कोपिला

हामी ट्वीन्स

- कान्तिपुर संवाददाता , काठमाडौं

चैत्र ६, २०७३- संसारमा एउटै अनुहार भएका मान्छे सात जना हुन्छन् रे । यो प्रमाणित तथ्य होइन । तैपनि हामीलाई आफ्नो जस्तै अनुहार भएको मान्छे हेर्ने रहर सधैं हुन्छ । यो हुटहुटी जुडुवा दाजुभाइ वा दिदीबहिनीलाई सायद नहुँदो हो । उनीहरूलाई आफ्नो अनुहार कस्तो छ भन्ने लगभग थाहा हुन्छ । 

जुम्ल्याहा हुनु रमाइलो अनुभव हो । सबैले यस्तो मौका पाउँदैनन् । कोटेश्वरका स्वरूप र सिमरन पोखरेललाई आफूहरू जुम्ल्याहा भएकोमा खुसी लाग्छ । काव्य स्कुलको कक्षा २ मा पढ्ने यी दाजुबहिनी ५ मिनेटको अन्तरमा जन्मिएका थिए । ट्वीन्स हुन्, स्वाभावैले उस्तै अनुहार र उत्रै उचाइका छन् । 
‘हामी ट्वीन्स नभएको भए घरमा खेल्ने साथी नै हुँदैन थियो,’ १० वर्षे स्वरूपले भने, ‘कोसँग खेल्नु, के गर्नुहुन्थ्यो होला ।’ वैज्ञानिक बन्ने लक्ष्य लिएका स्वरूप बहिनीले डान्स टिचर बन्छु भनेको सुन्दा हाँसे । उनी आफूलाई मान्छेहरूले सिमरन भनेर बोलाएको सुन्दा उसैगरी हाँस्छन् । ‘कस्तो नचिनेको होला ! सिमरन बोलिन्, ‘म केटी, ऊ केटा हुँदा पनि कन्फयुज हुन्छ त ?’
काव्यमै अध्ययनरत प्रचिका र प्रधरा धौबडेल चाहिँ आफूहरू जुडुवा भए पनि एउटै देखिँदैनौं भन्ठान्छन् । अरूले पनि ‘तिमीहरू फरक छौ’ भनिदिँदा रहेछन् । कक्षा ४ मा पढ्ने दिदीबहिनीको च्वाइस धेरैजसो मिल्दैन । प्रचिकालाई ‘माया द बी’ कार्टुन मनपर्छ भने प्रधरालाई ‘बेस्ट अफ लक निकी’ राम्रो लाग्छ । 
दुवैका बेस्ट फ्रेन्ड अलग छन् । हुँदा–हुँदा उनीहरूले सेक्सन पनि बेग्लाबेग्लै रोजेछन् यसपालि । ‘एक–अर्कासँग खासै मिल्दैनन्,’ काव्यका प्रधानाध्यापक नवराज बाँस्कोटाले भन्नुभयो, ‘एउटै सेक्सनमा हुँदा धेरै झगडा गर्थे । एक–अर्काको स्वाभाव बिल्कुल फरक छ ।’ उनको विद्यालयमा अन्य दुई जोडी जुम्ल्याहा विद्यार्थी पनि छन् जसको आनीबानी एक–अर्कासँग प्राय: मिलेकै हुन्छ ।
कोटेश्वरका उत्सव र उमंग भण्डारीचाहिँ ‘आइडल’ दाजुभाइ हुन् । २०६३ सालमा जन्मिएका उनीहरूले एक–अर्कासँग कहिल्यै झगडा गरेनन् । बालखैदेखि मिलेर हुर्किए । ‘दुवैलाई एकै ठाउँमा सुताइदिन्थेँ,’ उनीहरूकी आमा सरिता कार्की भण्डारीले भन्नुभयो, ‘ऐना हेरेजस्तो लाथ्यो कि क्या हो, एक–अर्कालाई हेरेर बस्थे । चुपचाप खेलिरहन्थे । मलाई ढुक्कै थियो ।’
उत्सव र उमंगको स्वभाव भने बेग्लै छ । उमंगभन्दा पाँच मिनेटले जेठा उत्सव गम्भीर प्रकृतिका छन् । धेरै खुल्दैनन् । उमंगचाहिँ चञ्चले छन् । उनी बाबा–ममीसँग चलिराख्छन् । उत्सव फुटबल राम्रो खेल्छन् । तर, एकपटक उत्सवको जश उमंगले पाएछन् । ‘बाबाले त छोराहरू छुट्टयाउनै सक्नुहुन्नथ्यो पहिला,’ उत्सव/उमंगकी ममीले भन्नुभयो, ‘उत्सवले राम्रो खेलेको थियो । बाबाले उमंगलाई स्याबासी दिनुभयो ।’ 
ममी र हजुरआमाको काखमा हुर्किएका उत्सव/उमंग र उनीहरूको बाबाको अर्को प्रसंग पनि रमाइलो छ । ठूलो र सानो छोराबीच झुक्किरहने बाबाले कहिलेकाहीँ एउटै छोरालाई दुईचोटि होमवर्क गर्न लगाउनु हुँदोरहेछ । ती कुरा सम्झिँदा उत्सव रौसिन्छन् अहिले । ‘बरू साथीहरूले हामीलाई सजिलै छुट्टयाउँथे,’ उनले भने, ‘बाबाचाहिँ झुक्किनुहुन्थ्यो । अहिले चिन्न थाल्नुभएको छ ।’

जुम्ल्याहा हुँदाको अप्ठयारो 
हामीले एउटै मान्छेको ‘डबल रोल’ भएका फिल्म हेरेकै छौं । कतिपय त्यस्ता फिल्ममा कत्ति गन्जागोल देखाइन्छ है ? फिल्मका पात्रहरू झुक्किएको देख्दा साह्रै हाँस उठ्छ । तर, वास्तविक जीवनमा त्यस्तो भइदिँदा कस्तो महसुस हुँदो हो ? कहिलेकाहीं त दिक्क पनि लाग्छ होला । सबैले ‘जुम्ल्याहा हो ?’ भन्ने सोधेर हैरान पो पार्छन् कि ? 
प्रचिका र प्रधराले जुम्ल्याहा हुनुको एउटा बेफाइदा सुनाए । ‘म बोलेकै हुँदैन, हल्ला गरिस् भनेर कुट्नुहुन्छ,’ प्रचिकाले भनिन्, ‘प्रधराले गल्ती गर्दा मैले गाली खान्छु । अनि कहिलेकाहीं मैले गल्ती गर्दा प्रधराले कुटाइ खान्छ ।’ दुवैको अनुहार उस्तै भएकाले अभिभावक र शिक्षकशिक्षिका झुक्किँदा ‘बेकसुर’ ले सजाय खेप्नुपर्छ ।
उत्सव र उमंगको प्रसंगमा चाहिँ उनीहरूलाई एउटै लुगा किनिदिँदा झयाउ लाग्दो रहेछ । यसै त छुट्टयाउन गाह्रो पर्ने, त्यसमाथि दाजुभाइकै दुरुस्त लुगा भएपछि मान्छेहरूले घुरेर हेर्ने नै भए । ‘अचेल हामी बेग्लाबेग्लै कपडा किनिमाग्छौं,’ उत्सवले सुनाए, ‘रङ मात्रै फरक भए पनि हुन्छ । एउटै लगाउँदा लाज हुन्छ अब ।’
ओलम्पिया स्कुलका कसिस र कनिन महर्जनका पिता रामहरि भने दुई छोरीबीच रत्तिभर भेदभाव नहोस् भनेर एउटै खाले लुगा किनिदिने गरेको बताउनुहुन्छ । ‘सात कक्षामा पुगिसके तर लुगाफाटो एउटै लगाउन अप्ठयारो मान्दैनन्,’ उहाँले भन्नुभयो, ‘बरु, एउटालाई अलि फरक ल्याइदियो भने अर्को रिसाउँछे । उसलाई राम्रो, मलाई नराम्रो भन्न थाल्छे ।’
कसिस र कनिनको रुचि समान छ । दुवैलाई एउटै रङ, उही खाना, उस्तै पोसाक र उही खेलकुद मनपर्ने भएकाले अभिभावकलाई चित्त बुझाउन सजिलै छ । आफूहरू जुम्ल्याहा भएकोमा मक्ख पर्छन् । तर, उनीहरूलाई हुर्काउन भने गाह्रो परेको थियो । ‘आमाको दूधले नपुगेर ल्याक्टोजिन खुवाउँदै बढायौं,’ कसिस–कनिनका बाबाले भन्नुभयो, ‘ठूली अलि कम तौलकी थिई । ऊ अझै कमजोर छे । उसलाई खानामा जोड दिएको देख्दा कनिन ‘मलाई चाहिँ माया नगर्ने ?’ भन्न थाल्छे ।’
रिलायन्स पब्लिक स्कुलको कक्षा १० मा पढ्ने सदीक्षा र समीक्षालाई आफूहरू दुईजना भए पनि बर्थडेमा एउटै केक काट्नुपर्दा रिस उठ्छ । त्यस्तो बेला ‘बेक्कार जुम्ल्याहा भको’ भन्ठान्छन् । तर, अरू बेला ट्वीन्स भएकोमा कुनै आपत्ति छैन । लुगा एउटै लगाउनसमेत अप्ठयारो मान्दैनन् । ‘तर, एउटै साइजको दुई जोर लुगा खासै पाइँदैन,’ सदीक्षाले भनिन्, ‘सानो हुँदासम्म पाइन्थ्यो । ठूलो हुँदै गएपछि फरक–फरक लुगा लगाउनुपर्ने भयो ।’
समग्रमा भन्दा, ट्वीन्स जिन्दगी रोचक नै हुने रहेछ । साना–तिना कन्फयुजन आइलागे पनि आफूजत्रै दाजुभाइ वा दिदीबहिनी हुँदा कहिल्यै एक्लो महसुस हुँदैन । दुइटा बच्चा एकैपटक हुर्काउँदा बाबा–आमा अप्ठयारोमा हुनु स्वाभाविक हो । ‘तर, एकैपटक दुइटा बच्चा हुर्किएपछि एक किसिमले सजिलो पनि हुँदो रहेछ,’ सदीक्षा–समीक्षाका बाबा श्याम अधिकारीले भन्नुभयो । जुडुवा भएर जन्मिँदा सानो छउन्जेल खेल्ने साथी मिल्छ । ठूलो भएपछि आडभरोसा पाइन्छ । आफ्नै उमेरको हुने भएकाले बूढेसकालसम्मै कुरा मिल्न सक्छ । तसर्थ, जुम्ल्याहा हुनुलाई धेरैले वरदान मान्ने गरेका छन् । र, यस्तो हुनु अपवाद हो । कसैले चाहेर वा नचाहेर जुम्ल्याहा हुन सकिँदैन ।

प्रकाशित: चैत्र ६, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्