कोपिला

सुम्निमाको भ्रमण

चैत्र ६, २०७३-आमा, बुबा कहाँ हुनुहुन्छ ?’ हामी त उहाँलाई कहिल्यै देख्दैनौं त ?’ एक दिन एकाबिहानै सुम्निमाले सोधिन् । 

‘छोरी, उहाँ उठ्नेबित्तिकै अफिस जानुभएको छ,’ आमाले बताउनुभयो ।

‘आज त शनिबार, बिदा हो । सदिच्छा उसको बुबाआमासित गोदावरी घुम्न जाँदै छे । हामीचाहिँ कहिल्यै नघुम्ने ?’ सुम्निमा दु:खी भइन् ।

‘हामी पनि समय मिलाएर घुम्न जाऔंला नि १’ आमाले भन्नुभयो । त्यसपछि सुम्निमा र अनमोलले खाना खाए । आफूहरू त्यत्तिकै घरमा बस्नु परेकोमा दुवै निराश देखिन्थे । सधैंजस्तो आज टीभी पनि हेरेनन् । 

साँझमा उनीहरूका बुबा सुअहाङ घर आइपुग्नुभयो । सधैं भेट्नेबित्तिकै बोल्ने नानीहरू चुपचाप बसेको देखेर उहाँ छक्क पर्नुभयो । ‘सुम्निमाका साथी सदिच्छाहरू आज घुम्न गएका छन् रे । आफूचाहिँ जान नपाएकोमा छोरीले निकै मन दुखाएकी छन्,’ आमाले बताउनुभयो । 

‘मैले तिमीहरूकै लागि यत्ति दु:ख गरेको हुँ । मेरो प्राइभेट अफिसमा अरूमा जस्तै सजिलै बिदा मिल्दैन । अब म मेरो बिदा मिलाएर एक दिन घुमाउन लैजान्छु नि,’ बुवाले सम्झाउनुभयो ।

०००

आज स्कुलमा सामाजिक शिक्षकले विद्यार्थीहरूलाई आफूले घुमेको ठाउँबारे लेख्न लगाए । सदिच्छा र साथीहरूले खुरुखुरु लेखेर बुझाए । राम्रो लेखेकोमा सदिच्छले स्याबासी पनि पाइन् । तर सुम्निमाले राम्ररी लेख्न सकिनन् । क्लास फस्ट पनि यस्तो भनेर केही साथीले सुम्निमालाई गिज्याए । उनी दु:खी भइन् ।

घर पुग्नासाथ ‘आमा, हामी आइपुग्यौं’ भनेर बोलाउने नानीहरू आज बोलेनन् । एक्कासि यस्तो चाला देखेर आमा छक्क पर्नुभयो र सोध्नुभयो, ‘नानी, के भयो आज निराश देखिन्छ्र्यौ नि ?’

सुम्निमाले दिउँसो स्कुलमा भएका सबै कुरा सुनाइन्, ‘किताबी ज्ञानले मात्रै हुँदैन । चौतर्फी विकासका लागि नयाँ–नयाँ ठाउँको भ्रमण पनि गर्नुपर्छ भन्दै मिसले आज आफूले घुमेको ठाउँबारे लेख्न लगाउनुभयो । मलाई कति गाह्रो भयो ।’

सुम्निमाको यस्तो कुरा सुनेर बुबाले सम्झाउनुभयो, ‘हामी तिमीहरूकै लागि यति धेरै दु:ख गर्दै छौं । 

नभ्याएर पो त ।’ 

त्यही बेला सदिच्छा पनि टुप्लुक्क देखा परिन् । कक्षामा भ्रमणसम्बन्धी निबन्ध लेखनमा पहिलो भएकोमा सुम्निमाकी आमाले सदिच्छालाई बधाई दिनुभयो । ‘यसरी पहिला हुन के गर्‍यौ त ?’ सुम्निमाका बुवाले सोध्नुभयो ।

‘अंकल, मिसले हामीलाई आफूले घुमेको ठाउँको बारेमा लेख्न लगाउनुभएको थियो । घुमेको ठाउँको तस्बिर दिमागमा नाचेपछि लेख्न सजिलो हुँदो रै’छ । मैले खुरुखुरु लेखेर बुझाएँ,’ सदिच्छा खुसी भइन् । ‘सुम्निमाका बुवा समाज सेवा पनि गर्नुहुन्छ । त्यसैले उहाँ भनेको बेला घुमाउन पाउनुहुन्न । त्यसैले अब मै भए पनि नानीहरूलाई बेलाबेलामा घुमाउन लैजानेछु,’ आमाले आफ्नो सोच सुनाउनुभयो ।

आमाको कुरा सुनेर सुम्निमा खुसी भइन् । ‘आमा, मलाई तपाईंको कुरा मन पर्‍यो । अब म हिजोजस्तो कहिल्यै गुनासो गर्दिनँ । गर्नुपर्ने काम पनि सधैं बेलैमा गर्छु,’ सुम्निमाले भनिन् । 

‘कति राम्रो कुरा । हाम्री नानी ज्ञानी छ । यसपालि पनि सधैंजस्तै पहिला हुन्छिन्,’ बुबाले खुसी हुँदै भन्नुभयो, ‘पैसा कमाएर मात्र नहुँदो रै’छ । अब जसरी भए पनि बेलाबेलामा हामी घुम्न जान्छौं ।’ आमा पनि निकै खुसी हुनुभयो । उहाँले सबैलाई खाजा दिनुभयो । सुम्निमा, अनमोल र सदिच्छाका साथै सबैले रमाई–रमाई खाए । 

श्रीराम राई

प्रकाशित: चैत्र ६, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार