भैरहवाको फर्किएको क्रिकेटका ती दिनको कल्पना गरिसकेका छन् । 

प्रकाशित: वैशाख २, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार