कोपिला

नयाँ कक्षा

- गणेश राई

चैत्र २७, २०७३- आहा नयाँ कक्षा । नयाँ साथीहरू । कति नयाँ सर अनि म्यामहरू । सबैले माया गर्ने । कत्ति रमाइलो १ नयाँ कक्षामा पुग्दा बेग्लै रमाइलो । नयाँ ड्रेसमा सजिन पाइने । झोला पनि नयाँ । त्यसभित्रका किताब–कापी सबै नयाँ । खाजा पनि नयाँ टिफिन बक्समै । मनै त्यसै त्यसै फुरुङ्ग । 

बाबाले राम्रो पढ्नुपर्छ छोरी भन्नुहुन्छ । आमाले ज्ञानी बन्नुपर्छ छोरा भन्नुहुन्छ । सर, म्यामले पनि कत्ति ज्ञानी छौ भन्नुहुन्छ । नयाँ साथीसित भेट भएको छ । सर, म्यामसँग कसरी बोल्ने होला ? साथीहरूसँग के भनेर खेल्न होला ? मनमनै अनेक कुरा लागिरहन्छ । नयाँ ठाउँमा सबैलाई यस्तै लाग्छ नि । 
यस्तै साथी हुन्, रिजिमो र रितुम राई । यी दिदी–बहिनी जुम्ल्याहा हुन् । कक्षा १ मा पढ्ने तयारीमा छन् । उनको बुवा–आमाले यसैपालिदेखि गोदावरीको सेन्ट जेभियर्स स्कुलमा भर्ना गरिदिनुभएको छ । वैशाखदेखि नयाँ स्कुल जानुछ । नयाँ ड्रेस त अहिल्यै तयार भइसकेको छ । ‘खुसी लागेको छ,’ रिजिमो भन्छिन् । नयाँ कक्षामा पुग्ने भनेको नयाँ कुरा सिक्नका लागि हो । कक्षा बढ्दै जाँदा ज्ञानको दायरा पनि फराकिलो हुन्छ । नयाँ साथीहरूसित चिनाजानी हुन्छ । नयाँनयाँ बानीव्यहोरा पनि सिकिन्छ । फरक फरक स्वभावका व्यक्तिहरूसित कसरी सम्बन्ध राख्ने भन्ने थाहा हुन्छ । 
जीवनमा सिक्नुपर्ने कुरा धेरै छन् । कति कुराहरू पढेर जानिन्छ । कति कुराहरू अनुभवबाट जानिन्छ । सुरुमा थोरै कुरा मात्र सिकिन्छ । कक्षा बढ्दै जाँदा नयाँनयाँ जानकारी थपिन्छ । सरलबाट जटिल कुराहरू सिक्दै जानुपर्छ । एकैचोटि सबै जानिँदैन । त्यसैले दोहोर्‍याएर पढ्नुपर्छ । बिहान उठ्नेबित्तिकै शरीर र मस्तिष्क दुवै थाकेको हुँदैन । यस्तो बेलो अप्ठ्यारो लागेको पाठ पढ्नु राम्रो हुन्छ । दिउँसो स्कुल गइन्छ । कक्षामा सर, मिसले पढाउनुहुन्छ । साथीसित खेलिन्छ । हिँडिन्छ । बोलिन्छ । त्यसैले थकाइ लाग्छ । साँझ थकाइ लागेको बेला सजिलो लाग्ने पाठ पढ्नुपर्छ । होमवर्क गर्नुपर्छ । 
पढ्ने दुई तरिका छन् । कोही मन मनै पढ्छन् । कोहीचाहिँ आवाज निकालेर पढ्छन् । यसरी नै पढ्नुपर्छ भन्ने कुनै नियम छैन । आ–आफ्नो स्वभावमा भर पर्छ । जसो गर्दा आफूलाई सहज हुन्छ त्यसरी नै पढ्न सकिन्छ । तर जसरी पढे पनि बुझेर पढ्नुपर्छ । शुद्धसँग पढिएको छ/छैन भन्ने हेक्का राख्नुपर्छ । अभिभावक वा आफूभन्दा जान्नेको अगाडि आवाज निकालेर पढ्नुको चाहिँ थप फाइदा पनि हुन सक्छ । कुनै गल्ती भयो भने पनि उहाँहरूले सच्याइदिन सक्नुहुन्छ । केही विद्यार्थीको बानी लेखेर सम्झने हुन्छ । पढेको भन्दा लेखेको कुरा अझ राम्ररी मस्तिष्कमा बस्न सक्छ । लेखेर पढ्नुको अर्को फाइदा पनि छ । यसो गर्दा अक्षर राम्रा हुन्छन् । सफा, शुद्ध र राम्रा अक्षर लेख्नेलाई सबैले चिन्छन् । 
अक्षर विद्यार्थीको व्यक्तिगत सम्पत्ति सरह हो । त्यसैले माथिल्लो कक्षामा चढ्दै जाँदा अक्षरहरू अझ राम्रा र परिष्कृत हुँदै जानुपर्छ । त्यसका लागि शैक्षिक सत्रको सुरुदेखि नै मिहिनेत गर्‍यौ भने कुनै गाह्रो हुन्न । 
तिमीहरू स्कुल पुगेलगत्तै कस्तो साथी बनाउने र कोसित बस्ने भनेर कहिलेकाहीं अलमलमा पर्न पनि सक्छौ । शिक्षाविद् प्राध्यापक विद्यानाथ कोइरालाका अनुसार तिमीजस्तै स–साना केटाकेटीहरूमा साथी चिन्ने क्षमता हुन्छ । तिम्रो जस्तै तिम्रा हरेक साथीको आनीबानी र चालचलन फरक फरक हुन्छ । कतिपय साथी जसलाई पनि साथी बनाइहाल्ने स्वभावका हुन्छन् । उनीहरू जोसुकैसँग मिल्न सक्छन् । अर्कोथरी साथी अलिकति टाढा बस्ने हुन्छन् । त्यस्तालाई भोकल केटाकेटी भनिन्छ । अरूमार्फत आफू परिचित हुने । जस्तो साथी भए पनि सबैसँग मिलजुल गर्नुपर्छ । कसैको पनि खिसिटेउरी गर्नुहुन्न । आफूसँग मन मिल्ने साथीसँग बस्न, खेल्न, खान र पढ्न सकिन्छ । तर कसैलाई पनि होच्याउने, मन दुखाउनेचाहिँ गर्नु हुँदैन । तिमीलाई नयाँ साथीसित घुलमिल हुन समय लाग्न सक्छ । छिट्टै घुलमिल हुन संवाद महत्त्वपूर्ण हुन्छ । संवाद भनेको कुराकानी हो । साथीका कुरा सोध्ने र आफ्ना कुरा साथीलाई भन्ने बानीले ऊसित नजिक भइन्छ । यो तरिका स्कुलमा मात्र नभई घर परिबारमा पनि उत्तिकै काम लाग्छ । 

प्रकाशित: चैत्र २७, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार